१४ चैत्र, शुक्रबार
नवसाहित्य अनलाइन । स्व शब्द सग केहि बर्ष पहिले देखि मेरो प्रत्यक्ष उठबस छ । उसो त जन्मदै स्व कै वरिपरि हिडडुल जो कोहि गर्छ तथापि भौतिक शरिर र आध्यात्मिक बाटो हुदै को यात्रा यतिबेला गरिरहेछु । गुरुदेव श्री श्री रवि शंकर को ध्यान विधि मा उच्चारण हुने शब्द “स्व हंम” सगै मैले स्वयं को यात्रालाइ स्व भनि बुझेकोछु ।
स्व अर्थात स्वयं अर्थात आफु भित्र फर्कने कला । सुन्दा सरल सुनिने यो शब्द व्यबहारमा उतिकै जटिल र चुनौती पूर्ण छ । के संसारका सबै मानिस यो कलासग अभ्यस्त छन त ? सायद छैनन । मानिसहरु स्व कला को सागर हुन तर उनिहरु आफै भित्रको सागरमा पौडिन जान्दैनन र दुर्घटित भैरहन्छन । स्व उपन्यास यसै वाक्यको वरपर घटित औपन्यासिक कृति हो ।
बुकहिल प्रकाशन गृहले उपन्यासकार सरस्वती प्रतीक्षा को नवीन उपन्यास “स्व” हालै बजारमा ल्याएको छ र म त्यसैको वरिपरि छु ।
स्व शब्द सगको मेरो सम्बन्ध स्व उपन्यास आउनु भन्दा धेरै पहिले देखि निकट भएकाले उपन्यासमा कस्तो कथावस्तु होला भनेर कौतुहल हुनु स्वभाविक थियो नै । मैले आफुले बुझ्दै आएको “स्व” रहस्य भित्रको रहस्य होे । रहस्यलाइ वयान गर्नु आफैमा कठिन काम हो । ध्यानस्थ हुदा जे घटित हुन्छ त्यो अव्यक्त हुन्छ । स्व उपन्यासमा ध्यानस्थ घटनालाई कसरी व्यक्त गरिएको होला भन्ने एक पाठकको उत्सुकता सायद जायज हो ।
बुद्द दर्शन अवर्णित छ । अवर्णित सागरमा सप्तम पात्रकोे मनोविज्ञानको टिपोट स्व हो । बुद्द दर्शनको वरपर रहेर स्व उपन्यासको निर्माण भएको मान्नुपर्छ । सप्तम मुल पात्र हो । सप्तम कै वरपर रहेर कथाको अन्त्य हुन्छ । सप्तम समाजको त्यस्तो पात्र हो जसले हरेक पात्रता बोकेर समाजका कथाहरु बोलिरहेछ ।
आमाबुबाको खराब सम्बन्ध हुदै गर्दा गर्भमा सप्तमको भ्रूण निर्माण हुन्छ । बिग्रदै गर्दाको सम्बन्धमा जन्मनु र हुर्कनु एक बालकका लागि अभिशाप तुल्य हुन्छ । कथाले यस्तै बोलिरहेछ । जीवन चुनौति र संघर्ष हो । सप्तमको जीवनलाई हेर्दा पाठकले त्यहि महसुस गर्छ । एउटा पात्र जसले जीवनमा अनेक आयाम बाँच्छ । सप्तम त्यहि पात्र हो जसले प्राध्यापक, अधिवक्ता, मोटिभेसनल स्पिकर, जग्गा व्यपारी, लेखक, पत्रकारको जीवन बाचिरहेछ । जीवनमा अनेक पात्रता अलि अलि निर्वाह गरेको सप्तम अत्यास लाग्दो पात्र हो । सबैथोक भएर पनि केहि थोक नभए जस्तो । सबथोक पुर्ण हुनु सबथोक हुनु होइन । सबथोक हुनु केहि थोक नहुनु पनि हो । त्यहि केहि थोक जो मोति समान छ त्यहि नै सायद केहि थोक गुदि हो ।
फैलनेमा विश्वास गर्ने सप्तम र गहिरिनुमा विश्वास गर्ने काव्या पात्रको कथानक स्व को जड हो । परिस्थितिले सिर्जना गर्ने घटनाक्रमको सुन्दर परिवर्तन स्व ले निर्माण गर्न खोजेको सेतु हो । तथापि बुद्द दर्शनको नजिक रहेर किन नहोस ।
आमा अर्थात एक निर्दयीपन ! सप्तमको आमाप्रतिको नजर यो वाक्यले कथामा पूर्ण बोलेको पाइन्छ ।
अतीत अर्थात एक भीर ! यो वाक्य जसले सप्तमको सिङ्गो जीवनको प्रतिनिधित्व गर्छ ।
जसरी एउटा मान्छेले एकसाथ सबैलाई खुसी राख्न सक्दैन, त्यसरी नै धेरै पेशाहरुमा बाँडिदा एउटा पेशालाई न्याय गर्न खोज्दा अर्को पेशालाई अन्याय नगरी सुखै पाउँदैन मान्छेले । जीवन सहज होस भनेर अनेकन पेशाहरुमा बाडिँदा बाडिँदै एक दिन मान्छे तिनै पेशाहरुमा जेलिएर असहज जीवन बाँच्न बाध्य हुन्छ । अनेकन पेशाहरुमा बाडिँदा बाडिँदै पेशागत जटिलताहरुको शृङ्खला सुरु हुन्छ । कालो पर्दा लगाएर स्वयंलाई जति नै लुकाउन खोजे पनि स्वयंको नजरबाट चाहिँ स्वयंको दोगलापन छुप्न सक्दैन । स्व ले बोलेका यि वाक्यहरु सप्तमका जीवन कहानी हुन ।
चेतन र अवचेतन मनको द्वन्द स्व उपन्यासको अर्को सुन्दर प्रस्तुति हो । हरियो मसिले लेखिएको शुभचिन्तकको रहस्यमय पत्र अझै जोडदार क्लाइमेक्स हो । नारेश्वरको रुख र चौतारोसग जोडिएका पात्रहरु, गन्धकुटीको सेरोफेरो उपन्यासको अर्को सशक्त पाटो हो । त्यसका लागि स्व उपन्यास अध्ययन गर्न जरुरी छ ।
देशनामा उभिएका केहि पात्रहरु जसले जीवनका अनेक आरोह अवरोह भट्याइ रहेकाछन । बुद्द मार्ग यीनै पात्रहरुको वरपर डुलेको छ । उपन्यासको कथा बुनाइमा देशनाका पात्रहरु खास देखिन्छन जसका कारण स्व उपन्यास पूर्णताको बाटोमा हिडेको छ । रहस्यमय कथा बुनाइले गर्दा उपन्यास अझै अब्बल भएको महसुस हुन्छ ।
दुःखको कारण अपेक्षा हो । त्यसो हो भने सुखको कारण के त ? अपेक्षा नगर्नु सुख हो । तर मनुष्य अपेक्षा कै वरपर हिडडुल नगरी पार पाउदैन । हामीले निर्माण गरेको संरचना नै उस्तै छ । होइन भने सबै मनुष्य बुद्द बन्ने थिए । आफै भित्रको बुद्द्त्व नजागेको मात्रै हो । आखिर सबै मानिस बुद्द नै हुन ।
अपेक्षा सहितको पठनले दुःख निम्त्याउने छ । अपेक्षा विहिन भएर थालिएको पठनमा पाठक भित्रको अर्को पाठकले मृत्यु धारण गर्छ । सहित र विहिनको मध्य मार्ग नै उचित मार्गको गन्तव्य बन्न सक्छ ।
उपन्यास पढिरहदा तपाईलाई कुनै आत्मपरक निवन्ध पढे जस्तो लाग्न सक्छ । कतै कथा पढे जस्तो लाग्न सक्छ । तर यी दुबैको सेतुमा सप्तम पात्र आएको छ जसले कथा र निवन्धको क्याइमेक्समा आफुलाई उभ्याएको छ ।
उपन्यास पढिरहदा पाठकले सामान्य ज्ञान सम्बन्धी थुप्रै जानकारी पनि पाउन सक्छ । बुद्द दर्शनका अलावा देश बिदेशका लेखक र दार्शनिकहरुका कोटेसन र पुस्तकको चर्चा सामान्य भन्दा अलि बढि नै स्व उपन्यासमा भेटिन्छ । जब कथानक र पात्रमा लेखक हावी हुन्छ सायद यस्तो घटना दोहोरिन्छ । तथापी केहि कमि कमजोरी त अवश्य नै छन । ती तपाईले अध्ययन गर्नु भयो भने थाहा पाउनु नै हुनेछ । सप्तम र काव्याको भेट कसरी कहाँ हुन्छ ? उनिहरुको प्रेम कसरी टुसाउछ ? उनि दुइको प्रेममा कस्ता अप्ठ्यारा र सजिलाहरु आए त ? सप्तम र काव्याको प्रेमको सुखद या दुःखद अन्त्य कस्तो छ त ? स्व अर्थात स्वयं अर्थात आफु भित्र फर्कने कलाको सम्योजन बुद्द दर्शनको वरपर कसरी घुम्छ ? यी यावत प्रश्नको उत्तर स्व उपन्यास अध्ययन पश्चात तपाईले पनि महसुस गर्न सक्नुहुनेछ । अन्त्यमा लेखक सरस्वती प्रतीक्षालाई आगामी लेखन तथा काव्यायात्राका लागि सतत् शुभकामना । –अमृत
