Home Blog

मुक्तक मञ्च मकवानपुरको चौथो वार्षिकोत्सव, दोस्रो अधिवेशन एवं स्रष्टा सम्मान फागुन १६ मा

नवसाहित्य डटकम

संवादाता

हेटौँडा । नेपाली साहित्यको मर्मस्पर्शी विधा मुक्तकको श्रीवृद्धिका लागि समर्पित मुक्तक मञ्च मकवानपुरले आफ्नो स्थापनाको चौथो वर्षगाँठलाई विशेष उत्सवका रूपमा मनाउने भएको छ। यही फागुन १६ गते शनिबार बिहान ११ बजे हेटौँडा–४ स्थित हेटौँडा क्याम्पसको सभाहलमा यो भव्य समारोह आयोजना हुने भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा अग्रज मुक्तककार हरिकृष्ण काफ्लेको उपस्थिति रहने मञ्चले जनाएको छ।

समारोहमा विभिन्न स्रष्टाहरूलाई नगद राशिसहित विशेष सम्मान अर्पण गरिनेछ। जसअन्तर्गत भैरहवाका डा. मुरारि पराजुलीलाई ‘हरिकृष्ण काफ्ले मुक्तक सम्मान’, काठमाडौँका सुनिल अधिकारीलाई ‘तारा स्मृति मुक्तक सम्मान’, काठमाडौँकै मदन नेपाललाई ‘बहादुरानन्द स्मृति मुक्तक सम्मान’ र मकवानपुरका युवा स्रष्टा अनिस न्यौपाने ‘मनको आँखा’ लाई ‘इन्दिरादेवी स्मृति मुक्तक सम्मान’ प्रदान गरिने भएको छ।

यी सम्मानहरूको स्थापना क्रमशः अग्रज साहित्यकार आर.सी. रिजाल, मञ्चका संस्थापक उपाध्यक्ष किसन पौडेल, संस्थापक अध्यक्ष डी.बी. बर्तौला र प्रलेस मकवानपुरका निवर्तमान अध्यक्ष श्रीराम अधिकारीले गर्नुभएको हो।

मञ्चले विगतका वर्षहरूदेखि नै मुक्तक विधामा निरन्तर साधनारत व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ। यसअघि बुटवलका रमेश समर्थन, मकवानपुरका देवराज खरेल, रौतहटका हरिकृष्ण काफ्ले, चितवनकी विमला अधिकारी देवकोटा, सिन्धुलीका लोकेन्द्र डहरे, पोखराका दीपक समिप, काठमाडौँकी निलाञ्जला भारद्वाज तथा मकवानपुरका समर्पण न्यौपाने र विर्खे अन्जान एवं सिन्धुलीकी अस्मिता दाहाल यस मञ्चबाट सम्मानित भइसकेका छन्।

वार्षिकोत्सवको समापनसँगै मञ्चको दोस्रो अधिवेशन समेत सञ्चालन गरिनेछ। अधिवेशनको विशेष सत्रमा संस्थाको आगामी कार्ययोजना, संगठनको वृहत्तर विस्तार र नयाँ नेतृत्व चयनका विषयमा घनीभूत छलफल हुनेछ। मञ्चका सचिव सुबास सजलले यस मुक्तकीय अभियानलाई अझ सशक्त, मर्यादित र संगठित बनाउने मूल उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभएको छ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

नवसाहित्य डटकम

समाचारदाता

गीतकार श्रीराम राईको नयाँ गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। एकतर्फी प्रेमको संवेदनशील अनुभूति र आत्मीय भाव समेटिएको यस गीतले छोटो समयमै श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउन थालेको छ। ओमप्रकाश राईको संगीत र पेमा शेर्पा राईको स्वरले गीतलाई मर्मस्पर्शी बनाएको छ। गीतमा सन्तोष प्रगाढ राईको एरेञ्ज, वीरेन्द्र भाट ‘विपिन’ को इडिटिङ र गोविन्द सोनीको मिक्सिङ–मास्टरिङ रहेको छ। यसअघि पनि गीतकार राईका केही गीत रेकर्ड भइसकेका छन्। शिला खनालले २०७५ मा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ गीत गाएकी थिइन्। त्यस्तै मनमा बी राईले २०७९ मा र नवराज पराजुलीले २०८१ मा ‘सञ्चो छौ कि विसञ्चो’ गीत गाएका थिए। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–७, सिर्जनाकुञ्ज, दोर्पाका स्थायी बासिन्दा राई दस वर्षे शिक्षण पेशा छोडेर काठमाडौं आएका हुन्। हाल उनी साहित्य र पत्रकारितामा सक्रिय छन्। उनका ‘टोली नेता’ (२०७४) र ‘पोलेको मकै’ (२०७८) दुई बालकथासंग्रह प्रकाशित छन्। राई रावासावा प्राज्ञिक समाज नेपालका सचिव र लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष हुन्। ‘लघुकथा सौन्दर्य’ का संस्थापक उनी नेपाली लघुकथाको विकासमा क्रियाशील छन्। उनका ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) दुई सामूहिक लघुकथासंग्रह प्रकाशित छन्। राईको संयोजन र विमल भौकाजीको सम्पादनमा तयार भएको सामूहिक लघुकथासंग्रह ‘बलेँसी’ प्रकाशित भइसकेको छ। उनले ‘शैक्षिक पैरवी’ र ‘नलिनी’ पत्रिकामा समेत सम्पादन अनुभव बटुलिसकेका छन्। नेपाली भाषा र साहित्यमा योगदानको कदरस्वरूप राईले इडन ब्रिज एकेडेमी बालपत्रकारिता सम्मान (२०७६), संसाक भवानी शङ्खर लघुकथा सम्मान (२०७७), विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान (२०७९), साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सव सम्मान (२०८०) र गोधूलि साहित्य सम्मान (२०८२) प्राप्त गरेका छन्।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

मोनिटाइजमा महाराजको दिव्योपदेश

नवसाहित्य डटकम

एकाबिहानै फेसबुकको एउटा “मोनिटाइजका लागि सहकार्य गरौँ” भन्ने ग्रुपमा राष्ट्रनायक स्वयं सक्रिय देखिए ।
इतिहास पढ्न अब किताब पल्टाउनु पर्दैन रहेछ, फेसबुक स्क्रोल गरे पुग्ने ।

पुस २७ मा सरकारले बिदा दिएको छ, त्यसैले होला- राज्य विस्तारभन्दा मोनिटाइज अभियान सक्रिय ।

डलरको लोभले मैले पनि मेन्सन हानेँ- ‘@पृथ्वीनारायण शाह – राष्ट्रनायक’ फलोअर्स तीन अङ्कको K, मेरो पनि बढाइदिनु पर्‍यो नि ! इनबक्समा बोलाइयो ।
लाइक, कमेन्ट, शेयरको सन्धी होला भनेर उतै हान्निएँ ।
तर उताबाट आयो- “visit the given links.”

भिडियो खोलें, स्क्रोल गर्दै जाँदा यति तल पुगेँ कि जमिन उत्खनन् गरेको भए मरुभूमिमा पनि पानी निस्किन्थ्यो । जमिनमा भए म्याराथन जितिन्थ्यो ।

स्कुल पढ्दा कन्ठस्थ उक्ति थियो-
लमजुन् भन्याको गरुड हो । गोर्षा भन्याको सरप हो । नेपाल भन्याको भ्यागुता हो । गरुडको अघि आषा छलनु । तब सर्पले भ्यागुतो षान पाउछ ।
छन त महाराजलाई सम्झाउन मन थियो । डिजिटल युगमा गरूड भन्याका अमेरिका हो, भीउसेन थापाले कोखामा दाँत भयाका भन्थे । अस्ति मातरै भेनेजुएलाका मादुरोलाई माकुरोले झिँगो टिप्याजस्तो टपक्क टिपी लग्दा भया ।

एकछिनपछि महाराजबाट थम्ब्स अप इमोजी आयो । सायद दिव्योपदेश यही हो- हेरेपछि बुझिहाल्छस् !

समय फेरिएको रहेछ महाराज । पहिले राज्य खुकुरीले जितिन्थ्यो, अहिले reach, views र engagement ले । सिक्का अब भर्चुअल भएको छ । दिव्योपदेश एआइले दिन थालेको छ ।
बस्न्यात, थापा, पाँडेहरूका जो बचेकाहरू रीलमा रोइरहेछन्, स्टोरीमा हाँसिरहेछन् । कसैका छोराछोरीहरू ‘सब्सक्राइब’ माग्ने त कसैका ‘स्टार’ बाँडिरहेछन् । इतिहास अब सालिकमार्फत् होइन, कन्टेन्टमार्फत् लेखिन थालिएको छ । विजयर्‍याली होइन, स्टोरी, रिल, पोस्टादीमार्फत् गाली पाउँदा पनि भाइरल भइयो भनेर सेलेब्रेसन गर्ने बेला आयो ।

सजिलो भो महाराज, घरमैँ बस्यो ट्याप ट्याप गर्‍यो । भ्यूज बटुल्न गुन्द्रुक र पिठो बोकेर पल्लो किल्लासम्म जानु परेन । फेसबुक मोनिटाइज सहरकार्यका लागि लमजुङे राजासँग सन्धी गर्नै परेन । उबेला हजुरले बिनाफ्वाँकमा दुख बेसाउनुभो । मकवानपुरमा आँखा गाडेर ससुरालीकै घिउ खाँदै जेठान दिग्बन्धन सेनलाई लखेट्नुभो । यतिखेर भए त पक्ष विपक्षमा ह्यासट्याग अभियानै चल्थ्यो । त्यसकै नाममा कन्टेन्ट क्रियटरहरू बढ्थे ।

आजको पाठ सिकियो । बाँकी भोलिका लागि भन्दै मोबाइल चार्जमा जोडेर निदाउँदा भया ।
भोलिपल्ट ग्रुप खोजेँ- ग्रुप बेपत्ता ।
हिजो “मोनिटाइज सहकार्य”, आज “फलानोलाई जिताऔँ अभियान” ।
महाराज अलप, डलर अधुरो, मोनिटाइज अधुरै ।

राज्य जित्न तलबार चाहिन्थ्यो, आज ध्यान जित्न स्क्रोल । अस्तु ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

पर्याकविता प्रतियोगितामा पौडेल, जोशी र किरण सिवा पुरस्कृत

संप्रस पौडेल

समाचार प्रमुख

पौष २६, नवसाहित्य । राष्ट्रिय पर्याकविता प्रतियोगिता २०८२ मा मकवानपुरका किशन पौडेल (कविताः दोहन) प्रथम हुनु भएको छ । प्रतियोगितामा कैलालीका मोहित जोशी (कविताः समयको अन्त्यको किनारमा उभिएर) द्वितीय र किरण सिवा (कविताः मौन प्रकृति) तृतीय हुनुका साथै तनहुँका नरोत्तम श्रेष्ठ (कविताः बीउको रक्तिम घोषणा) र काठमाडौँका यशोदा अधिकारी (कविताः धर्तीको विघटन) सान्त्वना घोषित हुनु भएको हो । प्रथम, द्वितीय, तृतीय र दुइ सान्त्वना विजेताहरूलाई क्रमशः ३० हजार, २० हजार, १० हजार र ५/५ हजार नगद राशि र सम्मानपत्रसहित सम्मान गरिएको हो ।
कूल १६४ कविताबाट छनोट भइ उत्कृष्ट १० को सूची प्रकाशनपश्चात् वाचन प्रक्रियालाई समेत आधार मानी कूल अङ्क गणना गर्दै प्रतियोगिताका विजयी घोषित गरिएको हो निर्णायकद्वय पर्या साहित्य लेखक विजय हितान र साहित्यकार डा. निमेष निखिलले जानकारी दिनुभयो ।
साहित्य सङ्गम मकवानपुरको ३९ औं वार्षिकोत्सवको अवसरमा आयोजित तेस्रो राष्ट्रिय पर्याकविता प्रतियोगिताका साथै ‘नेपाली साहित्यमा पर्याचेतना’ विषयक बहस समेत सञ्चालन गरियो । साहित्यकार सुवास खनालले सहजीकरण गर्नु भएको बहसमा पर्या अभियन्ता विजय हितान (चितवन), पर्या साहित्यकार ईश्वर कँडेल (ईश्वर कँडेल) र समीक्षक घनश्याम घिमिरे (मकवानपुर) को सहभागिता रह्यो ।
प्रकृतिले कुनै न कुनै सन्देश दिइरहने र सो सन्देशलाई समयमैँ बुझ्न नसके मानवले भयावह नतिजा भोग्नुपर्ने हुनाले दीगो विकासको अवधारणालाई व्यापक अध्ययन र अनुसन्धान गर्दै विकासका गतिविधि सञ्चालन गर्नुपर्नेमा बहसकर्ताहरूको जोड रहेको थियो ।
मानव श्रेष्ठ प्राणीको रूपमा मानवले नै घोषणा गरेकाले प्रकृतिका अघि सानो अंश मात्र रहेको यथार्थता बिर्सन नहुने बताउँदै उहाँहरूले साहित्यमा प्रकृति अर्थात् पर्या चेतले स्थान पाउँदै गएको र यसले व्यापकता पाउनुपर्ने आवाज उठाउनुभयो ।
साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडाध्यक्ष नवीन सिग्देल, साहित्यकार तुलसी घिमिरे, महाकाव्यकार मुना अर्याललगायत विशिष्ट अतिथि रहनु भयो ।
साहित्य सङ्गम मकवानपुरकी सचिव रजनी पौडेलले सहजीकरण गर्नु भएको सो कार्यक्रम हेटौँडा पार्टी प्यालेसमा आयोजना भएको हो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

‘तेस्रो राष्ट्रिय पर्याकविता उत्सव-२०८२’ – बहस एवम् कविता प्रतियोगिता हुँदै।

नवसाहित्य डटकम

समाचारदाता

       
        हेटौँडा, २५ पुस । साहित्य सङ्गम मकवानपुरको ३९ औँ वार्षिकोत्सवको अवसरमा भोलि २०८२ पुस २६ गते शनिबार हेटौँडामा ‘तेस्रो राष्ट्रिय पर्याकविता उत्सव–२०८२’ तथा विशेष बहस कार्यक्रम आयोजना हुँदैछ।

हेटौँडा–४ स्थित हेटौँडा पार्टी प्यालेसमा बिहान ११:०० बजेदेखि सुरु हुने यस कार्यक्रममा खुला कविता प्रतियोगिता र ‘नेपाली साहित्यमा पर्याचेतना’ विषयक बहस हुने आयोजकले जनाएको छ।

उत्सवको मुख्य आकर्षणका रूपमा रहेको राष्ट्रिय पर्याकविता प्रतियोगिताका लागि देशभरबाट प्राप्त १६४ कविताहरूमध्येबाट उत्कृष्ट १० कविता र कविहरूको नाम यसअघि नै सार्वजनिक गरिसकिएको छ।

छनोटमा परेका १० जना कविहरूले भोलि हुने अन्तिम चरणको प्रतियोगितामा उपस्थित भई आफ्ना कविता वाचन गर्नेछन्। वाचन पश्चात निर्णायकको मूल्याङ्कनका आधारमा प्रथम (रू‍.३० हजार), द्वितीय (रू‍.२० हजार) , तृतीय (रू‍.१० हजार) र प्रोत्साहन पुरस्कार ( दुइजनालाई रू‍.५ हजार) विजेता घोषणा गरिनेछ।

अन्तिम चरणका लागि छनोट भएका उत्कृष्ट १० कवि र कविताहरू (वर्णानुक्रम अनुसार):

१. किरण सिवा (सुनसरी) – मौन प्रकृति २. किशन पौडेल (मकवानपुर) – दोहन ३. नरोत्तम श्रेष्ठ (तनहुँ) – बिउको रक्तिम घोषणापत्र ४. निरूपम श्रेष्ठ (सिन्धुली) – हरियो विद्रोह ५. मदन घिमिरे (कास्की) – एक आरोहीको डायरी ६. मोहित जोशी (कैलाली) – समयको अन्त्यको किनारमा उभिएर ७. यशोदा अधिकारी (काठमाडौँ) – धर्तिको विघटन ८. राजु झल्लूप्रसाद (धादिङ) – तर ९. सुबास सजल (मकवानपुर) – मौनधारण १०. सुरेशचन्द्र घिमिरे (लमजुङ) – प्रकृति र जीवन

संस्थाका अध्यक्ष डी.बी. बर्तौला र कार्यक्रम संयोजक मनोज पोखरेलद्वारा जारी सूचना अनुसार, प्रतियोगी कविहरूका लागि आयोजकले खाना तथा आवासको व्यवस्था गरेको छ।

‘नेपाली साहित्यमा पर्याचेतना’ विषयक बहस कार्यक्रमको अर्को सत्रमा समकालीन नेपाली साहित्यमा पर्यावरणको चेतना र यसको महत्त्वबारे विशेष बहस हुनेछ। ‘नेपाली साहित्यमा पर्याचेतना’ विषयक यस बहसमा वक्ताका रूपमा डा. गीता त्रिपाठी (काठमाडौँ), डा. घनश्याम घिमिरे (मकवानपुर) र विजय हितान (रुपन्देही) रहनुहुनेछ। बहसको सहजीकरण सुवास खनालले गर्नुहुनेछ।

साहित्य सङ्गम मकवानपुरले वातावरण संरक्षण र साहित्यलाई जोड्ने उद्देश्यले विगत केही वर्षयता पर्याकविता उत्सवलाई निरन्तरता दिँदै आएको छ।

– नवसाहित्य संवाददाता

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

कवि नवराज पराजुली कविताका गुच्छाहरू लिएर कन्सर्टका क्रममा हेटौँडा आउँदै हुनुहुन्छ ।

२४ पुष, हेटौँडा । नेपाली कविता लेखन र वाचनमा छुट्टै पहिचान बनाउनुभएका कवि विशेषता युवा पुस्तामाझ रूचाइनु भएको छ ।

अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गर्नुभएका पराजुलीको कविता संग्रह सगरमाथाको गहिराईले पद्मश्री पुरस्कार प्राप्त गरेको थियो भने उहाँ देश तथा विदेशमा विभिन्न सम्मान र पुरस्कारले सम्मानित भइसक्नुभएको छ ।

मञ्च प्रस्तुतिका लागि चर्चित कवि पराजुली आफ्ना कविता लिएर देश मात्रै होइन विदेशका समेत विभिन्न भूगोलमा पुगिसक्नुभएको छ ।

यसो त लाटोकोसेरो, पर्खाइ, जुलपी आदि उहाँद्वारा सिर्जित गीतहरू हुन् ।

पराजुलीले शुक्रबार बेलुकी ५:०० बजे एभोकाडो एण्ड अर्किड रिसोर्टमा आफ्ना कविताहरू वाचन र प्रस्तुति दिनुहुने किताबघरका छवि अनित्यले जानकारी दिनुभयो ।

नवसाहित्य अनलाइन कवि नवराज पराजुलीलाई हेटौंडामा हार्दिक स्वागत गर्दछौँ ।

डरलाग्दो अन्त्य मानव सभ्यताको

सुबास सजल

कवि


डरलाग्दो अन्त्य मानव सभ्यताको

मलाई
दर्दनाक लाग्दैन,
बाघले मृग खाइरहेको दृश्य!

देखेर
लाग्दैन घिन,
सिनो लुछिरहेको गिद्द।

बरू लागिरहन्छ
आखिर किन मान्छेहरू
लुकाएर आफ्नै नरभक्षी स्वरूप
क्रुरता देख्छन् बाघको अनुहारमा।

किन तुलना गर्छन्?
आफ्नैहरूको अन्तरघाती स्वभावलाई।
कुखुरा ढुकिरहेको स्यालसँग।

म देखिरहेछु
पात झरेको रुखमा पनि
एउटा “प्रेमिल प्रतीक्षा”

जस्तो कि
कोही ऋतु पर्खिरहेकी छे
आफ्नो वसन्तलाई।

म देखिरहेछु
विध्वंस मचाएको बाढीमा पनि
एउटा “प्रेमिल व्यग्रता” छ

जस्तो कि,
कोही मदन दौडिरहेको छ
आफ्नी मुनालाई भेट्न।

म चाहन्छु
नदीले आफ्नो बाटो आफैँ खनोस्।
झरना झरिरहोस् आफ्नै बाटोबाट।
भिरको फूल भिरमै फूलिरहोस्।
बनाएर कृत्रिम नहर आकाशमा
कसैले नगरुन् मरुभूमिमा सिँचाइ।

तर किन?
बिर्सिएर इतिहासका निर्मम पराजयहरू

चिथोरिरहन्छ छातीमा
विकासवादको डोजरले

रोपेर कङ्क्रिटका
गगनचुम्बी महलहरू
लिइरहन्छ सहनशिलताको परीक्षा बारम्बार।

अधिकारको खोजीमा
अन्दोलनकारीहरूले ढुङ्गा बर्साएझैँ
बर्साएर असिनाका अस्वाभाविक गोलाहरू।

निकालेर
अतिवृष्टि पसिना
बादलको निधारबाट
उठाएर ओजोन तहको घुम्टो
सुस्तरी।

जब
उठाउने छ
प्रकृतिले विद्रोहको हतियार।

तब हुने छ
डरलाग्दो अन्त्य
मानव सभ्यताको।

– सुबास सजल

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

अमेरिका ! ओ अमेरिका!

सुबास

कवि

अमेरिका ! ओ अमेरिका!

अझै कति निर्दोषहरुको रगत पिएपछि
मेट्ने हो तिम्रो, पूँजीवादको तिर्खा?

तिम्रो कहिल्यै नअघाउने पेटमा अझै
के के अट्न बाँकी छन् ?

अझै कतिजना
तिम्रो विपक्षमा बोल्नेहरूलाई कब्जामा लिएपछि
भरिने हो तिम्रो अत्याधुनिक यातना शिविर?

तिम्रो ए.आइ. जडित मस्तिष्कमा
अझै के के विध्वंसहरु प्रि-डिफाइन्ड छन्?

अमेरिका! ओ अमेरिका
कतै तिम्रा
पागल प्रोम्ट इन्जिनियरहरुले
“हाउ टु क्याप्चर युरेनियम फ्रम नेपाल?”
लेखिरहेका त छैनन् ?

– सुबास सजल

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

“म”लाई आकार

सुबास सजल

कवि

“म” लाई आकार

उडेर पुग्छन् अचानक गोप्य सूचना!
प्रशासनको कानसम्म।

आज
कान्छामान तामाङ्गको घरमा
गाईको मासु पाक्दैछ।

हतारमा पुग्छन् प्रशासन
हड्कडी बोकेर!
र,
फुर्सदमा
उठाइन्छ मुचुल्का

निम्नानुसार:
मासु पाक्दै गरेको कराइ एकथान।
खाना तयार रहेको थाल चारथान
कान्छामान, उनका जहान र दुई केटाकेटी।
बाँकी हाडखोर, दाउ चुरी बन्चरो आदिइत्यादि

अदालतमा सोधे न्यायाधीशले
“कान्छामान तिमीले के गरेको?”

कान्छामानले जवाफ दियो
“गाई मार्यो खायो हाजुर।”

                         -सुबास सजल

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

एकछिन लः एउटा गोप्य वार्तालापको पर्दाफास

[दृश्यः शानदार खाटमा सुरुवाल माथि स्याहारेर पल्टिरहेको मालिक, तल भुइँमा बसेर मालिकको गोडा मालिस गरिरहेको दास । खाटमुनि अलि पर तेलको कचौरा । ख्वामित र ख्वामितका दासबिचको वार्तालाप]
०००
भरौटेः मालिक, मारिनेका दोष मर्नेलाई नै लगाइदिऔँ ।

मालिकः यो कुन नयाँ भयो र भरौटे ?

भरौटेः मालिक, हामीले नयाँ त के पो दियौँ र ? हजुरको जो निगाह भो उही न मान्यौँ ।

मालिकः AI भनेको थाहा छ ? त्यसका कारण हो भनिदिनुपर्छ बुझिस् ?

भरौटेः सबैले त्यही भन्छन् । पल्ला मालिकले पनि त्यही पो भने । बेलाबेला हामीले पनि भन्ने गरेकै छौँ । खासमा यो के हो ख्वामित ?

मालिकः यो त पखेटै नभाको चराको नाम हो पाजी ।

भरौटेः त्यो त थाहा भएन तर हे माधव हजुरले ‘पाजी’ भनेर पुकार्दा म गदगद् पो भएँ ।

मालिकः मेरो प्रिय दास, ल भन् त खास कुरा के हो ?

भरौटेः त्रिकालदर्शी प्रभु, हजुरले हजुरले फलानालाई ‘पाजी पाजी’ भन्दाभन्दै ३ वटा देशको राजदूतका लागि तथास्थु दिइबक्स्यो । पछि बोलाएर अर्कै पाजीको आयोग निरीक्षण गर्ने जिम्मा लगाइबक्स्यो । भान्छा हजुरको भए पनि भान्छे हजुरले उसैलाई बनाइबक्स्यो ।

मालिकः (कानमा गायत्री मन्त्रझैँ फुस्फुसाउँदै) अहिलेलाई जसले जे सोधे पनि यति बोल्नू । सञ्जालमा यही लेख्नू । घरका न बाहिरका सबैलाई यही भन्नु पाजी ।

भरौटेः मालिक पहिले गोडा मालिस गरेकै थिएँ तर अर्को पाजीले तेल पनि लगाएकोले हजुरको वरदान साबित भयो । खै तेलको कचौरा कता छ प्रभु ? (भुइँमा बसेको दास, खाटमुनि पस्छ ।)

यो लेख AI बाट तयार गरिएको होइन । जदौ ।
(लेखक पौडेल सिस्नुपानी नेपाल मकवानपुरमा आबद्ध छन् ।)