१ साउन, मकवानपुर
नवसाहित्य अनलाइन । मणिक रत्न शाक्यद्वारा लिखित चट्याङका उटपट्याङ्ग कथा विधाको पुस्तक हो। यस पुस्तकलाई २०७० सालमा भूँडीपुराण प्रकाशन, बागबजारले प्रकाशनमा ल्याएको हो। पुस्तकमा ७२ पाना सङ्ख्या छन् आईएसबीएन नम्बर ९७८ ९९३७ ६२५ १७ ३ रहेको यस पुस्तकको मूल्य व्यक्तिगत १०० र संस्थागत २०० तोकिएको छ।
मलाई लेखकले लेख्ने तरिका धेरै राम्रो लाग्यो। लेखकले अहिलेसम्म धेरै कृतिहरू लेख्नुभएको छ । जस्तै: झ्याइँकुटी, अर्को झ्याइँकुटी, फुच्चे सिस्नुपानी, सिस्नुपानी उखान आदि । त्यसो त कामना, फित्कौली, सिस्नुपानी हिमालखबर पत्रिका, मधुपर्क लगायतका अन्य धेरै पत्रपत्रिका तथा अनलाइनहरूमा उहाँका विविध रचनाहरू प्रकाशित भएका छन् । उहाँको यो प्रकाशनको हिसाबले पाँचौं कृति हो । यस पुस्तक हास्यव्यङ्ग्य विषयलाई लिएर लेखिएको हो।
हामीले यस पुस्तकमा पढ्नुपर्ने उपशीर्षकहरू २२ वटा रहेका छन्। ती शीर्षकहरूमध्ये रिजालको विशाल बगैँचा, चट्याङ चौतारी, प्रकाशकीय, भन्न मिल्दैन भन्दा, शुभकामना, सञ्चै, विकृतिको थुप्रोमाथि कुप्रो पर्दा लगायत अन्य थुप्रै हास्यव्यङ्ग्यात्मक उपशीर्षकहरूले यस पुस्तकलाई पुस्तकको आकार प्रदान गरेको छ। पुस्तकको आकार सानो र आयताकारको भएपनि यसभित्रका विषयवस्तुले भने पाठकलाई निकै नै मनोरञ्जन प्रदान गर्ने खालको रहेको छ। मलाई यो पुस्तक पढ्न एक दिनभरि लाग्यो पुस्तकमा लेखिएका भाषा वा शब्दहरू उत्तिकै रमाइला र पढ्दै गर्दा निकै नै हँसाउने खालका रहेका छन्।
यस पुस्तकले हामीलाई मानिस कहिल्यै निराश भएर बस्नुहुन्न, मानिसले जीवन जिउन जान्नुपर्दछ अनि जीवन बाँच्न जानियो भने यो रङ्गीन र रमाइलो छ भन्ने कुरालाई दर्शाएको छ। जसरी यस पुस्तकमा चट्याङले विभिन्न उटपट्याङहरु गरेर आफूलाई जीवनभर हँसाएर बाँच्न सफल भएको देखाएको छ, त्यसैले हामी मानिसहरू पनि आफूले गरिरहेको काम प्रति सन्तुष्टि भएर हाँसेर बाँच्न सिक्नुपर्छ भन्ने कुरा यस पुस्तकले सिकाउन खोजेको छ। मलाई यही नै विषयवस्तु पढ्दै गर्दा नै पुस्तक असाध्यै मन परेको हो। यो पुस्तक जुनसुकै तह र जुनसुकै उमेरका मानिसहरूले पनि पढ्न सकिने पुस्तक हो।
दिप्सन गौतम
कक्षा ६
बालजागृति अङ्ग्रेजी माध्यमिक विद्यालय
