श्रावण ३, बिहीबार
नवसाहित्य अनलाइन । राष्ट्रिय युवा सेवा कोषद्वारा युवावर्ष मोती पुरस्कारका लागि आवेदन आह्वान गरिएको छ । हरेक वर्ष प्रदान गरिँदै आएको यस पुरस्कारका लागि १६ वर्ष पूरा भइ ४० वर्ष ननाघेका इच्छुक साहित्यकारहरूबाट आवेदन हुनेगरी सूचनामार्फत् आह्वान गरिएको हो ।
आवेदनका लागि संस्थाले देहायका ५ वटा योग्यताहरू तोकेको छ ।
१) नेपाली साहित्य सिर्जनामा संलग्न रही गहनता, मौलिकता, भाषा तथा शैलीमा नविनता भएका स्तरीय कृतिहरू प्रकाशन गरेको ।
२) नेपाली भाषा साहित्यको क्षेत्रमा खोजपूर्ण अनुसन्धान गरेको ।
३) साहित्यकारहरूको सम्मान गर्ने कार्यमा संलग्न रहँदै आएको ।
४) नेपाली भाषा साहित्यको श्रीवृद्धिका साथै संस्थागत समुन्नतिमा अहम् भूमिका खेलेको ।
५) साहित्यिक श्रृङ्खलाहरूको आयोजनामा स्रष्टाहरूका निमित्त सक्रिय भूमिका खेली मोतीरामीय प्रवृत्तिको अनुसरण गरेको ।
यस्तै पुरस्कारका लागि आवेदन भर्दा देहायका कागजातहरू पेश गर्नुपर्ने आयोजकले जानकारी दिएको छः
१) आवेदनको साथै (१) हालसालै खिचिएको पासपोर्ट साइजको फोटो र (२) आफूलाई चिन्ने २ जना व्यक्तिको नाम र सम्पर्क नम्बर दिनुपर्नेछ ।
२) पुरस्कारको लागि “म किन योग्य छु” भनेर बढीमा २ पेजको “आफ्नो बारेमा आफैँले तयार गरेको” लेख पेश गर्नुपर्नेछ ।
३) व्यक्तिगत विवरण (CV) बढीमा ५ पेज ।
४) प्रकाशित कृतिहरू एक/एक प्रति (फिर्ता नहुने) पेश गर्नुपर्नेछ ।
५) नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य रुपमा संलग्न गर्नुपर्नेछ ।
२०८१ साउन ३२ गते बेलुकी ५ बजेसम्म आवेदन भरिसक्नुपर्ने सदस्य सचिव डा. विष्णुबहादुर भण्डारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । २०८० मा सो पुरस्कार बारा जिल्लाका युवा साहित्यकार प्रमोद शर्मा दहाल (प्रमोद सारंग) लाई प्रदान गरिएको सो पुरस्कारको राशि ४० हजार रुपैयाँ रहेको छ ।
यस कोषले नारायणगोपाल युवा सङ्गीत पुरस्कार, अरनिको युवा कला पुरस्कार, शारीरिक अपाङ्गता भएका गरीब तथा प्रतिभावान विद्यार्थीहरूलाई एमबिबिएस अध्ययनका लागि प्रोत्साहनस्वरूप छात्रवृत्ती पुरस्कार आदि प्रदान गर्दै आइरहेको छ ।
