श्रावण १३, आइतबार
नवसाहित्य अनलाइन ।
सावित्री बज्यैले पति चिरञ्जीवी बुढालाई बिहान चिया पिउन उठ्नुस भनेर घच्घच्याउदा सिताङ् भएको चाल पाइन् र आँगनमा आएर रुँदै छिमेकीलाई गुहार्न लागिन् ।
०००
स्याँ स्याँ र फ्वाँ फ्वाँ गर्दै चारपाँचजना बुढाबुढीहरू जम्मा भए । एकजनाले नाडी छामेर- “ल स्वर्गवास भएछ । लासलाई तुलसीको मोठमा लगेर राखौँ” भने । अर्कोले भने- “जिउँदोमा भन्दा मरेको मान्छे गह्रुङ्गो हुन्छ, लास बाहिर निकाल्न हामी वृद्धले सक्त्तैनौँ । गाउँमा लाठे भन्नू नै पुछारघरे ठुलो कान्छा र पहलमानमात्र छ्न्, तु बोलाउन पर्यो ।” वल्लोपल्लो घरका बुढाबुढी, छोरीबुहारी, केटाकेटीहरू पनि जम्मा भैसकेका थिए। एउटी बुहारीले भनिन्- “आदेश पाए त एउटा साथी लिएर मैँ उठाइदिन्थेँ नि, तपाईँहरू मान्नुहुन्न । ल पहलमान दाइको मोबाइल नम्बर मलाई थाहा छ । म दुबैजनालाई बोलाउँछु ।”
०००
यता बुढाहरु ढोबाडी खोलामा चिताको बन्दोबस्त गर्न २/३ जना अगाडि नै जानुपर्छ भन्दैछ्न् । बुढीहरु साबित्रीलाई सम्झाउँदै छ्न् । यत्तिकैमा पहलमान र ठुलोकान्छा आएर लासलाई बाहिर तुलसीको मोठमा पुर्याउँछ्न् । छिमेकीले खाडी मुलकमा रहेको छोराहरूसँग कुरा गर्छन् । तत्काल उनीहरु आउन सम्भव नभएपछि गाउँलेहरु दाहसंस्कारको मेसो मिलाउनतिर लाग्छन् ।
०००
ठूलो कान्छाले पल्लो गाउँका ज्यामी नाइकेलाई भने- आज हाम्रो गाउँमा एकजना बित्नु भयो । गाउँका युवाहरू सारा विदेशतिरै छ्न् । मलामी जानैपर्ने भयो । यो पुण्यकार्यमा सहयोग गर्नुपर्यो भाइ हो ।”
उताबाट जवाफ आयो- “आज बेसी साहुको घरमा जस्ता लगाउने काममा जाने निधो गरिसकेका छौं । फेरि तपाईकोँ गाउँका मान्छेले मलामी ज्याला एकहजार दिन पनि किचकिच गर्छन् । उनीहरुको छोराबुहारी विदेशमा कमाइ गरेर बस्ने, यता महङ्गी टुपी डुब्नेगरी बढेको छ । अब दुई हजारभन्दा कममा मलामी जान सकिन्न भन्छ्न् हाम्रा केटाहरू । अझ त्यसमा पनि खाजा खर्च छुट्टै माग्छन् ।” ठूलो कान्छा- “ल यता कुरा गरेर तुरुन्त खबर गर्छु ।”
०००
मलामी जाने युवाहरुको माग सुनेर यता बुढाहरुले कुरा काट्न सुरु गरे- “कस्तो जमाना आयो ? विवाहमा बाजाको टोली भनेझैं मलामीको पनि टोली गठन गरेछ्न् ।” एकछिनपछि कुरा टुङ्गियो- “ल सातजनाको टोलीलाई बिसहजारमा ठेक्का दिने भनेर कुरा टुग्याउनू ।”
(रिजाल बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष हुनुहुन्छ ।)
