नवसाहित्य अनलाइन
मकवानपुर, १० चैत ।
साहित्य सङ्गम मकवानपुरले ७ जना स्रस्टाहरूलाई सम्मानित गरेको छ । कथा, कविता, मुक्तक, गजल आदि सिर्जनाका साथै कलाकारितामार्फत् साहित्यको विकासमा योगदानस्वरुप स्रस्टाहरू सम्मानित भएका हुन् ।
शनिबार ३ सय ४१ औं साहित्य सन्ध्या तथा सम्मान समर्पण कार्यक्रमका सभाध्यक्ष सङ्गमका अध्यक्ष डीबी बर्तौला तथा प्रमुख अतिथि साहित्यकार निर्मोही व्यास लगायतले सर्जकहरूलाई सम्मानित गर्नु भएको हो ।
‘मकवानपुर साहित्यश्री सम्मान २०८०’ ईन्द्रजीत शर्मा चौलागाईँलाई
तत्कालीन जिल्ला विकास समिति मकवानपुर र साहित्य सङ्गम मकवानपुरद्वारा स्थापित १५ हजार ५ सय ५५ रुपैयाँ राशिको ‘मकवानपुर साहित्यश्री सम्मान २०८०’ बाट साहित्य सर्जक तथा कलाकार ईन्द्रजित शर्मा चौलागाईं सम्मानित हुनु भएको छ । उहाँ कान्छी, मेरी बास्सैलगायत हास्य टेलिश्रृङ्खलाहरूमार्फत् अभिनयमा सक्रिय हुनुहुन्छ ।
‘भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८०’ कल्पना काफ्लेलाई
मकवानपुरका साहित्य सर्जक विशाल अधिकारी आशुतोषद्वारा १५ हजार ५ सय ५५ रुपैयाँ राशिको ‘भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८०’ बाट धनकुटाकी स्रष्टा कल्पना काफ्ले सम्मानित हुनु भएको छ । उहाँका “मान सरोवर” र “नेपाली गजलमा नारी हस्ताक्षर (संयुक्त)” साहित्यिक कृतिहरू प्रकाशन भएका छन् ।
‘विनोद-सुनिता सुवेदी साहित्य सम्मान २०८०’ श्रीराम पाण्डेलाई
प्याब्सन मकवानपुरका अध्यक्ष तथा बालजागृति इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुल हेटौँडा २ का प्रिन्सिपल विनोद सुवेदी र शिक्षक सुनिता सुवेदीले स्थापना गर्नु भएको १० हजार राशिको ‘विनोद-सुनिता सुवेदी साहित्य सम्मान २०८०’ बाट ललितपुरका स्रष्टा श्रीराम पाण्डे सम्मानित हुनु भएको छ । पाण्डेका “मातृस्मरण”, “दोछायाँ” र “बन्दीगृहमा समय” साहित्यिक कृतिहरू प्रकाशन भएका छन् ।
‘सुभद्रादेवी-मदन मुडवरी स्मृति सम्मान २०८०’ विश्वनाथ सञ्जेललाई
अमेरिका निवासी दीपक मुडवरीद्वारा स्थापित १० हजार रुपैयाँ राशिको ‘सुभद्रादेवी-मदन मुडवरी स्मृति सम्मान २०८०’ बाट मकवानपुरका साहित्य सर्जक विश्वनाथ सञ्जेल सम्मानित हुनु भएको छ । सञ्जेलका “पलपलको मूल्य”, “क्षितिजयात्रा” र “फर्कियौ किनारबाट” साहित्यिक कृतिहरू प्रकाशन भएका छन् ।
‘मङ्गलादेवी श्रेष्ठ नारी स्मृति सम्मान २०८०’ भावना सापकोटालाई
शिक्षासेवी देवप्रसाद श्रेष्ठले स्थापना गर्नु भएको १० हजार रुपैयाँ राशिको ‘मङ्गलादेवी श्रेष्ठ नारी स्मृति सम्मान २०८०’ बाट मकवानपुरकी साहित्य सर्जक भावना सापकोटा सम्मानित हुनु भएको छ । उहाँ आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष हुनुहुन्छ । उहाँका फुटकर रचनाहरू प्रकाशित छन् ।
‘मुक्ति-तारा सम्मान २०८०’ सानुभाइ विश्वकर्मालाई
साहित्यसेवी मुक्तिगोविन्द वैद्य र तारादेवी वैद्यले स्थापना गर्नु भएको १० हजार राशिको ‘मुक्ति-तारा सम्मान २०८०’ बाट मकवानपुरका साहित्यिक सर्जक सानुभाइ विश्वकर्मा सम्मानित हुनु भएको छ । उहाँ लोकभावना त्रैमासिकका सम्पादक विश्वकर्माका फुटकर रचनाहरू प्रकाशित छन् ।
‘रामहरि-देवु सम्मान २०८०’ किशन पौडेललाई
साहित्य सर्जक तथा अधिवक्ता ऋषि केबी र शिक्षक तथा साहित्य सर्जक पूण्यशिला श्रेष्ठले स्थापना गर्नु भएको १० हजार राशिको ‘रामहरि-देवु सम्मान २०८०’ बाट मकवानपुरका साहित्यकार किशन पौडेल सम्मानित हुनु भएको छ । उहाँ लघुकथा चौतारी मकवानपुरको संयोजक हुनुहुन्छ भने उहाँका अन्तर्दृष्टी र खुसी साहित्यिक कृतिहरू प्रकाशित छन् ।
कार्यक्रममा पुरस्कार संस्थापकहरूमध्येबाट देव श्रेष्ठले मन्तव्य राख्नुभयो भने सम्मानित सातै जनाले आ-आफ्नो रचना वाचनका साथै धन्यवाद ज्ञापन गर्नु भएको थियो । सङ्गमका कोषाध्यक्ष मेनु चौलागाईँले स्वागत गर्नु भएको कार्यक्रममा सम्मानित सर्जकहरूको व्यक्तित्वबारे सङ्गम उपाध्यक्ष सानु खनालले मन्तव्य राख्नु् भएको थियो । साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा आयोजित कार्यक्रमलाई सङ्गमका सचिव मनोज पोखरेलले सहजीकरण गर्नु भएको थियो ।
