१ साउन, मकवानपुर
नवसाहित्य अनलाइन ।
मैले पढेको पुस्तकको नाम ‘केही प्रसिद्ध व्यक्तित्व’ हो। यो पुस्तक जयप्रसाद लम्सालले लेख्नुभएको हो। जीवनी विधाको पुस्तक विक्रम सम्वत २०७७ मा कथालय, काठमाडौँबाट प्रकाशित भएको हो। यो पुस्तकको आईएसबीएन नम्बर ९७८ ९९३७ ०८१ रहेको छ। ५२ वटा पृष्ठ सङ्ख्या भएको यस पुस्तकको मूल्य १४५ रहेको छ ।
यस पुस्तकमा लेखकले केही चर्चित व्यक्तित्वहरूको बारेमा लेख्नुभएको छ लेखकले अहिलेसम्म विभिन्न कृतिहरू लेखिसक्नुभएको छ। यस पुस्तकमा विभिन्न देशहरूका नाम चम्काउने त्यस्ता प्रसिद्ध व्यक्तित्वहरूको जीवनीबारे जानकारी दिन खोजिएको छ। यस पुस्तकभित्र अब्राहम लिङ्कन, महात्मा गान्धी, म्याडम क्युरी, लियो टल्सटोय, लक्ष्मीप्रसाद देवकोटा, लियोनार्दो दा भिन्ची, फ्लोरेन्स नाइटिङेल लगायतका अन्य विश्वप्रसिद्ध व्यक्तित्वहरूको जीवनी लेखिएको छ । यस पुस्तकको गातामा यस्ता प्रसिद्ध व्यक्तिहरूको चित्र कोरिएको छ ।
मलाई यो पुस्तक पढ्न एक दिनभरिको समय लाग्यो र यस्ता विश्वप्रसिद्ध व्यक्तिहरूको बारेमा जान्न पाउँदा मलाई असाध्यै खुसी पनि लाग्यो। हामीले सुन्दै आएका तर उहाँहरूको बारेमा सबै जानकारीहरू थाहा नपाएको हुँदा यो पुस्तक पढेर ती प्रसिद्ध व्यक्तित्वहरूको बाल्यकालदेखि मृत्यु अवस्थासम्मका र जीवन बाँचुन्जेल आफ्नो देश र कला भाषा, संस्कृति, साहित्य र समाजसेवाको क्षेत्रमा उहाँहरुले पुर्याउनु भएको योगदानको बारेमा थाहा पाउँदा मलाई असाध्यै रमाइलो लाग्यो। खाने मुखलाई जुँगाले छेक्दैन भन्ने नेपाली उखानलाई अब्राहम लिङ्कनको जीवनमा सही प्रयोग हुन गएको यो विषयले मलाई प्रेरणा मिलेको छ।
महात्मा गान्धीको सानै उमेरमा बिहे भएको भन्ने प्रसङ्गले पनि अर्को नौलो जानकारी प्राप्त भएको छ। विश्वमै पहिलोपटक रेडियम धातु पत्ता लागेको र सोही बापत विश्वका उत्कृष्ट पुरस्कारहरू हात पारेको भन्ने जानकारी पढिरहँदा म्याडम क्युरीलाई पनि प्रेरणाको स्रोत मैले ठानेको छु। गरिब परिवारमा जन्मेर पनि विद्यार्थीहरूलाई पढाउनका लागि विद्यालय खोल्ने लियो टल्सस्टयको सामाजिक कार्यले मलाई निकै प्रभावित पारेको छ। नेपाली भाषा र साहित्यमा आफ्नो बेग्लै स्थान बनाउन सफल लक्ष्मीप्रसाद देवकोटालाई अंग्रेजी साहित्यका महान साहित्यकार सेक्सपियरसँग तुलना गरेको विषयले पनि मलाई नौलो जानकारी प्राप्त भएको छ। विश्वमै कलाको क्षेत्रमा चमत्कार गर्न सफल लियोनार्दो दाभिन्चीले पहिलोपटक हवाईजहाजको नक्सा कोरेको भन्ने जानकारी पनि मैले प्राप्त गरे।
त्यसैले मलाई विभिन्न विषय र क्षेत्रको बारेमा जानकारी गराउने यो पुस्तक अति नै महत्वपूर्ण लाग्यो।
अन्तमा ज्ञानको खोजीमा हिँडिरहेका सम्पूर्ण साथीहरुलाई यस पुस्तक पढ्न अनुरोध गर्दछु र यति राम्रो ज्ञानवर्धक पुस्तक लेखिदिनुहुने लेखकलाई धन्यवाद दिन चाहन्छु।
आध्या कोइराला
कक्षा ६
बालजागृति अङ्ग्रेजी माध्यमिक विद्यालय
