तिमीलाई लाग्दैन ?
जिन्दगी प्रश्नै प्रश्नहरू बोकेर मृत्युतर्फ
लम्किरहेको यात्रा हो

यही यात्राको सहयात्री हो परिवार
उदास छौ?
कि निराश?
कि हतास?

भनेनन् कि क्या हो तिमीलाई
आमाको सारीमा परेका गाँठोहरूले
यादहरूले मनमै गाँठो पार्छन् भनेर

अनि सिकाएनन बाका कुर्कुचाहरूले
रहर पूरा गर्न मिहिनेत गर्नुपर्छ भनेर

बुझेनौ दिदीका सहानुभूतिका शब्दहरूमा
रहर, इच्छा र आकाङ्क्षा मर्न पनि सक्छन् भनेर

वेवास्ता गर्यौ कि क्या हो,
दाइका गुनासोहरूलाई
कि पैसाको अभावमा आफन्तसँगको सम्बन्ध रिन्यु गर्न सकिन्न भनेर
देखेनौ भाउजुका आँखाहरूमा
प्रेमका लागि रोएका आसुको रङ ?

बुझ्यौ होला रहर पूरा गर्न लागेका
भाइका अनिँदा रातसँगको पौठेजोरी ?

नियाल्यौ होला बहिनीलाई
र थाहा पायौ होला
नसुतेरै देखिएका सपनाहरूको आकार ?

हिजो झिझिँदा घर छोडेको तिमीले
आज सम्झिँदा फोन गर्छौ ?
हिजो मात्तिदा घर छोडेको तिमीले
आज आत्तिँदा फोन गर्छौ ?

कस्तो सपना देखे थियौ
सहर आउने यात्रामा सुतिरहँदा ?

कुन वाक्य थियो अन्तिम पल्ट आमाले बोलेको ?
याद छ कसरी हेर्नू भयो बाले अन्तिम पल्ट ?

ओ भुइँमान्छे
के रहर बोकेर आएका हौ गाउँबाट ?
तिम्रो कुन इच्छा सहरको कुन कुनोले पूरा गरिदियो ?
पूरा गर्न बेहद मन लागेको पहिलो सपना कुन थियो ?
सहर आएको पहिलोपटक
कुन कुराको आवश्यकता अति नै आवश्यक लागेको हो ?
कुन रहरको पहिलोपटक इति श्री भएको हो ?

ओ लार्भा !
अनि बन्यौ त यो सहरमा पुतली ?

ओ लार्भा !
– पूर्णिमा गिरी
अर्घाखाँची