७ असार २०८१
नवसाहित्य अनलाइन | नेपाली जातीयतालाई शिरोधर्य गर्दै रचना गर्ने अगमसिँह गिरी अच्छा राई रसिक र डा. पारसमणि प्रधानका समकालीन कविका रूपमा चिनिन्छ । मातृभूमिको सुरक्षा, जातीय समुन्नति र देश जोगाउनका लागि पूर्खाले गरेका साहस र शौर्यप्रति जहिल्यै संवेदनशील भइ अभिव्यक्तिस्वरुप काव्य सिर्जना गर्ने गिरीका बारेमा नवसाहित्य अनलाइनमार्फत् केही चर्चाहरू गरिनेछन् ।
प्रारम्भिकः
भारतमा भानुभक्त आचार्यपछि नेपाली भाषा लेखन वृत्तमा सर्वाधिक सम्मानले चिनिने नाम हो अगमसिंह गिरी । २७ जुलाई १९२७ मा दार्जीलिङ, भारतमा जन्मिनु भएका अगमसिँह गिरी नेपाली साहित्यको एक अत्युत्तम श्रष्टा हुनुहुन्छ । माता/पिता विमलादेवी/छविलाल गिरीबाट जन्म लिइ कवि/गीतकारका रूपमा पहिचान बनाउनु भएका उहाँलाई रचनाका पाठक अनि समीक्षक र विश्लेषकहरूले पीडा र वेदनाका कविका रूपमा चित्रण गर्ने गरिएको पाइन्छ ।
लेखन र प्रकाशनः
उहाँका ‘याद (खण्डकाव्य, सन् १९५५)’, ‘आँसु (गीतिकाव्य, सन् १९६८)’, ‘युद्ध र योद्धा (खण्डकाव्य, सन् १९७०)’, ‘आत्मव्यथा (सन् १९५९)’, ‘जीवनगीत (कविता सङ्ग्रह, सन् १९६१)’, ‘जलेको प्रतिविम्ब : रोएको प्रतिध्वनि (कवितासङ्ग्रह, सन् १९७८)’ आदि कृतिहरू प्रकाशित छन् भने उहाँले ‘कमल’, ‘आँखा’, ‘दियालो’, ‘अस्तित्व’ जस्ता पत्रपत्रिकाको सम्पादन गर्नुभयो । भारती, पूर्णिमा, कथाकुञ्ज इत्यादि पत्रिकामा आफ्ना रचनाहरू प्रकाशन गर्नु भएका गिरीले नाटक मञ्चन समेत गराउनु भएको थियो ।
गिरीले केही कथाका साथसाथै गीतहरू पनि लेख्नु भएको छ । ‘घरको माया बिर्सेर किन पो यहाँ आयौ नि?’, ‘सम्चार यही भन्दिनू’, ‘सोद्धै खोज्दै देवराली डाँडा पारी पुग्नेछु/धरराका वरिपरि तीनै सहर हेर्नेछु’ भन्ने गिरीले प्रवासी नेपाली, नेपाली भाषी, नेपाली जातिका आवाजलाई ‘नेपाली तन लिई प्रवास पथमा व्यर्थै म जन्मेँ किन?’ जस्ता शब्दगुच्छा उहाँकै बोली र लेखनमा पाइन्छन् । त्यसो त गिरीले प्रवासिएका नेपालीको आवाजस्वरूप लेखिएको गीत ‘फर्क हे फर्क नेपाली तिमीलाई डाक्छ हिमाल/आमाको माया बराबर तिम्रै हो तिम्रै हो नेपाल उज्ज्वल’ गीत मर्मस्पर्शी धुनमा रेडियो नेपालबाट पुष्प नेपालीको स्वसमा गुञ्जियो । यस्तै उनको सिर्जना रहेको ‘नौलाख तारा उदाए’ मा अम्बर गुरूङको स्वर तथा सङ्गीत रहेको छ ।
गीतः नौलाख तारा उदाए
नौलाख तारा उदाए, धर्तीको आकाश हाँसेछ
शरद लाग्यो डाँडामा फूलले प्रीति गाँसेछ
नजली यहाँ झिलिली मनको तारा निभेछ
गुराँस फुल्यो पहाडमा, मनको तारा निभेछ
नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको
काँडाकै माझ पहाडी फूल छैन र कहाँ हाँसेको
सुनको सपना आँखामा किन हो बाँधिल्यायौ नि
घरको माया बिर्सेर किन पो यहाँ आयौ नि
मुटुको रगत एउटै हो, पीरको बह बेग्लै छ
हामीलाई यहाँ चिन्यौ कि मनको चोट बेग्लै छ
नियाली हेर हामीलाई भिजेको छैन परेला
आँसुले गह भिजाए, अरूले निर्धा सम्झेला
बुझ्छ र कल्ले रोएको मुटुमा काँडा लिएर
अरूको सारमा हाँसेको आँशुको घुट्का पिएर
पहाडी फूल नफक्री किन पो चुँडिल्यायौ नि
मनको आगो निभाउन किन पो यहाँ आयौ नि ।
०००
लेखनको ११ वर्षपछि मात्र ‘आँशु’ गीतिकाव्य प्रकाशन गराउनु भएका गिरीबाट आफ्ना रचनामा गोर्खालीहरूको अर्थहीन अस्तित्व, आक्रोशपूर्ण अन्योल र गरीबीको चपेटाका विरूद्धमा विदेशीको बन्दुकमा उपहार चढाउन पुग्दै जीवन नै दाउमा लगाउने प्रवृत्तिमाथि जहिल्यै विपक्षमा सिर्जना भइरह्यो । विदेशी सेनामा भर्ति भएर गोर्खालीहरूले कलंकित हुनुपरेको बताउने कवि गिरी आफू समेत प्रवासमा जन्म हुनुपरेकोमा विषादयुक्त लेखनी रच्नुभयो । तथापि उहाँले आफू जन्मिएको स्थानमा रहेर आफ्नो भाषिक र साँस्कृतिक जातियताका लागि हरदम कलम चलाइरहनुभयो ।
उहाँका रचनाका सम्बन्धमा साहित्यकार ईन्द्रबहादुर राईले लेख्नुभयो- “सामग्रीलाई रुखपातजस्तो बोकेको तर गिरीभित्र सतहदेखि अर्कै आस्थाको पर्वत छ । पूर्खाले अतीतको अभिमानी उज्यालो हाम्रो अशक्त वर्तमानलाई ताप्न दिएका छन्, साँचो हो । एउटा मूर्दा मुहुर्तको अवशेष कुरिरहेको हाम्रो आगतलाई कवि स्पष्ट गर्छन् । जातीय जीवनको प्रहर हाम्रो विराट बौराइ र बौलाइ पर्खेर बसेको छ ।”
सुख-दुख, माया-मोह, हाँसो-रोदन यी कुनै पनि स्थायी छैनन् भन्ने भावसहित वियोगमा विषाद लाग्नु स्वभाविक रुपमा व्याख्या गर्नु भएका कविले ‘आत्मव्यथा’ (२०१६) भित्रको ‘नचिनिने भएछौ’ मा लेख्नुभएको एक कविताः
तिमी ता यहाँ नचिनिने भएछौ ।
गालाका रगतहरू सुकिसकेछन्
आँखाका ज्योति सब हराइसकेछन्
तिमी ता रुँदा-रुँदै निदाएको बालकजस्तो
कठोर कारागारको यातनाभोगी विरक्त बन्दीजस्तो
गाँस खोसिएको बास लुटिएको विह्वल हतभागीजस्तो
कस्तो कस्तो भएछौ,
तिमी ता यहाँ नचिनिने भएछौ ।
अतीत गौरवले धपक्क बलेको अघिको चहकिलो अनुहारमा
ग्लानिका विषाक्त रेखाहरू कोरिएछन्
पहाडका वैशाखी वनमा
तिमी जंगली फूलझै हँसिलो देखिन्थ्यौ
तर अब ता चेहरामा तिम्रा
विषादका काला धर्साहरू कोरिएछन्
चोटमा भुक्नु होइन बरु सहनु सिकेछौ
अब ता अर्कै अर्कैजस्तो भएछौ,
तिमी ता यहाँ नचिनिने भएछौ ।
‘तिमी को हौ’- चिनाउन आएको होइन म
वितेका गौरव- गाथा कहन आएको होइन म
तिम्रा सन्तप्त छातीका पीरहरू उखेल्न आएको होइन म
सजिलै खोसिएको गाँस
हलुकै लुटिएको बास दिलाउन पाएको होइन म
छातीको त्यो गहिरो खोपिल्टा पुर्न आएको होइन म
निर्धा आँशुका धारा हेर्न आएको होइन म
केवल तिमी ‘तिमी’ नै हौ कि चिन्न आएको म
तर, तिमी ता यहाँ नचिनिने भएछौ ।
पुरस्कार र सम्मानः
रत्नश्री स्वर्णपदक, पूर्वराजा महेन्द्रबाट स्वर्णपदक, भानुपुरस्कारबाट सम्मानित गिरी नेपाल तथा भारतमा विभिन्न सम्मानहरूबाट सम्मानित तथा पुरस्कृत हुनुभयो ।
विश्वयुद्धमा सहभागी भएर नेपालीहरूले स्वजातीय स्वाभिमानको निमित्त नभएर अरूका निमित्त समय र जीवन खर्च गरेकोम त्यसलाई बहादुरिता नभएर हाम्रा जातीलाई देशका निमित्त लड्ने अमरसिंह, बलभद्र, भक्ति थापाजस्ता स्वाभिमानी योद्धाहरू चाहिएको हो भन्ने भावहरू शक्तिशालीरूपले सिर्जनामा प्रकट गर्नुहुन्थ्यो । पिल्सिएका, ठगिएका, लुटिएका, खोसिएका अधिकारका पक्षमा आवाज मुखतरित गर्ने गिरीले कोमल, लयात्मक, सुललित भाषाका साथमा ‘तप्त व्यथाको घाउ मलाई देऊ’ भन्दै रचना गर्नुभयो । यस्तै विश्वका शक्तिशाली मुलुकलाई शक्तिमा रहिरहनका लागि नेपालीहरूले गरेको त्यागका कारण अतीतका गोर्खा र वर्तमानका गोर्खाबिचको फरकपन, निन्याउरो हुँदै गएको अनुहार, अरूका अघि निरीह भइ बाँच्नुपरेको यथार्थ रहेको र आफ्नो चिनारी कायम राख्नुपर्ने सन्देश आफ्ना सिर्जनमा उल्लेख गर्नुभयो । सौन्दर्य र सहिष्णुतालाई समेत ध्यानमा राख्दै गरिने उहाँका सिर्जनाहरू नेपाली साहित्यमा चिरकालसम्म रहिरहनेछ ।
निधनः
नेपाली भाषी रहेका भारतका विभिन्न स्थानमा गिरी जयन्ती मनाइने गरिएको छ भने जातिय कविको पहिचान पाउनु भएका गिरीका कविता र गीतहरू अहिले पनि गोर्खाल्याण्डको मुद्दासँगसँगै झनै धेरै गुञ्जिरहेको पाइन्छ । ३१ जनवरी १९७१ मा ४४ वर्षको नेपाली साहित्यको एक जाज्वल्य तारा अगमसिँह गिरी भौतिक रूपले अन्तै कतै विलय हुनपुग्यो जसले नेपाली साहित्यिक क्षेत्रमा अपुरणीय क्षतिको धक्का महशुस भइरह्यो ।
