जेठ २१, सोमबार
नवसाहित्य अनलाइन । डा. केशव श्रेष्ठद्वारा लिखित शून्यबाट करोडपति र समृद्धिको बाटोमा बिसे नगर्ची पुस्तकहरू नवसाहित्य अनलाइनलाई प्राप्त भएका छन् ।

२०३७ सालदेखि फुटकर कविता, कथा र साहित्यिक लेखनबाट देखापर्नु भएका श्रेष्ठले २०४१ सालमा उहाँको पहिलो कृतिका रूपमा “मालती” उपन्यास प्रकाशन गर्नु भएको हो । यस्तै उहाँले साहित्यिक, पेशागत, आर्थिकलगायतका कूल १५ वटा पुस्तकहरू लेख्नु भएको छ ।

२०४० सालमा सरकारी सेवाबाट जागिरे जीवन थाल्नु भएका उहाँले हेटौँडा कपडा उद्योग, हेटौँडा सिमेन्ट उद्योग लगायतका कर्पोरेट तथा प्लान इन्टरनेशनल, डि.एफ.आई, केयर नेपाल, सेभ द चिल्ड्रेनजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूमा निर्देशक तथा वरिष्ठ निर्देशकजस्ता पदहरूमा रहेर काम गर्नुभएको छ ।

वित्त, व्यवस्थापन, लेखापरीक्षण, प्रशासन, सूचनाप्रविधि आदि विषयहरूको सेवाकालीन जिम्मेवारीमा रहनु भएका श्रेष्ठ मूलतः व्यक्तिगत आर्थिक सक्षमताको लागि लगानीको व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा दख्खल हुनुहुन्छ ।

शून्यबाट करोडपतिः
व्यक्तिगत आर्थिक स्वतन्त्रता र सम्पन्नताको सपना देख्नेहरूप्रति समर्पित यस पुस्तकमा कूल १४ वटा विषयवस्तुहरूमाथि चर्चा गरिएको छ । जानेका कुरा, लौ तयार हुनुहोस्, यस्तो चमत्कार कसरी हुन्छ, सबैको लागि सम्पत्ति, करोडपति बन्ने पूर्वतयारी, तपाईँको १५ वर्षे लगानी डायरी आदि यस पुस्तकमा समावेश विषयवस्तुहरू हुन् ।

क्रिएटिभ बुक्स प्रकाशक रहेको २ सय रुपैयाँ मूल्य रहेको यस पुस्तकमा कूल ७२ पाना रहेका छन् ।

समृद्धिको बाटोमा बिसे नगर्चीः
समृद्धिको सपना देख्ने, स्वदेशमै बसेर ती सपना पूरा गर्न प्रयत्न गर्ने अनि सफलता हासिल गर्ने युवाहरूमा समर्पित यस पुस्तकभित्र केटौले सपना, पहिलो उद्यम, सरकारी गोरखधन्दा, आए बाउको गए साहुको, नेपाली काइदा, सबैलाई फाइदा, जनैको साँचो, अब हिँड्ने बाटोलगायतका लेखहरू समाहित गरिएका छन् ।

लक्ष्य होल्डिङ्ग्स लिमिटेड प्रकाशक रहेको यस पुस्तकमा २२ वटा लेखहरूका २२४ पानामा अटाएका छन् । पुस्तकको मूल्य ४२५ रुपैयाँ (६$) अङ्कित रहेको छ ।

विभिन्न कम्पनीका संस्थापक श्रेष्ठसहितको समूहले ‘जनउन्नतिका लागि लगानीकर्ताहरू’ नामक अभियान सुरू गरि साना लगानीकर्ताहरूको सहभागितामा लक्ष्य होल्डिङ्ग्स लिमिटेड कम्पनीमार्फत् ७ कम्पनीहरूका समूह निर्माण गरिएको श्रेष्ठ बताउनुहुन्छ ।

लेखक श्रेष्ठलाई व्यवसायिक सफलताका साथै साहित्यिक सिर्जनामा सक्रियता मिलोस् । नवसाहित्य परिवार हार्दिक शुभकामना प्रकट गर्दछ ।