श्रावण १७,बिहिबार
नवसाहित्य अनलाइन ।

नदेखेपछि सम्भावनाको अङ्कुरण
नभेटेपछि भविष्यको सगोल चित्र
भक्कानिएर एउटा मलिन अनुहार
पढाइको रसिद बोकेर
आइपुगेको छ
विश्वविद्यालयदेखि विमानस्थलसम्म ।

दृश्यमा,
अस्तव्यस्त सडकको छातीमा के देखिएन ?
स्टेशनरीमा बिल बढाइरहेको लेखापाल,
समस्याहरू छलेर बेतोडले हुइँकिदै गरेको राज्य,
घरैपिच्छे टाँगिएका विदेशी भाषाका होर्डिङ बोर्डहरू
त्यही घरहरूबाट हतारमा निस्किरहेका मलिन भविष्यहरू
साना अक्षरका मलेसिया, दुबई, कतारका श्रम कारखानाका विज्ञापनहरू
त्यहीँबाट निस्किरहेका ठेला उठेका हत्केलाहरू
आफ्नै बिक्रीको विज्ञापन छातीमा टाँसेर टोलाइरहेका व्यवसायीहरू
एसीको हावामा लहराइरहेको सुकिलो बैङ्क
ऋण म्याद थप नपाएसँगै सुसाइड नोट लेखिरहेको व्यापारी
एक्स्पायर्ड लाइसेन्सले देश चलाइरहेको सिंहदरबार
अदालतसँगै बाटैमा बिक्रीमा राखिएको धर्मको कारखाना
बिरामी बोकेर दौडिरहेका आफन्तहरू

पुगेपछि विमानस्थल
देखियो,
बाकसमा आइरहेको श्वास झिकेको मान्छे
घटस्थापनाकै अघिल्लो दिन घर छाडेर हिँडेका युवाहरू
प्रेमिका छाडेर मुग्लान निस्किएको कलिलो प्रेम
फर्कने नफर्कने कौतुहलताले गालेको अनुहारहरूको भिड
यति हिँडेपछि देश जम्मै देखिने रहेछ एउटै फ्रेममा ।

सन्त्रासको भुमरीमा
एक्लै आइपुगेको हुँ आफ्नै बिदाइमा
प्रश्नहरूको एम्बुसमा उभिएर
आफैँलाई सोधिरहेछु
फर्केर तँ कहिले आउछस् ?

–हेटौँडा–५, मकवानपुर
सम्पर्क नम्बर: ९८५५०६९८५०