जेठ १६, बुधबार
नवसाहित्य अनलाइन । भरतपुर महानगरपालिकाद्वारा आयोजित राष्ट्रिय पर्या कविता प्रतियोगिता २०८१ को नतिजा सार्वजनिक गरिएको छ ।

निजी क्षेत्रसँग सहकार्यमा “घुमौँ भरतपुर” भन्ने मूल नाराका साथ पर्यटन क्षेत्रलाई प्रवर्धन गर्ने उद्देश्यले गरिएको वृहत अभियान “भरतपुर भ्रमण वर्ष २०२४” को सन्दर्भमा आयोजित पर्या कविता प्रतियोगिता २०८१ मा १० उत्कृष्ट कविताहरू सार्वजनिक भएका हुन् ।

छनोट भएका कवि तथा कविताहरू यसप्रकार रहेका छन्:
१. खगेन्द्र अटल (खगेन्द्रप्रसाद आचार्य): मान्छे र पृथ्वी
२. परिवेश चापागाईँ/परिवेश मुन्छे: भेन्टिलेटरको सहर
३. बुद्धीबल श्रेष्ठः परलोकको बाटो
४. भरत थापाः इन्द्रेणी सपना
५. मणिसुन्दर कोइराला (सुन्दर सिरिप): धरतीको बकपत्र
६. रेणुका जी सी: उभिएर आफ्नै चिहानमाथि
७. समर्पण न्यौपाने: अनन्त मुस्कान
८. सिजन श्रेष्ठ: पर्वतको यात्रामा
९. सुलभ अधिकारी: धरती रहेसम्म
१०. सुवास सिन्तान (सुवास सजल): चौतारोः एक आत्मालाप

१० कविहरूमध्ये दैलेख, चितवन, नेपालगञ्ज, धनकुटा, सिन्धुपाल्चोक, रौतहट, सङ्खुवासभा र नवलपरासीका १/१ तथा मकवानपुरका २ जना रहनु भएको छ ।

आगामी जेठ १९ गते शनिबार भरतपुर २२ स्थित अम्ब्रेला स्ट्रिट पटिहानीमा कविता वाचनका लागि सहभागिता रहने कार्यक्रम संयोजक तथा कवि भूपिनले जानकारी दिनु भएको छ ।

बैशाख २१ गते जारी सूचनाअनुसार कविता प्रेषणका लागि जेठ ११ सम्मको सिमा तोकिएको प्रतियोगिताका लागि कूल २४५ कवितामध्ये उत्कृष्ट १० कविता छनोटमा परेका हुन् । हरिया कविता लेख्नुपर्छ भन्दै पृथ्वीको सुन्दरताको बयान मात्र नभइ यसको रक्षाका विषयमा कला र साहित्यले जोड दिनुपर्ने बताउने यस कार्यक्रमका संयोजक कवि भूपिन प्रकृतिसम्बद्ध साहित्य सिर्जना र सोसम्बन्धी विभिन्न अभियानमा लामो समयदेखि संलग्न हुनुहुन्छ ।

प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार, द्वितीय २० हजार, तृतीय १० हजार र सान्त्वना २ जनाले जनही ५ हजारका साथै प्रमाणपत्र प्राप्त गर्नेछन् भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले जानकारी दिनु भएको छ ।