गोदावरी नगरपालिका वडा ११, ललितपुर निवासी गोपाल सन्जेल समाजशास्त्रमा स्नातकोत्तरपछि समाजसेवा तथा लेखनमा सक्रीय हुनुहुन्छ । उहाँका उज्यालो बाटोतिर (कविता सङ्ग्रह)– २०४८, अनुभूतिका रेखाहरु (निबन्ध सङ्ग्रह)–२०५७,परिवर्तनको पक्षमा (निबन्ध सङ्ग्रह)– २०६३, प्रसङ्गवश (निबन्ध सङ्ग्रह)– २०६५,मै हराएँ आज (गजल सङ्ग्रह)–२०६७, बिस्मात (उपन्यास)– २०६९, पत्थर पगाल्दै (निबन्ध सङ्ग्रह)– २०७०, अयोग्य (लघु उपन्यास– संयुक्त लेखन) २०७१, निःशब्दका शब्द (कविता सङ्ग्रह)–२०७३, मभित्र म खोजेर (हाइकु सङ्ग्रह)–२०७३, समय–रेखामा आमोई (उपन्यास )–२०७८प्रकाशित रहेको छ । उहाँ अखबारी लेखन, स्तभ लेखन, फुटकर आलेख, कविता, गीत, गजल आदि विधामा सक्रीय रहदैँ आउनुभएको छ ।
इमानको खलासी :
‘अङ्कल ! पर्सीदेखि कलेजले हामीलाई फिल्ड लाँदैछ । फिल्ड जान एउटा स्लिपिङ व्याग र खर्च पनि चाहिन्छ । स्लिपिङ व्याग र चार हजार रुपैयाँ आजै पठाइदिनु पर्ने भो । आजभोलि फोनले राम्रो काम गरेको छैन । बल्ल आज सम्पर्क हुनसक्यो । भोलि त नेपाल बन्द छ रे । पर्सीदेखि हामी एक महिनाका लागि फिल्डमै बस्नेगरी जानुपर्छ,’ जिरी प्राविधिक शिक्षालय पढ्ने भवानीसँग भएको फोन वार्ता थियो यो ।
जिरी जाने बसमा सामान र पैसासमेत पठाउन बिहानै पुरानो बसपार्क पुगेँ । जिरीका लागि बसमा यात्रुहरु चढ्दै थिए । यहाँ जिरी प्राविधिक शिक्षालय र बसपार्कसँगै छ ।
‘गुरु, मेरो एउटा सामान र अलिकति पैसा जिरी प्राविधिक शिक्षालयमा पु¥याइदिन सहयोग माग्न आएको,’ मैले बस चालकलाई आग्रह गरेँ ।
‘खलासीलाई भन्नुस् न, उसले लगिदिन्छ,’ बस चालकले भने ।
‘भाइ, मेरो एउटा स्लिपिङ व्याग र चार हजार रुपैयाँ लगिदेऊ । जिरी प्राविधिक शिक्षालयमा पढ्ने छोरी बसपार्कसम्म लिन आउछिन्,’ खलासीलाई मेरो आग्रह थियो । खलासीले सक्तिन भन्यो । मैले निकै आग्रह गरेँ । उसले मान्दै मानेन । उसको घर सोधेँ । दोलखातिरै बतायो । फेरि बस चालकलाई नै आग्रह गरेँ ।
‘खलासीले माने हुन्छ । मैले त के गर्न सक्छु र ?’ बस चालकले झन् निराश पारे । खलासी भाइलाई नै फेरि भने, ‘एक सय खर्च दिन्छु, यति सामान लगिदेऊ । आजै पु¥याउनु पर्ने अभर परेर त आग्रह गरेको नि भाइ !’
ऊ पैसासैसा चाहिन्न भन्छ ।
‘दुई सय, तीन सय, चार सय, पाँच सय दिँदा पनि उसले मानेन । म बिलखबन्दमा परेँ । आफैँ जाने अवस्था थिएन । भोलि पल्ट नेपाल बन्द थियो । पर्सी पल्ट बिहानै स्लिपिङ व्याग र पैसा चाहिन्थ्यो ।
बस छुट्न चालकले हर्न बजाए । खलासीचाहिँ च्याँठ्ठिएर दोलखा, चरिकोटा, जिरीजिरी, जानै लाग्यो, जानै लाग्यो भनिरहेछ । चालकले बस घ्यारघ्यार घ्यारघ्यार पारेर अगाडि बढाए ।
‘ल, भाइ यो स्लिपिङ व्याग ….र चार हजार पैसा तिमीलाई दिएँ । पु¥याइदिए धर्म हुन्छ,’ भन्दै मैले पैसा उसको गोजीमा हालिदिएँ र स्लिपिङ व्याग बसको ढोकैनिर राखिदिएर सरासर हिँडँे । खलासीले केही भनेको सुनिन । म पछाडि नफर्की बसपार्कबाट बाहिरिएँ । यसअघि पनि यसैगरी बसबाट नगद र सामान पठाइएको थियो । यसपालि खलासीले किन नमानेको होला ? नमान्दा नमान्दै बिसाएर हिँडियो । के पो गर्ला ? खबर नपाउञ्जेल मन अमिलो भइरह्यो ।
एक हप्तापछि भवानीको खबर पाएँ । खलासीले एक पैसा पनि नमासीकन लगिदिएछ । स्लिपिङ व्याग पनि पु¥याइदिएछ । कति इमान्दार खलासी ! अहिले के गर्दै छ होला ऊ ? पाँच सय खर्च दिँदा पनि नमानेको खलासी आखिर एक पैसा पनि नलिइकन सहयोग ग¥यो । उसले एक हजार वा सबै पैसा मासेको भए पनि मैले उसलाई न भेट्न सक्थेँ न केही गर्न । त्यतिबेला उसको नाम सोधिन । अनुहार चिन्नतिर लागिन । अहिले त भेटे पनि चिन्दिन । सानोतिनो काम गर्ने मान्छे भए पनि असल मान्छेसँग सम्बन्ध टुटेकोमा अहिलेसम्म पनि थक्कथक्क लागिरहन्छ । झन्नै १० वर्षपछि माइक्रोबसको अर्को खलासीको व्यवहारले त्यो खलासी भाइलाई झन् बढी सम्झिरहन्छु ।
चोट्टाको खलासी :
एक दिन ललितपुरको हरिहर भवनबाट लगनखेल आउन माइक्रोबस चढेँ । जावलाखेल आइपुगेपछि खलासीले भाडा माग्यो । मसँग खुद्रा पैसा थिएन । एक हजारको नोट दिएँ । माइक्रोबस लगनखेलमा आएर फेरि रत्नपार्कतिर मोडियो । मध्यान्हको समय भएकाले कतै जाने धूनमा थिएँ र ओर्लेर आफ्नो बाटो लागेँ । दिउँसोपख पैसाको काम आउँदा मसँग एक हजार पैसा नभएको पत्तो पाएँ । हजारको नोट हराएको सम्झँदा पो याद आयो कि माइक्रोबसको खलासीले १२ रुपैयाँ भाडा कटाएर बाँकी पैसा फिर्ता दिएनछ । मैले पनि फिर्ता लिन बिर्सिएछु । पुनः लगनखेलमा आएर माइक्रोबसहरुलाई नियालेँ । तर, मैले उक्त माइक्रोबस ठम्याउन सकिन । करिब १५ मिनेटका लागि चढेको गाडीको नम्बर टिप्ने कुरै भएन । चालक र खलासीलाई चिन्ने सुर पनि रहेन । तै पनि एउटा माइक्रोबस चालकलाई सोधेँ । चालकले भने, ‘कि गाडी नम्बर पत्ता लगाउनु प¥यो, कि चालक वा खलासी चिन्नु प¥यो ।’
उनको कुरो मनासिब थियो । तर, खलासीको बेइमानी भने बिर्सन सकिनँ । तत्काल पैसा फिर्ता नलिनु मेरो भुल थियो । फिर्ता नदिनु खलासीको बेइमान । भुल र बेइमानीबीच मेरो नौ सय अठासी रुपैयाँ एकैछिन्मा चट् पारियो । चोट्टाको खलासी !
काम चोर्दा गर्व गर्ने कर्मचारीः
दशैँको फुलपातीको दिन । काठमाडाँै भित्रैको बस यात्रामा थिएँ । एकजना भलाद्मीको कुरोले मेरो कान उतैतिर तान्यो ।
‘यसपालि पनि हाकिमले दशैँ विदामा अफिस हेर्ने जिम्मा र ‘ओटी’ मलाई नै मिलाइदिए । आज यसो एकछिन् जान्छु । त्यसपछि त यो दशैँको दस दिनको डेडी हिसाब पड्काइन्छ । दस दिनको डेडीले खान्ते पिन्ते मज्जाले चलाइन्छ !’
ऊ चुड्की मार्दै गर्वसाथ भनिरहेछ । उसको अनुहार नियालेँ । गफमा मस्त थियो । एउटा राष्ट्रसेवक कर्मचारी सार्वजनिक स्थलमा अरुको ख्यालै नगरी काम चोरेको धाक निर्धक्क लगाइरहेछ । एकातिर काम चोर्ने, अर्कातिर खेलेर (तास) र पिएर (रक्सी) पैसा उडाउने गुड्डी पो हाँक्छ ! खान्ते पिन्ते उसको निजी जीवनबारे निन्दा गर्न खोजिएको होइन । तर, सार्वजनिक स्थानमा बोल्ने शैली र प्रवृत्ति सुहाउँदो भएन नि !
ती भलाद्मी (?) महानुभावको कुरोले दिनभरि मन अमिलो भयो । दशैँको विदामा अफिसको हेरचाह गर्न खटाइएका कर्मचारीको काम चोर्दा गर्व गर्ने संस्कारप्रति दया लाग्यो । काम गर्दा पो गर्व गर्नुपर्छ । काम चोर्दा हो र ?
आफूलाई बिर्सेर काम गर्ने कर्मचारी :
एउटा तितो उखान छ, ‘सरकारी काम कहिले जाला घाम ।’
जुग नबिताई उखान चल्ने कुरो भएन । प्रवृत्तिका रूपमा देखिएपछि कुरोकन्थो चल्यो र उखान बन्यो । सरकारी कामप्रति गरिने चरम हेलचेक्र्याईँको पराकाष्ठा बोल्छ यो उखानमा ।
हो, यो प्रवृत्तिको पराकाष्ठा आज पनि ज्युँका त्युँ छ । तर, सबै सरकारी कर्मचारीलाई थोकमा हेर्ने, बुझ्ने र व्यवहार गर्ने प्रवृत्ति पनि राम्रो होइन ।
अर्को पनि उत्तिकै चल्तीको उखान छ, ‘कालो बादलमा चाँदीको घेरा हुन्छ ।’
हाम्रा सरकारी कर्मचारीभित्र पनि चाँदीका टक छन् । उनीहरुलाई कालो बादलले छेकिएर देख्न नसकिएको हो । उनीहरुको बोलवाला कमजोर भएको हो । दबिएका छन् । पेलान र ठेलान छन् । तर, चाँदीका टक भने पक्कै छन् । हेर्ने आँखा र चिन्ने हृदयभित्र पनि त चाँदीकै टक चाहियो नि !
दुई दशकदेखि साइकल सरर :
अधिकृत तहका पशु स्वास्थय कर्मचारी । दुई दशकदेखिको उनको साइकल ठेलान अद्यपि जारी छ । सधैँ कर्मक्षेत्रमा हँसिलो मुहारमा भेटिने उनीजस्ता कर्तव्यनिष्ट कर्मचारी विरलै छन् । उनका कार्यालयका अरु पालेपियन पल्सर बाइकमा हुँइकिन्छन् । उनलाई त्यो पर्वाह छैन । दशकौँ व्यतीत गर्दा पनि उनको मन, बचन र कर्ममा भिन्नता छैन । उतार चढाव छैन । सङ्लो मन, सद्दे बचन र सत्कर्मप्रति सदा समर्पित ! उनको यो चालाप्रति बेवास्ता गर्ने हो भने अन्यायमात्र होइन घोर अन्याय हुन्छ । उनी थोरैमध्येका इमान र जमानको विश्वास बढाउने सरकारी कर्मचारीको जिउँदा साक्षी हुन् ।
दुर्लभ निरीक्षक :
उपसचिव तहका अधिकृत । उनको विशेषता भनेको विद्यालय निरीक्षण गर्न विद्यालयमै पुग्नु हो । अरु निरीक्षकलाई भेट्न शिक्षकहरु हप्तौँसम्म शिक्षा कार्यालयमा धाउनुपर्छ । जि–हजुरी गर्नुपर्छ । तर, उनी विद्यालय र शिक्षक खोज्दै आफैँ धाउछन् । विद्यालय पुगेर निर्देशन दिँदैनन् । सहजीकरण गर्छन् । विद्यालय निरीक्षणका क्रममा प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन, विद्यार्थी, अभिभाावकसँग दिन होइन हप्तौँ बिताउछन् । आफैँलाई बिर्सेर । अचम्म त के भने उनी जतिजति विद्यालय धाउछन उतीउती अल्छी र कामचोर शिक्षक उनीबाट परपर पन्छिन्छन् । निष्ठाका अग्ला र सग्ला शिक्षक भने झुम्मिन्छन् । दुर्लभ विद्यालय निरीक्षक !
हेर्ने र बुझ्ने संसारलाई थोक र खुद्राबीचकोे भिन्नतामा चुक्यौँ भने हाम्रा समग्र प्रवृत्तिमा गम्भीर धक्का लाग्छ । ‘गु’ र ‘गोबर’ अर्थात् असल र खराब प्रवृत्तिको मानवीय भेद खुट्टिएन भने विग्रहको विजारोपण हुन्छ । असल व्यक्तिहरुको घेरा फराकिलो पार्दै जाँदा खराब व्यक्तिहरुका घेरा स्वतः साँघुरिन्छ । खराबको खोजीनिति गर्नुभन्दा असलको घेराबन्दी कस्नु उत्तम हो भन्छन् । राजहाँसको जस्तो ‘दूधको दूध, पानीको पानी’ गर्न नसके पनि सत्यताको नजिक त पुग्नै पर्छ नि !
गोपाल सञ्जेल, ललितपुर