जेठ १७, बिहिबार
साहित्यकार उषा शेरचनको नवीन पुस्तक ‘बेग्लै म’ पाठकमाझ आइपुगेको छ । जेठ १४ गते दोस्रो कथा सङ्ग्रह “बेग्लै म” फेसबुक लाइभबाट सार्वजनिक गरिएको हो ।

कथासङ्ग्रह तेस्रो रङ्ग १० वर्षअघि सोही दिन सार्वजनिक अवसरमा सो पुस्तक ल्याइएको र समाजमा रहेका उठाउनै पर्ने मुद्दामा केन्द्रित भएर कथाहरू लेखिएको साहित्यप्रेमी, शुभचिन्तक, साहित्यकार तथा पाठकहरूमा जानकारी गराउनु भएको छ । कथा लेखनमा अन्य विषयभन्दा धेरै अध्ययन र अनुसन्धान गर्नुपर्ने उहाँ बताउनु हुन्छ ।

पारिजात राष्ट्रिय प्रतिभा पुरस्कार, राष्ट्रिय मुक्तक पुरस्कार २०८० लगायत विभिन्न सम्मान र पुरस्कारबाट सम्मानित शेरचन पोखरामा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तसँग २०३५ सालमा टिकटमा मुक्तक अभियानका एक महत्वपूर्ण सदस्य समेत हुनुहुन्छ ।

उहाँका कथाहरूमा शेरचन नारीमाथिको उत्पीडन, प्रपञ्च र अत्याचारमा विद्रोह गर्नुपर्ने तथा प्रतिरोध गर्नुपर्ने सन्देशहरू पाइन्छन् । उहाँका ‘नजन्मेका आस्थाहरु’ (कविता सङ्ग्रह, २०४८), ‘अक्षरहरुका शिविरबाट’ (मुक्तक सङ्ग्रह, २०५६), ‘सर्वकालीन पीडा र जागृतिका शङ्खघोष’ (कविता सङग्रह, २०६३), ‘तेस्रो रङ्ग’ (कथा सङ्ग्रह, २०७०), ‘आधि’ (उपन्यास, २०८०) प्रकाशित छन् । शेरचन ‘खोलीको दुइ किनार भो’ लोकप्रिय गीतकी रचनाकार समेत हुनुहुन्छ भने उहाँका केही गीति एल्बमहरू सार्वजनिक भइसकेका छन् ।