असार १५, शनिबार
नवसाहित्य अनलाइन । यो वर्षको पद्मश्री पुरस्कारका लागि खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा १५ पुस्तकहरूको सूची सार्वजनिक गरिएको छ ।
प्रतिष्ठानमा प्राप्त २०८० मा प्रकाशित १८६ वटा पुस्तकहरूमध्ये हरेक वर्षझैँ असार १५ मा विस्तारित सूचीमा सूचिकृत ‘उत्कृष्ट १५ पुस्तकहरू’ छनोट भएका हुन् ।
छनोट भएका पुस्तकहरू निम्न छन्ः (अकारादी क्रममा)
१. अडिएका पाइला (उपन्यास)- विष्णु सापकोटा
२. अद्वैत (उपन्यास)- कृष्ण गौतम
३. अर्को देशमा (कथा सङ्ग्रह)- सानु शर्मा
४. गल्ली संसार (निबन्ध सङ्ग्रह)- रोशन शेरचन
५. गोधुलि गीत (उपन्यास)- भानु बोखिम
६. गोपीचा (उपन्यास)- विश्व कुइँकेल
७. जोगियाना (संस्मरण)- कुमार नगरकोटी
८. बहादुर शाह (उपन्यास)- चिरन्जीवि वाग्ले
९. बागी स्त्रीको आत्मकथा (कविता सङ्ग्रह)- सुमिना
१०. बादलडाँडा (नियात्रा)- राजेन्द्रमान डंगोल
११. बोरा (उपन्यास)- अखण्ड भण्डारी
१२. भृकुटी (उपन्यास)- गोविन्दप्रसाद कुसुम
१३. लन्डन अनप्लग्ड (संस्मरण)- गोपी सापकोटा
१४. संस्कृति चिन्तन (निबन्ध सङ्ग्रह)- अरुण गुप्तो
१५. साखेजुङको कालो (जीवानाख्यान)- भुवनहरि सिग्देल
प्रतिष्ठानले पहिलो चरणका १५ पुस्तक सूची सार्वजनिकपछि यीमध्ये ५ पुस्तकहरूको सूची सार्वजनिक गर्ने गरेको छ । सोपश्चात् गत वर्षझैँ यो वर्ष पनि एक पुस्तकले सर्वोत्कृष्ट घोषणासहित ३ लाख नगद राशिको पद्मश्री पुरस्कार २०८० प्राप्त गर्नेछ । सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन प्रदान गरिँदै आएको छ ।
अघिल्लो वर्ष प्रतिष्ठानमा प्राप्त भएको कूल १८० पुस्तकमध्ये आतोओडा, इजोरिया, ऐँठन, चिसो बाफ, थाङ्ग्रा, पर्वत पर्वतमा बटुवा घाम, पानी घट्ट, ब्रह्मास्त्र, बाआमा, भग्न भैरव, मनु, मफलर, यशोधरा, शून्यको मूल्य र सन्तापको धूनमध्ये उत्कृष्ट ५ मा इजोरिया, ऐँठन, मनु, मफलर र शून्यको मूल्य सूचीबद्ध भइ ‘मनु’ का लागि समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीलाई सो पुरस्कार प्रदान गरिएको थियो ।
२०६३ सालमा स्थापित प्रतिष्ठानले नेपाली साहित्यको पुस्तकलाई पद्मश्री साहित्य पुरस्कारका साथसाथै २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने विशिष्ट साधकलाई पद्मश्री साधना सम्मान प्रदान गर्दै आइरहेको छ । अघिल्लो वर्ष सो सम्मान व्यङ्ग्यचित्र कलाकार दूर्गा बराल वात्स्यायनलाई प्रदान गरिएको थियो । वर्ष २०७९ देखि प्रतिष्ठानले समाजलाई गौरवपूर्ण योगदान दिनुहुने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई पद्मश्री गौरव पुरस्कारद्वारा सम्मान गर्ने गरेको छ । गत वर्ष शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा यस पुरस्कारबाट सम्मानित हुनु भएको हो । गैरआवासीय नेपाली महासङ्घका पूर्व अध्यक्ष जीवा लामिछाने यस प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ ।
