Home Blog Page 2

कथा लेखनमा पहिलो पुरस्कार २ लाख

संप्रस पौडेल

समाचार प्रमुख

नवसाहित्य अनलाइन । बाह्रखरी मिडियाले कथा प्रतियोगितामा यस वर्षदेखि सर्वोत्कृष्ट कथालाई २ लाख रुपैयाँ दिने निर्णय गरेको छ। शुक्रबार एक कार्यक्रमबिच सो निर्णय सार्वजनिक गरिएको हो ।

द्वितीयलाई एक लाख रुपैयाँ र तृतीयलाई ६० हजार रुपैयाँ प्रदान गरिने जानकारी दिइएको छ । सङ्ग्रहमा छापिने बाँकी २२ कथाकारलाई चाहिँ जनही सात हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ ।

यी सबै पुरस्कार राशि विगतका वर्षहरूमा भन्दा बढी हो । कथा लेखनको सम्वर्द्धन र प्रवर्द्धनमा बाह्रखरी मिडियाले विगत ६ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । यस पटकदेखि भने नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि बनेको यस प्रतियोगितामा २०८२ कात्तिक ३० गतेसम्म सम्पूर्ण प्रतियोगीहरूले कथा पठाउन सक्नेछन् । जसका लागि 12Kharibooks@gmail.com मा इमेल गरेर कथा पठाउनुपर्ने जानकारी दिइएको छ भने नेपाली भाषाका सर्जकहरूले संसारभरबाट कथा पठाउन सक्ने बताइएको छ ।

सातौँ पटकको बाह्रखरी कथा प्रतियोगिताको निर्णायक समूहमा नाट्यकर्मी तथा साहित्यकार अशेष मल्लको संयोजकत्वमा वरिष्ठ कथाकार मञ्जु काँचुली तथा कथाकार अभय श्रेष्ठ रहेको कुरा समेत आजको कार्यक्रममा अवगत गराइएको थियो ।

बाह्रखरीलाई प्राप्त भएका सबै कथाहरूलाई पहिलो चरणमा बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वको आन्तरिक समूहले छाँट्ने काम गर्नेछ । आन्तरिक समूहले प्राप्त भएका कथामध्येबाट ५० कथा निर्णायक समूहलाई उपलब्ध गराउनेछ ।

ती कथाहरूमध्येबाट निर्णायक समूहले प्रथम, द्वितीय र तृतीय कथाका साथै ‘उत्कृष्ट कथा, २०८२’ पुस्तकका लागि थप २२ समेत गरी २५ कथा छानेर पठाउनेछ । यसअघि विष्णु पादुकाको ‘माग्युद खोना’ कथाले पहिलो स्थान प्राप्त गरेको थियो ।

बाह्रखरी मिडियाद्वारा जारी विज्ञप्तिअनुसार निर्णायक समूहको निर्णय नै अन्तिम मानिनेछ भने विगतमा झैँ अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिनेछ ।

(तस्बिरः बाह्रखरी मिडिया)

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

साहित्य सङ्गम मकवानपुरमा नयाँ कार्यसमिति चयन ।

साहित्य सङ्गम मकवानपुरमा नयाँ कार्यसमिति चयन भएको छ । सत्रौँ अधिवेशन मार्फत् डिबी बर्तौलाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको हो ।
शुक्रबार भएको एक कार्यक्रममा मनोज पोखरेल उपाध्यक्ष, रजनी पौडेल सचिव, संजित श्रेष्ठ कोषाध्यक्ष, भवानी तिमल्सिना सहसचिव चयन हुनु भएको हो । यस्तै सदस्यहरूमा कमल नेपाल, मिथिला अधिकारी, विधान आचार्य,
विविशा रुम्बा रहनु भएको छ । सर्वसम्मत चयन भएको यस समितिमार्फत् अक्षकोषमा वृद्धि गरी १५ लाख पुर्‍याउने, सदस्यता बढाउने तथा अघिल्ला कार्यक्रमहरूलाई निरन्तरता दिँदै उत्कृष्ट कार्यक्रमहरू आयोजना गरिने अध्यक्ष डीबि बर्तौलाले जानकारी दिनुभयो ।
निर्वाचन समिति संयोजक तुलसी घिमिरेले साहित्य सङ्गमले नयाँ पूराना साहित्यकारहरूलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिइरहेकोमा खुसी व्यक्त गर्नुभयो । समिति सदस्यहरू निमेष निखिल, सुवास खनाल, शान्ति प्रियवन्दना र रामचन्द्र भण्डारी रहनु भएको थियो भने निखिलले समितिमार्फत् नवचयन भएका कार्यसमितिलाई बधाई ज्ञापन गर्नुभयो ।

कार्यक्रममा स्रष्टाद्वय नवराज शर्मा र तीर्थदेवी सिलवाल, साहित्यसेवी मुक्तिगोविन्द वैद्य, पत्रकार सुजन ढकाल, ज्ञानोदय बालबाटिका मावि र गणेश लामा विज्ञान पुरस्कारबाट कक्षा १२ का उत्कृष्ट विद्यार्थी रिभिसन हुमागाईँ र इ प्लानेट प्रालिलाई सम्मान गरियो ।

कार्यक्रममा सचिव र कोषाध्यक्षको प्रतिवेदन पेश गरियो भने स्रष्टाहरू ऋषिराम पोखरेल र रामकुमार एलनले आआफ्ना रचनाहरू समेत वाचन गर्नुभयो । हेटौँडा पार्टी प्यालेसमा आयोजित कार्यक्रम उद्घाटन सत्र र पदाधिकारी चयन गरी दुई चरणमा सम्पन्न भएको हो ।

प्रधानाध्यापक कृष्णप्रसाद खनालको विदाई तथा सम्मान कार्यक्रम २०८२ ।

संप्रस पौडेल

समाचार प्रमुख

हेटौंडा -११, स्थित आनन्दभैरव आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद खनालले शिक्षण पेशाबाट अनिवार्य अवकाश पाउनु भएको छ । स्थापना कालदेखि नै विद्यालयको प्रधानाध्यापका रहनुभएका खनालले ६० वर्ष उमेर हदका कारण आइतबारबाट अनिवार्य अवकाश पाउनुभएको हो ।

उक्त विद्यालयमा २०४५ साल फागुन १ गते संस्थापक शिक्षकका रुपमा नियुक्त हुनुभएका खनालले १५ दिनपछि प्रधानाध्यापकको जिम्मेवारी पाउनुभएको थियो । धेरै मिहिनेत र संघर्षपश्चात् विद्यालयलाई बोरादेखि डेस्कबेन्चमा बस्न सक्ने अवस्थामा पु¥याएको खनालको भनाइ छ ।

अवकाश पाउनुभएका खनालको आइतबार विद्यालयले विदाई गरेको छ । विदाईको क्षणमा विद्यालयको मायामा डुब्नुभएका खनालले विद्यालयमा विद्यार्थी संख्या घटिरहेकोमा दुःख व्यक्त गर्नुभएको छ । उहाँले यसप्रति सरोकारवालाहरुको ध्यानाकर्षण गराउनुभयो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

वैद्यद्वारा पुस्तकालयलाई कम्प्युटर सहयोग

साहित्यसेवी मुक्तीगोविन्द वैद्यले पुस्तकालयका लागि सहयोग गर्नु भएको छ । १८औं पुस्तकालय दिवसको अवसरमा हेटौँडा–५ स्थित पुष्पलाल स्मृति पुस्तकालयका लागि एक सेट कम्प्युटर सहयोग गरिएको हो ।

आइतबार पुस्तकालय परिसरमैँ आयोजित एक कार्यक्रमबिच वैद्यले पुस्तकालयका अध्यक्ष डीबी बर्तौलालाई कम्प्युटर हस्तान्तरण गर्नुभएको छ । पुस्तकालयमा रहेका पुस्तकहरूको अभिलेख राख्ने र नियमित कामका लागि सो कम्प्युटर उपयोग गरिने अध्यक्ष बर्तौलाले बताउनुभयो । शनिबार समेत खुल्ने पुस्तकालयमा अन्य पाठकहरूका साथै आयोग परीक्षाका तयारी गर्ने विद्यार्थीहरूको उपस्थिति बाक्लो हुने गरेको र सोका लागि आवश्यक लोक सेवा, शिक्षक सेवा लगायतका आयोग तयारीका पुस्तकहरू आवश्यक रहेको जानकारी गराउनुभयो ।

२०४९ सालमा स्थापित पुस्तकालयलाई साहित्य सङ्गम मकवानपुरले हेटौँडा उपमहानगरपालिकाको सहयोगमा व्यवस्थापन तथा सञ्चालन गर्दै आएको छ ।

‘मदन पुरस्कार–२०८१ ‘उरमाल’लाई, जगदम्बा-श्री प्रेमदेव गिरीलाई

लोकभाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान पुर्‍याउँदै नेपाली लोकसंस्कृतिलाई समृद्ध बनाउन जीवनभर समर्पित प्रेमदेव गिरीलाई यस वर्षको जगदम्बा-श्री सम्मान प्रदान गरिने भएको छ ।

फित्काैली डटकम फित्काैली डटकम
मदन पुरस्कार गुठीको बैठकले यो वर्षको मदन पुरस्कार–२०८१ दार्जिलिङका साहित्यकार छुदेन काविमोको उपन्यास ‘उरमाल’ लाई दिने निर्णय गरेको छ ।

त्यस्तै, लोकभाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान पुर्‍याउँदै नेपाली लोकसंस्कृतिलाई समृद्ध बनाउन जीवनभर समर्पित प्रेमदेव गिरीलाई यस वर्षको जगदम्बा-श्री सम्मान प्रदान गरिने भएको छ ।

दार्जिलिङ निवासी लेखक छुदेन काविमो लामो समयदेखि नेपाली साहित्यमा निरन्तर सक्रिय रहनुभएको छ । उहाँको ‘उरमाल’ उपन्यासले चियाबारीका कथाहरूमार्फत दार्जिलिङका जनजीवन, श्रमिक समुदायको पीडा र सामाजिक–सांस्कृतिक वास्तविकतालाई कलात्मक ढङ्गले प्रस्तुत गरेको छ ।

यसअघि गुठीले उत्कृष्ट कृतिको छाेटाे सूची सार्वजनिक गरेकाे थियाे सूचीमा रमेश भुसालकाे नियात्रा ‘छालबाटो : कैलाशदेखि गङ्गासम्म’, कुमारी लामाको निबन्धसंग्रह ‘दर्ज्यु संलाप’, मनप्रसाद सुब्बाको कवितासंग्रह ‘पञ्चतत्त्वको पालाम’, श्रेयज सुवेदीको कथासंग्रह ‘बहुरूपी’, सुधिर शर्माको गैरआख्यान ‘भिक्षु, व्यापार र विद्रोह’ र तीर्थ गुरूङको उपन्यास ‘हिउँको गीत’ रहेकाे थियाे ।

त्यसैगरी, जगदम्बा-श्री सम्मानका लागि चयन हुनुभएकाे प्रेमदेव गिरी विगत केही दशकयता लोकगीत, भाका र मौलिक धुनहरूको संरक्षण र प्रवर्द्धनमा लागिरहनुभएकाे व्यक्तित्व हुनुहुन्छ । गिरीले नेपालका विभिन्न भूभागमा प्रचलित लोपोन्मुख भाकाहरूलाई सङ्कलन गर्दै पुस्तौंदेखि चल्दै आएका मौखिक परम्पराहरूलाई पुस्तक र ध्वनिमार्फत जीवन्त राख्ने प्रयास गर्दै आउनुभएकाे छ ।

मदन पुरस्कार गुठीका अनुसार, पुरस्कार तथा सम्मानको औपचारिक वितरण कार्यक्रम मितिपछि सार्वजनिक गरिने जानकारी मदन पुरस्कार गुठीले दिएकाे छ ।

सिस्नुपानी मकवानपुरले ४ गते विशेष हास्यव्यङ्ग्य कार्यक्रम गर्ने

संप्रस पौडेल

समाचार प्रमुख

सिस्नुपानी नेपाल मकवानपुरले हरेक वर्ष गर्दै आइरहेको कार्यक्रम यो वर्ष पनि निरन्तरता दिने भएको छ । सोहीअनुसार यो वर्षको गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम भाद्र ४ गते गर्न लागेको हो ।

संस्थाका अध्यक्ष संप्रस पौडेलले समाजमा रहेका बेथिति र विसङ्गतिविरूद्ध साहित्य सिर्जना गर्दै आइरहेको यस संस्थाले १ दर्जन बढी कलाकारहरूमार्फत् विविध हास्यव्यङ्ग्यात्मक प्रस्तुतिहरू प्रस्तुत गर्ने बताउनुभयो । हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको प्रवर्धनमा हुने कार्यक्रम ओम्याक्स सिनेमा हलमा आयोजना गरिने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा प्यारोडी गायन, व्यङ्ग्य प्रहसन, नाचलगायत विविध हास्यव्यङ्ग्य प्रस्तुतिहरू रहने संस्थाका सचिव सुमार्गी हुमागाईँले बताउनुभयो ।

यस्तै प्रवर्धक वडाका वडा अध्यक्ष नवीन सिग्देलले हास्यव्यङ्ग्य सिर्जनाले कमजोरीहरूलाई सुधार्नका लागि प्रेरणा मिल्ने र जनताको आवाजलाई व्यङ्ग्यका साथसाथै रमाइलो अनि ठट्यौली शैलीमा मुखतरित गर्ने हुँदा अघिल्ला वर्षमा खचाखच दर्शकहरूबिच भव्य कार्यक्रम भएकोले यस कार्यक्रममा समेत अझ बढी चर्चा पाउने अपेक्षा रहेको बताउनुभयो । प्रवेश पासका लागि सिस्नुपानी संस्थाका साथसाथै वडा कार्यालयमा सम्पर्क गर्न सकिने समेत उहाँले जानकारी दिनुभयो ।

साहित्यको उन्नयनमा होस्टेमा हैँसे गर्दा समग्र हेटौँडाकै र नेपालको साहित्यमाथि नै लगानी हुने र त्यसले साहित्यिक क्षेत्रमा ठुलो टेवा पुगेको उहाँले बताउनुभयो । विगतदेखि नै सिस्नुपानीलगायतका अन्य संस्थाहरूमार्फत् साहित्य लेखन कार्यशाला, रचना वाचन, प्रतियोगिता, साहित्यकार तथा कलाकार सम्मान गरिरहेको ४ नम्बर वडा हेटौँडाले शिक्षामा समेत यथेष्ट कदम चालिरहेकोले सर्वाधिक शिक्षित जनसङ्ख्या रहेको वडाका रूपमा परिचित रहेको जानकारी दिनुभयो । साहित्य सिर्जना जोसुकैले गर्न नसक्ने र सिर्जना गर्नेहरूलाई हौसला दिनुपर्ने भन्दै यस्ता काममा अन्य वडाहरूलाई समेत हातेमालो गर्न आह्वान गर्नुभयो ।

यसअघि राष्ट्रव्यापि कविता प्रतियोगिता, हास्यव्यङ्ग्यात्मक गाईजात्रा, देउसीभैलो, कार्टुन प्रदर्शनी, हास्यव्यङ्ग्यकार सम्मान तथा रचना वाचनलगायतका विविध कार्यक्रमहरू गर्दै आइरहेको यस संस्था सिस्नुपानी नेपालको पहिलो जिल्ला शाखा हो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

हेटौँडामा रोश्नीको एकल कविता वाचन

संप्रस पौडेल

समाचार प्रमुख

नवसर्जक साहित्य चौतारी नेपाल बागमती प्रदेश अध्यक्ष रोश्नी चौलागाईँको एकल कविता वाचन कार्यक्रम गरिएको छ ।

नवसर्जक साहित्य चौतारी नेपालको आयोजनामा शुक्रबार भएको कार्यक्रममा हास्यव्यङ्ग्यकार आरसी रिजालको प्रमुख आतिथ्यता रह्यो भने कार्यक्रम केन्द्रिय अध्यक्ष कृतिका लौडारीको अध्यक्षतामा आयोजना गरिएको हो ।

चौलागाईँद्वारा वाचित आधा दर्जन कविताहरूमाथि नेपाल कवि शान्ति प्रियवन्दना वक्ताका रूपमा आफ्ना भनाइहरू राख्नुभयो ।

कवि चौलागाईँको वैदेशिक अध्ययनको यात्रा र बसाइ सुखद रहने शुभेच्छाका साथ कार्यक्रम गरिएको अध्यक्ष लौडारीले जानकारी दिनुभयो ।

साहित्य सङ्गम र सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त हलमा आयोजित कार्यक्रम उपमहासचिव रचना भण्डारीले स्वागत मन्तव्य तथा कवि परिचय दिनुभयो भने संस्थाकी महासचिव स्वस्तिका दाहालले कार्यक्रमलाई सहजीकरण गर्नुभएको हो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

श्यामकुमार बानियाँको ‘दोबाटोमा कुर्दाकुर्दै’ सार्वजनिक

संप्रस पौडेल

समाचार प्रमुख

साहित्यकार श्यामकुमार बानियाँको ‘दोबाटोमा कुर्दाकुर्दै आज पनि साँझ पर्‍यो’ गीत पत्रकार सम्मेलन गरी सार्वजनिक गरिको छ ।

कार्यक्रममा ४ दशकदेखि साङ्गीतिक क्षेत्रमा लागिरहनु भएका सङ्गीतकार लाल श्रेष्ठको प्रमुख आथित्य रहेको थियो ।

यसअघि आकाश खुल्यो सुस्तरी, माया भन्नु जिन्दगीमा, शून्य शून्य लाग्न थाल्यो, हिमालमा घाम झूल्क्यो, ए जिन्दगीलगायतका गीतहरू गीतहरू ल्याउनु भएको बानियाँद्वारा लिखित म्यासेजको घन्टी बज्दा गीतमा लाल श्रेष्ठले सङ्गीत भर्नु भएको छ भने विष्णु अधिकारीको स्वर रहेको छ ।

रचित यस गीत ओपल रेकर्डिङमा रेकर्ड भएको हो भने गीतमा विष्णु अधिकारीको सङ्गीत र आवाज रहेको छ । महेन्द्र ओझाद्वारा सम्पादित गीतको म्युजिक भिडियोको निर्देशन छेगुन लामाले गर्नु भएको हो भने अञ्जु मुक्तान, विजयकृष्ण श्रेष्ठ, युकेश तामाङ, एकबहादुर ओझा, प्रनु ओझा र अंशु कार्कीको अभिनय रहेको छ ।

प्रमुख अतिथि श्रेष्ठले आफूलाई विश्वास गरेर गाउँदै गर्न गीतकार बानियाँलाई सुझाव दिनुभयो । बानियाँको म्यासेजको घन्टी बज्यो गीतमा ‘भनिदेऊ न फूलमाया तिमीलाई कस्तो छ’ भन्ने गीतले आफूलाई १ हप्तासम्म दिमागमा तर्कना छुटिरहेको श्रेष्ठले बताउनुभयो । गीतलाई शब्दमार्फत् न्याय गर्ने, गायकीमा सुधार हुँदै गरेका र अत्यन्त रहर भएका कारण उहाँले आफ्ना गीत आफैँले गाउन सुझाव दिनु भएको बताउनु भयो ।

उहाँकै प्रेरणाले गीत लेखन मात्रै नभइ आफ्नै स्वरमा केही गीतहरू रेकर्ड समेत गरेको बताउँदै बानियाँले निरन्तर साथसहयोग गरिराख्ने गायक, सङ्गीतकार, नवसाहित्य परिवार, विभिन्न सञ्चार मिडियालगायत सबैलाई धन्यवाद ज्ञापन गर्दै आफ्ना सबै गीतहरू सर्वश्री मिडिया नामक युट्युबमार्फत् हेर्न सुन्न सकिने बताउनु भयो ।

गीत सार्वजनिकीकरण कार्यक्रमलाई सञ्चारकर्मी छवि अनित्यले सहजीकरण गर्नु भएको हो भने कार्यक्रम बुद्ध बार एण्ड रेस्टुरेन्टमा आयोजना गरिएको थियो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

कविता: हराउनुसित हराउँदा / संप्रस पौडेल

पहिले पहिले
१८ किलो भनेर पक्रिएको
सुन हराउँथ्यो एयरपोर्टमा ।

आज,
नदीमा हराएको बस खोज्न ल्याइएको
चुम्बक हरायो ।

रातारात सरकार हराउँदा
हामीलाई पत्तो छैन ।

द्वन्द्वका नाममा घरमूली हराए
बोल्नसक्नेहरू बोल्दाबोल्दै हराए
‘करियर’ का नाममा युवा हरायो
सुविधाका नाउँमा गाउँबाट शिक्षक हराए

गाउँको कविता लेख्ने कवि (म) सहरमा हरायो
किसान योजना खेतसम्म न‌आइकनै योजना हरायो
पशु योजना गोठ नदेखी हरायो
प्रमाणपत्रले ऋण पाउने योजना मन्त्रीसँगै हरायो

नाथे सरकार जहिल्यै हराएका हरायै हो,
सरकार त हरायो हरायो
आजकल मुद्दाको प्रकृति‌अनुसार
दिनदहाडै प्रतिपक्षी पनि हराउन थालेको छ ।

कोरिया जानुअघि गोकर्णका मुक्तक वाचन

एक कार्यक्रमबिच मुक्तक मञ्च मकवानपुरका संस्थापक सचिव गोकर्ण लामाका १८ मुक्तकहरू वाचन भएका छन् । नेपाल रहँदा साहित्यिक गतिविधि र कार्यक्रमहरूमा सक्रियरूपमा संलग्नता रहेका उहाँ केही वर्षदेखि रोजगारीका शिलशिलामा दक्षिण कोरियामा हुनुहुन्थ्यो ।

बिदामा नेपाल आउनु भएको अवसरमा संस्थापक सचिवको विशेष मुक्तक वाचन श्रृङ्खला आयोजना गरिएको मुक्तक मञ्चका अध्यक्ष सागर तिमल्सिनाले बताउनुभयो ।

तिमल्सिनाको अध्यक्षता र साहित्यकार देवराज खरेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा भवानी तिमल्सिना, किशन पौडेल, अजर फूयाँल, कमल नेपाल, नविन दर्लामी मगर, विविशा रुम्बा आदिको मुक्तक वाचन रहेको थियो ।

कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनालले कार्यक्रममा वाचित मुक्तकमाथि समीक्षकीय दृष्टिकोण राख्नुभयो ।

मञ्चका कोषाध्यक्ष मिथिला अधिकारीले स्वागत गर्नुभएको कार्यक्रमको व्यवस्थापनका लागि सर्जकहरू सुमार्गी हुमागाईँ र गहन खतिवडालगायतले आर्थिक सहयोग गर्नु भएको सचिव सुबास सजलले जानकारी दिनुभयो ।

२६औँ वाचन श्रृङ्खला तथा गोकर्ण लामा विशेष मुक्त वाचन कार्यक्रमका बिच लामाले कोरिया बसाइका क्रममा विविध घटनासँग सम्बन्धित रहेका मुक्तक समेत वाचन गर्नुभयो भने उहाँले कार्यक्रमको व्यवस्थापनका लागि आयोजक संस्था र उपस्थित स्रोताहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

साहित्य सङ्गम र सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा आयोजित सो कार्यक्रमलाई मञ्चका सचिव सुबास सजलले सहजीकरण गर्नु भएको हो ।