जब जब उनीहरू फूल लेख्थे, जून लेख्थे
नदी र किनाराको बिछोड लेख्दै
झरेका पातमा आफ्नो विम्ब देख्थे
तब उनीहरू ‘काव्यिक’ थिए
तब उनीहरू ‘कवि’ थिए ।
रङहरूमा समय चोबलेर
इतिहास रङ्ग्याउँदै गर्दा
जब क्यानभासमा निर्विरोध उभिन्थे
यौवनले मत्त आइमाईका नग्न चित्रहरू
तब उनीहरू ‘कलात्मक’ थिए
तब उनीहरू ‘कोमल’ थिए ।
बेलाबेला कुनै बहुराष्ट्रिय कम्पनीको
मोटरबाइकको विज्ञापनमा जब टाँगिन्थे
चिल्ला, सेता, पुष्ट तिघ्राहरू
तब उनीहरू ‘सुन्दर’ थिए
तब उनीहरू ‘रहस्यमय’ थिए ।
तर एकदिन सभ्यताको गतिशीलतामा
चेतनाको बाढी पस्यो
इन्कार गरिदिए वनफूलहरूले केवल ‘फूल’ बन्न
बरू रोजे दीप्त अनि चम्किलो ताराको विम्ब
तब उनीहरू ‘काव्यिक’ रहेनन्
तब उनीहरू ‘कवि’ रहेनन् ।
तिमीले हिर्काएका चोटका दागहरू
सुम्सुम्याउँदा सुम्सुम्याउँदै आजित बनेर
जब उनीहरूले सामुहिक प्रतिवादको
मुठ्ठी उठाउन थाले
तब उनीहरू ‘कलात्मक’ रहेनन्
तब उनीहरू ‘कोमल’ रहेनन्
उनीहरूका कविताहरू ‘नारा’ बने
उनीहरूका आवाजहरू ‘जर्जर’ बने।
जब अस्वीकार गरिदिए उनीहरूले
आफू लेखिएको, देखाइएको
तिम्रा इतिहासको नग्न चित्र बन्न
तिम्रा व्यापारको विज्ञापन बन्न
तिम्रा आँखाको शीतलता बन्न
तब उनीहरू ‘सुन्दर’ रहेनन् ।
तब उनीहरू ‘रहस्यमय’ रहेनन्।
हो यो व्यवस्थाको, यो वर्गको,
साहित्य, कला, सङ्गीत, भूत
या वर्तमानका फित्तामा
ननापिन सक्छन् यी ‘नाराहरू’
नअटाउन सक्छन् यी ‘इनकलाबहरू’
तर यो सत्य हो कि
तिमीले लगाइदिएको काँडेतार तोडेर
नाङ्गो पैतालाले कोशौँ दूरीको यात्रा नापेपछि
उनीहरूले कलम भेट्टाएका छन्।
उनीहरूले कलम भेट्टाएका छन्
-आरती आचार्य
(म्याग्दी)
