जेठ २१, सोमबार
नवसाहित्य अनलाइन । जनप्रिय माध्यमिक विद्यालयमा विद्यार्थीको जन्मदिनमा विद्यालयलाई पुस्तक उपहार दिएका छन् ।
कक्षा ७ मा अध्ययनरत नमुना श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा सोमबार पुस्तक उपहार प्रदान गरेकी हुन् । नमुनाकी आमा तथा सोही विद्यालयकी शिक्षक लक्ष्मी श्रेष्ठले उपहार तथा विगतमा चकलेटलगायतका जङ्कफूडको प्रयोग हुने गरेकोमा हाल निषेध गरिएको र छोरीको ईच्छाअनुसार नै पुस्तक प्रदान गरी विद्यालयको अभियानमा हातेमालो गरेको बताउनुभयो ।
२ हजार मूल्य बराबरका सामान्यज्ञान, कथाकविता, गाउँखाने कथा, वैज्ञानिकका जीवनी, लेखनशिल्पलगायतका विभिन्न पुस्तकहरू कक्षामैँ रहनेगरी हस्तान्तरण गरिएको हो । विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईँ र सोही कक्षाको पुस्तक व्यवस्थापक विद्यार्थीलाई पुस्तक हस्तान्तरण गरिएको कक्षा शिक्षक श्रीजु ढकालले जानकारी दिनुभयो ।
केही दिनअघि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद बस्ताकोटीले १० हजार मूल्यका पुस्तक कक्षामैँ रहनेगरी उपलब्ध गराउनु भएको थियो । शिक्षकहरूले समेत गतसालदेखि नै यस अभियानमा जोडिएको अङ्ग्रेजी माध्यम संयोजक रविन श्रेष्ठले बताउनुभयो ।
जनप्रिय माविले गतसालदेखि जन्मदिन, वैवाहिक वार्षिकोत्सवलगायत खुसियाली तथा स्मृति तिथीको अवसरमा प्राप्त पुस्तक कक्षामैँ रहनेगरी व्यवस्थापन गर्ने कार्य सुरू गरेको छ ।
गतसाल प्रअका साथै नम्रता शर्मा, मालती फयल, श्रीजु ढकाल, संप्रस पौडेललगायतका शिक्षकहरूले पुस्तक हस्तान्तरणपश्चात् कक्षामैँ पुस्तक राख्ने कार्यको थालनी गरिएको हो । सो अभियानमा सोमबार नै करिस्ता दाहालले आफूले पढेको पुस्तक प्रदान गर्दै भन्नुभयो- “आफूले पढिसकेपछि साथीहरूले पनि पढुन् भनेर कक्षामैँ रहनेगरी पुस्तक दिएको हुँ ।”
दाताहरूबाट प्राप्त पुस्तकहरू कक्षाहरूमैँ रहेका बुक र्याकमा क्रमशः पुस्तक उपलब्ध गराउँदै जाने र विद्यार्थीहरूलाई नै तिनको अभिलेख राख्न लगाइएको तथा ती पुस्तकहरू अभिलेखपश्चात् घर लैजान पाइनेगरी समेत व्यवस्थापन गरिएको प्रधानाध्यापकले जानकारी दिनु भएको छ । साथै उहाँले ८ वटा कक्षाहरूमा पुस्तक वितरण भई खाली घण्टीमा समेत नियमित अध्ययन भइरहेको र पुस्तकका दाताहरूसँग पुस्तक प्रदान गरिदिनुहुनका लागि आह्वान गर्नु भएको छ ।
०००
यस अभियानमा जोडिएर आफूले पढेका वा नयाँ कुनै पनि पुस्तक हस्तान्तरण गरी पठन सँस्कृतिको विकासमा योगदानका लागि नवसाहित्य अनलाइनमार्फत् अनुरोध गर्दछौँ ।
