Home Blog Page 59

राष्ट्रिय खुला कविता प्रतियोगिताका लागि सङ्‍गमद्वारा उत्कृष्ट २० कविता छनौट

कवि विप्लव प्रतीकको एकल कविता वाचन सत्रका साथै 'नवपुस्तामा कविता क्रेज' बहस सञ्चालन हुने

आश्विन २४, मकवानपुर । प्रदेश युवा परिषद, बागमती प्रदेशको आयोजना एवम् साहित्य सङ्गम मकवानपुरको सहकार्यमा आयोजित राष्ट्रिय खुला कविता प्रतियोगिताका लागि उत्कृष्ट २० कवि र कविताको नामावली सार्वजनिक गरिएको छ ।

आश्विन ८ गते प्रकाशित सूचनाबमोजिम प्राप्त कवितामध्ये चितवन, सिरहा, स्याङ्जा, रसुवा, नुवाकोट, दैलेख,  भक्तपुर, तनहुँ, काठमाण्डौं, धादिङ, रौतहट, उदयपुर, सुनसरी र सिन्धुपाल्चोकका १/१, गोरखाका २ र मकवानपुरका ४ कविहरूका कविता छनौट चरणमा परेका हुन् ।

उत्कृष्ट २० मा पर्न सफल कविहरूबीच असोज २७ गते शनिबार बिहान ११:०० बजे प्रतिस्पर्धा गराइनेछ । रोयल पार्टी प्यालेस हेटौंडा, वडा नं. ४ मा हुने सो कार्यक्रममार्फत् प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा कवि स्वयम् उपस्थित भई कविता वाचन गर्नुपर्ने आयोजकले जनाएको छ ।

कार्यक्रमका अवसरमा छनौट चरणमा परेका कविहरूलाई यातायात खर्च व्यवस्थापन गरिनुका साथै सम्मानपत्र प्रदान गरिनुका साथै ‘नयाँ पुस्तामा कविता क्रेज’ विषयक बहस कार्यक्रम गरिनेछ । यसका साथै कवि विप्लव प्रतीकको एकल कविता वाचन सत्र रहने र मकवानपुरका स्रस्टालगायतका पुस्तकहरू प्रदर्शनीमा राखिने सङ्‍गमका अध्यक्ष डीबी बर्तौलाले नवसाहित्य डटकमलाई जानकारी दिनुभएको छ ।

नरेन्द्रजङ्ग पिटरको ‘बकपत्रः जीवन दर्शन र संघर्ष’ पुस्तक सार्वजनिक

२२ असोज, काठमाडौँ ।
लेखक नरेन्द्रजङ्ग पिटरको संस्मरण–पुस्तक ‘बकपत्रः जीवन दर्शन र संघर्ष’ सोमबार राजधानीको एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।
कार्यक्रममा आख्यानकार नयनराज पाण्डेले भन्नुभयो- ‘यो किताब निष्ठावान व्यक्तिको बकपत्र हो । समाजमा इमानदार मान्छे अत्यन्तै कम पाइन्छ । अहिले कस्ता मान्छे सत्तामा पुगेका छन् भन्ने विषय लेखक पिटरको जीवनशैलीले पनि देखाएको छ ।’
यस्तै साहित्य समीक्षक विन्दु शर्माले भन्नुभयो- ‘युद्धमा लागेर पनि पिटरले युद्धका नकारात्मक पक्षलाई संक्षेपमा लेख्दै अत्यन्तै सरल भाषामा आफूले देखे–भोगेका जिन्दगीका पुराना/नयाँ तस्बिर पुस्तकमा उतार्नु भएको छ।’
पूर्वप्रशासक शारदाप्रसाद त्रितालले ‘पूरै पुस्तक पढिरहँदा यो एक कम्युनिष्टले लेखेको गैरआख्यानजस्तो लाग्दैन, बरू कम्युनिष्टभित्रका विकृतिको व्यापक आलोचना पिटरका लेखनीमा छन् ।’ भन्नुभयो ।
अन्य वक्ताहरूमा लेखनाथ न्यौपाने, राजदेव राम (राजेश विद्रोही) रहनु भएको थियो ।
जीवन स्वयम् एउटा महाआख्यान हो भन्ने लेखक पिटर हरेक मानिसको जीवनलाई विश्वविद्यालय मान्नुहुन्छ । यस पुस्तकलाई समेत उहाँले आफ्नै जीवनको एक बकपत्र मान्नु भएको छ । उहाँ भन्नुहुन्छ- ‘मलाई ठक्करको दर्शन सिकाएकोमा धन्यवाद जिन्दगी । दगुर्न नसके पनि हिँड्न त सिकाइस् तैंले ।’
यस पुस्तकमा उहाँले प्रिजन नोटबुक, एनिमल फार्मका विषयवस्तुका साथै थोमस पेन, रेब्सपियरेका प्रसङ्गहरू उल्लेख गर्नु भएको छ भने पुस्तकमा सुधीर शर्माद्वारा लिखित ‘प्रयोगशाला’ पुस्तकलाई प्रायोजित पुस्तकको उपमा दिँदै सो पुस्तक प्रचण्डले चुनावका अघि गरिएको विमोचनबारेका प्रसङ्गहरूलाई शङ्काको दृष्टीले उल्लेख गर्नु भएको छ ।
माओवादी युद्धकालका प्रसङ्गहरू, सीपी गजुरेल, हरिबोल गजुरेल, रामबहादुर थापा बादलका साथै यानप्रसाद गौतम ‘आलोक’ आदिबारे प्रसङ्गहरू उल्लेख गर्नु भएको छ । वर्ग सङ्घर्ष, प्याओ प्रवृत्ति, कारबाहीका नाममा अन्तरघात आदिका साथै माओवादी पार्टी ओरालो लाग्नुका कारणलाई मिहिन ढङ्गले अध्ययन र विश्लेषण गर्नु भएका विश्लेषक तथा कम्युनिष्ट विचारधाराका लेखक पिटरको यस पुस्तकलाई इन्डिगो इन्कले प्रकाशन गरेको हो । जसको पुस्तकको मूल्य ६४९ रुपैयाँ रहेको छ ।
विमोचन कार्यक्रम प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरिएको हो ।

कविता: प्रेम प्रतीक्षा / एलिसा एकलास

आँखाबाट झरेका आँसु
र ओठको हाँसो मिलाएर
सजाएकी थिई–जिन्दगीमा इन्द्रेणी ।

दिमागको चलखेल
र मनको दृढताले
लडिरहेकी थिई–समयसँग संग्राम
अघोषित प्रेमीसँगको रोमान्सको कल्पनामा
कति चुम्बन गर्थी–कफीमा मगहरु
लेखेर, चुरोटको बट्टामा उसको नाम
धुँवामा उडाउँथी निकोटिन याद

र क्याफेका कुनामा बसेर
कति लेख्थी मेट्थी–प्रेमिल कविताका हरफहरु
भाग्यको भवितव्य भोग्दैभोग्दै
जिन्दगीको मसानघाटमा
काँसजस्तै फुलिसकेकी एउटी प्रेमिका
आजपनि, प्रेमीको बाटो हेरिरहेकी छे ।

एलिसा एकलास, नुवाकोट

कथा: सहमति / प्रदीप नेपाल

प्रदीप नेपालको जन्म २०१० साल पौष २८ गते भएको हो । उहाँका पार्टीकी आमा, पूर्वतिर, मुक्ति, स्वप्निल शहर, एक हजार वर्ष लगायत १६ वटा उपन्यास, धरहराको शहर, बेचिएका चेलीहरु, बाधमारेको लालसलाम लगायत १० वटा कथासङ्ग्रह, पाइला छोडेर अस्ताएको घाम, इलामको तारा, बन्दीगृहको सिर्जना लगायत १३ वटा नियात्रा/संस्मरण तथा विविध विषयसँग सम्बन्धित थुप्रै पुस्तकहरु प्रकाशित भइसकेका छन् । उहाँले प्रजातन्त्र स्थापनाको क्रममा जेलनेल भोग्नुको साथै २०५१ सालमा संचार र जलस्रोत मन्त्री, २०५५ सालमा स्वास्थ र जलश्रोत मन्त्री, २०६३ सालमा शिक्षा मन्त्री भइसक्नुभएको छ । उहाँले नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा उल्लेखनिय काम गरेकाले उतमशान्ति पुरस्कार, नइ ईश्वर वल्लम पुरस्कार तथा साहित्य सन्ध्या, दोभान साहित्य, प्रलेस, गोपालप्रसाद रिमाल सम्मान जस्ता पुरस्कार र सम्मानबाट सम्मानित भइसक्नुभएको छ । हाल उहाँ साहित्य र राजनीतिमा उत्तिकै क्रियाशील हुनुहुन्छ ।

रात बिस्तारै उकालो लाग्दै थियो । ‘इन्डियन क्विजिन कर्नर’मा जमेर बसेका थिए चार जना । नाम जे भए पनि विदेशी रक्सीको रङ पहेँलो हुने भयो । सेकुवा भन्नेबित्तिकै जिब्रोमा पानी आउने नै भयो । एक टुक्रो सेकुवाले दुई पेग तान्न भ्याइरहेका थिए तिनीहरूले ।

‘चूक भयो हामीबाट’ बाहिरको चिसोलाई पनि चुनौती दिने स्वरमा ओभरकोट लाएको ठूल्टाउकेले भन्यो, “यो आन्दोलन हाम्रो मात्र होइन, सिंगो मधेसका जनताको हो भनेर हामीले कसैलाई विश्वास दिलाउनै सकेनौँ ।”

सन्नाटा छायो टेबलमा ।

“आन्दोलनमा सघाउन पारिका मान्छे बोलाउने प्रस्ताव कसले गरेको हो ? ” उसैले सोध्यो ।

“अरे भाइ, रोटीबेटीको सम्बन्ध हो, सघाउन त आइहाल्छन् नि !”

“तिम्रो प्रस्ताव हो तेसो भए यो ?”

“मेरो नभए नि म यो प्रस्तावलाई गलत मान्दिनँ । यसलाई अन्तर्राष्ट्रिय सहयोग पनि भन्न सक्छौँ ।”

“ना ! यो अन्तर्राष्ट्रिय सहयोग होइन । हाम्रो आन्दोलनलाई बदनाम गराउने औजार बनेको छ यो ।”

“कसरी ?”

“मैले पश्चिमी कूटनीतिज्ञसँग, सरकारमाथि दबाब बढाइदिनु पर्‍यो भनेर अनुरोध गरेँ । उनीहरूले मलाई सीधै भने, हामी सक्दैनौँ । यो आन्दोलन दिल्लीको हो । नाकाबन्दी पनि उतैको हो । दसगजामा प्रदर्शन गर्ने, घाइते पनि भारतीय नै हुने, मारिएका पनि भारतीय नै हुने आन्दोलनलाई हामी कसरी मधेसी जनताको आन्दोलन भनेर मान्न सक्छौँ । तिमीहरूले भारतको संलग्नताका बारेमा प्रस्ट जानकारी नदिएसम्म हामी पक्षधरता जाहेर गर्न सक्दैनौँ । अहिलेको स्थितिमा हाम्रो भनाइ प्रस्ट छ, मिलेर अघि बढ ।”

“भारत र भारतीय हाम्रा राजनीतिक साथी मात्र होइन, हाम्रा आफन्त हुन् । मर्दा–पर्दा चाहिने परिवार हुन् । सात समुद्रपारिका अचिनारुहरूको लहैलहैमा हामी कसरी भारतलाई, हामीलाई नबोक भन्न सक्छौँ ?”

गाँठ सानो, अनुहार सोहोरिएको, घामले डढेर रूपरंग फेरिएको भए पनि मान्छे चर्को थियो त्यो ।

“ना, रजिन्दर ना । घाटा भैरहेको छ, भारतले बोकेको भनेर । तिम्रा केटाहरूले नेपाली र चिनियाँ झन्डा पोल्यौ । किन ?”

“किनभने, नेपाल अब हाम्रो राष्ट्र रहेन । हाम्रो माग बहुराष्ट्रको हो । नेपालको झन्डाप्रति हाम्रो सम्मान रहिरहनु आवश्यक छैन ।”

“अनि चीनको ?”

“तिनले हाम्रो आन्दोलनलाई साथ दिएनन् । तिनले मधेस आन्दोलनलाई सम्बोधन गर भनेर नेपाल सरकारमाथि कुनै दबाब दिएनन् ।

र पनि, तिमीले गल्ती गर्‍यौ । तिम्रो यो कर्मले चीन मात्र होइन, भारतइतर राष्ट्रमा पनि हाम्रो आन्दोलनप्रति शंका जन्माइदिएको छ । हामी साँच्चिकै भारतीय स्वार्थका गोटी मात्र हौँ कि भन्ने शंकामा अहिले तिनीहरू रुमल्लिइरहेका छन् ।”

ठूल्टाउके एकछिन रोकियो ।

“यसरी भारतको सम्पूर्ण रूपमा भर पर्दा उठ्नै नसक्ने गरी लड्ने सम्भावना पनि छ । दिल्लीले नेपालमा कसैको पनि समूहगत हित चाहँदैन । अझ हामी मधेसी जनताप्रति उसको अविश्वास अरू कसैप्रतिभन्दा बढी छ । हाम्रा कारण बिहारमा स्वतन्त्र मिथिला प्रदेश जन्मिएला भनेर उनीहरू शंका गरिरहन्छन् । उत्तर प्रदेशमा पनि अवध राज्यको परिकल्पना हुन सक्छ भन्ने त्रासमा पनि उनीहरू बसिरहेका छन् । भारतमा राज्य टुक्रिने प्रक्रिया निरन्तर अघि बढिरहेको छ । भारतीय नेपालीहरूको बस्ती, सिक्किम, दार्जीलिङ, उत्तराखण्डजस्ता प्रदेशसँग उनीहरूले सधैँ सतर्क हुनुपरेको छ …।”

“तिमीले त हामीलाई कुवाको ब्याङ अनि आफूलाई बाराक ओबामा पो ठान्यौ,” रजिन्दरले बीचैमा कुरो काट्यो ।

“मैले कसैलाई कुवाको ब्याङ भनेको छैन,” ठूल्टाउकेले भन्यो, “तर, तिमीलाई थाहा छ, मैले जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्धमा पीएचडी गरेको हुँ । त्यसैले मेरो ज्ञान ठोस छ, तिम्रो तरल छ । दिल्लीका हाकिमले क्या बात् रजिन्दर ! भनेपछि तिमी फुरुंग हुन्छौ । म त्यो ताल ठोकाइमा पनि दिल्लीको अतिरिक्त स्वार्थ देख्छु । मैले त्यसै दिल्लीमा सात वर्ष बिताएको होइन ।”

एउटा बोतल र दुई–दुई प्लेट सेकुवा पनि सकिएको थिएन । तर, दुई जनाको तातो छलफल र दुई जनाको मौनताले कोठाको राप बढाउँदै थियो ।

सानो ज्यानको मान्छे । डा. साहेपले पीएचडीको ध्वाँस दिएपछि अप्ठ्यारोमा पर्‍यो ।

“अरे हो ठाकुरजी, आप कुछ कहो ना !” सीधै हिन्दीमा

उत्रियो रजिन्दर ।

“म त उतिबेलादेखि बोलिरहेको थिएँ, जतिबेला तिमीहरू जन्मिएकै थिएनौ । यति मात्र होइन, तिमी नेपाली नरहँदा पनि म बोलिरहेको थिएँ । जिन्दगी फटाफट कमाएर रमाउने कथा होइन । तिमीहरूले जिन्दगी देखेकै छैनौ । भोग्ने त कुरै नगर । मैले राजनीतिमा लागेर सिंगो परिवार गुमाएँ । पत्नी गुमाएँ । पढालिखा छोरो गुमाएँ । तिमीले के गुमाएका छौ  ?  फुत्त आयो । नेपाली भयो । गजेन्द्रजीले दु:खले बनाउनुभएको पार्टीको टाउकामा टेक्ने बाटो बनायौ र मन्त्रीमाथि मन्त्री हुँदै गयौ । कारावासको पीडा ! सके शब्द सुनेका पनि छैनौ होला । हामी त्यो नरक भोगेर आएका मानिस हौँ । कुरा तिमीहरू गर । म सुन्छु । ०४६ सालमा मैले दिल्लीलाई गणतन्त्र नेपालको घोषणा गरिदेऊ भनेको थिएँ । तिनले मानेनन् । मलाई विश्वास गरेनन् । त्यसैले दिल्लीलाई पनि म आँखा चिम्लेर विश्वास गर्न सक्दिनँ । नेपालको पहिलो गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह हुन् । दोस्रो म हुँ । त्यसैले अब मलाई धेरै नबोलाऊ । तिमीहरूले टाउकामा राखुन्जेल म पनि आन्दोलनकारी हुँ । राख्दैनौ भने केही छैन । म स्वतन्त्र हुन तयार छु । किनभने, मैले मागेको गणतन्त्र आइहाल्यो । ”

“बुढउ सठिया गए,” रजिन्दरले वाक्क गर्‍यो ।

“हेर भाइ रजिन्दर, तँ धेरै फट्फट् नगर । तँ उसै पनि सबैभन्दा पछि नेपाल आएको मान्छे । हामी पाँच पुस्ताअगाडि आएको बूढाको सन्तान हौँ । तँभन्दा रामरी म मधेसलाई चिन्छु । दिल्ली नेपालका पहाडी, मधेसी कसैको पनि हित चाहँदैन । रोटीबेटीका सम्बन्ध । यो हामीलाई ढाँट्ने मेलो हो । पञ्चायतकालमा हाम्रा मधेसी भाइहरू मारिए । कतिलाई बेपत्ता पारियो । कतिलाई सीधै गोली ठोकेर मारियो । अहँ भारतले राजासँग एक शब्द बात गरेन । भैँसी मारिएजसरी हाम्रा मधेसी बन्धुहरू मारिए । दिल्ली र काठमाडौँको घाँटी जोडिइरह्यो । अहिले हामी किन दिल्लीका लागि अनिवार्य आवश्यकता भयौँ ? सोच । ”

लम्बु यादवले लामो प्रवचन दियो ।

“तो हम क्या करेँ  ?  हाथ–पैर बाँध के सो जाएँ ?”

“देख रजिन्दर तिमी केही नगर । तिमी केटाकेटी नै छौ राजनीतिमा । तिम्रा लागि राजनीति व्यापार होला । हाम्रा लागि यो निष्ठा हो । उताबाट अस्ति आएका तिमीलाई उताकाले सहजै स्वीकार्लान् र तिमीलाई कुनै प्रदेशको राजनीतिमा सहभागी हुने बाटो पनि बनाइ देलान् । हाम्रा लागि त उता केही छैन । मेरा चार पुस्ताले नेपालको माटोमा ज्यान बिसाएका छन् । त्यसै तिमी चूप लागेर बस र हामीलाई सोचेर काम गर्न देऊ । लूप लाइनमा दौडिएर आज वीरगन्ज, भोलि सुनवल, पर्सि नेपालगन्ज रोड गरेर तिमी आफूलाई म एक जना मात्र खाँट्टी आन्दोलनकारी हुँ भन्ने दम्भ प्रदर्शन नगर । सक्छौ भने दिल्लीमा गएर, दिल्लीको वास्तविक सोच के हो पत्ता लगाएर आऊ । हाम्रो काँधमा राखेर बन्दुक पड्काउन सुहाउँदैन तपाईंहरूलाई भन । हामीले तपाईंहरूमाथि भरोसा गरेका छौँ, तपाईंहरू हामीमाथि विश्वास गर्नूस् भन ।”

“त्यो त उनीहरूले भनिरहेकै छन् । किन ख्यारख्यार गर्न जानुपर्‍यो ?”

“भन्नु एउटा कुरा हो । मन अर्कै कुरा हो । राजनीतिमा कोही पनि सजिलै मनको कुरा खोल्दैन ।”

“ठूल्दाइ, तिमीसँग कुनै क्लु छ ?” लम्बु यादवले सोध्यो ।

“क्लु छैन, शंका छ । दिल्ली सबैतिरको घेराबन्दीमा छ । स्वयं भारतभित्रैबाट भारत–नेपाल सम्बन्ध बिगारेको आरोप दिल्लीमाथि लागेको छ । संयुक्त राष्ट्रसंघले पनि दिल्लीलाई पटकपटक सचेत गराएको छ । संविधानको भ्रमबाट बाहिरिएपछि भारत, युरोप र अमेरिकाबाट पनि एक्लिएको छ । यति धेरै हुँदा पनि दिल्ली टसमस गरेको छैन ? किन ? खालि हामी मधेसीको हितका लागि ? होइन । यो हुनै सक्दैन । बिहार र उत्तर प्रदेशका मञ्चहरूमा उभिएर हाम्रा रोटीबेटीको सम्बन्ध भएका बिहारी र अवधीहरूलाई गाली गर्ने दिल्ली हाम्रो स्वार्थ रक्षाका लागि सबथोक सहेर बसेको छ भनेर कसरी भन्न सकिन्छ ?”

“यो तालले तिमीहरू आन्दोलन चलाउन सक्दैनौ,” वृद्ध ठाकुरले आशीर्वादको भाकामा भन्यो, “आन्दोलनको नेतृत्व गर्न पहिलो त आफू र आफ्ना सहकर्मीप्रति विश्वासको वातावरण चाहिन्छ । यदि यो मधेसको आन्दोलन हो भने सबै मधेसीलाई गोलबन्द गर्नुपर्छ । तर, यहाँ त त्यस्तो केही छैन ।

तिमीहरू तीन जनाकै बीचमा आपसी विश्वास टुटेको छ । मातृकाजी यो आन्दोलनको विरोध गरिरहेका छन् । स्वयं राष्ट्रपतिजी, मधेसी भैकन पनि सरकारले मधेसको मागलाई सम्बोधन गर्नुपर्छ भन्न सकिरहेका छैनन् । विरोधी त विरोधी नै भैहाले । आन्दोलनलाई ओझेलमा पार्न मधेसी दलितको, बोक्सीप्रथाको, इनार र ट्युबवेलको कथा कथिरहेका छन् । यो सब विरोधीको प्रोपोगन्डा हो भनेर आन्दोलनलाई जबरजस्ती अघि बढाउन सकिँदैन ।”

“बुढउ, सठिया गए,” रजिन्दरले फेरि भन्यो, “वो मातृका, वो तो पागल है । अउर रहे राष्ट्रपति । वो कब हमारे साथ थे ? अब उनकी बेटी भी भजन गाने लगी सबको मिलकर रहना होगा । धत् ।”

वृद्ध ठाकुर हाँसिरह्यो ।

“देख, रजिन्दर तँ राजनीति भनेको फिट्टै जान्दो रहेनछस् । कुरो सुन्नु बूढाको, आगो ताप्नु मूढाको आहान त्यसै चलेको होइन । ठाकुर बा, जे भन्दैछन् ठीक भन्दैछन् । दुई जना पत्रकारले लेख्दैमा, दिल्लीले ‘अच्छा क्याबात्’ भन्दैमा अनन्तकालसम्म हाम्रो आन्दोलन चल्दैन । ठूल्दाइले ठीकै भने । पारिबाट मान्छे ल्याउनु गल्ती थियो । दिल्ली छँदैछ मातृका र राष्ट्रपति किन चाहियो भनेर ततर्किनु पनि ठीक होइन । सम्झी रजिन्दर, हामी हारेका मानिसले हाँकेको आन्दोलन हो यो । त्यसैले तेरो उफ्रिपाफ्रीले आन्दोलन माथि उठ्दैन । एक्लो हिरो हुने कुरो नसोच ।

रजिन्दर अँध्यारो भयो । रात पनि गाढा अँध्यारोतिर गइरहेको थियो ।

कथा: अस्मिताको मूल्य / अप्सरा तिम्सिना लम्साल

गरिबीले गाँजेपछि मान्छेलाई आफ्नै सपनाहरू पनि गह्रुङ्गो लाग्छन् सायद । त्यस्तै भएको हुनुपर्छ रश्मिको परिवारलाई पनि । कान्लामाथि रश्मिको छाप्रो, कान्लामुनि रमिताको मध्यम वर्गीय घर। रश्मिका परिवार गरिबीले छियाछिया पारेको जीवन बाँच्न विवश थिए। परिवार सानो भए तापनि सुखी थिएन । छोरी रोश्ना कक्षा पाँचमा पढ्थिन् । उनको पढाइ पनि मध्यम नै थियो। सरकारी विद्यालयमा पढाउन पनि दम फुलाउने उकालो चढे जत्तिकै कठिन थियो रश्मिलाई ।

गाउँको सामान्य घर आँगनको डीलमा जतनले रोपेका सयपत्री र मखमलीहरू बतासको बयलीमा नृत्य गरिरहेका देखिन्थे। दसैँ दौडिँदै छाप्रोभित्र पस्नै लागेको थियो । स्वागतका निम्ति किनमेलको जोरजाम गर्न ज्यालादारीभन्दा अर्को विकल्प थिएन । काम त लाहुरेले पनि नगर्ने त कहाँ हो र ! उसले गरेको ज्यालाको पारिश्रमिकले उसैलाई बेलुकी सुरिन पुग्दैनथ्यो । उल्टो थियो रश्मिको परिवारको चलन। अरूका घरमा श्रीमतीले श्रीमान्लाई सताउँथे तर रश्मिको घरमा लाहुरेले। बाहिरी परिवेश रोमाञ्चित थियो । शारदीय उमङ्गमा चञ्चल भएर रोश्ना पनि वाटामाथि, बाटामुनिका फूलका थुङ्गासँगै नाच्दै नाच्दै रमिता
अन्टीकही गई। रोश्ना महँगा महँगा लुगा लगाउँथिन् । उनले लगाएका कुनै कपडा पनि जिउ मिल्ने हुँदैनथे । हेर्दै कसैसँग मागेका वा उनलाई कसैले सहानुभूतिस्वरूप दिएका भन्ने बुझिन्थ्यो । रोश्ना रमिलाको नजिकै आई र लाडे पल्टिंदै भनी “आन्टी, आन्टी! भोलि हामी जाने।”

* कहीं जाने छोरी ?” रमिताले भनिन् ।
“बिहेमा भाँडा माझ्न जाने।”
“को को जाने रोश्ना ?” रमिताले सोधिन् ।
“ममी र म।”

आन्टी, बिहेमा त के के खान पाइन्छ नि । मासु पुलाउ, सेल, पुरी कसार पुरन्दाना, आइस्क्रिम के के हो, के के। अन्टी मलाई आइस्क्रिम धेरै मनपर्छ नि ।” रोश्ना यति भन्दै मुखभरि भएको न्याल घुटुक्क निली र मुस्कुराई ।

“तिम्रो स्कुल पनि छुट्टी छ कि ? पढाइ नै छाडेर
जाने ?” रमिताले सोधिन् ।

“दुई दिन त हो नि, छोडेर जाने। पहिले पहिले पनि कत्ति त्यसैगरी जाने त गरेको थियो नि । ममीलाई काम पनि सघाउने, रमाइलो पनि हेर्ने, मीठो मीठो खान पनि पाइने, पैसा पनि आउने भएर नि आन्टी। पढाइ त अर्को दिन पनि भइहाल्छ नि भन्छिन् ममी।”
झिलिक्क परेको भाये घाँघर, लतपतिएको लिपिस्टक, हात र गोडाका औंलामा लतपतिएको नेलपोलिस, निधारदेखि बाटेका गोडा सातेक तीन सुते कपालका डोरी, आँखामाथिको भद्दा गाजल जस्ता अस्वाभाविक शृङ्गार, एकएक गर्दै नियालिन रमिताले । उनलाई साँच्चिकै रमिता नै लाग्यो । “लौ, लौ, जाओ।” रमिता बोलिन् ।
रोश्ना आफूभित्र भएको भावनाको गहिराइदेखि भरिएर खुली बनेको कुतूहल रमितासामु पोखेपछि निष्कपट र निश्छल ● भावको रित्तो पैंटो लिएर पुलकित हुँदै घरतिर लागिन् । रमिता एकोहोरो भएर हेरिरहिन् ।
“दुई दिनपछि गाउँमा गाईंगुईं सुनियो पँधेरामा छिमेकीहरू खासखास खुसखुस गर्द थिए । एउटा कन्सुत्लो रमिताको कानमा पनि सुटुक्क छिन्यो र मुटुमा कटक्क टोकेर निस्कियो । रमितालाई सिरिङ्ङ भयो ।
“हरे शिव । त्यस्तो जघन्य अपराधी को होला ? कस्तो घटना सुन्नुपर्यो ? मोरीले स्कुलै नछाडेकी भए पनि त हुन्थ्यो नि। जाने अघिल्लो दिन फऱ्याकफुरुक गर्दै मेरो घरमा नआएकी भए पनि यस्तो लाग्ने त थिएन होला ।”

विस्मित भइन् रमिता । रोश्ना अचेत अवस्थामा अस्पतालमा छे रे भन्ने खबर हावारूपी हल्काराले घरघर पुन्यायो । रमिता पैसाको चाँजोपाँजो मिलाएर अस्पतालतिर लागिन् । उनलाई भरअभर घरको काम सघाउने गर्थी रोश्ना । फुर्सदको समयमा दिन काट्ने, मुखबोलाउ साथी नै थिई रमिताकी । रोश्नाको बलात्कारको घटना सुनेदेखि नै बेचैनीले गाँजेको थियो । घोर भर्त्सना गर्न मात्र मन लागेको थियो रमितालाई ।

आँखामा आँसु र मनमा आक्रोसको आगो बोकेर अस्पताल पुगिन् रमिता रोश्नालाई भेट्न । रमिता अस्पतालमा पुग्दा रोश्नाको अलिअलि होस आएको थियो तर राम्रोसँग बोल्नसक्ने अवस्थामा थिइनन् । बलिन्द्र धारा आँसु झारेर रोइरहेकी रश्मिसँग केही संवाद गरिन् रमिताले ।
“रश्मि, छोरीको यस्तो हालत हुञ्जेल तिमी कहाँ गएकी
थियौ ? कसरी यस्तो अवस्थामा पुगी रोश्ना ? तिमीले आमाको
जिम्मेवारी राम्ररी पूरा गरेजस्तो लागेन मलाई” रमिताले भनिन् । “टेन्टभित्रका भाँडा टिप्न गएकी थिएँ । खाना खाएर काम गर भनिन् मालिक्नीले । त्यस्तो हुन्छ भन्ने थाहा पाएको भए त किन एक्लै छाड्थेँ र ? मैले कति दुःख गरेर हुर्काएकी छोरी ! पापिष्टले नष्ट भ्रष्ट पारिदियो । मनको बह कहाँ पोखेँ बैनी ?” वृत्तान्त सुनाउँदै बिलौना गर्न थालिन् रश्मि ।

” चोट पनि लाग्या छ ?”

रमिताको सवालको जवाफमा रश्मिले रोश्नाको घाँघर उचालेर देखाइन् । रोश्नाको लाजमा ठूलो पट्टी लगाइएको थियो । सानो पाइप पिसाब पास गर्नका निम्ति डाक्टरले जोडेर प्लास्टिकको थैलो झुन्ड्याइएको रहेछ। रमिताले हेर्नै सकिनन् । कहिल्यै भलो नहोस् पापीको ! सरापिन् रमिताले । “यस्तो हुन्छ भन्ने थाहा पाएको भए । त्यस्तो काममा नै जान्नर्थे । भारोपर्म गरेर पिठो खान्थें बरु | बहिनी ! रोश्नालाई एकजोर लुगा दशैँमा

फेरिदिन मन लागेर नै गएकी हुँ ।” “त्यो अपराधी समाइयो त ?” रमिताले सोधिन् ।

“समाउन त समाइयो तर के गर्नु बहिनी ? आफ्नो मान्छे गतिलो नभएपछि न्याय पनि नपाइने रहेछ ।” रश्मिले बिलौना गरिन् । “के भयो, त्यस्तो ?” रमिताले सोधिन् ।

‘के हुनु नि ! मैले कानुनी कार्बाहीका निम्ति प्रहरीलाई खबर गर्ने भनेकी थिएँ। नेताको छोरो रहेछ त्यो ! हामी तपाईंलाई जति भन्नुहुन्छ, त्यति पैसा दिन्छौं भनेछ अपराधी पक्षले । मिल्न पो सहमत भएछन् लाहुरे त! रक्सी खान पैसा आउने भयो भनेर मिलापत्रमा सही गरेर आएछन् उनले । गरिबको रोदन – क्रन्द्रन कसले सुन्छ र ! रश्मिको रुवाइमा हिक्का छुट्यो । छोरीको टाउको मुसार्दै झन्झन् ठूलो स्वरले रुँन थालिन् रश्मि । रोश्नालाई राम्ररी होस आएकै छैन । रमितालाई लाहुरेसँग रिस उठ्यो । यति धेरै रिस उठ्यो कि नजिकै भेटे चोक्टा लुछ्र / झैं लाग्यो । उसले सम्झौता गरेर कानुनको ढोकामा भोटे ताल्चा लगाइदिएको थियो ।

अस्पतालको कष्टकर बसाई केही दिन लम्बियो । तनमा लागेको घाउ ओखतीले निको हुँदै गए पनि मनमा लागेको घाउ निको हुने छाँटकाँट थिएन । तर निमूखाको निम्ती बोलीदिने को हुन्छ ? त्यही भयो पैसा पहुँच र पद भएकाहरूको अगाडि एउटी अवलाको अस्मिता खुलेआम लुटियो । न छिमेकी बोले बिरुद्धमा, न समाज बोल्यो न बोल्यो, न बोल्यो कोही कतै । अन्ततः दवाइयो निशब्दहरूको शब्द, निमूखाहरूको आवाज र दूर्वलहरूको गला । आए घुमेर यामहरू, आए चाडपर्वहरू तर खुसी बोकेर आएन, उमङ्ग लिएर आएन न आयो अन्यायको बिरुद्ध लड्ने कोही । आयो त फगत आँखाबाट नुनिलो आँसु ।

दसौं दिनको दिन बल्ल रश्मिले अस्पतालबाट घर ल्याइन् छोरीलाई । केही दिनपछि बल्लतल्ल बिस्तारै परपर खुट्टा टेकेर रमिताको घरमा आइन् रोश्ना । रमितालाई रोश्नाको आगमन स्निग्ध लाग्यो । रोश्ना पन्ध्र दिन अगाडिकी जस्ती बिल्कुल नभएर पहेंली र दुब्ली देखिन्थी । अनुहार फुड्ड उडेको थियो । विकराल भयले उनमा घर बनाएको जस्तो लाग्यो रमितालाई ।

उनले मायालु भावमा सोधिन्, “छोरी ! तिमी त्यो पापीलाई चिन्छ्यौ ?”

‘चिन्छु !’ भन्ने सङ्केतमा टाउको हल्लाइन् रोश्नाले । “कसरी त्यस्तो घटना घट्यो ? भन त छोरी !” रोश्नाको
बोली र अश्रुधारा सँगै छुट्यो ।

“ममीले मैले मस्काइसकेका यी सानासाना प्लेट कचौरा पखाल है भनिन् । पखाल्दै थिएँ । एकजना मान्छे आयो र चुठ्नासाथ मलाई थोरै पानी छ्याप्यो। म लजाएर आच्या भन्दै अलिपर सरेँ । फेरि छ्याप्यो । आहा! तिमी लजाउँदा त फूल जस्तै देखियो भन्दै फेरि पानी छ्याप्यो ।

तिमीले पढेको छ ? भनेर सोध्यो, मैले टाउको हल्लाएँ। फेरि कति किलास पढेको छ ? भनेर सोध्यो। मैले पाँच कक्षा भनेँ ।

धेरै पो पढेकी रहिछौ त । भाँडा माझेर तिमीले कति पैसा
पाउँछ्यौ ? उसले सोध्यो। मैले त होइन पो! आमाले एक हजार
पाउँछिन् भनें । हिँड उता बाजा बजाएर मान्छे नाचेको हेर्न जाम्
भन्यो । मैले आमाले गाली गर्छिन् भनेँ । यो पुरै भाँडा माझेर
तिमीले एकहजार पाउँछ्यौ । विचरा ! यस्तो बच्चालाई भाँडा
मझाउने ? हिँडहिँड उता रमाइलो हेर्न। म दिउँला तिमीलाई दुई
हजार रुपियाँ, हुन्छ ? भन्यो ।

म हाँसें । उसले पैसा झिकेर दियो । कस्तो माया गर्ने मान्छे भन्ने लागेर लिएँ र उसको पछिपछि गएँ । मेरा आँखा ममीलाई खोज्दै थिए, देखिनँ । ममीलाई भेटेर यति धेरै पैसा देखाउन पाए कति खुसी हुन्थिन् होला भन्ने सोचें ।

बोल्दा बोल्दै रोश्नाको आवाज दविएको जस्तो हुँदै गयो अनुहार कालो भयो । सायद डरले होला। एकछिन रोकिएर फेरि सुनाइन् ।

म अलमलिएको देखेर उसले मलाई छिटोछिटो आउन भन्यो । मलाई पनि उसैसित जाऊँजाऊँ लाग्यो, र गएँ । उसले मलाई बाटोमुनि जङ्गलतिर लग्यो। यता आऊ त, म तिमीलाईकस्तो रमाइलो ठाउँमा पुयाउँछु । यता अलि तल कत्रो ठूलो बजार छ नि ! ” मलाई के के कुराले अल्मलाउँदै अगाडी बढायो उसले ।

तिमी ममीसँग यता घुम्न आएकी छौ ” ? मैले, छैन भनेँ । जङ्गलको बीचमा पुगेपछि ऊ बस्यो । मलाई पनि थाक्यौ होला, बस ल ! भन्यो । बगलीबाट डेरीमिल्क झिकेर दियो । उसले अर्को पनि झिकेर अलिकति खायो र अरु मलाई नै खुवाइदियो ।

बिस्तारै उसले आफ्नो हात मलाई अंगालो मारेर मेरो छातीमा ल्यायो । त्यसपछि धेरैबेर मेरो छातीमै हात राखिरह्यो । म डराएर मेरो मुटु जोडले ढुक्ढुक् गरेको थाहा पाएर सोध्यो

” किन डराएकी । अनी अघिको पैसा खै ?

मैले देखाएपछि त्यो पैसाको राम्रो लुगा किनेर लगाउनु है ! भन्यो । अनि, काखमा बस भन्यो, मैले मानिनँ । उसले तानेर 1 लग्यो र उसको छातीमा घोप्टो पारेर सुतायो। गाला टोकिदियो । म रुन थालेँ । मेरो मुख थुनेर के के गर्यो ! म रुँदारुँदा बेहोस भइछु । व्यूझँदा त अस्पतालमा थिएँ अन्टी ।”

यति बेलासम्म रोश्नाले लगाएको लुगा निकै भिजिसकेको थियो । उसको रुवाइको बाँध फुट्ने क्रम झन्झन् बढ्दै छ। बोल्दै पनि थिइन् ।

“आन्टी, म त अबदेखि स्कुल जान्नँ !” रोश्नाले भनी ।

“किन नजाने ?” रमिताले सोधिन् । “मेरो कुरा सबै साथीहरूले स्कुलभरि हल्ला गरिदिएछन्। मलाई स्कुल जान लाज लाग्छ । म त अब पदिन !”

“आन्टी मलाई दाग लागेको छ रे ! हो ? दाग कसरी लाग्छ ? दाग भनेको के हो ?”

उसको प्रश्नले रमिताको मस्तिष्क धेरै बेर घुम्यो । “दाग भन्ने कुरा केही हुन्न छोरी ! कसैले सोतो कपडामा

कालो पोतिदिन्छ भने त्यो कपडाको के दोष ? तिमी त सेतो कपडा हौ कसैले कालो पोतीदियो तिम्रो अस्मितामा र आफु सेतो भएको ढोड् पाल्यो । यो समाज पीडकलाई उन्मुक्ति दिएर पीडितको आँसुमा रमाउनेहरूको हो छोरी। यहाँ साथ दिने भन्दा अपमान गर्नेहरू धेरै हुन्छन् । दाग त चन्द्रामामा पनि लाग्छ। दाग लाग्दैमा चन्द्रमा अपवित्र हुँदैन, तिमी त्यही चन्द्रमा हौ छोरी । तिमी शालीन छौ । तिमी निर्दोष छौ । दाग त त्यो अनुहारमा लागेको छ जसले तिम्रो अस्मिता माथि धावा बोल्यो, कालो त्यसको अनुहारमा पोतिएको छ जो सेतो नकाव लगाएर कालो काम गर्दै हिँडिरहेको छ ।

तिमी स्कुल जान्छु भन त ! म यही सुन्न चाहन्छु छोरी !” रमिताले चिउँडोमा समातेर आफ्नो नजरसम्मुख रोश्नाको मुहारलाई उठाइन् । रोश्ना मुसुक्क मुस्कुराइन् र ‘हुन्छ’ को सङ्केतमा टाउको हल्लाइन् । रमिताले उनलाई मायालु अङ्गालोमा कसिन् ।

प्रस्तुत कथा अस्मिताको मूल्य अप्सरा तिम्सिना लम्सालद्वारा लिखित ‘अभ्यन्तर’ कथा सङ्ग्रह २०७६ बाट साभार गरिएको हो ।

परिचय “अप्सरा तिमल्सिनाको जीवनमा आधरित”
जीवनमा अनेकौँ आरोह अवरोह आउँछन् । अनेकौँ दुःखहरुलाई भोग्नु पर्छ अनेकौँ सुखको अनुभूतिमा रमाउनु पर्छ । जीवन चक्र हो घुमिरहन्छ । विभिन्न स्वरुपहरु धारण गर्दै जीवन चलिरहन्छ र जीवनको अन्त्य एकदिन सत्य हुन्छ । सत्य आफैँमा सत्य हो सत्यलाई कसैले पनि रोक्न सक्दैन जन्मनु र मर्नु बिचको जति बाँचेको जीवन हुन्छ त्यो चाहि रङ्गमञ्च भएर अभिनय गरिरहन्छ । यही रङ्गमञ्चमा अभिनय गदागर्दै जीवनको अभिनय सकिन्छ ।

वि सं २०३२ कार्तिक २७ गते ओखलढुङ्गामा आमा जसोदा तिम्सिना र बुबा गजाधर तिम्सिनाको एक मात्रै छोरीको रुपमा धनकुमारी तिम्सिना जन्म भयो । त्यहीको माटो, खोला, पाखा पखेरा डुल्दै घुम्दै उहाँको बाल्यकाल त्यतै बित्यो । छोरीले पढ्न नपाउने अथवा पढयो भने समाज र बाआमाको इज्जत जाने बेलामा पनि समाजको त्यो परिधिलाई नाघेर उहाँले २०५१ सालमा एस.एल.सी. पास गरेर पढ्ने कामलाई निरन्तरता दिनुभयो । र अझैँ पढ्ने उत्साहलाई थप बलियो बनाउनकोेै लागि हेटौँडा प्रवेश गर्नु भयो ।

हेटौँडा क्याम्पसबाट कक्षा ११ देखि एम एडसम्मको अध्ययन गर्नु भएकी धनकुमारी तिम्सिनाले आफैँले रोजेको नाम थियो अप्सरा तिम्सिना । २०५२ सालदेखि श्री बालउज्जवल मावि लेवटमा अध्यापनमा संलग्न हुँदै आउनु भयो र एक असल शिक्षकको रुपमा धेरै पटक पुरस्कृत पनि हुनु भयो । उहाँ विद्यालयमा शिक्षक हैन अभिभावक बनेर आफ्नो विद्यार्थीहरुको साथी बनिरहनु भयो र जीवनको अन्तिमसम्म पनि उहाँले त्यही विद्यालयमा पढाउनु भयो ।

पचासको दशकमा साहित्य क्षेत्रमा प्रवेश गर्नु भएकी अप्सरा तिम्सिनाले २०६० सालमा बैवाहिक जीवनमा प्रवेश गर्नु भयो एक छोरा र एक छोरीलाई जन्म दिनु भएकी अप्सराले घर परिवार बालबच्चाको उल्झनलाई सम्हाल्दै आफ्नो जागिरे जीवन र आमाको भूमिका एक असल बुहारी र कर्तव्यनिष्ठ श्रीमतीको बनेर गृहस्थी जीवन कुशलतापूवक आफ्नो भूमिका निर्वाह गर्न पछि पर्नु भएन । लगभग १० वर्ष साहित्यको क्षेत्रबाट ओझेल परेको देखिएता पनि विभिन्न भूमिकामा भित्रि रुपमा उहाँले साहित्यका पुस्तकहरु पढिरहने र लेख्ने कामलाई निरन्तररता दिन भने छाड्नु भएन त्यसैले पनि साठीको दशकबाट विभिन्न सामाजिक तथा साहित्यिक संघसंस्थामा सक्रिय रुपमा सहभागि भै सेवा गरिरहनु भयो र वि सं २०६९ सालमा नारी साहित्यकारहरुको साझा संस्था आँचल साहित्य कला पुञ्जको स्थापना गर्न विशेष भूमिका निर्वाह गर्नु भै संस्थापक उपाध्यक्ष बन्नु भयो । र पछि दुइ कार्यकाल अध्यक्ष भै आफ्नो भूमिका महत्वपूर्ण रुपले निर्वाह गर्नु भयो ।
मकवानपुर जिल्लाकै पुरानो तथा प्रतिष्ठित साहित्यिक संस्था साहित्य संगम मकवानपुरलाई आफ्नो साहित्यिक पाठशाला मान्ने अप्सराले सोही संस्थामा सदस्यदेखि उपाध्यक्ष भएर कार्य गर्नु भयो । सिस्नुपानी नेपाल मकवानपुरको कोषाध्यक्ष, भीम विराग संगीत साहित्य कला प्रतिष्ठानको कोषाध्यक्ष, मातृभूमिको आजिवन सदस्य, प्रलेश मकवानपुरको साधारण सदस्य रहेर जहाँ जहाँ उहाँले अग्रस्थानमा काम गर्न पाउनु भयो त्यहाँ आफ्नो कुशलताको उदाहरण पस्किनु भयो । किनाराका आवाजहरु २०६७ अभ्यन्तर कथा संग्रह २०७६ प्रकाशित गरिसक्नु भएकी अप्सरा तिम्सिनाले अर्को कविता संग्रह र उपन्यासमा पनि आफ्नो उपस्थिति जनाउन अग्रसर भएको पाइन्छ । उहाँको भान्छे कविता सबैभन्दा बढी मन पराइएको कविता हो । भान्छेका ६ वटा सिरिजहरु लेखिसक्नु भएको छ भने अन्य कविताहरु पनि नेपाली साहित्यमा उल्लेखनिय भूमिका रहेका छ । अप्सरा तिम्सिना कवि कथाकार मात्रै हैन एक कुशल समिक्षक र गीत लेखनको क्षेत्रमा पनि उहाँको योगदान महत्वपूर्ण छ । साहित्य साधना तथा सक्रियताका लागि विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गर्नु भएको थियो ।

कविता : अखण्ड आलाप / मुक्तान थेबा

अखण्ड, अखण्ड, अखण्ड

मात्र अखण्ड भनिरहेछ ऊ

खण्ड–खण्ड मगज बोकेर
अखण्ड आलाप
किन गरिरहेछ ऊ ?

जबकि
उसको सिङ्गै परिवार अटाउने
घरभित्र पनि छन्
थुप्रै खण्डहरू-
भान्सा, अगेनो, भुइँतला
चोटा, धनसार, बुइँगल आदि–आदि..

उसको थालमा पस्किएको भात
खण्ड–खण्ड पारेर नखाने हो भने
उसको घाँटीबाट कसरी छिर्ला अखण्ड भात ?
कसरी अटाउला उसको मुखभित्र
अखण्ड रोटी ?

उसले फेर्ने सास पनि
निमेषमै
करोडौँ खण्डमा बाँडिएर
भित्र बाहिर नगर्ने हो भने
कसरी धान्लान्
उसको दुई खण्डे फोक्सोले
अखण्ड सास ?

दुई खण्डमा बाँडिएका
उसका आँखाहरू
मानिलिनोस्
अखण्ड भैदिए रे
अब के हुन्छ ?

नाकका दुईखण्डे प्वालहरू
मानिलिनोस्
अखण्ड भैदिए रे
अब के हुन्छ ?

दुईतिरका दुई पाटा कानहरू
मानिलिनोस्
अखण्ड भैदिए रे
अब के हुन्छ ?

दायाँ बायाँ दुईतिरका दुई खण्ड हातहरू
दुईतिर टेकेर उभिने
दुई खण्ड खुट्टाहरू
मानिलिनोस्
अखण्ड भैदिए रे
अब के हुन्छ ?

ऊ मान्छे हुन्छ कि जुका ??

हो
उसको स्वरूप अखण्ड छ
तर ऊमित्र छन् – थुप्रै खण्डहरू
उसको घर अखण्ड छ
तर घरभित्र छन् – थुप्रै खण्डहरू
यो पृथ्वी पनि अखण्ड छ
तर, यही पृथ्वीमा छन् –
थुप्रै खण्ड देशहरू
यो देश अखण्ड छ
तर, यही देशभित्र छन्
थुप्रै खण्ड भूगोलहरू ।

ऊ पनि
प्रकृतिको एउटा खण्ड हो
उसले खण्डमा
बाँच्न सक्नुपर्छ

तर सबैभन्दा खतरा त
उसको खण्ड–खण्ड मगजभित्र
अखण्ड विष रोप्ने
विखण्डनकारीहरूसँग हो ।

मुक्तान थेबा
मकवानपुर

कविता : आजका मान्छेहरू / राम बर्तौला ’आँसु’

बाँच्ने रहरमा
बाँच्ने मान्छेहरू
इमान्दारिता र नैतिकतालाई
आगो लगाएर
विगतका पहिचान भुलिरहेछन्
हरेक गन्तव्यहरू टुङ्गिएर
नितान्त एक्लो भएका छन्
आजका मान्छेहरू
नाता अनि सम्बन्धका
साङ्लाहरू तोडेर
आफैँलाई बिर्सिरहेछन्
फगत मान्छे
समयलाई बलात्कृत गरेर
प्रतिस्पर्धी झैँ
समयसँग उछिन पाछिन गर्दै
घन्काइरहेछन्
इनकलाप जिन्दावाद
इनकलाप जिन्दावाद
चोकमा उभिइरहेछु
नियाली रहेछु
दृश्य अनि शृङ्खलाहरू
एकपछि अर्को
यो अनि ममा
उसको र मेरो गन्तव्यमा
फरक कति छ त… ?
एक दिन त जानु नै छ
म त्यो बुझ्ने प्रयासमा छु
जिन्दगीको अन्तिम संघारसम्म ।
 
थाहा नगारपालिका, मकवानपुर

सिग्देल र पौडेललाई छन्दसाधना पुरस्कार प्रदान

छन्द–तरङ्ग, काठमाडौँले हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष दुई जना छन्दसाधक कविहरू भुवनहरि सिग्देल र कविराज पौडेललाईे प्रदान गरिएको छ । शनिबार काठमाडौँमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि सभामुख घिमिरेले दुई पुस्ताका कविहरू सिग्देल र पौडेललाई उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।

कविद्वय प्रा.डा. रामप्रसाद ज्ञवाली र प्रा.डा. देवी नेपालको संयोजनमा २०७५ बाट सञ्चालित छन्द–तरङ्गले २०७६ देखि हरेक वर्ष विशिष्ट छन्दसाधना पुरस्कार प्रदान गर्दै आएकोमा गत वर्षदेखि छन्दसाधना युवा प्रतिभा पुरस्कारसमेत थप गरी एक जना अग्रज कवि र एक जना अनुज कविलाई पुरस्कृत गर्ने गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि सभामुख घिमिरेले छन्दसाधकद्वय सिग्देल र पौडेलले नेपाली छन्दकविताको उन्नयनमा खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गरी पुरस्कार प्रदान गरिएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “छन्द वेदको एउटा अङ्ग हो । अहिले पूर्वीय जगत्का ज्ञानगौरवहरू दिनदिनै हराउँदै जान थालेका छन् । कुनै समयमा गणित, इतिहास, अर्थशास्त्र आदि समेत लेखिने र तत्काल कण्ठ गर्न र लामो समयसम्म स्मरणमा राख्न सकिने हुनाले छन्दको विशिष्ट भूमिका रहने गरेको छ ।”

डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालको जोडीहरूद्वारा स्थापित र सञ्चालित यस छन्दसाधना पुरस्कारले यस क्षेत्रमा योगदान दिने एक जना विशिष्ट साधक र एक जना युुवा साधकलाई सम्मानित तथा पुरस्कृत गरेर सबै पुस्तालाई थप हौसला प्रदान गरेको छ ।

प्रा.डा. रामप्रसाद ज्ञवालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले छन्द–तरङ्गले गरेका ऐतिहासिक कामहरूको स्मरण गर्दै ज्ञवाली र नेपालको सत्कर्ममा आफ्नो सदैव साथ रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा ‘विशिष्ट छन्दसाधना पुरस्कार’बाट पुरस्कृत वरिष्ठ कवि भुवनहरि सिग्देलले यस पुरस्कारले आफ्नो छन्दसाधनालाई सम्मान गरी थप जिम्मेवारी प्रदान गरेको विचार व्यक्त गर्नुभएको थियो भने ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’बाट पुरस्कृत युवाकवि कविराज पौडेलले संस्कृत छन्दविधान र अङ्ग्रेजी छन्दविधानसम्बन्धी आफ्नो अत्यन्त प्राज्ञिक मन्तव्य प्रस्तुत गर्दै आजका दिनबाट आफूमा गहन जिम्मेवारी थपिएको हुनाले सकेसम्म छन्द कविताको उन्नयनका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गर्दै एक सशक्त छन्दकविता वाचन गर्नुभएको थियो ।

सोही सभाकक्षमा दोस्रो चरणमा गरिएको कृति लोकार्पण कार्यक्रममा विशिष्ट छन्दसाधना पुरस्कारद्वारा पुरस्कृत भुवनहरि सिग्देलको जीवनाख्यान ‘साँखेजुङको उकालो’ कृतिको लोकार्पण पनि गरिएको थियो ।

कविडाँडा साहित्य समाज आख्यान पुरस्कारका लागि उत्कृष्ट पाँच कृति छनोट ।

मकवानपुर । कविडाँडा साहित्य समाज आख्यान पुरस्कार–२०७९ का लागि दोस्रो चरणमा छनोटमा परेका पाँच कृतिको नाम कविडाँडा साहित्य समाजले सार्वजनिक गरेको छ ।  नेपाली साहित्यको प्रगति र उत्थानमा सक्दो सहयोग गर्नका लागि स्थापित समाजले पुरस्कारका लागि छनोट गरेको सूची सार्वजनिक गरेको हो ।

कविडाँडा साहित्य समाज आख्यान पुरस्कार–२०७९ का लागि जानुका खतिवडाको ‘आतोओडा’, विवेक ओझाको ‘ऐँठन’, रामलाल जोशीको ‘बाआमा’, देवीप्रसाद सुवेदीको ‘मनु’, र अशोक थापाको ‘सन्तापको धुन’ छनोटमा परेको समाजका अध्यक्ष एल बि क्षेत्रीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

समाजले पहिलो चरणमा दश जना लेखकको पुस्तकहरू छनोट गरेको थियो । पहिलो  चरणको छनोटमा जानुका खतिवडाको ‘आतोओडा’, विवेक ओझाको ‘ऐँठन’, गोपी सापकोटाको ‘चिसो बाफ’, मनोज चौधरीको ‘टुवारा’, रामलाल जोशीको ‘बाआमा’, देवीप्रसाद सुवेदीको ‘मनु’, सञ्जय विष्टको ‘माटाको घर’, हरिबोल काफ्लेको ‘यशोधरा’, रेणुका जिसीको ‘सनेस’ र अशोक थापाको ‘सन्तापको धून’ परेका थिए ।

कविडाँडा साहित्य समाजले पुरस्कारका लागि छनोटमा परेका पाँच कृतिमध्ये पुनः एक उत्कृष्ट कृतिलाई कविडाँडा साहित्य समाज आख्यान पुरस्कार–२०७९ प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।

पुरस्कार राशि रू. १,२५,०००/- (एक लाख पच्चीस हजार रुपियाँ) रहेको छ ।

लघुकथा : घर फर्केका पाइला

महारामको जीवनको दुई तिहाई समय भैँसीको पुच्छर समातेर घरबाट चेत र खेतबाट घर आउँदा जाँदै पूरा भएको थियो । उसले पूरा तीनबिस र बढी साल बिताइसकेको थियो । भिज्दै सुक्दै, कहिले पसिनाले त कहिले बरसातको पानीले । उसले कहिल्यै पनि राम्रो लुगा लगाउन पाएन, न खान पायो । कुनै समयमा उसले एक महल अवश्य बनाएको थियो जुन सौ घर भएको गाउँमा एक्लो थियो ।

पछिल्लो साल उसको ठूलो छोरा हरिलाल बी.ए. पास गरेर जब दिल्लीमा जागीरे भयो, त्यसबेला महारामको जिन्दगीको पहिलो र सवैभन्दा पहिलो सपना पूरा भएको थियो । उसको दोस्रो सपना थियो, दिल्ली हेर्ने । त्यो अनि आज पूरा भइरहेको छ । ऊ केही दिनका लागि ठूलो छोरा कहाँ दिल्ली आएको थियो ।

तर दिल्ली आएको तीन–चार दिनपछि उसको मन छटपट गर्न लाग्यो । ठूलो छोराले उसलाई पूरा दिल्ली घुमायो । लालकिल्ला, कुतुबमिनार, जामामस्जिद, जन्तर–मन्तर सब देखायो तर उसका बुवा खुसी भएनन् । उनको चेहरा बादल भरिएको आकाशजस्तै अँध्यारो देखियो ।

एक रात, जब खान बसेका बेला बाबुले भने–“मलाई गाउँ जानदेऊ छोरा ! म यो सहरमा अझ बस्न सक्दिनँ ।”

“किन, के कुरा छ बुवा ? यति छिट्टै किन गाउँ जानुहुन्छ ?”

“अँ, छोरा !”

“कुनै कुरा त होला ?“

“कुनै कुरा हैन ।”

“हैन, मेरो तर्फबाट कुनै स्वागतमा कमी भयो कि ?”

“यो कुरा पनि होइन, छोरा ।”

“त्यसो भए के कुनै दुःख छ ?“

“कुनै दुःख छैन ।”

“त्यसो भए किन यति चाँडो गाउँ जान चाहनुहुन्छ, तपाइँ ?”

कुरा यो छ छोरा ! यो दिल्लीमा हाम्रो कुनै औकात छैन । याँ त

“हामी कुनै घरका नोकर जति पनि लाग्दैनौं । गाउँमा त मलाई महलवाला भनेर चिन्दछन् ।”

अनुबादक : डा. पुष्करराज भट्ट
मुल लेखब : डा रामनिवास ‘मानव’