Home Blog Page 28

विद्यालयको कक्षामैँ रहनेगरी पुस्तक उपहार; शुभेच्छुकहरूसँग सहयोगको अपेक्षा

जेठ ४, शनिबार
नवसाहित्य अनलाइन । जनप्रिय माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहनप्रसाद बस्ताकोटीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई पुस्तक हस्तान्तरण गर्नु भएको छ । शुक्रबार एक कार्यक्रमबिच उहाँले १० हजार रकम बराबरको ४४ थान पुस्तकहरू हस्तान्तरण गर्नु भएको हो ।

विद्यार्थीमा पठन संस्कृति विकासका साथै शिक्षक सेवा, लोक सेवा लगायतका क्षेत्रमा जनशक्ति निर्माणमा लाग्नुपर्ने बताउँदै उहाँले यस अभियानमा जोडिन पाउँदा खुसी लागेको बताउनु भएको छ ।

अघिल्लो सालदेखि विद्यालयका केही कक्षाकोठाका बुक र्‍याकहरुमा पुस्तक राख्न सुरू गरिएकोमा यो वर्षदेखि अभियानलाई अझ वृहतरूपमा सञ्चालन गरी शिक्षक, विद्यार्थी, अभिभावकका साथै विविध साहित्यिक संस्था, सञ्चार माध्यम तथा विविध पेशाका व्यक्तिहरूको सहयोगको अपेक्षाका साथ ‘एक व्यक्ति एक पुस्तक अभियान’ सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले जानकारी दिनु भएको छ । साथै उहाँले हरेक कक्षामा पुस्तक उपलब्ध गराई पठन संस्कृतिको विकासका लागि विविध व्यक्ति र संस्थाहरूलाई विद्यार्थीकेन्द्रित सो अभियानमा जोडिनका लागि आग्रह गर्नु भएको छ ।

पुस्तक हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्य, विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

हेटौँडामा केवाफुङको गीतमाथि परिचर्चा, सुनिए कवि गगन योक्पाङ्देन

बैशाख ३०,मकवानपुर ।

मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार (झसाप) मकवानपुरको आयोजनामा हेटौँडामा शनिबार युवाकवि गगन योक्पाङ्देनको नयाँ कृति केवाफुङको गीतमाथि परिचर्चा तथा कवि गगन योक्पाङ्देनको एकल कविता वाचन भएको छ । (झसाप) मकवानपुरको ३०३ औँ साहित्य शृङ्खलाअन्तर्गत सो कार्यक्रम भएको संस्थाका सचिव मसान उपासकले बताए ।

साहित्य सङ्गम तथा सिस्नुपानी मकवानपुरको सभाहलमा सम्पन्न भएको कार्यक्रममा पहिलो चरणमा कवि गगनले आफ्ना ५ वटा उत्कृष्ट कविताहरू वाचन गरे । उनले उपहार, पानीको जीवन, छिमेकीलाई, छोरीको चकचक र नानीहरू शीर्षकका कविताहरू वाचन गरेका थिए ।

त्यसपछिको क्रममा उनको नविनतम् कविता कृति केवाफुङको गीत माथि समीक्षक घनश्याम घिमिरेले आफ्नो समीक्षात्मक मन्तव्य राखेका थिए । समीक्षक घिमिरले यो कृतिमा रहेका कविताहरू मौलिक रहेको, स्थानिय सरल बिम्बहरूको प्रयोग गरिएको र सबैप्रति समभाव राख्न खोजिएकाले उत्कृष्ट सङ्ग्रह बनेको धारणा राखे । साथै देश, माटो र श्रमप्रति भने समभाव राख्न नहुने उनको धारणा थियो । हामीले देश, माटो र श्रमप्रति आदर गर्न भुल्न नहुनेमा जोड दिए ।

दोस्रो चरणमा कवि गगनले पुनः ५ वटा कविता वाचन गरे । उनले साँइली सोल्टिनीको बैँश, पवन हलुवाईको दिनचर्या, एउटा घरको दिनचर्या र बाटोको आयु शीर्षकका कविताहरू वाचन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कवि निमेष निखिलले सुदुर पूर्वको गाउँमा बसेर कविता कर्म गरिरहेको गगनको कविता मौलिक भएकोमा कविको पहिलो सफलता यही रहेकोमा जोड दिए ।उनले धेरैजसो कविले पहिलो कृतिमा अरुसँग कविताको शैली मिलेको आरोप खेप्ने गरेकामा गगन यो मामिलामा जोगिएको टिप्पणी गरे ।

कार्यक्रममा मुक्तिगोविन्द बैद्य, भानु बोखिम, रामकुमार एलन, डिबि बर्तौला, राजकुमार लामिछाने, प्रमेन्द्र महर्जन, सागर तिमल्सिना, छवि अनित्य, देवरजा तिवारी, सानु खनाल, सुबास खनाल, यस लामा, समर्पण न्यौपाने, किशन पौडेल, रजनी पौडेल, मेनु तिमल्सिना, मनोज पोखरेललगायतको उपस्थीति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता (झसाप) मकवानपुरका विश्वनाथ सञ्जेल गरेका थिए भने सहजीकरण (झसाप) मकवानपुरका सचिव मसान उपासकले गरेका थिए ।

वन, समुदाय र म : एक वनकर्मीको प्रेरक कथा । -निमेष निखिल

निबन्ध विधाअन्तर्गत पर्ने संस्मरण त्यस्तो साहित्यिक लेखन हो जसमा लेखकले आफ्ना अनुभव, विचार र धारणाहरूलाई व्यक्तिगत शैलीमा प्रस्तुत गर्दछन् । संस्मरण साहित्यमा लेखकको आत्मकथात्मक तत्त्व पनि समावेश हुन्छ र यसले ऐतिहासिक घटना वा सामाजिक परिवेशको झलक पनि प्रस्तुत गर्न सक्छ । संस्मरणले पाठकलाई लेखकको जीवनका विशेष क्षणहरूसँग जोड्ने काम गर्दछ र त्यसमार्फत उनीहरूलाई त्यो समय र परिवेशको समेत अनुभव गराउँछ । एउटा राम्रो संस्मरणमा आत्मकथात्मकता, ऐतिहासिक तथा सामाजिक तथ्यपरकता, विवरणात्मकता, चित्रात्मकता र संवेदनशीलता जस्ता पक्षहरू समेटिएका हुन्छन् । यस्ता सबै पक्ष समेटिएको एउटा यस्तै संस्मरणात्मक पुस्तकको नाम हो- ‘वन, समुदाय र म’ ।
डा. जगदीश चन्द्र बराल नेपालमा सामुदायिक वनको प्रारम्भिक नीतिगत ढाँचा कोर्ने अगुवाहरूमध्येका एक हुन् । उनको पुस्तक ‘वन, समुदाय र म’ नेपाली वन क्षेत्रमा उनको तीन दशकभन्दा लामो समयको कार्यानुभव र योगदानको एक रोचक विवरण हो । यस पुस्तकमा उनले नेपालका विभिन्न भौगोलिक क्षेत्रहरूमा पुगेर वन संरक्षण र सामुदायिक वन विकासमा आफूले गरेका कामको अनुभव प्रस्तुत गरेका छन् । पुस्तकले नेपालमा वन संरक्षणको महत्त्व र सामुदायिक वनको विकासमा आएका चुनौतीहरूलाई उजागर गरेको छ ।
डा. बरालले आफ्नो जागिरे जीवनमा वन मन्त्रालय, वैदेशिक सहयोग समन्वय महाशाखा, राष्ट्रिय योजना आयोग, वन विभाग, क्षेत्रीय वन निर्देशनालय, विभिन्न जिल्ला वन कार्यलयहरू, राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभाग जस्ता अनेक निकायमा रहेर काम गर्दाका तितामिठा अनुभवहरूलाई यस पुस्तकमा कलात्मक रूपमा प्रस्तुत गरेका छन् । साथै यस पुस्तकमा उनले विदेशी मुलुकमा वन विज्ञान विषयमा डिप्लोमा, एमएस्सी र पीएचडी अध्ययन गर्न जाँदा र विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुँदाका अनुभवहरूलाई पनि समेटेका छन् । उनका यी अनुभवहरूले वन विज्ञान तथा नेपालको सामुदायिक वन प्रबन्धनका विषयमा गहन अध्ययन र अनुसन्धानको आवश्यकता र महत्त्वलाई प्रभावकारी ढङ्गले प्रस्तुत गरेको छ ।
यस पुस्तकले नेपालको सामुदायिक वन क्षेत्रमा सुरुदेखि हालसम्मै भएका गतिविधिहरूलाई मात्र प्रस्तुत गर्दैन यसको वर्तमान कस्तो छ र भविष्यको बाटो के हो भन्ने विषयमा समेत अवगत गराउँछ । पुस्तकमा लेखकले आफू जिल्ला वन अधिकृत भएर धनकुटा, अछाम, पाल्पा, मोरङ, सिरहा आदि जिल्लामा पुगेका बेला त्यहाँ अनुभव गरेका सहज र असहज पक्षहरूलाई निकै जीवन्त ढङ्गले प्रस्तुत गरेका छन् । हाकिमले जनतासँग हाकिमी शैलीमा हैन मिलेर काम गर्नुपर्नेरहेछ भन्ने लेखकको अनुभव सबै राष्ट्रसेवक कर्मचारीहरूका लागि मार्गदर्शन हुन सक्ने देखिन्छ । सबै क्षेत्र बिग्रियो, सकियो भन्ने अवस्थामा आज हाम्रो देश पुगेको भए पनि सामुदायिक वन क्षेत्रमा भएको काम आज संसारकै लागि अध्ययन र चासोको विषय बनेको छ । यसका लागि इतिहासमा भएका कार्यहरूको दस्ताबेजका रूपमा यो पुस्तकलाई लिन सकिन्छ ।
पुस्तकमा लेखकले वन संरक्षणप्रतिको आफ्नो निष्ठा र समर्पणको मात्र चर्चा गरेका छैनन् राम्रो काम गर्न खोज्ने एउटा इमानदार कर्मचारीलाई प्रशासनले कसरी दुख दिन्छ र त्यहाँभित्र कसरी खुट्टा तान्ने प्रवृत्ति हावी हुन्छ भन्ने कुरालाई पनि प्रस्तुत गरेका छन् । त्यसका अतिरिक्त यस पुस्तकले लेखकको व्यक्तिगत जीवनका कतिपय अन्तरङ्ग पक्षहरूलाई पनि प्रस्तुत गरेको छ । यहाँ अध्ययन र सङ्घर्षका अनुभवहरू छन् । आर्थिक अभाव र पारिवारिक समस्याका कहालीहरू छन् । मातापिता र आफ्नो जन्मभूमिप्रतिका दायित्वका गाथाहरू छन् । त्यसैले यो पुस्तक पढिरहँदा कसैको जीवनी र सङ्घर्षमा आधारित उपन्यास पढिरहे जस्तो, कुनै रोचक र मनोरञ्जक कथा पढिरहे जस्तो, नेपालमा सामुदायिक वनको इतिहास पढिरहे जस्तो, कर्मचारीतन्त्रभित्रका विकृतिहरू पढिरहे जस्तो विविध अनुभूति पाठकलाई हुन्छ ।
पुस्तक लेख्नुको कारणबारे लेखक भन्छन्- “हामी यस जगत्‌मा जन्मेपछि आफ्ना अनुभव र भोगाइलाई साङ्केतिक रूपमै भए पनि भावी पिढीका लागि कोसेली छोडेरै जानुपर्छ । भलै हामी अल्बर्ट आइन्स्टाइन, विन्स्टन चर्चिल वा लक्ष्मीप्रसाद देवकोटा नहौँ, हामी प्रत्येक मानवले आफ्नो जीवनमा एक न अर्को प्रकारको अनुभव त सँगालेकै छौँ । केही त सिकेकै छौँ । ती अनुभव र सिकाइलाई आफ्नो देहत्यागसँगै आर्यघाटमा जलाइँदा चितासँगै नष्ट हुनदिनुहुन्न ।” निश्चय पनि लेखकका यी अनुभवहरू भावी पिढीका लागि मार्गदर्शक हुने छन् ।
पुस्तकको पूर्वभागमा केही विशिष्ट व्यक्तिका भूमिकाहरू रहेका छन् । मूलभाग १५ अध्यायहरूमा विभाजित छ । यहाँ लेखकले मुख्य रूपमा आफ्नो वन क्षेत्रको जागिरे अनुभव र केही पारिवारिक जीवन तथा विदेशमा अध्ययन गर्दाका समस्यालाई प्रस्तुत गरेका छन् । पछिल्लो खडमा केही सान्दर्भिक तस्बिरहरूका साथै अन्तिममा सङ्क्षिप्त शब्दसूची तथा सन्दर्भ समावेश गरिएको छ । प्रत्येक अध्यायका सुरुमा अध्ययको विषय सुहाउँदो कुनै महान् व्यक्तिको भनाइ र अध्यायको अन्त्यमा ती अध्यायसँग जोडिएका विभिन्न व्यक्तिहरूका भनाइसमेत राख्नाले पुस्तकको आधिकारिकतालाई पुष्टि गर्ने काम गरेका छन् । अध्यायको अन्त्यमा राखिएको ‘अध्याय विसर्जन’ शीर्षकले उक्त अध्यायको निचोड र आगामी अध्यायको विषयलाई सङ्केत गरेका कारण पाठकलाई थप सहजता भएको छ । बिच बिचमा कतिपय हास्यव्यङ्ग्यात्मक सन्दर्भहरूका साथै केही कविताहरू पनि पुस्तकमा समावेश गरिएकाले पुस्तक अझ रोचक र पठनीय बनेको छ ।
‘अन्तिमको पनि अन्तिम’ शीर्षकमा लेखक लेख्छन्- “सामुदायिक वन देवीदेवताको शिरमा जडित सुन वा चाँदीका कहिल्यै खिया नलाग्ने गहना होइनन् । उपमा नै दिनुपर्दा बरू ती मूल्यवान् अनाज हुन्, जसलाई बिना प्रयोग भकारीमै थन्क्याइराख्दा तिनमा उत्पादनशीलताको गिरावट त हुन्छ नै । यसका अलावा असुरक्षित रूपमा यसै छोड्दा यसले मुसाजन्य वा ढुसीजन्य प्रकोप निम्त्याई प्लेगलगायतका रोगहरूको सङ्क्रमणबाट सारा मानव बस्ती मात्र नभई पर्यावरणमा समेत खतरा सृजना गरी दिन सक्छन् । अर्कातिर सही रूपमा प्रयोग गरेमा भने तिनले तत्कालका लागि जीवन ऊर्जा त दिन्छन् नै, यस अलावा बीजरूपमा प्रयोग गर्दा भविष्यको अन्नबालीको निरन्तर स्रोत बनी समुन्नतिको आधार बन्न पुग्छन् ।” यसतर्फ सबै सरोकारवालाहरूको ध्यान जानु जरुरी मात्र होइन अनिवार्य नै छ । यस यथार्थलाई भुली राजनैतिक वा अन्य बहकाउको भरमा सरकारभित्र र बाहिरका वनका सरोकारवालाहरूले केवल जुँगाकै लडाइँ जारी राखेमा दुर्भाग्यभन्दा केही हात लाग्ने छैन ।
गोविन्द काफ्ले लेख्छन्- जागिरे जीवनका आरोह–अवरोह, खुट्टा तानातान, क्षणिक उन्मुक्ति, प्रमोसन, अप्ठ्यारो परिस्थितिमा पनि उज्यालो आशा, केही चित्त बुझाइ, केही चित्त दुखाइमाथिका संस्मरणले किताबलाई सुन्दर बनाएको छ । ती भोगाइ घतलाग्दा छन् । किताबले भन्छ– सानो खुसीले पनि फुरुक्क हुने र सानो दुःखले पनि कहिलेकाहीं हुरुक्क पर्ने केटाकेटीपनको केही भाव पछिसम्मै रहिरहँदो रहेछ (कान्तिपुर, चैत्र २४, २०८०) ।
वास्तवमै जीवनका अनेक अनुभवहरूको सँगालो हो प्रस्तुत पुस्तक । ठेट र झर्रो खालको भाषाशैली, स्वदेशी र विदेशी परिवेशको चर्चा, नेपालको कर्मचारीतन्त्रका कतिपय सबल र दुर्बल पक्षहरूका साथै जीवनमा ध्यान र योगको महत्त्वलाई समेत प्रस्तुत गर्न यो पुस्तक सफल देखिन्छ । तत्कालीन समयको एउटा दुर्गम गाउँमा जन्मेको एउटा सामान्य बालकले जीवनमा प्राप्त गरेको असामान्य सफलताको यो कथा साँच्चै नै रोचक, पठनीय तथा जानकारीमूलक रहेको छ ।
सिन्धुली जिल्लाको घोक्सिला गाउँमा जन्मेको लजालु स्वभावको, अन्तर्मुखी, बिर्सने बानी भएको एक सामान्य बालक जीवनमा सङ्घर्ष गर्दै कसरी विदेशी विश्वविद्यालयबाट विद्यावारिधि गरेर नेपाल सरको उच्चपदस्थ कर्मचारी बन्न पुग्यो त ? यसको जबाफका लागि पनि यो पुस्तक पढ्नु जरुरी छ । यो पुस्तक नेपालको वन क्षेत्रमा काम गर्ने कर्मचारी, सामुदायिक वनका अभियन्ता, वनविज्ञानका विद्यार्थी तथा प्राध्यापक, राष्ट्रसेवक कर्मचारीका साथै भाषासाहित्यमा रुचि राख्ने सबैका लागि पठनीय र सङ्ग्रहणीय छ । मेरो अध्ययनमा यो पुस्तक आफ्नो विषयक्षेत्रको पहिलो र एक मात्र पुस्तक हो । सिमल प्रकाशन प्रा.लि.ले प्रकाशन गरेको यो पुस्तक ३५२ पृष्ठको छ र यसको मूल्य रु. ५०० रहेको छ ।

‘गोधूलि गीत’ उपन्यासमाथि हेटौँडामा विमर्श

२९ बैशाख, मकवानपुर
नवसाहित्य अनलाइन । पत्रकार तथा लेखक भानु बोखिमको कृति ‘गोधूलि गीत’ उपन्यासमाथि हेटौँडामा विमर्श गरिएको छ । १० वर्षे सशस्त्र युद्धको पृष्ठभूमिमा लेखिएको यस कृतिमाथि देवराज तिवारी र सुन्दर दाहालले समीक्षा गर्नु भएको हो ।

जनयुद्धको उद्गमस्थल रोल्पालाई आधार सोही विषयवस्तुमा केन्द्रित भइ लेखिएको यस पुस्तक उहाँको दोस्रो पुस्तक हो । ‘रुमानी साँझ (२०७४)’ कथा सङ्ग्रहबाट कृतिगत सुरूवात गर्नु भएका बोखिमको दोस्रो कृति ‘गोधूलि गीत’ कलम प्रकाशनले प्रकाशन गरेको हो भने यसको मूल्य ६९५ रहेको छ ।

उपन्यासको एक अंशः
“कामरेड निर्जला, वार्ता सोचे अनुरूप अघि बढेको छैन । त्यसकारण पार्टीले क्रान्ति र सर्वहाराको हित सोच्दै कुनै पनि बेला अप्रिय निर्णय गर्नसक्छ । तपाईँ चाँडै आफ्नो कार्यक्षेत्र फर्किनुहोला र आफ्नै मातहतका कामरेडलाई सजग राख्नुहोला । अनि दुश्मनको प्रभाव क्षेत्रका कामरेडहरू बिदामा छन् भने तुरून्त आफ्नै क्षेत्रमा बोलाउनुहोला …।”

लोकार्पणका क्रममा साहित्यकार श्यामलले “गोधूलि गीत पढेपछि माओवादी आन्दोलनलाई सामान्य मान्छेले पनि सरल भाषामा बुझ्ने” बताउनु भएको यस पुस्तकमा परिवर्तनका क्रममा सामान्य र इमान्दार मान्छेहरूमा परेका प्रभावहरूलाई जोड दिइएको लेखक बताउनुहुन्छ ।

सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्य र साहित्य सङ्गमका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष सानु खनालले स्वागत मन्तव्य राख्नु भएको थियो ।

छुरा प्रहारबाट बाँचेका सलमान रुश्दीलाई सँधैको खतरा; ‘भिक्टोरी सिटी’ सम्मको यात्रा

प्रारम्भिक र लेखन जीवनः
सन् १९८८ मा प्रकाशित एक पुस्तकका कारण ज्यान मार्ने धम्की आएपछि धेरै वर्ष लुकेर बस्नुपर्‍यो । विवादित बनेको पुस्तक थियो- द सट्यानिक भर्सेस । यस पुस्तकलाई प्रतिबन्ध लगाउने पहिलो देश भारत हो । त्यसपछि पाकिस्तान र अन्य मुस्लिम देशहरूले प्रतिबन्ध लगाए ।

आफ्नो चौथो पुस्तक प्रकाशनपछि आएको धम्कीका कारण लुक्दालुक्दै प्रख्याति कमाएका लेखक रुश्दीले दोस्रो पुस्तक ‘मिडनाइट्स चिल्ड्रेन’ का लागि सन् १९८१ मा द बुकर पुरस्कार पाइसकेका थिए । जसका लागि उनले ५ वर्ष मेहनत गर्नुभयो । सो पुस्तक बेलायत मात्रै १० लाख प्रतिभन्दा बढी बिक्री भएको थियो । तर चौथो पुस्तकका कारण भने उनको खुलेर बाँच्न सक्ने अवस्था रहेन ।

पछिल्लो पटक सुरक्षाका लागि ब्रिटिश सरकारले प्रहरी सुरक्षा घेराभित्र राख्न थालेको रुश्दीको बेलायतबाट स्वतन्त्र हुनु २ महिनाअघि बम्बै (हालको मुम्बइ) मा जन्म भएको हो । रुश्दीको पहिलो पुस्तक भने ‘ग्रिमस’ हो । १९६४ सम्म भारतीय नागरिक, त्यसपछि बेलायती नागरिक र २०१६ देखि अमेरिकी नागरिक बनेका रुश्दी यथार्थवाद र कटु आलोचनालाई आफ्नो लेखनमा अङ्गिकार गर्दछन् । यस्तै साम्राज्यवादले उत्पन्न गराउने सांस्कृतिक र सामाजिक प्रभावका सन्दर्भहरू उनका लेखनीका विशेषता हुन् ।

आरोप, धम्की, उनको जीवनका थुप्रै दुखद घटनाहरूमध्ये सन् २०२२ अगस्टमा न्युयोर्क, अमेरिकाको एक कार्यक्रमका समयमा उनलाई छुरा प्रहार गरी हत्या प्रयास गरिएको थियो । उहाँको लामो समयको उपचारपछि सक्रिय लेखनमा निरन्तरता मिलेको हो ।

रुश्दी अभिव्यक्ति स्वतन्त्रताको सशक्त वकालत गर्ने लेखक रुश्दी मुस्लिम परिवारमा जन्मिए पनि आफूलाई नास्तिक बताउँछन् । उनको विवादित द सट्यानिक भर्सेस पुस्तकमा पैगम्बर मोहम्मदकका दुइ पत्नीहरूको नाम दुई यौनकर्मीहरूलाई जोडिएको प्रसङ्ग रहेको छ । हुन त यस पुस्तकले ह्विटब्रेड पुरस्कार प्राप्त गरेको थियो भने विद्रोहीहरूले रुश्दीको टाउकोको मूल्य ३० लाख अमेरिकी डलर तोकिएको थियो । यस पुस्तकका जापानी अनुवादक हितोसी इगारसी समेत जापानको राजधानी सहरमा मृत फेला परेका थिए । त्यसो त इटालीका अनुवादक इटोरे क्रपिओलोलाई समेत आफ्नै निवासमा छुरा प्रहारपछि बाँच्न सफल भएका थिए ।

२ दर्जन बढी पुस्तक लेखेका रुश्दीको पछिल्लो पुस्तक हो ‘भिक्टोरी सिटी’ । रुश्दीको नवीन पुस्तक ‘भिक्टोरी सिटी’ को नेपालमा पनि चर्चा भइरहेको छ । सन् २०२३ मा प्रकाशित यस उपन्यासमा १४औँ शताब्दीकी एक महिलाको कथा उल्लेखित छ । युद्धका कारण पति गुमाएकी पम्पा कम्पानालाई मूल पात्र बनाएर प्रेम, साहस, किम्बदन्तीहरूको प्रयोग गरी लेखिएको यस पुस्तक प्राचिन महाकाव्य शैलीमा तयार गरिएको छ । पाठकलाई इतिहासमा घुमाएर वर्तमानको प्रासङ्गिकतासँग प्रतिध्वनीत गर्ने उनको यो पुस्तकमा वीरता, षडयन्त्र आदिको चर्चा गर्दै युद्धकालीन सहरका प्रसङ्गहरूलाई रोचक तरिकाले समावेश गरिएको छ ।

वैवाहिक जीवनः
रुश्दीले अमेरिकी लेखक मारियाना विजिन्ससँग ५ वर्ष वैवाहिक सम्बन्ध बिताएका हुन् । बिहे गरेको ठिक १ वर्षपछि (सन् १९८९) पतिलाई इरानी नेता आयातोल्लाह खोमेनीद्वारा फतवा जारी गरेपछि पत्नी विजिन्सले उनीसँग सम्बन्ध विच्छेद गरेकी थिइन् ।

५ वर्षको लिभिङ टुगेदरपश्चात् २००४ मा रुश्दीसँग विवाह गरेकी पद्म लक्ष्मी (पद्म पार्वती लक्ष्मी) ले जम्मा ३ वर्ष मात्रै उनलाई साथ दिन सकिन् । मद्रास, भारतमा जन्मिएकी अमेरिकन नागरिक पद्म लक्ष्मी पेशाले मोडल, लेखक, नायिका र टेलिभिजन कार्यक्रम प्रस्तोता हुन् ।

सन् २०२१ मा रुश्दीले अमेरिकन कवि, उपन्यासकार, फोटोग्राफर राचेल एलिजा ग्रफिथ्स रुश्दीसँग विवाह गरेका हुन् । एलिजा रुश्दीकी पाँचौँ पत्नी हुन् ।

रुश्दीको दैनिकीः
आफ्नो चौथो पुस्तकका कारण फतवा जारी हुनु र विगतको आक्रमणपछि लुकी लुकी हिँड्न पर्ने कारण नै उनको जीवनका दुखद पक्ष हुन् । त्यसो त उनले क्षमा याचना मागेर पनि धम्की आउन छोडेको भने छैन । आक्रमणपछि उनको दाहिने आँखाले पूर्णतः काम गर्न छोड्यो । जसले गर्दा उनी पहिलेझैँ सिँढीबाट ओर्लन, गिलासमा पानी भर्न वा बाटो काट्न निकै सकस भएको उनको अनुभव रहेको छ ।

रुश्दीद्वारा लिखित विभिन्न पुस्तकहरू निम्नानुसार रहेका छन्ः
१. Grimus (1975)
२. Midnight’s Children (1981)
३. The Prophet’s Hair (1981)
४. Imaginary Homelands: Essays and Criticism (1981-1991)
४. Shame (1983)
५. The Jaguar Smile (1987)
६. The Satanic Verses (1988)
७. Haroun and the Sea of Stories (Khalifa Brothers, #1) (1990)
८. The Wizard of Oz (1992)
९. Step Across This Line: Collected Nonfiction (1992-2002)
१०. East, West (1994)
११. The Moor’s Last Sigh (1995)
१२. The Ground Beneath Her Feet (1999)
१३. Fury (2001)
१४. Languages of Truth: Essays (2008-2020)
१५. Shalimar the Clown (2005)
१६. The Enchantress of Florence (2008)
१७. The Best America Short Stories (2008)
१८. Luka and the Fire of Life(Khalifa Brothers, #2) (2010)
१९. Joseph Anton: A Memoir (2012)
२०. Haroun & Luka (2013)
२१. Two Years Eight Months and Twenty-Eight Nights (2015)
२२. The Golden House (2017)
२३. Quichotte (2019)
२४. Knife: Meditations After an Attempted Murder (2023)
२५. The Victory City (2023)

यसरी एउटा पुस्तकका कारण रुश्दी मात्र नभई उनका सो पुस्तकका अनुवादकहरूको समेत निद हराम भएको इतिहास पाइन्छ । पारिवारिक विच्छेद पनि पुस्तक विवादले नै भएको पाइन्छ । तत्कालीन अवस्थामा ब्रिटिश-भारतीय लेखक रुश्दीद्वारा लिखित पुस्तक भएकाले भारतले तुरून्त प्रतिबन्ध लगाएको हुनुपर्छ । हालका दिनहरूमा उनलाई ब्रिटिश-अमेरिकी लेखकका रूपमा परिभाषित गरिँदै गएता पनि भारतमा सो पुस्तकलाई खुला भने गरिएको छैन । आफ्नो अव्यवस्थित कथालाई आकर्षक तर डरलाग्दो तवरले लेखिएको पुस्तक ‘Knife’ उनीमाथि चक्कु आक्रमणको अर्को सालमा लेखेका हुन् । जसमा उनले आफूले भोगेको पीडादायी घटनाको विवरणात्मक वर्णन गरेका छन् र यस कृतिलाई उनी आफ्नो स्मरणपत्र ठान्दछन् ।

सन्दर्भ सूचीः
* बिबिसी नेपाली
* The literature today
* Good reads
लगायत विभिन्न अनलाइन स्रोतहरू
-संप्रस पौडेल

समाजसेवाका लागि गायक विजय लामाले स्थापना गरे फाउण्डेन

२३ बैशाख, आइतबार
नवसाहित्य अनलाइन ।

‘नखानु पानी तोङबाको’, ‘उँभो उँभो लेकमा म जाँदा’, ‘रोसी खोला पारी मेरो मामा’ लगायतका गीतका गायक विजय लामाले समाज सेवाको उद्देश्यले संस्था स्थापना गरेका छन् ।
‘याङ्गजीन साङ्गगे’ फाउण्डेसनमार्फत् उनले देश विदेशमा हुने साङ्गीतिक कार्यक्रमबाट हुने आम्दानीको २० प्रतिशत समाजसेवामा छुट्याउने घोषणा गरेका छन् ।

संस्थामार्फत् दुर्गम र निम्न स्तरका मानिसहरुको स्वास्थ्य, बृद्धा र बाल आश्रममा सहयोग, लागू औषध तथा दुर्व्यसनी फसेका युवायुवतीहरुलाई सामान्य जीवनमा फर्काउन सहयोग गर्नेछ । यस्तै संस्थाले गुम्बा, स्तुपा, मन्दिर बनाउन समेत आर्थिक सहयोग गर्नेछ । काभ्रेस्थित आफ्नै गृहजिल्लामा ‘याङ्गजीन साङ्गगे मेमोरेवल पार्क’ समेत निर्माणको तयारीमा रहेको छ ।

बागमती प्रदेशभर सार्वजनिक बिदा तामाङ र नेपाल भाषालाई सरकारी कामकाजी भाषा लागू गर्ने

एक लाख राशिको ‘गण्डकी प्रज्ञा साहित्य सम्मान’ कवि भूपिनलाई

सिस्नुपानीको स्थापना दिवसमा हास्यव्यङ्ग्य सर्जकद्वय मजगैयाँ र पौडेलसहित ४२ स्रष्टा सम्मानित

१९ बैशाख, बुधबार ।
नवसाहित्य अनलाइन । सिस्नुपानी नेपाल मकवानपुरले ४२ स्रष्टाहरूलाई सम्मान गरेको छ । बुधबार आफ्नो स्थापना दिवसको अवसरमा दाङ जिल्लाका उत्तमकृष्ण मजगैयाँ र मोरङ जिल्लाका अनिल पौडेललाई हास्यव्यङ्ग्य लेखनका लागि सम्मान गरेको हो ।

मकवानपुर र अन्य जिल्लाका वाद्यवादक, गायक, नाट्यकर्मी, साहित्य सर्जकहरूले यसअघि विभिन्न कार्यक्रमहरूमा विभिन्न भूमिकामा सहयोग गरेकोमा उहाँहरूलाई समेत स्थापना दिवसको अवसरमा संस्थाले सम्मान गरेको हो ।

हास्यव्यङ्ग्य विधाका सर्जकहरूलाई प्रदान गरिने सिस्नुपानी नेपाल मकवानपुरका पूर्वअध्यक्ष डा.गणेशकुमार पौडेलको स्मृतिमा स्थापना गरिएको हास्यव्यङ्ग्य साहित्य सम्मान २०८० बाट दाङका मजगैयाँलाई २५ हजार १ रुपैयाँ नगद राशिसहित र यसै वर्षदेखि दिइएको ‘आरसी रिजाल हास्यव्यङ्ग्य सम्मान २०८०’ बाट पौडेललाई १५ हजार १ रुपैयाँसहित सम्मान गरिएको छ ।

स्व. डा. गणेशकुमार पौडेलका परिवारजन र सिस्नुपानी नेपाल मकवानपुरका संस्थापक आरसी रिजालद्वारा स्थापित बेग्लाबेग्लै अक्षयकोषमार्फत् ती पुरस्कारहरू प्रदान भएका हुन् । २०७९ मा डा. गणेशकुमार पौडेल हास्यव्यङ्ग्य सम्मान रिजाललाई प्रदान गरिएको थियो । उहाँले आफूले प्राप्त रकममा थप गरी सिस्नुपानी मकवानपुरमा अक्षयकोष स्थापना गराउनु भएको हो ।

कार्यक्रममा मुक्तक मञ्च मकवानपुरका अध्यक्ष तथा गायक सागर तिमल्सिना, सिस्नुपानी मकवानपुरकी सदस्य स्वस्तिका दाहालका साथै गायक अजर फुयाँल र गायक तथा वाद्यवादक प्रलय चौलागाईँले समेत प्यारोडी गायन गर्नुभयो ।

हास्यव्यङ्ग्य मुक्तक वाचनमा भवानी तिमल्सिना, ओमभक्त भण्डारी, देवराज तिवारी र सुबास सजल, कविता वाचनमा सबिता तिमल्सिना, गोविन्द पौडेल र पुरूषोत्तम आचार्य रहनु भयो भने किशन पौडेलले केही हाइकुहरू वाचन गर्नु भएको थियो ।

सम्मानित स्रष्टाद्वय मजगैयाँ र पौडेलले आ-आफ्ना हास्यव्यङ्ग्य सिर्जनाहरू सुनाउनुभयो ।

सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे प्रमुख आतिथि, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्ष रहनु भएको कार्यक्रममा हास्यव्यङ्ग्य सर्जक तथा बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आर.सी. रिजाल विशिष्ठ अतिथि रहनु भयो । यस्तै कार्यक्रममा साहित्यसेवी मुक्तिगोविन्द वैद्य, ४ नम्बर वडाध्यक्ष नवीन सिग्देल, नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य शान्ति प्रियवन्दना, आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटा अतिथि रहनु भएको हो ।

पूर्व अध्यक्ष स्व. डा. गणेशकुमार पौडेलको तस्बिरमा माल्यार्पण गरी सुरू भएको कार्यक्रममा प्रमुख अतिथि गाम्नागेले सिस्नुपानी मकवानपुरले स्थापना दिवस र अन्य कार्यक्रमहरूमार्फत् हास्यव्यङ्ग्य सिर्जनामार्फत् उल्लेख्य कार्यहरू गरेकोमा बधाई दिनुभयो । यस्तै अतिथि नवीन सिग्देलले साहित्यिक क्षेत्रमा आफूले प्रोत्साहन गरिरहेको स्मरण गराउँदै समयमैँ कार्यक्रमको तालिका बनाइ सोअनुसार योजनासहित बजेट माग गर्नका लागि आग्रह गर्नुभयो । संस्थाका अध्यक्ष लामिछानेले मकवानपुरमा रहेका साहित्यिक संस्था, यससम्बद्ध तथा संस्थामा आबद्ध नभएका साहित्य सर्जकहरूको सहयोग, समर्थन र साथले नै सिस्नुपानी नेपाल मकवानपुरले आफ्नो कार्यक्रमहरू सफलतापूर्वक आयोजना गर्न समर्थ रहेको बताउँदै सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

एनएस टेलिभिजनले छायाङ्कन गरी रोयल प्यालेस हेटौँडामा आयोजित कार्यक्रमलाई सिस्नुपानी मकवानपुरका सचिव गोविन्द पौडेल र सहसचिव संप्रस पौडेलले सहजीकरण गर्नु भएको हो ।

स्थापना दिवसमा सिस्नुपानी मकवानपुरद्वारा स्रस्टा सम्मान तथा हास्यव्यङ्ग्य कार्यक्रम

१८ बैशाख, मकवानपुर ।
नवसाहित्य अनलाइन । सिस्नुपानी नेपाल मकवानपुरले हास्यव्यङ्ग्य सर्जकद्वय उत्तमकृष्ण मजगैयाँ र अनिल पौडेललाई सम्मान गर्ने भएको छ । बैशाख १९ गते सिस्नुपानी नेपालको स्थापना दिवसको अवसरमा हास्यव्यङ्ग्य रचना वाचन तथा प्यारोडी गायन समेत हुनेछ ।

सर्जक मजगैयाँ स्व. डा. गणेशकुमार पौडेलको परिवारद्वारा स्थापित अक्षयकोषमार्फत् स्थापित ‘डा. गणेशकुमार पौडेल स्मृति हास्यव्यङ्ग्य सम्मान २०८०’ बाट सम्मानित हुनुहुनेछ । २५ हजार राशिको सो सम्मान अघिल्लो वर्ष सिस्नुपानी नेपाल मकवानपुरका संस्थापक आरसी रिजाल सम्मानित हुनु भएको थियो । उहाँले आफूले प्राप्त गरेको सो सम्मानमा थप गर्दै संस्थामा अक्षयकोष स्थापना गराउनु भएको हो । सो अक्षयकोषमार्फत् ‘हास्यव्यङ्ग्य प्रतिभा सम्मान २०८०’ बाट यो वर्षका लागि अनिल पौडेल सम्मानित हुन लाग्नु भएको छ ।

रोयल प्यालेस हेटौँडा ४ मा बिहानको ११:०० बजे हुने स्थापना दिवसको कार्यक्रममा हास्यव्यङ्ग्यात्मक कविता, मुक्तक, गजल वाचन हुनेछन् । समसामयिक मुद्दाकेन्द्रित सन्देशमूलक प्यारोडी गायनहरू समेत हुने संस्थाका अध्यक्ष राजकुमार लामिछानेले जानकारी गराउनु भएको छ ।

हरेक वर्ष स्थापना दिवसमा विविध हास्यव्यङ्ग्यात्मक कार्यक्रम गर्दै आइरहेको सिस्नुपानी मकवानपुरले अघिल्लो वर्ष ४ नम्बर वडाको विशेष प्रोत्साहनमा राष्ट्रव्यापि हास्यव्यङ्ग्य कविता प्रतियोगिता गरिएको उहाँले बताउनुभयो । संस्थाले नियमित गरिरहेका हास्यव्यङ्ग्यात्मक कार्यक्रमहरू गाईजात्रा, देउसी भैलो, भैरव अर्याल जन्मजयन्ति, स्थापना दिवस आदि रहेका छन् ।