मङ्सिर महिनामा,
भित्र्याएकी हुन्
जस्ताघरे बज्यैले जेठी बुहारी ।
बुहारी मात्रै होइनन्
भित्र्याएकी हुन् उनले
भान्छा चलाउने एक ‘अटोमेटिक मेसिन’
भित्र्याएकी हुन् उनले
घरभरीका लुगा धुने ‘वासिङ’ मेसिन
भित्र्याएकी हुन् उनले माइतीबाट
कोशेली ओसारीरहने ‘मालदार बुहारी’ ।
भित्र्याएकी हुन् एउटो ‘रोबोट’
– जो गर्मीभन्दा गर्मी समयमा
ढिँडो ओढाल्दै अगुल्टो ठोस्ने होस्
– जो ठिर्रोभन्दा ठिर्रो समयमा
पतिदेवलाई ओछ्याउनमैं चिया पुर्याउने होस् ।
खानाका लागि कुराउने नहोस्
बरू आधारातसम्म कुर्ने होस् ।
अब,
छिमेकीले गुनगान गाउनेदेखि
घरका कुरो सुनसान बनाउनेसम्म
अनि
ससुराका लुगादेखि सासुआमाका गोडासम्म
ध्यान पुग्नुपर्ने थियो बुहारीको ।
भनिन्थ्यो-
जो मुख लाउने नहोस् तर
झाडु-पोछा लाउने होस् ।
०००
त्यो समयबाट गुज्रिएर गाउँहरू
दिनानुदिन सहर हुँदै गएपछि
घरमा अवसरहरू भित्रिन थालेका छन्
जेठी बुहारीले सासुबाट खेप्ने बुहार्तन
बाँडिएका हुन् उही दिनदेखि
– अफिसमा जागिरेका रूपमा
– भान्छामा भान्छेका रूपमा
– गोठमा गोठालोका रूपमा
– खेतबारीमा मजदुरका रूपमा
– ड्राइक्लिनर्सका रूपमा
ध्यान पुग्नुपर्नेछ
– आइरनमा, क्रिजमा
– स्टोरमा, फ्रिजमा
अनेक अनेक कित्ता कित्तामा
०००
यस अर्थमा पनि सासुआमै
‘रिटायर्ट’ बुहारी बनिसकेपछि
जेठी बुहारी बढ्तै खुशी देखिन्थिन्
फुली थपिएको प्रहरीजस्तो
बढुवा भएको शिक्षकजस्तो
पदवी दिइएको मजदुरजस्तो
घरभित्रै बढुवा हुन्छिन् जेठी बुहारी
अर्थात्
‘सिनियर हाउसवाइफ’ ।
संप्रस पौडेल