२४ चैत्र, मकवानपुर ।
नवसाहित्य अनलाइन । नीलकण्ठ नगरपालिकाले प्रदेशस्तरीय खुल्ला कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।
धादिङ जिल्लामा अवस्थित सो पालिकाले बागमती प्रदेशस्तरीय प्रतियोगिताका लागि गद्य वा छन्दको कुनै पनि कविता पठाउनका लागि सूचना आह्वान गरेको हो ।

१८० शब्दसीमा रहेको कविता नेपाली भाषामा लेखिनुपर्ने, प्रीति फन्टमा टाइप हुनुका साथै राष्ट्र, राष्ट्रियता, प्राकृतिक विविधता तथा सामाजिक सद्भावप्रति समर्पित हुनुपर्ने जानकारी दिएको छ । यस्तै कविता जातीय, लैङ्गीक, वर्गीय, साम्प्रदायिक विद्वेष र राजनीतिक आक्षेप लगाउने खालको हुन नहुने समेत सूचनामा प्रकाशन गरिएको छ ।
कविता मौलिक हुनुका साथै अन्यत्र अप्रकाशित हुनुका साथै नतिजा प्रकाशनको अवधिअघिसमेत अन्यत्र प्रकाशन गर्न नपाइने जनाएको छ ।

प्राप्त कविताहरूबाट उत्कृष्ट ५ कविता छनौट गरी छानिएका कवितालाई वाचनका अङ्क समेत समावेश गरी विजयी कविहरूको सूची प्रकाशित गरी पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।
प्रथम पुरस्कार २० हजार, द्वितीय १५ हजार, तृतीय १० हजार र सान्त्वना ५ हजार (जनही) का साथै प्रमाणपत्र प्रदान गरिने जानकारीका साथै सर्जकको फोटोसहित कविता २०८१ बैशाख २२ गतेभित्र बुझाइसक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।