जेठ १५, मङ्गलबार
नवसाहित्य अनलाइन । मुक्तक मञ्च मकवानपुरले गीतकार/मुक्तककार सुवासचन्द्र ढुङ्गेललाई प्रस्तुत गरेको छ । हेटौँडामा एक कार्यक्रमबिच उहाँलाई एकल वाचन गराएको छ ।
२०७८ पौष १७ गते स्थापित मुक्तक मञ्च मकवानपुर शाखाले स्थापना कालदेखि नै जिल्लाभित्र र बाहिरका मुक्तककारहरूमार्फत् प्रस्तुति गराउने, मुक्तक लेखन कार्यशाला, प्रतियोगिता, पुरस्कार तथा स्रष्टा सम्मानका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । सोही क्रममा मङ्गलबार मुक्तककार ढुङ्गेलका मुक्तकहरू वाचन गराइएको हो ।
मुक्तक मञ्चका सहसचिव अजर फुयाँलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा ढुङ्गेलले दुइ सत्रमा विभाजन गरी राजनीति, युवा, आँशु, प्रेम, रोमान्ससम्बन्धी कूल ३० वटा मुक्तक वाचन गर्नुभयो । कवि मुरारी सिग्देलले स्रष्टा परिचय गराउनु भएको कार्यक्रममा मञ्चका सदस्यद्वय मुक्तककार मिथिला अधिकारी र कमल नेपालले ढुङ्गेलका ३/३ मुक्तकहरू वाचन गर्नुभयो । गीतकारको पहिचान बनाउनुभएका ढुङ्गेलले नै अरूण थापाले गाउनुभएको ‘चोट के हो व्यथा के हो ?’ गीत लेख्नुभएको हो भने उहाँका ‘जति चोट दिन्छौ देऊ मायालु’, ‘फूल झरे पनि काँडा झर्दैन’, ‘चिता बनाई जलाई नदेऊ’ लगायत ३ सय बढी गीतहरू रेकर्ड भएका छन् ।
मुक्तककार ढुङ्गेलले वाचन गर्नुभएका केही मुक्तकहरू यहाँ प्रस्तुत गरिएको छ ।
०००
कोही कोही मान्छे यहाँ भगवानभन्दा कृपालु पाएँ
केही कोही मान्छे गोमन साँपजस्तै विषालु पाएँ
यो अनुभव भन्ने चिज पनि अचम्मको हुँदो रहेछ
छोरीभन्दा आमाहरू नै आँखा जुधाउन सिपालु पाएँ ।
०००
पानीमा मैले तिम्रो नाम लेख्दा लेख्दै मेटियौ फेरि
चन्द्रमा हेर्दै थिएँ बादल भित्र लौ छेकियौ फेरि
माया गर्दिन भन्यौ मलाई सबको सामु झर्किएर
मेरो नामको ट्याटु तिम्रो पाखुरीमा देखियो फेरि ।
०००
कुवाको होस् वा झरनाको पानीको काम प्यास मेट्ने त हो
सडक होस् वा मेरो छाति तिम्रो पैतालाको काम टेक्ने त हो
तरबारसँग भागेर फूलको नजिक पुगेँ म, बल्ल सम्झेँ
फूलको होस् या तरबारको धारको काम रेट्ने त हो ।
०००
तिमीसँग झरीमा चङ्गा उडाउने हिम्मत हुनुपर्छ
पानीमा पनि आगो सल्काउने हिम्मत हुनुपर्छ
भिडको पछि त सबै लाग्छन् महाशय
तिमीसँग भिडलाई पछि लगाउने हिम्मत हुनुपर्छ ।
०००
एकै दिनमा जानुपर्छ जन्त र मलाम कहिलेकाहीँ
फूल बन्छ यहाँ मन र बन्छ फलाम कहिलेकाहीँ
अनुहारमा पटक पटक थुक्न मन लाग्ने मान्छेलाई पनि
यो जिन्दगीको उद्घोष गर्नुपर्छ सलाम कहिलेकाहीँ ।
०००
(मुक्तकका क्रममा सचिव सुबास सजलले गीत र मुक्तकमध्ये मुक्तकचाहीँ किन कडा भएको भनी सोध्नु भएको प्रश्नमा उहाँले मुक्तकबाट जवाफ दिनु भएको थियो ।)
हेर्दै नहेरी नपिऊ यहाँ विष भरिएको सुनको घडा हुन्छ
ठुलाले हत्या बलात्कार गरे यहाँ नक्कली दोषी खडा हुन्छ
गीत जस्तै कोमल भावको मुक्तक लेख् सुवास भन्छन्
ढुङ्गाको हृदय फोड्नुपर्छ र त मेरो मुक्तक कडा हुन्छ ।
०००
१५ वर्षदेखि अरूण थापाको स्मृतिमा काठमाडौँमा आफैँले कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो । थापाले गाएका ३६/३७ गीतमध्ये अधिकांश चर्चित रहेको र थापालाई केवल ‘ड्रगिस्ट’ का रूपमा चिनाइएकोले उनको योगदान पछि पारिएको र स्रष्टालाई उसको सिर्जनाले नै चिनिनुपर्ने बताउनुभयो । उहाँले वारेन बफेट, मार्गरेट थ्याचर, शिव खेरा, राहत इन्दोरीलगायतका व्यक्तित्वहरूको प्रेरणादायी विचारहरूमार्फत् आज वाचन भएका मुक्तकहरू सिर्जना गरेको बताउनुभयो ।
कार्यक्रममा गायकहरू अञ्जन दाहाल र कृष्णगोपाल सिंहले ढुङ्गेलद्वारा लिखित गीतहरू गाउनु भएको थियो । यस्तै सल्लाहकार तथा निवर्तमान अध्यक्ष डीबी बर्तौलाले स्थापना कालदेखि श्रीवृद्धीमा साहित्य सर्जक, साहित्य सेवीहरूको सहयोगले मुक्तक मञ्च परिपक्व हुँदै गएको बताउनुभयो । साधारण तथा आजीवन सदस्यताका लागि अनुरोध गर्दै एकल वाचन, संयुक्त वाचन, प्रशिक्षणमा नवपुस्तालाई समेत जोड्दै आएको र मुक्तकले समेत गीत गजलको झैँ बजार प्राप्त गर्ने शुभेच्छा व्यक्त गर्नुभयो । मुक्तकको श्रीवृद्धीमा लागिरहनुभएका स्रष्टा सुवासचन्द्र ढुङ्गेल नवपुस्तालाई प्रशिक्षणसम्मका कार्यक्रम मुक्तकको बजार स्थापना होस् भन्ने अपेक्षा राख्नुभयो ।
कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्य रहेको थियो । उहाँले मुक्तकको इतिहास खोज्दा ऋग्वेदका शुक्तिहरूमा मुक्तकीय संरचना पाइने तथा नेपालका ‘आदि मुक्तककार’ शक्तिबल्लभ अर्ज्याल (१८२० दशक) को ‘तनहुँ भकुण्डो’ बारे विषय उठान गर्नुभयो । आधुनिक मुक्तक प्रणेताका रूपमा भीमदर्शन रोक्कालाई लिइने बताउँदै उहाँले मुक्तक एक स्थापित विधाका रूपमा रहेको जानकारी दिनुभयो ।
मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिनाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा उहाँले मुक्तकमा गायनलाई जोड गर्दै आइरहनु भएको छ भने उहाँले मुक्तक लेखन, वाचन, प्रशिक्षण र सम्मानलगायतका कार्यक्रममा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा मुक्तककार ढुङ्गेल र प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरियो । रेड पाण्डा क्याफेमा सञ्चालित कार्यक्रमलाई मुक्तक मञ्च मकवानपुरका सचिव सुबास सजलले सहजीकरण गर्नु भएको हो ।
