१५ बैशाख, मकवानपुर
नवसाहित्य अनलाइन । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले कविता सङ्ग्रह ‘अश्र’ सार्वजनिक गर्नु भएको छ । शुक्रबार जन्मदिनको अवसरमा सार्वजनिक कवितासङ्ग्रहभित्र १ सय ९५ कविताहरू रहेका छन् ।
सङ्ग्रहको पहिलो खण्डमा प्रेम, दोस्रोमा प्रेम–वियोग, तेस्रोमा राजनीति र चौथोमा दर्शनसम्बन्धी छोटा–छोटा कविता समावेश भएका छन् ।
सामाजिक सञ्जालमा शुक्रबार पुस्तकको तस्बिर सार्वजनिक गर्दै मेयरले जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवादसमेत दिनु भएको छ ।
पुस्तकमा हरेक पृष्ठमा कवितासँग मिल्दा स्केच समेत समावेश गरिएका छन् । यस पुस्तकलाई बुकहिल पब्लिकेसन प्रालिले प्रकाशन गरेको हो । पुस्तकका सम्बन्धमा बुकहिल प्रकाशनका भुपेन्द्र खड्काले मेयर बालेन शाहको कवि अवतार ‘अश्र’ बाट पदार्पण भएको उल्लेख गर्नु भएको छ । ६ सय ६६ रुपैयाँ मूल्यको यस पुस्तक शनिबारदेखि बजारमा उपलब्ध हुने बालेनले सामाजिक सञ्जालबाट जानकारी दिनु भएको छ ।
