चैत्र २१, मकवानपुर
नवसाहित्य अनलाइन ।
खेम बतासको नवीनतम कथासङ्ग्रह ‘बुढीपोल्ली’ बजारमा आएको केही साता मात्रै भएको छ । माया पब्लिकेसनद्वारा प्रकाशित उक्त सङ्ग्रहमा मान्छे हराएको सूचना, हाफ चश्मा, हटस्पट, नोकिया एक्स वन, रम्मी, सराबी कान्छो, आदतको दास, बदनाम गल्लीको कथा, कथालय नकटो, बुढीपोल्ली, छोइडुम र ओल्के लगायत १२ वटा कथाहरू रहेका छन् ।

“बुढीपोल्ली” के हो ?
भाद्र १ गते वनबाट लिङ्गो ल्याएर तोकिएको ठाउँमा गाड्ने चलन रहेको छ । साथै प्रत्येक दिन निगाला, बाँझ, झिक्रा जम्मा गरी बुढी गाड्ने चलन हुन्छ भने असोज १ गते सोही ठाउँमा बालबच्चाहरू जम्मा हुने र त्यसलाई आगो लगाएर बुढी पोल्ने चलन रहेको छ । कर्णाली प्रदेशमा परम्परादेखि प्रचलनमा रहेको बुढी पोल्ने पर्वमा घाँसका ५ मुठा बनाउने, गोठमा घुमाउने गरी ‘बुढी’ धपाउने र ‘बुढी’ पोल्ने दिन लिङ्गोसँगै राखेर पोल्ने गरेमा गाईगोरूलाई खोरेतजस्ता रोगव्याध लाग्दैन, बाघले खाँदैन र पानीले बगाउँदैन भन्ने विश्वास रहेको छ । साथै आ-आफ्नो बारीमा फलेका काँक्रो बाँडिचुँडी खाने, गीत गाउँदै देउडा गाउने यो पर्व द्वापर युगदेखि चलेको जनविश्वास रहेको छ । भगवान कृष्णलाई विषयुक्त दुध चुसाउने पुतना राक्षसनीको दहन गरेस्वरूप यो पर्व कुमाउँ गढवाल, कर्णाली र भारतका अन्य स्थानहरूमा मनाउने गरिएको छ ।

बतासको “बुढीपोल्ली” कथासङ्ग्रहमा के छ ?
२०५ पृष्ठ सङ्ख्या रहेको उक्त कथासंग्रहमा १२ वटा कथाहरू रहेका छन् । हाल १ हजार १ सय प्रति प्रकाशित पुस्तक नेपालभर उपलब्ध रहेको र मूल्य ४५० उल्लेख भएको लेखकले जानकारी दिनु भएको छ । कथाकार बतासका कथाहरूमा मूलतः सुदूरपश्चिमको डोटेली भाषा र संस्कृतिका विविध पक्षहरूलाई केन्द्रविन्दुमा राखिएको छ ।

कैलालीलाई कर्मथलो बनाएर लेखनमा सक्रिय खेम बतास विशेषतः कविका रूपमा परिचित हुनुहुन्छ । उहाँका कोदो, मनरख्नी, कालो रङ्ग, किर्नाहरू र पूर्ण रोक्काको पत्र बहुचर्चित कविताहरू हुन् । त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नात्तकोत्तर गर्नु भएको छ भने उहाँ प्राध्यापन पेशामा संलग्न हुनुहुन्छ ।

यसअघि २० जना कथाकारहरूद्वारा लिखित संयुक्त कथासङ्ग्रह “छकालै” मा उहाँका कथा पनि समावेश भएको थियो । कविता, गजल तथा कथा लेखनमा सक्रिय उहाँ कैलाली जिल्ला निवासी हुनुहुन्छ ।


०००
पुस्तकका सम्बन्धमा लेखक भन्नुहुन्छ-
वर्षौँदेखि राज्यको आँखामा नपरेको भूगोल, सदियौँदेखि मान्छे भएर बाँच्न नपाएका तर आत्मसम्मानको लडाइँमा होमिएका मान्छेहरूको दैनिकी हो – बुढीपोल्ली ।
बुढीपोल्ली – जातीय विभेद, लैङ्गिक असमानता र कुरीतिको चपेटामा परेका मान्छेको नियति हो ।
कर्नाली तर्न नसक्ने तर महाकाली तर्न सक्नेहरको जीवन गाथा हो – बुढीपोल्ली ।
सङ्ग्रहमा डोटेली मौलिक संस्कृतिलाई विसंरसचना गर्ने प्रयास गरिएको छ ।”

०००
यस्तै कथा सङ्ग्रहका विषयमा साहित्य सर्जक गड्सेरी माइला लेख्नुहुन्छः
कथा संग्रह “बुढीपोल्ली” पढ्दै जाँदा छोड्नै नमिल्ने रछ, कथैपिच्छे फरकफरक स्वाद । हाम्रो ग्रामीण जीवनको सचित्र वर्णन ।
साइकल मर्मतका दुकानहरू, चियापसलेहरू, चियापसलमा दैनिक चल्ने जुवा तासहरू, जुवा ताससँगै चल्ने भद्र अभद्र ठट्टा र यी ठट्टासँगै सकिने केही पुरूषको दैनिकीलाई बडो मार्मिक ढङ्गले उल्लेख गरेका छन् ।

छिमेकीलाई, साथीलाई जिस्किएर अर्कै नाम दिने, त्यहि नामले बोलाउने चलन सबै ठाउँका गाउँ घरमा उस्तै हो, रम्मी कथाको पात्र डेढ पयरलाई यसरी जिस्काइँदै छ ।
“के होला डेढ पयर ?”
“बेला भएन ब ?”
“सबै कि घरबारी भैगै तेरो कलि नानै”
“कि उठ्ठैन, (दायाँ हातको चोर औँला तलमाथि हल्लाए)”
“नहुने भे हिट अस्पताल”

यसरी जिस्काएपछि डेढ पयरले जसरी पनि बिहे गरि छाड्ने अठोट गरो, बिहे गरो पनि, केटीलाई बिहेका लागि तयार गर्न उसले केही रोचक प्रतिबध्दता गरेको थियोः
कबुल नं. १ तारामन्डलीको घर छ भनेको रहेछ (यो भनेको उसको घरको छानामा प्वालै प्वाल परेकाले ताराहरू देखिँदो रहेछ ।)


कबुल नं. २ लाप्लुपको लाउनु दिउँला भनेको रहेछ (यो भनेको लुगामा टालाटुली हालेर लाउनु रहेछ ।)


कबुल नं. ३ गजाइबजाइको पानी ल्याउनु पर्छ (यो भनेको पानीको सङ्कट हुने भएकोले पानी ल्याउन हल्लाखल्ला, हारालुछ, तानातान गर्नु रहेछ ।)


कबुल नं. ४ बञ्चराले काट्टा धान (यो भनेको जग्गा थोरै भएकोले धान पनि थोरै हुन्छ, थोरै धान काट्न हँसिया नचाहिने बञ्चरैले काटे पनि हुन्छ भन्ने व्यङ्ग्यात्मक सन्देश रहेछ)
नोकिया एक्स वानको कथा पनि उत्तिकै रोचक छ । मोबाइलको लत, फेसबुकको आदत, फेसबुक च्याटिङ अहिलेको समयको यथार्थता हो ।

पराग ब्रोले वर्षौँदेखि साथी बनाएकी, च्याटमा बात मारेकी कविताको आफ्नै छिमेकमा बिहे भो । ‘हेलो पराग ब्रो’ भनेर दुलहीले नै बोलाएपछि झसङ्ग भो, छाँगाबाट खसेझैँ भो ।

०००
‘कर्नाली तर्न नसकेका तर महाकाली तर्नेको कथा मेरा कथा हुन् ।’ भन्ने उनै खेम ओझा ‘बतास’ लाई नवसाहित्य परिवार हार्दिक बधाई तथा शुभकामना प्रकट गर्दछौँ ।