२४ चैत्र मकवानपुर ।
नवसाहित्य अनलाइन । पेन्टागन एकेडेमी हेटौँडाले १२७ शिक्षकहरूलाई सम्मान गरेको छ ।
तयारी कक्षा सञ्चालन गरी शिक्षक सेवा आयोग परीक्षामा सफलता प्राप्त गर्ने प्रशिक्षार्थीहरूलाई एक कार्यक्रमबिच सम्मान गरिएको हो । ।
१२७ सफल प्रशिक्षार्थीमध्ये उपस्थित ५९ जनालाई प्रमाणपत्रसहित सम्मानित गरिएको कार्यक्रममा तयारी कक्षाका लागि प्रशिक्षण गराउनुहुने ९ प्रशिक्षकहरूलाई समेत संस्थाले सम्मान गरेको छ ।
यस शैक्षिक केन्द्रमा अध्ययन गरी वि.सं. २०८० मा ५१ जना प्रशिक्षार्थीहरू शिक्षक सेवा आयोगमा सफल हुन सफल भएका हुन् भने २०७९ मा ७५ जना सफल भएका थिए । यो सालका तयारी कक्षाहरू सञ्चालन भइरहेकाले आउँदा दिनमा नियमित रूपमा सम्मान कार्यक्रम, भेटघाट, अनुभव आदानप्रदान कार्यक्रमहरू राखिने आयोजकले जानकारी दिएको छ । २०७१ सालमा स्थापित यस शैक्षिक संस्थाले २०७३ सालदेखि शिक्षक सेवा आयोग तयारी कक्षा निरन्तर सञ्चालन गर्दै आइरहेको छ । २०७४ मा सर्वाधिक अर्थात् ६० जना प्रशिक्षार्थीहरू उत्तीर्ण हुन सफल रहेकोले शिक्षक परीक्षाको तयारीलाई निरन्तरताका साथै लोक सेवा, सिटिइभिटी स्टाफ नर्स, कम्प्युटर कक्षालगायत विविध तयारी कक्षााहरू सञ्चालन गर्दै आइरहेको छ ।
कार्यक्रममा प्रशिक्षकहरू चिरञ्जीवि घिमिरे, सुवास खनाल, दिनेश माझी र संप्रस पौडेलले शुभकामना मन्तव्य राख्नु भयो । उहाँहरूले शिक्षक सेवा आयोगका तयारीका लागि मकवानपुर जिल्लामैँ सर्वाधिक सङ्ख्यामा जनशक्ति उत्पादनमा पेन्टागन एकेडेमीको प्रशंसा गर्नुभयो ।
पत्रकार सुरेश श्रेष्ठले मन्तव्यका क्रममा समाज परिवर्तनमा शिक्षकको भूमिका निकै महत्वपूर्ण हुने हुँदा नवप्रवेशी शिक्षकहरूलाई जागिर खाने सोच मात्र नराखी राष्ट्रका लागि सेवाभावले प्रेरित भएर शिक्षण गर्नका लागि अनुरोध गर्नुभयो । उहाँले शिक्षक निकै आदर्श पात्र रहेकोले उसको भूमिकालाई सबैले अध्ययन गरिरहेकोले विद्यार्थीहरूको शैक्षिक अवस्था परिवर्तनमा जोड गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमका संयोजक तथा प्रशिक्षक टिकाप्रसाद दाहालले स्वागत गर्नु भएको कार्यक्रममा शिक्षा समन्वय इकाइ मकवानपुरका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि दिनानाथ गौतमले मकवानपुरमा ६४ जनाको विज्ञापन मध्ये ३८ मात्र सिफारिस हुनुले अवसरको कमी भयो भन्ने गुनासो गर्नुभन्दा तयारीका लागि आजैदेखि लाग्न प्रेरित गर्नुभयो । यस्तै खोजेको र रोजेको जनशक्ति उत्पादनमा पेन्टागन एकेडेमीको भूमिकाप्रति धन्यवाद दिँदै आगामी दिनमा समेत यस कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो । कक्षामा ड्रपआउट विद्यार्थीलाई शिक्षकले नियमितता गराउनुपर्ने, शिक्षक थिङ्क ट्याङ्क र नवीन ट्याङ्क समेत भएकोले विद्यार्थीलाई सिकाउने र बिकाउने काम र यसका सम्बन्धमा आइपरेका चुनौतिलाई सामना गर्ने व्यक्ति भएकाले पाठ्यक्रमले निर्धारण गरेको सिकाइको लक्ष्य हासिल गर्नमा जोड गर्नुभयो । उहाँले आफूले सरकारी सेवा प्रवेश गर्दाका अनुभवहरू बाँड्दै निरन्तर अभ्यास गर्नका लागि प्रेरित गर्नुभयो ।
नवप्रवेशी शिक्षक जुनु दोङले तयारी गर्ने प्रशिक्षार्थीहरूलाई नहडबडाइकन तयारी गर्न, आफूमा विश्वास राख्दै नियमित अभ्यास गर्न र प्रशिक्षकहरूसँग नियमित सहकार्यमा रही तयारी गर्न सकेमा सफलता हात पार्न सकिने अनुभव व्यक्त गर्नुभयो ।
पेन्टागन एकेडेमीका सञ्चालक गोविन्द चौलागाईँको अध्यक्षतामा सञ्चालित कार्यक्रममा उहाँले नेपालमैँ प्रयोग हुने जनशक्ति उत्पादनमा आफ्नो शैक्षिक संस्थामार्फत् पहल गरिरहेको र नेपालमा वार्षिक रूपमा विभिन्न आयोग, सरकारी संस्थान, बैङ्कहरूमा हुने ३५ भन्दा बढी प्रकारका विज्ञापन मागबारे नै कतिपय युवाहरू अनभिज्ञ रहेको अनुभव आफूसँग रहेको बताउनुभयो । त्यस्तै उहाँले यस्ता विज्ञापनबारे जानकारी राख्न, तयारी कक्षामा सहभागी हुन र परीक्षाबारे जिज्ञासाका लागि शैक्षिक योग्यता भएर पनि घरमैँ रहेका, के गर्ने भन्नेबारे अनभिज्ञ युवाहरूलाई एक पटक आफ्नो शैक्षिक संस्थामा समन्वय गराइदिन आग्रह गर्दै वैदेशिक रोजगारी मात्रै विकल्प नरहेको बताउनुभयो ।
प्रशिक्षकहरू सरोज लामिछाने, चिरञ्जीवि घिमिरे, कृष्ण पौडेल, शिव खतिवडा, भरत पोखरेल, एकेडेमीका संरक्षक कृष्णप्रसाद चौलागाईँ, सल्लाहकार पुन्य गौतम लगायत उपस्थित सम्मान कार्यक्रमलाई मञ्जु पराजुलीले सहजीकरण गर्नु भएको हो ।
