Home Blog Page 3

मुक्तककार गोकर्ण लामा विशेष मुक्तक वाचन एवम् २६ औँ नियमित मुक्तक वाचन शृङ्खला।

हेटौंडा, श्रावण २१ – मुक्तक मञ्च मकवानपुरद्वारा आयोजित २६ औँ नियमित मुक्तक वाचन श्रृङ्खला तथा गोकर्ण लामा विशेष मुक्तक वाचन कार्यक्रम एक भव्य र साहित्यिक माहोलमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा अग्रज मुक्तकार देवराज खरेलको गरिमामय उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष सागर तिमल्सिनाले गर्नुभएको थियो।
मञ्चका कोषाध्यक्ष मिथिला अधिकारीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा विशेष वाचक गोकर्ण लामाका उत्कृष्ट मुक्तकहरू सुनेर उपस्थित स्रोता भावविभोर भएका थिए। उहाँका सिर्जनामा समसामयिक यथार्थ, मानवीय संवेदना र जीवनको विविध आयामहरू प्रभावशाली ढंगले प्रस्तुत गरिएको पाइयो।
उहाँका मुक्तकहरूमा आधारित रहेर मञ्चका सल्लाहकार सानु खनालले विश्लेषणात्मक र सन्देशमूलक समिक्षा प्रस्तुत गर्दै यस्ता सिर्जनाहरू नयाँ पुस्ताका लागि प्रेरणादायी हुने धारणा राख्नुभयो।
साहित्यिक वातावरणमा रचना सुनाउने क्रममा मञ्चका निवर्तमान अध्यक्ष डिवी बर्तौलाले आफ्नो शुभकामना मन्तव्यसहित भावपूर्ण मुक्तक सुनाएर सबैको मन जित्नुभयो।
कार्यक्रममा हास्यव्यङ्ग्य, कविता, लघुकथा, नियात्राकार लगायत विविध विधाका सर्जकहरूको सहभागिता रहेकाले समग्र समारोह बहुआयामिकज भएको थियो।
कार्यक्रममा हास्यव्यङ्ग्यकार आर.सी. रिजाल, अग्रज साहित्यकार तुलसी घिमिरे, साहित्यसेवी मुक्ति गोविन्द वैद्य, सल्लाहकारद्वय दीपक गौतम र पुरुषोत्तम आचार्य, मसान उपासक, गौरी कँडेल, हास्यव्यङ्ग्यकार राजकुमार लामिछाने, चिरञ्जीवी लामिछाने, सानु भाइ विश्वकर्मा, सम्प्रस पौडेल, कवि छवि अनित्य, सुभाष खनाल, मुक्तककार भवानी तिमल्सिना, भावना सापकोटा, किसन पौडेल, राजबाबु पहाडी, एस.आर मञ्जरी,सबिता तिमल्सिना, स्वस्तिका दहाल, सभद्रा हुमागाई, सुमार्गी हुमागाई, नियात्राकार रमेश मोहन अधिकारी, साहित्यकार सन्जित श्रेष्ठ, हरि पौड्याल, लघुकथाकार समिर पाख्रिन, जनार्दन खनाल, विविसा रुम्बा, नवीन मगर, बालगायक अपूर्व आचार्य, पत्रकार सुरेश श्रेष्ठ र आर.पी. गुरागाईलगायत , प्रविणा प्रयासी, अनु रोका, अजर फुयाँल, कमल नेपाल लगायत स्रष्टाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन आकर्षक शैलीमा गरिएको थियो भने उपस्थित दर्शकहरूबाट पाएको सकारात्मक प्रतिक्रिया आयोजकको उत्साहवर्द्धनको मुख्य आधार बनेको थियो।
मुक्तक मञ्च मकवानपुरले साहित्यिक सिर्जना, वाचन र समिक्षाको यस्तो थलो निर्माण गरेर नवप्रतिभालाई अभिव्यक्तिको मौका दिएकोमा सहभागीहरूद्वारा धन्यवाद व्यक्त गरिएको जनकारी मञ्चका सचिव सुबास सजलले जानकारी दिनुभयो।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

गजलसङ्ग्रह ‘अनायास’ विषयक विमर्श कार्यक्रम सम्पन्न

मकवानपुर, ३ साउन ।
गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासको गजलसङ्ग्रह ‘अनायास’ विषयक विमर्श कार्यक्रम मकवानपुरमा सम्पन्न भएको छ।

गजल मञ्च मकवानपुरको २२६औँ गजल यात्राअन्तर्गत साहित्य सङ्गम मकवानपुरको हलमा शनिबार आयोजित उक्त कार्यक्रम मञ्चका अध्यक्ष सञ्जित श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा बोल्दै युवा गजलकार विश्वनाथ सञ्जेलले रामकृष्ण अनायासका गजलहरू युवावयका कथाहरूलाई सजीव चित्रण गर्ने र समसामयिक विषयवस्तुमा तीक्ष्ण प्रहार गर्ने खालका रहेको उल्लेख गर्दै प्रशंसा गर्नुभयो। उनले भन्नुभयो, “सङ्ग्रहमा युवावयका कथाहरू सशक्त रूपमा अभिव्यक्त भएका छन्। गजलहरूले बेथितिमाथि गहिरो प्रहार पनि गरेका छन्।”

त्यसैगरी, गजल मञ्च चितवनका पूर्व अध्यक्ष एवं समालोचक रमेश प्रभातले ‘अनायास’ गजलसङ्ग्रहको सफलताको शुभकामना व्यक्त गर्दै नेपाली गजल लेखनको परम्परा र यसको विकासक्रमबारे चर्चा गर्नुभयो।

कार्यक्रमका प्रमुख आकर्षणमध्ये एक रहे, स्वयं रामकृष्ण अनायासद्वारा भर्खर प्रकाशित कृति ‘अनायास’ बाट आधा दर्जन गजलहरूको वाचन। उनका गजलहरू खचाखच भरिएको हलमा गुन्जिँदा ताली र ‘वा वा’ को गुञ्जनले वातावरण उत्साहपूर्ण बनेको थियो।

गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष देवराज तिवारीले शुभकामना मन्तव्यसहित गजल प्रस्तुत गर्नुभएको थियो। उपाध्यक्ष हरि पौडेलले स्वागत मन्तव्य राख्नुभएको यस कार्यक्रमलाई कमल नेपाल र गौरी कँडेलले कुशलतापूर्वक सहजीकरण गर्नुभएको थियो भने गजल मञ्च चितवनका नि वर्तमान अध्यक्ष लेखराम सापकोटाले शुभकामना मन्तव्य राखेका थिए ।

प्रअ चौलागाईँद्वारा जन्मदिनमा १ सय ४५ पुस्तक हस्तान्तरण

जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले आफ्नो जन्मदिनमा १ सय ४५ पुस्तक विद्यालयलाई हस्तान्तरण गर्नु भएको छ । अघिल्ला सालहरूमा समेत पुस्तक हस्तान्तरण गर्दै आउनु भएका उहाँले ती पुस्तकहरू जनप्रिय रिडर्स क्लब मातहत रहनेगरी विद्यालयलाई उपलब्ध गराउनु भएको हो ।

जनप्रिय रिडर्स क्लबकी अध्यक्ष शिक्षा गौतमलाई पुस्तक हस्तान्तरण गर्दै चौलागाईँले जनप्रियले चालेको अभियानले विद्यार्थीहरूको मानसिक क्षमतामा अभिवृद्धि गर्ने, पठन संस्कृतिले डिजिटल डिभाइसको अति प्रयोगलाई विस्थापन गर्ने, तार्किक क्षमतामा वृद्धि गर्दै वैयक्तिक विकासमा योगदान पुर्‍याउनेमा विश्वस्त रहेको बताउनुभयो ।

१६ नम्बर वडाका वडा सदस्य गुरुप्रसाद ढकाल, विव्यस अध्यक्ष मोहनप्रसाद बस्ताकोटी, शिक्षक अभिभावक सङ्घका अध्यक्ष गीताप्रसाद दुलाल, विभिन्न समितिका सदस्य तथा शिक्षकहरूका साथ हस्तान्तरण कार्यक्रम गरिएको छ । अतिरिक्त विभाग संयोजक युक्तलाल विश्वकर्माले शुभकामनासाथ पुस्तकले सूचना र ज्ञानगुनका कुरा दिने अनि भविष्यको मार्गदर्शन गर्ने बताउँदै विद्यार्थीहरूलाई धेरै सुन्न र थोरै अनि आवश्यक बोल्नका लागि सन्देश दिनुभयो ।

साहित्य तथा बौद्धिक विभाग संयोजक संप्रस पौडेलले पठन संस्कृतिको खास रूप नै कक्षाको लाइब्रेरी रहेकोले पुस्तकहरू कक्षा-कक्षामैँ रहनेगरी उपहार प्राप्त हुने क्रम बढ्दै गएको र यसले विद्यार्थीहरूमा पढ्ने र त्यसबारे छलफल गर्ने आनिबानीको विकास भएको, निडर भएर बोल्ने क्षमताका साथै लेखनसीपमा सकारात्मक सुधार हुँदै गएको बताउनुभयो ।

विद्यालयका विभिन्न कक्षाहरूमा रहेको बुक र्‍याकमा पुस्तक राख्ने उद्देश्यले ‘एक व्यक्ति एक पुस्तक हस्तान्तरण कार्यक्रम’ अन्तर्गत शिक्षक, अभिभावक, विद्यार्थी, साहित्यकार, साहित्यसेवीहरूमार्फत् पुस्तक उपलब्ध भइरहेको छ । विद्यार्थीहरूले खाली घण्टीमा अध्ययन गर्ने, घरमा लगी अध्ययन गर्ने गरेका छन् भने अघिल्ला वर्षदेखि पुस्तक पढेपश्चात् त्यसबारे समीक्षा समेत गर्ने गरिएको छ ।

जिल्लास्तरीय कविता प्रतियोगितामा एकेडेमीका रोज कार्की प्रथम

आदिकवि भानुभक्त आचार्यको २१२अ‍ौँ जन्मजयन्तीको अवसरमा साहित्य सङ्गम मकवानपुरले आयोजना गरेको जिल्ला स्तरीय कविता प्रतियोगितामा हेटौँडा एकेडेमीका रोज कार्की प्रथम हुनुभएको छ ।

जनप्रिय माध्यमिक विद्यालयको व्यवस्थापनमा आयोजित कार्यक्रममा बालजागृति इङ्लिश सेकेण्डरी स्कुलकी आश्रिका न्यौपाने द्वितीय, अमर माध्यमिक विद्यालयकी रोशिका भट्टराई तृतीय र गोरक्षनाथ माविकी छात्रा इन्दिरा विश्वकर्मा तृतीय हुनुभएको हो ।

पुरस्कृत प्रतियोगीहरूलाई प्रथम द्वितीय तृतीय र सान्त्वनाका लागि सम्मानपत्रका साथमा क्रमश: २ हजार, १ हजार ५ सय, १ हजार र ५ सय रूपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

पुरस्कृत चारैजना कविहरूलाई जनप्रिय माध्यमिक विद्यालयमार्फत् एकएक प्रति कविताका पुस्तकहरू पुरस्कार प्रदान गरिएको थियो भने नगद पुरस्कार साहित्यसेवी सुमन गौतमले उपलब्ध गराउनुभएको हो ।

भानुभक्त आचार्य प्रतिष्ठान बागमती प्रदेशका संयोजक हयग्रीव आचार्यको प्रमुख आतिथ्य रहेको कार्यक्रम साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डिबी बर्तौलाको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गरी सुरु भएको कार्यक्रममा वडा नम्बर १६ का वडाध्यक्ष रामकृष्ण कोइराला विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा झसाप अध्यक्ष विश्वनाथ सन्जेल, नेलेसं मकवानपुरका अध्यक्ष माधव पोखरेल, सिस्नुपानी मकवानपुरका निवर्तमान अध्यक्ष राजकुमार लामिछाने, मुक्तक मञ्च मकवानपुरका सचिव सुबास सजल, मूर्तिकार ओमभक्त भण्डारी आदि अतिथि रहनुभएको थियो ।

विव्यस अध्यक्ष मोहन प्रसाद बस्ताकोटी, सदस्यद्वय इन्द्र प्रसाद खतिवडा र गोविन्द दुलालका साथै प्रअ भूपेन्द्र चौलागाईं, नेपाली भाषा समिति मकवानपुरका उपाध्यक्ष अनिता तिमल्सिनाको आतिथ्यमा आयोजित कार्यक्रममा अध्यक्ष बस्ताकोटीले साहित्यसँग मकवानपुरले विश्वास गरी कार्यक्रम आयोजना गरेकोमा आउँदा दिनहरूमा समेत यस्ता कार्यक्रमका लागि सहकार्य गर्न विद्यालय तयार रहेको बताउँदै प्रतियोगीहरूलाई बधाईका साथ उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा निर्णायकद्वय घनश्याम घिमिरे र देवीराम लामाका साथै भानुभक्तका परिचर्चाकार सुनिल गौतम, जनप्रिय मावि, जनप्रिय रिडर्स क्लबकी अध्यक्ष शिक्षा गौतमलगायतलाई मायाको चिनो प्रदान गरियो ।

सङ्गमका सदस्य संप्रस पौडेलले स्वागत गर्नुभएको कार्यक्रममा भानुभक्त आचार्य बारे साहित्यकार सुनिल गौतमले परिचर्चा गर्नुभयो भने कार्यक्रमलाई सङ्गमका सचिव मनोज पोखरेलले सहजीकरण गर्नुभएको हो ।

तारालाल श्रेष्ठको ‘साइकल सौन्दर्य’ हेटौँडामा

नवसाहित्य डटकम

हेटौँडा, ६ असार । तारालाल श्रेष्ठको अनुसन्धानात्मक पुस्तक ‘साइकल सौन्दर्य’ हेटौँडामा सार्वजनिक गरिएको छ । गत महिना नेपाल पर्यटन बोर्ड काठमाडौंमा विमोचन गरिएको पुस्तकबारे सहभागीहरूको जिज्ञासासमेत सुनिएको थियो ।

कार्यक्रममा बोल्दै श्रेष्ठले साइकल सँस्कृतिको विकासमा जोड दिन आग्रह गर्नुभयो । कार्यक्रममा साहित्यकार राजकुमार लामिछाने, शिक्षक दीपक अधिकारी, सञ्चारकर्मी भानुभक्त आचार्य, व्यवसायी प्रमोदसिंह रानाभाट, साइकल अभियानकर्मी तथा व्यवसायी राजु थापामगर आदिले आआफ्ना धारणा राख्नुभयो । थापाले प्यारालाइसिस भएको आफूलाई साइकलले नै प्रेरणा दिएको र यसैको व्यवसायमा संलग्न भएको बताउनुभयो ।

कार्यक्रममा लेखक, साहित्यकार, व्यवसायीसँगै नियमित साइकल चढ्नेहरुको उपस्थिति थियो । नेपालको साइकल संस्कृति इतिहास, वर्तमान र भविष्यबारे आवश्यक दस्तावेजीकरणको अभाव खड्किएकोले यो पुस्तकले स्रोतसामग्रीकै रूपमा प्रयोग गर्न सक्ने क्षमता राख्ने श्रेष्ठले बताउनुभयो । अभियानकर्मीका साथै साइकल चढ्ने र नचढ्ने सबै खालका पाठकलाई आकर्षित गर्न र नेपाली साहित्यलाई फराकिलो पार्न पुस्तकले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास गर्नुभयो ।

क्यान्सर जितेर सक्रिय साइक्लिङमा रहनु भएकी कविता चित्रकारबारे बोल्दै श्रेष्ठले सोही दिन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरूमाझ साइकल अभियान र सो पुस्तकबारे बोल्नुभएको थियो । सबैभन्दा व्यस्त रहने डाक्टरहरूले त अनिवार्य साइकल चढ्नुपर्ने भन्दै उहाँले साइकल चढ्न समय नहुनु वा सडक नहुनु आदित्यादि बहाना मात्रै भएको जवाफ दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरिरहनु भएका उहाँ २५ अध्यायमा अटोएथ्नोग्राफ्रिक वर्णन विधिबाट मेचिदेखि महाकाली तथा तराईदेखि हिमालसम्मका नेपालका साइकल समुदायका सत्य कथाहरु समेटेको श्रेष्ठले बताउनुभयो । अक्सफोर्ड युनिभर्सिटीमा पुग्दा डाक्टरहरू नै साइकल चढेर हिँडिरहेको देखेपछि आफू अझै बढी प्रेरित भएको बताउनुभयो । इङ्लिस स्कुलमा प्रिन्सिपल रहँदा सुरूसुरूमा साइकल चलाउँदा अप्ठेरो लागेर साँझमा मात्रै साइकल चलाएर हिँडेको अनुभव बताउँदै उहाँले साइकल चढ्दा शरीरमा ‘ह्याप्पी हर्मोन’ विकास हुँदै गएको बताउनुभयो ।

१ सय २२ वर्षअघिको गोरखापत्रमा बेलायती साइकलको विज्ञापनदेखि साइकलको इतिहासमा हेटौँडाको समेत महत्वपूर्ण देन रहेको बताउँदै अमेरिकाका लागि ‘इनभायरनमन्ट जस्टिस’ पुस्तकमा कबाडी सामान सङ्कलन गर्नेहरूले साइकल प्रयोग गर्ने सम्बन्धमा अनुसन्धान गरी लेख लेखिएको बताउनुभयो । साथै पुस्तक प्रकाशनमा प्रकाशकहरूमा व्यवसायिकरूपले फाइदा हुने सम्भावना नदेखेकाले आफैँले पुस्तक छपाइएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्यका लागि अनिगिन्ती फाइदा छ भन्ने जान्दाजान्दै साइकल चढ्नमा आफैँ र बाहिरबाट समेत प्रेरित गर्ने समाजको विकास नभएको उहाँले गुनासो गर्नुभयो ।

यसअघि काठमाण्डौमा नेविप्राका पूर्व प्रबन्ध निर्देशक तथा विमोचन कार्यक्रमका प्रमुख अतिथि कुलमान घिसिङमार्फत विमोचित सो पुस्तक डिस्कोर्स पब्लिकेशनले प्रकाशन गरेको हो । सञ्चारकर्मी सुरेश श्रेष्ठले सहजीकरण गर्नु भएको कार्यक्रममा किताबघर हेटौँडामा सो पुस्तक पाइने किताबघरका सञ्चालक साहित्यकार छवि अनित्यले जानकारी दिनुभयो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

मान्छेहरु/स्वस्तिका बानियाँ

स्वस्तिका बानियाँ

कवि/गजलकार/मुक्तककार

मान्छेहरु अग्लिने क्रममा छन्
मान्छेहरु सर्वोत्कृष्ट छन्
मान्छेहरु दौडिरहेका छन्
फगत् पुग्नलाई
मापनविहीन गन्तव्यको उचाई
हिजोका मान्छेहरु
आदिम जस्ता थिए
घाँस खान्थे
वन चहार्थे
पन्छीसङ्ग गीत गुनगुनाउथे
पशुसङ्ग मित्रता गाँस्थे
निस्फिक्री डुल्थे
बिना चप्पल
बिना वस्त्र
केवल स्वअस्तित्वको आडमा

आज मान्छेहरु
मान्छे जस्ता छन्
मन लाग्दैन उसलाई
स्पर्श गर्न घाँसका त्यान्द्राहरु
बेकाममा वन चहार्ने
बानी छैन उसको
ऊ नवबस्तिमा बसाइँ सरेको छ
जहाँ कुनै पशुको आगमन छैन
न उसलाई आकाशको घाम चाहिन्छ
न मूलको पानी
सम्पन्न छ
घर, गाडी, बत्ती
मात्र ऊ भित्रबाट खोक्रो भएको छ
बिर्सिएको छ उसले
आफ्नो प्राणदातालाई ।

म त भन्छु
मलाइ फेरि आदिम हुनु छ
र दौडनु छ
खुल्ला पाउ
पत्करहरुमा
झुण्डिनु छ लहरा लहरा
समाउँदै वृक्षका हाँगाहरु
जिउनु छ जिन्दगी
प्रकृतिको सुन्दर काखमा
शान्तिमय, प्रेममय
आनन्दताको अनुभूतिमा

हे प्रकृति !
मलाई पुनः स्वीकार गर ।।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

पहिचान हौ तिमी /स्वस्तिका दाहाल

नवसाहित्य डटकम

कवि/गजलकार/मुक्तककार/नियात्राकार

असंख्य अवरोध
अनगिन्ती अपमान
तैपनि हिडिरहेका साहसहरू
नारी भन, सृष्टि भन
या आमा भन आफूलाई
नमाग आफ्नो पहिचान
स्वयं पहिचान हौ तिमी ।
चढ्ने सिढी, दौडने मैदान
टेक्ने धुलो, बिझ्ने काँडा
उठाउने बोझ, बगाउने वेदना
तिम्रै मात्र हुन् ,नितान्त तिम्रै ।
यो विश्व देख्दैन पसिना
देख्छ त केवल आँसु
तिमी चुडीएको देख्छ
टुक्रिएको देख्छ
तिम्रो सतित्व पत्रपत्र
नाङ्गिएको देख्छ ।
सम्पूर्णताको धरातल हौ
तिमी
मूल्यमा बेचिए पनि
अर्थहीन फ्याँकिए पनि,
तोडेर लक्ष्मण घेराहरू
गरेर सिद्धान्तको विनिर्माण
आफैले भर्नु
व्यापकताको उडान ।
नभुल्नु आफूलाई
तिमी बिहानी हौ सुरुवातको
प्रकृति हौ सौहार्दको
देवी हौ आस्थाको
उमङ्ग हौ सम्भावनाको
उत्साह हौ सपना र वीजयको ।
कसैले कोर्नु पर्दैन तिम्रो नक्सा
आफैंमा पूर्ण हौ तिमी
नमाग कसैसँग पहिचान
स्वयं पहिचान हौ तिमी ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

पारिजात ‘पारिजात’ भइन्‌

समर्पण न्यौपाने

कवि

ओइलाएको समयसँग
कहिल्यै गरिनन् सम्झौता
कहिल्यै भिरिनन्‌
खुइलिएको ‘सामाजिक आदर्श’
बरु लडेर धर्मशास्त्रका आडम्बरहरूसँग
गिजोलिरहिन् ‘महत्ताहीन’ जीवनशास्त्रलाई
फुलिरहिन् निस्फिक्री
र त पारिजात, ‘शिरीषको फूल’ भइन् ।

कुँजिएर बसेको भए
सहरका साँगुरा गल्लीहरूमा
सायदै उन्मुक्त हुन्थ्यो कलम
लडेर ‘परिभाषित आँखाहरू’ विरुद्ध
उन्मुक्तिको लामो युद्ध
छिचोलिरहिन् हजारौँ ‘तोरीबारी, बाटा र सपनाहरू’
सुसेलिरहिन् कविता
अनगिन्ती ‘धुपी, सल्ला र लालिगुराँसको फेदमा’
अनि
कहिल्यै झुकिनन् सत्ता र शासकसामु
र त
पारिजात, ‘अपराजिता’ भइन् ।

सिटिहल भिडसँगै रमिरह्यो
भिड सिटीहलसँगै रमिरह्यो
थाती राखेर स्वाभिमान
हुनलाई त हुन सक्थिन् उनी पनि
त्यही भिडको गुमनाम सदस्य
तैपनि
बोकेर परिवर्तनको गहिरो अठोट
साटिरहिन् सङ्घर्षको गाथा
‘सिटिहलको बुढो ज्यामीसँग’
मागिरहिन्
पसिनाको मूल्य/श्रमको कदर
लेखिरहिन् कथा
नयाँ ‘सडक र प्रतिभा’ हरूको
दाँजेर जीवन
‘पर्खालभित्र र बाहिर’
तोडिरहिन् दासताका जन्जिर
भत्काइरहिन् असमानताका पर्खाल
छेडिरहिन् अनवरत मसी विद्रोह
र त बाँधेर निधारमा रातो पट्टी
पारिजात ‘राल्फा’ भइन् ।

जुन दिन
‘अध्ययन र सङ्घर्ष’ ले खारिएर
कस्सिन थाले उनका मुठ्ठीहरू
तिखारिएर जीवन र दर्शनले
दौडिन थाले उनका कलमहरू
शब्दहरूमा मौलाउन थाले
भुइँमान्छेका कथा
तब उनी ‘विष्णुकुमारी’ रहिनन्‌
उनको कलम ‘आकाङ्क्षा’ रहेन
र त
दिएर साहित्यलाई एउटा नयाँ आयाम
पारिजात, ‘पारिजात’ भइन् ।

हो, साक्षी राखेर
सयौँ अनिदा रातहरू
गरिरहिन् वर्गमुक्तिको शङ्खनाद ‘अनिदो पहाडसँगै’
र त
पारिजात, ‘पारिजात’ भइन् ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

३ साहित्यिक स्रष्टा र १ साहित्यसेवी सम्मानित, प्रतियोगितामा कृ्श्मा प्रथम, आकाङ्क्षा द्वितीय र स्वरुपा तृतीय ३ साहित्यिक स्रष्टा र १ साहित्यसेवी सम्मानित

नवसाहित्य डटकम

कवि/गजलकार/मुक्तककार/नियात्राकार

आँचल लेखनको थलो मात्रै नभइ आफ्ना अनुभव र सङ्घर्षलाई समेटेर समाजलाई झक्झकाइरहेको सर्जकहरूको समूह होः प्रमुख जिल्ला अधिकारी श्रेष्ठ
०००
नवसाहित्य अनलाइन । आँचल साहित्य कला पुञ्ज मकवानपुरले आयोजना गरेको विद्यालय तहस्तरीय कविता प्रतियोगितामा ब्रह्मदिक एकेडेमीकी छात्रा कृष्मा लौडारी प्रथम हुनु भएको छ । प्रतियोगितामा ज्ञानदीप शिक्षा निकेतनकी आकाङ्‌क्षा निरौला द्वितीय तथा सिद्धार्थ माध्यमिक विद्यालयकी स्वरुपा गुरागाईं तृतीय हुनु भएको हो । ज्ञानदीप शिक्षा निकेतनका छात्र अनमोल पोखरेलले सान्त्वना स्थान प्राप्त गर्नु भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त प्रतियोगीहरूलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र १ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको छ । कक्षा–८ देखि कक्षा–१२ सम्मका विद्यार्थीका लागि आयोजित प्रतियोगिताका लागि प्राप्त २६ कवितामध्ये उत्कृष्ट १० छनोट गरी वाचनमा सहभागी गराइएको अध्यक्ष भावना सापकोटाले बताउनुभयो ।
मकवानपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको प्रमुख आतिथ्य रहेको कार्यक्रम आँचलकी अध्यक्ष भावना सापकोटाको अध्यक्षतामा आयोजना गरिएको हो ।

३ जना साहित्यिक स्रष्टा र १ साहित्यसेवी सम्मानित
१. मङ्गला देवी श्रेष्ठ बालप्रतिभा पुरस्कार सम्मान २०८१
बाल प्रतिभा अनसुया खनाल, तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालय
(राशि ३ हजार ५ सय, पुरस्कार संस्थापक देवप्रसाद श्रेष्ठ)
यस सम्मानबाट हालसम्म सम्मानित बाल प्रतिभाहरू प्रज्वल ढुङ्गाना ऋतु केबी समर्पण न्यौपाने प्रसिद्धि लामिछाने हुनुहुन्छ ।

२. मुक्ति-तारा नवप्रतिभा सम्मान २०८१
नवप्रतिभा स्वस्तिका दाहाल
(राशि रु. ५ हजार १, संस्थापक मुक्तिगोविन्द वैद्य र तारा वैद्य)
यस सम्मानबाट हालसम्म सम्मानित नवप्रतिभाहरू प्रसिद्धिका लम्साल प्रसन्ना चौलागाईँ कृतिका लौडारी र स्वस्तिका बानियाँ हुनुहुन्छ ।

३. सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान २०८१
कवि पुरुषोत्तम आचार्य
(राशि १० हजार १, सम्मान संस्थापक चन्द्र किरण श्रेष्ठ र मेनुका शर्मा)
यस सम्मानबाट हालसम्म सम्मानित युवा प्रतिभाहरू सुवास खनाल, छवि अनित्य, विष्णुबहादुर विश्वकर्मा र दीपक गौतम हुनुहुन्छ ।

४. आँचल सम्मान २०८१
अक्षय कोष संस्थापक प्रकाश लम्साल
यस सम्मानबाट हालसम्म सम्मानित साहित्यसेवीहरू मुक्ति गोविन्द वैद्य र हरिवंश भेटवाल हुनुहुन्छ।

कार्यक्रममा विभिन्न प्रस्तुति कार्यक्रमहरू सञ्चालन गरिएका थिए
१. डिजिटल स्क्रिनको प्रभाव विषयक बहस,
२. सम्बन्धका धागाहरु विषयक मनोपरामर्श,
३.कवि निमेष निखिलको कवितासम्बन्धी ‘की नोट स्पिच’

सम्मानित स्रष्टाहरूका साथै साहित्य सर्जकहरूका आआफ्ना रचना वाचन समेत भएका थिए । विभिन्न विद्यालयका विद्यार्थीहरूले एकल तथा सामुहिक गायन समेत गरेको कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक र स्रष्टाहरूको सक्रिय सहभागितामा रह्यो ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले महिलाहरूको सक्रियतामा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको आँचललाई लेखनको थलो मात्रै नभइ आफ्ना अनुभव र सङ्घर्षलाई समेटेर समाजलाई झक्झकाइरहेको बताउनु भयो । यस्तै उहाँले समाजमा ठुला परिवर्तनमा साहित्य औजारका रूपमा रहिआएको र समाजमा सशक्तिकरण र समानताका लागि साहित्यकारहरूले अरूका आवाज, भावनालाई प्रवाह गर्ने कार्य पवित्र कार्य रहेको भन्दै आँचललाई शुभकामना व्यक्त गर्नुभयो ।

हेटौँडा पार्टी प्यालेसमा शनिबार आयोजित बृहत साहित्यिक एवम् साँस्कृतिक कार्यक्रमलाई हेटौंडा उमहानगरपालिकाले प्रवर्धन गरेको हो भने कार्यक्रमलाई विभिन्न सत्रमा सबिता तिमल्सिना र रजनी पौडेलले सहजीकरण गर्नुभयो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

मातृभूमि साहित्य महोत्सव-२०८२ सम्पन्न ।

नवसाहित्य डटकम

१६ जेठ । नवसाहित्य अनलाइन ।
मातृभूमि साहित्य समाज मकवानपुरले मातृभूमि साहित्य महोत्सव २०८२ सम्पन्न गरेको छ । बिहिवार हेटौंडा उपमहानगरपालिकाको प्रवर्धनमा आयोजित महोत्सवमा स्रष्टा सम्मान, ४ वटा विषयहरूमा परिचर्चा, परिसंवाद र बहस सञ्चालन गरियो ।

हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्य र मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार प्रताप बिष्ट, साहित्यिक स्रष्टाहरू गीता रेग्मी, चन्द्र गुरूङ, माधव काफ्ले, सुदेश सत्याल सम्मानित हुनुभयो ।

कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिने आयोकले जानकारी दिएको छ ।
क) सम्मान: मातृभूमि पत्रकारिता दीर्घ सेवा सम्मान २०८२
सम्मानित स्रष्टा: पत्रकार प्रताप विष्ट
सम्मान संस्थापक: मातृभूमि साहित्य समाज

ख) सम्मान: मायादेवी मातृभूमि पुरस्कार – २०८०
सम्मानित स्रष्टाः साहित्यकार गीता रेग्मी – काठमाडौँ
सम्मान संस्थापकः रुकु कार्की
पुरस्कार राशिः २१ हजार

ग) सम्मान-राजकुमार स्मृति मातृभूमि सम्मान२०८०
सम्मानित स्रष्टाः कवि चन्द्र गुरुङ, धरान
सम्मान संस्थापकः माननीय इन्द्रबहादुर बानियाँ
नगद राशि- १५ हजार

घ) सम्मान: क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान २०८०
सम्मानित स्रष्टा: साहित्यकार माधव काफ्ले, रौतहट
सम्मान संस्थापक: माननीय इन्द्रबहादुर बानियाँ
ईन्द्रबहादुर बानियाँ नगद राशि: १५ हजार

ङ) सम्मान: होमनाथ बलदेवी मातृभूमि छन्द साहित्य सम्मान२०८१
सम्मानित स्रष्टा: कवि सुदेश सत्याल
सम्मान संस्थापक: हयग्रीव आचार्य
नगद राशि: १५ हजार

च) सम्मान:मञ्जु सुवेदी स्मृति मातृभूमि सम्मान-२०८१
सम्मानित स्रष्टा: रजनी ज्ञवाली (नर्सिङ सेवा)
सम्मान संस्थापक: वनमाली सुवेदी तथा कृष्णप्रसाद दाहाल नगद राशि: १५ हजार

छ) सम्मान: झलकबहादुर बानियाँ स्मृति मातृभूमि जीवन सङ्घर्ष प्रोत्साहन वृत्ति -२०८०
कमला आधारभूत विद्यालय, हेटौँडा १८, कक्षा ८ को छात्र एवम् छात्रा ।
सम्मान संस्थापक: राजबाबु पहाडी
नगद राशि: ७ हजार ५ सय

कार्यक्रममा कविहरू निमेष निखिल, भूपिन, चन्द्र गुरूङ, राधिका कल्पित, सुरेन्द्र अस्तफल, सुदेश सत्याल, सञ्चारकर्मीहरू प्रताप विष्ट, गणेश लाठ र रामकुमार एलन आदिको बहस कार्यक्रम रहेको थियो । यस्तै अधिवक्ताहरू ऋषभ अधिकारी, मदन दाहाल, अप्सरा तिमल्सिना, गणेश लाठ, भावना सापकोटा, स्रष्टा हयग्रीव आचार्य, पर्यटन व्यवसायी भागिरथ खरेल, १० नं. वडाध्यक्ष फूर्वा दोर्जे लामा र हेउमनपाका उपनिर्देशक डा. भीमप्रसाद तिमल्सिनालगायतको समेत परिचर्चा कार्यक्रम रहेको थियो ।

कार्यक्रममा साहित्यिक स्रष्टाहरू भूपिन, चन्द्र गुरूङ, राधिका कल्पित, सुरेन्द्र अस्तफल, सुदेश सत्याल, उमेश तिमल्सिना, उत्सव चौलागाईँ, सुबास सजल, राजकुमार लामिछाने, स्वस्तिका दाहाल, स्वस्तिका तिमल्सिना, हरिकृष्ण काफ्ले, प्रविना प्रयासी, समीता पौडेल, सुरेन्द्र अस्तफल, रजनी पौडेल, अनसुया खनाल, सबिता तिमल्सिना, हरि पौड्याल, केशव समर्पण, सञ्जीत श्रेष्ठ, यश लामा, देवराज तिवारी, पुष्प अधिकारी अञ्जली र संप्रस पौडेललगायतले रचना सुनाउनुभयो ।

पल्पसा प्याराडाइजमा आयोजित कार्यक्रमलाई विभिन्न सत्रमा सानु खनाल र किशन पौडेलले सहजीकरण गर्नुभएको हो ।

कार्यक्रमका बारेमा थप जिज्ञासा रहेमा हाम्रो अनलाइन टेलिभिजन हेर्नुहोला । https://www.youtube.com/@nawasahitya

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन