श्रावण १७, बिहिबार
नवसाहित्य अनलाइन ।

भीमफेदीमा जन्मेका थे एक छवि राम्रा
पछि यिनै हुन गए लोक कवि हाम्रा
कतै भए शीतल जून कतै न्यानो घाम
गणेशलाल श्रेष्ठ थियो एउटा प्रिय नाम

साहित्यमा थियो उनको धेरै योगदान
हुन गए लोक कवि पाए ठूलो मान
सिर्जनाका विधाहरु रच्थे थरिथरि
सारा कीर्ति फैलिएर पुग्यो देशैभरि

गीत लेख्थे भजन लेख्थे मिलाएर लय
चेतनाका नाटक लेखी गर्थे अभिनय
वरपर समाजमा जे जे कुरा देखे
तिनै कुरा मिसाएर व्यङ्ग्य पनि लेखे

शब्द सङ्गीत आफैँ रचे गीत आफैँ गाए
आफ्नै गाउँ पाखासँग मीठो प्रीत लाए
बहुमुखी प्रतिभाका थिए धनी उनी
आफ्ना धेरै कृतिभित्र बाँचे जुनी जुनी

सिर्जनामा रमाउँथे सम्झी आफ्नै माटो
बरालिने युवालाई देखाइदिन्थे बाटो
अँध्यारोमा उनी थिए चेतनाका ज्योति
भिमफेदीको माटोभित्र उब्जिएको मोति

मलाई पनि तिमीजस्तै कवि हुन मन छ
तिम्रोजस्तै नाम राखी चुली छुन मन छ
अमूल्य यो समयलाई खेर फाल्नु साटो
अबदेखि पछ्याउँछु म नि तिम्रो बाटो

कुनै दिन जाने छु म तिम्रो जन्म गाउँ
चढाउँछु दुइटा फूल सम्झी तिम्रो नाउँ
तिमीलाई सम्मान गर्छु मन फुकाएर
श्रध्दा भक्ति अर्पण गर्छु शीर झुकाएर ।।

शीर्षकः लोक कविको नाउँमा
-अनसूया खनाल
हेटौँडा-१२, मकवानपुर ।