१ साउन, मकवानपुर 
नवसाहित्य अनलाइन । मैले पढेको पुस्तकको नाम ‘सारस र पानी’ हो । यो पुस्तकको लेखक कृष्ण शाह यात्री हुन् । यो पुस्तकको विधा कथा हो । यस पुस्तकको प्रकाशन जगदम्बा प्रेसले गरेको हो । पुस्तकको प्रकाशन मिति वि.सं. २०६९ साल रहेको छ । पुस्तक २००० प्रति छापिएका छन् । यस पुस्तक पहिलो संस्करणको रूपमा छापिएको पुस्तक हो । पृष्ठ सङ्ख्या १२ रहेको पुस्तकको आइएसबीएन नं. ९७८९९३७५७४४८८ हो जसको मूल्य जम्मा रु. १२० रहेको छ ।

कृष्ण शाह यात्रीले लेख्नुभएको यस आयाताकारको पुस्तकको मूल विषयवस्तु सारस र पानी रहेको छ । पुस्तकभित्र नौवटा पढ्नुपर्ने विषयवस्तुहरू छन् । शीर्षकहरू कुवा, इनार, खोला, पोखरी, धारा, झरना, सागर, बादल  र पहाड हुन् । पुस्तकभित्र विभिन्न चित्रहरू छन् ।  गातामा बादलसँगै पहाडको बिचमा उभिएको सारसको ठूलो चित्र छ । मलाई यस पुस्तक पढ्न जम्मा १० मिनेटको समय लाग्यो । पुस्तकमा सजिलै पढ्न सकिने नेपाली शब्दकोशका सजिलै बुझ्ने खालका शब्दहरू प्रयोग भएका छन् । कसैले पनि पानी माग्दा दिनुपर्छ भन्ने कुरा यस पुस्तकमा भन्न खोजिएको छ । पुस्तकको अन्तिममा सारसले पानी भेट्टाएको कुरा मलाई सबैभन्दा रमाइलो र महत्वपूर्ण लागेको कुरा हो । पुस्तकका सुन्दर चित्रहरू र यस कथाले दिने सन्देश- अप्ठ्यारो पर्दा अरुलाई सहयोग गर्नुपर्छ भन्ने महत्त्वपूर्ण शिक्षाका कारण मलाई यस पुस्तक मनपरेको हो । पुस्तकमा कतै पनि कमी कमजोरी देखिँदैनन् । त्यसैले सच्याउनुपर्ने कुरा पनि छैनन् । यो पुस्तक मेरै उमेर बराबरका ६ देखि १० वर्षका साथीभाइ तथा भाइबहिनीलाई पढ्ने सुझाव दिन्छु । यो पुस्तक पढेर नयाँ शब्दहरू जान्ने यस्तै अरु पुस्तक पढ्न सजिलो हुने र महत्त्वपूर्ण शिक्षा पाइने जस्ता फाइदाहरू मिल्छन् । यो पुस्तक रमाइलो र महत्वपूर्ण छ त्यसैले सबै विद्यार्थी साथी र भाइबहिनीलाई पढ्न आग्रह गर्छु ।

कक्षा: चार (सन)
बालजागृति इङ्लिस सेकेण्डरी स्कुल, हेटौँडा-२, वासुदेव मार्ग