जेठ १४, सोमबार
नवसाहित्य अनलाइन । ‘द पोएट आइडल’ सिजन २ को ग्य्राण्ड फिनालेमा सिक्किमका कवि शिमियोन सुकिता राई विजयी हुनु भएको छ । तीन प्रतिस्पर्धीलाई पछि पार्दै शिमियोन विजेता बनेका छन् । विजेता घोषणा भएसँगै कवि राईले १० लाख रुपैयाँ र अन्य सुविधाहरु पनि प्राप्त गरेका छन् ।

‘द पोएट आइडल’ सिजन २ को शनिबार आयोजित ग्य्राण्ड फिनालेमा धादिङकी कवयित्री डा. मुस्कान पोखरेल, धनगढीका कवि मोहित जोशी, इलामका कवि विजय लुइँटेलले पनि ट्रफी र अन्य उपहारहरु प्राप्त गर्नु भएको छ ।

राईले नगद पुरस्कारका साथै एभरेस्ट फिल्म कलेजबाट १ वर्षको स्नातक अध्ययनको छात्रवृत्ति, कथालयसँग पुस्तकको सम्झौता, उत्पला क्याफेको तर्फबाट १ लाखको गिफ्ट भौचर प्राप्त गर्नुभयो ।

माघ २९ गतेदेखि हिमालय टिभीमा प्रसारण हुँदै आएको रियालिटी शो ‘द पोएट आइडल-२’ अमन प्रताप अधिकारीको निर्देशन र दिव्यदेव पन्त प्रस्तुतिमा सञ्चालन भइरहेको छ । कार्यक्रमका निर्णायकहरुमा विप्लव प्रतिक, अनुप बराल, उपेन्द्र सुब्बा र केकी अधिकारी हुनुहुन्थ्यो ।

‘द पोएट आइडल-१’ को विजेता सिक्किमकै कवि निलम गुरुङ बनेकी थिइन् ।

जेठ ३१ गते शुक्रबारदेखि तेस्रो सिजनको प्रसारण सुरु हुने भएको छ । फिनालेका क्रममा ‘भ्वाइस किड्सको सिजन ३’ को प्रोमो देखाइएको थियो भने तीन सिजनसम्म हिमालय टिभीमैँ प्रशारण हुने निर्देशक अधिकारीले जानकारी दिनु भएको छ ।