Home Blog Page 57

कविता : डायरीको पानाबाट / एस आर दुवाडी

बजारमा नबिकेपछि हात
नचलेपछि खुट्टा
आत्मा बेच्न यता भासिएको छु,
के गर्नु राष्ट्रियताले जोवन नचल्ने रहेछ ।

सानोमा देखेको रहरको सहर
मलाई जहर किन्न पठाउँछ र भन्छ
खाए आज स्वदेशमा मर्छस्
नभए भोलि त खानैपर्छ परदेशमा,
भावनामा जस्तो सुन्दर नहुदो रहेछ देश
इतिहासमा पढेँझैँ शक्तिशाली पनि रहेनछ देश
अध्यारो वर्तमानमा
उज्यालो सपना सजाउन
हुरीमा टुकी जोगाउनु जत्तिकै रहेछ असजिलो,
त्यसैले बतासले नछुने बत्ती खोज्न
यता भासिएको छु ।

आकाशको चन्द्रमा बरु सजिलै टिपिदिन्थे सानोमा
हत्केलाले छोपेर, पोल्टामा जोगाएर
बहिनीलाई राखिदिन्थे संसारभरको सुख
तर चन्द्रमाझैँ जोगिन्न रहेछ बहिनीको अस्मिता
पोल्टामा नअडिने रहेछ आमाको ममता
आफ्नाहरूमा नअटेपछि
परायाहरूको मुठ्ठीको भिङ्गो बन्न
यता भासिएको छु ।

गुराँसले लाज मानेपछि फुल्न
चौतारी तर्सिन थालेपछि देखेर बटुवा,
माटोले जुध्न नसकेपछि कङ्क्रिटसँग
म एउटा निरीह देशभक्त
कसरी जुध्न सक्थें र अभावसँग
नतर्सी बाँच्न कहाँ सक्थें र परिस्थितिसँग
अलिकति मुस्कान बचाउन सक्छु कि भन्ने आशामा
आज रगत बेच्न आइपुगेको छु परदेशमा ।

भीमसेनथापा-७, गोरखा

कविता : मध्यपूर्वको भूगोलबाट / रञ्जिता अधिकारी

मध्यपूर्वको अन्तिम सीमांनाबाट हरेक साँझ म सुदूरपूर्व हेर्छु
नियाल्छु–कतै त अवस्य छ, मेरो माटोको सिमाना ।

छोइन्छु– सगरमाथाको चिसो हरकले तर छैन पस्मिनाको पछ्यौरा
म आँसुकै ओछ्यानमा पसिना ओढेर निदाउँछु
ए देश
परदेशमा तिम्री छोरी थाकेकी छे ।

बालुवामा धसिदै गैरहेको बेला
म सम्झिन्छु– डोकोमा जुन बाकेर मैले उक्लिने भञ्ज्याङ्ग र देउरालीहरु
गगनचुम्ने टावरमा चढिरहेको बेला म सम्झिन्छु–
लेकको बुकी सिउरिएर मैले झर्ने बेसीका हरिया फाँटहरु ।

यो मेरो
पात बजाएर भाका लाउने उमेर हो, तर सिउँडीको काँडामा आयू उनिरहेछु

वर र घर खोज्ने बाआमालाई उभ्याएर चौतारामा
परदेश खोजेँ मैले पठाएँ खबरहरु,
तर खुशी पठाउन सकिनँ
पठाए पैसा, तर प्रेम पठाउन सकिनँ ।

यतै देख्छु देउडा खेल्ने कर्णाली हुड्के नाँच्ने महाकाली
सारङ्गीका कर्खाहरु यतै रुन्छन् भेटिन्छन् कौडा नाँच्ने वैशालुहरु यतै

थाहा छैन
कस्ले खुवाइरहेछ देशलाई मनतातो पानी ।

ए प्रिय देश, सन्देश छ एउटा
परदेशमा तिम्री छोरी थाकेकी छे,
हारेकी छैन अब कहिल्यै नहार्ने भएर फर्किनेछु ।
धादिङ

कविता : दिवा रात्रि / देवेन्द्र अधिकारी

छ सम्बृद्ध सारा भयो के अभाव
बिना अर्थमा फेरिदैछन् स्वभाव ।
म यो देशको भूमिमा गर्व गर्छु
म नेपालके मृत्तिका माथ धर्छु ।।

त्यही कोखमा बस्न इच्छा जगाई
डस्यो स्नेहको भोकले चितलाई ।
विमारी भएको छु हे १ जन्मदाता
खुशी हेर्न चाहन्न केही विधाता ।।

म बन्नेछु सच्चा इमान्दार पुत्र
म बन्ने छँदै छैन तिम्रो कुपुत्र
म बन्नेछु यो देशको मूल सूत्र ।
गुनासा नराखे नराखे निराशा
प्रभा छ श्रीसूर्य बोकेर आशा ।।

कुनै मोहमा फस्न राजी हुदैन
म छोरा हुँ नेपालको जो रुदैन
म छोरा हुँ तिम्रो कतै यो रुदैन ।
म पुछ्नेछु तिम्रो सधैं अश्रुधारा
म तिम्रो तिमी नित्य मेरो सहारा ।।

छ अन्याय आक्रान्तमा देश आज
र भाग्दैछ अन्यत्र हाम्रो समाज ।
गलेको छ यो देह जल्दैछ छाती
बनी कालझैं गर्जिदी मेघ माथी ।।

यही देशमा आँउदैछन् समस्या
बजाएर बेच्छन्दको दोलबाजा ।
म सुन्दैछु चीत्कार तिम्रो अराज
लुके भानु अन्तै भएको छ साँझ ।।
भक्तपुर

कविता : झिल्काहरूको पर्खाइमा / समर्पण न्यौपाने

आँखामा थाती राखेर
इन्द्रेणी सपनाहरू
हामी यथास्थितिसँग
अनिश्चितकालीन युद्धविराममा छौँ ।

आफ्नै इन्द्रियहरूलाई
हतकडी लगाएर
काँतर पर्खाइमा छौँ
पल्टिएका छौं समयअघि निरीह
आदर्श झिल्काको ।

चुपचाप पर्खदै छौँ बर्सौँदेखि
साहसी झिल्का
जसलाई जिम्मा लगाएर
गर्नुपर्ने कामहरूको
एउटा लामो सूची
फर्कन चाहन्छौँ फेरि
उही कुम्भकर्ण निद्रामा ।

पर्खदै छौँ
झिल्का जिब्राहरू
जसले हाम्रा लागि बोलिदिऊन्
झिल्का हातहरू
जसले हाम्रै भलो गरिदिऊन्
झिल्का खुट्टाहरू
जसले पहिल्याइदिऊन् हाम्रा लागि मार्ग
हामी बस पछ्याइरहौँ
हरेक पदचाप ।

हामी विश्वस्त छौँ
नायक झिल्काले नै
जुटाएर एक भूगोल हिम्मत
तोडिदिने छन् प्रतिबन्धका पर्खालहरू ।

विभेदका बनमाराहरूमा
डँढेलो सल्काएर
ल्याउने छन् पालुवा समानताको
हामीले कहिल्यै बनाउन आँटेनौँ
बनाउने छन्
मान्छेसँग मान्छे जोड्ने पुल ।

हामी झिल्का पटक्कै होइनौँ
किनकि हाम्रा परिवार छन्
छोराछोरी छन्
अझ छ ‘प्यारो भविष्य’
जसका लागि बाँचिदिनै पर्छ हामीले
यसरी पर्खिरहेछौँ झिल्का जो बाँचिदिओस् हाम्रा लागि ।

आफ्नै सुगन्ध नचिनेर कस्तूरी झैँ भौतारिँदै छौँ
आफूभित्रको आगो निभाएर
हामी झिल्काहरू पर्खदै छौँ ।
मकवानपुर ।

कविता : पसिनाको दैनिकी / उत्सव राज चौलागाई

झिसमिसेमै पसिनाले–
हल्केला वरिपरि
ठेलाको रिङरोडभित्र
कलिलो मुस्कानसँग काँध हालेर हिँड्ने गर्छ सधैँ
हिँड्ने गर्छ खुट्टाका औंलाले बाटो अँठ्याएर
स्याउलाको भारीमाथि घाम बोकी ल्याउन
उकालै उकालो ।

बिहानभर
भुइँ उठाएर अनुहारको दुर्गन्ध पुछिदिन्छ क्रमशः
पातका धुलो टक्टकाएर

देशको फोक्सो पखालिदिन्छ ।

धानका गर्भवती बालाहरूलाई
प्राकृतिक क्याल्सियम खुवाएर समयमै
स्फूर्त बनाइराख्छ मकैका भरिला दाँतहरू माझेर
सम्बन्धविच्छेद गरिदिन्छ बैगुनी किराहरूसँग ।

घामको आङ मसाज गरेर मध्यान्हमा
विभेदका दुखाइहरू झारिदिन्छ
विचलित थकाइहरू मारिदिन्छ
निधारको खुट्किलोबाट ओर्लेर
जमिन छुन्छ र मस्तिष्कमा राख्छ माटो ।

तरुण हावाको विकृत तातोले
बाफिएको चस्मा सफा गर्दै शीतलता भरिदिन्छ ।

भत्किएको चुल्हो लिपपोत गरेर
लालाबालाहरूको पेट भरिदिन्छ
नाङ्गो पहाडको आङभरी
हरियो पहिरन पहिरिदिन्छ
अटल हिमालको कठ्याङ्ग्रिएको माथमा
मधेसी तेलको तातो टोपी लगाइदिन्छ ।

ठिक यसरी नै
झिसमिसेदेखि निरन्तर बगिरहने पसिना–
कुनै रात निदाएको छैन
देशको नक्सा नकोरी ।

कुनै सपना उडाएको छैन
बादल छिचोलेर हराउने जहाजसँगै ।

यो मुलुक बनाउने पसिना हो सधैँ सधैँ
इमानको बाटो हिंड्न सिकाउँछ ।

सरकार !
पसिनाको दैनिकी भुलेर तिमी कता हिंडिरहेका छौ ?
मकवानपुर

कविता : द्विविधा / स्मिता श्रेष्ठ

 

अस्पतालमा बिरामीहरूको लामो लाइन छ
र मलाई यही भीड छिचोलेर
मुर्दाघरसम्म पुग्नु छ,

यो भीडमा
एक्कासि सास फेर्न गाह्रो भएका बिरामी छन्
घरिघरि सास फेर्न गाह्रो भएर
तारन्तार अस्पताल धाइरहेका परिचित अनुहारहरू छन्
अन्तै कुनै ’डाइग्नोसिस’ पाए पनि
’सेकेन्ड अपिनियन पर्खेका मायालाग्दा अनुहार छन्,
मृत्युको अल्टिमेटम पाइसकेर
“पेलिएटिभ केयर“को लागि
सबभन्दा राम्रो नर्सिङ–सेन्टर खोजिरहेका आशावादी अनुहार छन्

अलिपर आकस्मिक विभागमा
आकस्मिक शल्यक्रियाको लाइन–अप पनि छ
र मलाई मुर्दाघरसम्म पुग्नु छ

मुर्दाघरमा सायद
पहिलो प्रेमको वियोगार्थ
विष सेवन गरेको कुनै स्वस्थ्य शरीर होला,
आवेगको आत्मघाती झिल्कोले जलाएको कुनै स्वस्थ्य शरीर होला,
परिवारका अतिशय प्रश्नहरूमाथि प्रतिप्रश्न गर्न नसकेको कुनै स्वस्थ्य शरीर होला
समयको सजीवतालाई चुनौती दिन नमानेको कुनै स्वस्थ्य शरीर होला

जो होला
अपेक्षाहरूका हाजिरीजवाफमा तैनाथ उभिन नसकेर
कसैको अपेक्षा नै नगरेर
कसैको प्रतीक्षा नै नगरेर
कुनै औषधी, मलमपट्टी या चमत्कारको आशा नगरेर
मुर्दाघरको टेबुलमा लमतन्न चिसिएको एउटा शरीर होला

र मलाई भने
अस्पतालका तमाम बिरामीहरू बेवास्ता गर्दै
मुर्दाघरसम्म पुग्नु छ !

सिन्धुपाल्चोक

कविता : शान्तिको विरुवा / ऋषिराम पाण्डेय

रोपेर आँगनमा तुलसी र पारिजात
छरेर हृदयको बारीभरि प्रेम
उमारेर शान्तिको अङ्कुर
फलाउनुछ यो भूगोललाई बाँड्न पुग्नेगरि बुद्धत्व ।

कान सुन्न चाहिरहेछ
प्रकृतिको प्रथम ध्वनि
जुन आकाशले सिकाएको हो धर्तिलाई
मन मागिरहेछ शान्तिको प्याला पिउन
जसले प्रत्येक हृदयबाट निस्किरहने आर्तनाद निभाउन सकोस् ।

आँखा देख्न चाहिरहेछ माटोमा
लहलह झुलिरहेको भाइचाराको सम्बन्ध
छाला, जो स्पर्श गर्न खोजिरहेछ अमृतप्याला
हावाको अतृप्ततालाई समेट्न खोज्दैछ मन
मलाई मैभित्रको एउटा बुद्धत्व भेट्नुछ
जसले प्रयोगशालामा परीक्षण भइरहेका
मिशाइल र आणविक हतियारहरूलाई
निषेध गर्न सकोस यो धर्तिबाट

आवाजहरू शान्तिका लागि निस्किउन्
पाइतालाहरू भ्रातित्वका लागि उचालिउन्
आफ्नो अस्तित्व शिखर चढेको
देख्न चाहने आँखाले
ननिमोठोस् अरुको विचारलाई
छायाँमा बसेर सुस्ताउन सकोस् सम्बन्धको नदी
विश्वमा प्रेमको सुन्दर बीज रोपेर
फैलाउन सकूँ संसारले मागिरहेको शान्तिको बिरुवा ।
कालीगण्डकी २, स्याङ्जा

कविता : सडक / गिता पुडासैनी

प्रिय लेखक
मलाई यो अत्यासलाग्दो समयमा
सडकबाट उठाएर
सडक नपुगेको गाउँसम्म तिमीले मात्रै पु¥याउन सक्छौ ।

यो सहरमा सडक भएर बाँच्न नसकिने रहेछ
शासकहरूका निरङ्कुशताले थिचिरहन्छ
कक्षाकोठा आइपुग्छ चेतनाको उज्यालो घाम खोज्न
कफन बाँधेर निस्कन्छन् हस्पिटलका भगवानहरू
जीवनको भिख माग्न
खेतका गरागराबाट हाम्फालेर
आइपुग्छ पसिनाको खोलो मैमाथि
मेरा छातीमा फ्याँकिएको ढुङ्गा र ईटाबाट
सहर ठड्याउँछ अग्ला दरबार
तर
दरबारका झ्याल ढोकाहरूले
देख्ने रहेनछन्
उसकै अघिल्तिर जीवनको भिख मागिरहेको देशको नक्सा ।

मलाई पु¥याइदेऊ गाउँकै गोरेटोहरूमा
जहाँ फुलिरहन्छन् प्रेमका थुङ्गा
भेटिन्छन् काँधमा देश बोकेर हिडेका बटुवा
हाँसिरहन्छन् पर्खालहरूमा देशको तोते हाँसो
यो सहरमा फराकिलो सडक भएर खुम्चिनुभन्दा
साँघुरो गोरेटो भएर बाँच्ने रहर छ
जहाँका फराकिला मन भएका मान्छेका लागि थाप्न सकुँ यी हत्केला

प्रिय कवि !
मलाई यी कुरुप शासकहरूबाट छुटाएर
गाउँसम्म पु¥याइदेऊ ।
बेलकोटगढी– ८, नुवाकोट

कविता : कायाकल्प / मोहित जोशी

मूर्ति बरफको बनाउनुपर्छ,
मूर्तिहरूलाई पनि हेक्का रहोस्–
आफू कति सजिलैसँग पग्लिन सक्छु भनेर ।

बरफ
पगाल्न पनि सजिलो,
फुटाल्न पनि सजिलो ।

नयाँ तथ्यको सूर्यमा
सत्यको स्वरूप पग्लिन्छ
मूर्ति बनेर पूजिरहेका
परम्पराहरू पग्लिन्छन् ।

भगवानहरू पनि त द्रवित हुनुपर्छ–
नयाँ भाडोमा, नयाँ आकारमा जम्नुपर्छ
जसरी सागर पग्लेर बादल जम्छ ।

इतिहास एउटा मूर्ति
शासक अर्को मूर्ति ।

धर्म एउटा मूर्ति
भय अर्को मूर्ति ।

स्वयम् एउटा मूर्ति,
मन पनि त अर्को मूर्ति ।

सबै मूर्तिहरू कुनै दिन पग्लिनु आवश्यक छ ।
मूर्ति नपग्लिने हो भने समय जम्छ ।
जमेको समय सबैभन्दा खतरनाक मूर्ति हो ।

मूर्ति त्यतिञ्जेल पग्लिदैन
जबसम्म मनको मूर्ति ढुङ्गाको हुन्छ–
मन त बरफकै भए असल हुन्छ ।

काठमाडौँ

कविता : फ्रेमभित्रको देश/बैकुण्ठ लामिछाने

नदेखेपछि सम्भावनाको अङ्कुरण
नभेटेपछी भबिष्यको सगोल चित्र
भक्कानिएर एउटा मलिन अनुहार
पढाइको रसिद बोकेर
आइपुगेको छ
विश्वबिद्यालयदेखी बिमानस्थलसम्म ।

दृश्यमा,
अस्तब्यस्त सडकको छातिमा के देखिएन ?
स्टेशनरीमा बिल बढाइरहेको लेखापाल,
समस्याहरू छलेर बेतोडले हुँइकिदै गरेको राज्य,
घरैपिच्छे टाँगिएका विदेशी भाषाका होर्डिङ बोर्डहरु
त्यही घरहरुबाट हतारमा निस्किरहेका मलिन भबिष्यहरू
साना अक्षरका मलेसिया दुवई, कतारका श्रमकारखानाका विज्ञापनहरु
त्यहीबाट निस्किरहेका ठेला उठेका हत्केलाहरू
आफ्नै बिक्रीको बिज्ञापन छातिमा टासेर टोलाइरहेका व्यवसायीहरू
एसीको हावामा लहराइरहेको सुकिलो बैङ्क
ऋण म्याद थप नपाएसँगै सुसाइड नोट लेखिरहेको ब्यापारी
एक्स्पायर्ड लाइसेन्सले देश चलाइरहेको सिंहदरबार
अदालतसँगै बाटैमा बिक्रीमा राखिएको धर्मको कारखाना
बिरामी बोकेर दौडिरहेका आफन्तहरू

पुगेपछी बिमानस्थल
देखियो,
बाकसमा आइरहेको श्वास झिकेको मान्छे
घटस्थापनाकै अघिल्लो दिन घर छाडेर हिडेका युवाहरू
प्रेमिका छाडेर मुग्लान निस्किएको कलिलो प्रेम
फर्कने नफर्कने कौतुहलताले गालेको अनुहारहरूको भिड
यति हिडेपछि देश जम्मै देखिने रहेछ एउटै फ्रेममा ।

सन्त्रासको भुमरीमा
एक्लै आइपुगेको हुँ आफ्नै बिदाईमा
प्रश्नहरुको एम्बुसमा उभिएर
आफैंलाई सोधिरहेछु
फर्केर तँ कहिले आउछस् ?

                             मकवानपुर