जेठ २६ शनिबार
नवसाहित्य अनलाइन । कक्षा ८ मा अध्ययतरत सम्पदा तिमल्सिनाले आफ्नो जन्मदिनमा कक्षाका साथीहरूले पढ्न सक्नेगरी पुस्तक उपहार दिएकी छिन् । जनप्रिय माध्यमिक विद्यालयमा अध्ययनरत उनले १५ वटा पुस्तकहरू विद्यालयलाई प्रदान गरेकी हुन् ।
शुक्रबार आफ्नो जन्मदिनको अवसरमा पुस्तकहरू कक्षामैँ रहने र त्यसलाई पुस्तक व्यवस्थापक विद्यार्थी पुस्कर चौधरीद्वारा अभिलेख तथा व्यवस्थापन हुने कक्षा शिक्षक मालती फयलले बताउनु भएको छ । सम्पदाकी आमा तथा विद्यालयकी कर्मचारी सबिता तिमल्सिनाले उनकै साथीहरुले पढ्नेगरी पुस्तक प्रदान गरेर छोरीको जन्मदिन मनाउन पाउँदा खुसी मिलेको बताउनुभयो । विद्यालयमा शिक्षक-विद्यार्थीहरूका जन्मदिनका अभिभावक, सरोकारवालाहरूको विशेष खुसियाली, स्मृति आदिको अवसरमा पुस्तक हस्तान्तरण अभियाननले तीव्रता पाएको विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले जानकारी दिनु भएको छ । 

कक्षामैँ पुस्तक राखिँदा विद्यार्थीहरूले खाली घण्टीमा अध्ययन गर्ने र त्यसलाई विद्यार्थीले नै अभिलेख राखेर कक्षा शिक्षकलाई रिपोर्टिङ गर्नुपर्ने भएकोले पुस्तक घरमैँ लगेर समेत अध्ययन गर्न पाउनेछन् ।

विद्यार्थीहरूले आफूले पढेका नयाँ-पूराना जुनसुकै पु्स्तकहरू समेत कक्षामा ल्याउन सकिने हुँदा यसले पठन संस्कृतिमा विद्यालय तहदेखि नै टेवा पुग्ने बताइएको छ ।

त्यहीक्रममा कक्षा ९ की समीक्षा थापाले आफूले पढेका ह्यारी पोर्टर र अन्य केही पुस्तक विद्यालयलाई हस्तान्तरण गरेकी छिन् । कक्षामा सामान्यज्ञान, बाल साहित्यअन्तर्गतका कथा, कविता, आत्मकथा, व्यक्तित्व परिचय आदिका पुस्तकहरू भएता पनि चित्रकला, गणित, बौद्धिक परीक्षण, विविध सिप सिकाइका पुस्तकहरू उपलब्ध गराइदिन विद्यार्थीहरूले अनुरोध गरेका छन् ।