साउन १८, शुक्रबार
नवसाहित्य अनलाइन । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले ‘पद्मश्री साहित्य पुरस्कार २०८०’ का लागि उत्कृष्ट पुस्तकको संक्षिप्त सूची सार्वजनिक गरेको छ।
यसअघि प्रतिष्ठानले १५ पुस्तक समेटिएको उत्कृष्ट विस्तारित सूची सार्वजनिक गरेको थियो भने मंगलबार सोमध्येबाट पाँच पुस्तकहरू छनोटमा परेका हुन् । जसमा निम्न पुस्तकहरू रहेका छन्ः
१. कृष्ण गौतमको उपन्यास अद्वैत
२. सानु शर्माको कथा संग्रह अर्को देशमा
३. रोशन शेरचनको निबन्ध संग्रह गल्ली संसार
४. कुमार नगरकोटीको संस्मरण जोगियाना
५. गोविन्द कुसुमको उपन्यास भृकुटी
२०८० सालमा प्रकाशित १८६ वटा साहित्यिक पुस्तकबाट उत्कृष्ट पुस्तक छानिएको प्रतिष्ठानले जनाएको छ। यीमध्ये एउटा पुस्तकले तीन लाख राशिको पद्मश्री साहित्य पुरस्कार प्राप्त गर्नेछ।
वार्षिक रूपमा दिइने सो पुरस्कार वि.सं. २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरूमध्ये उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ। गणेश रसिकको ‘दशगजामा उभिएर’ कृतिलाई पहिलो पद्मश्री पुरस्कार दिइएको थियो भने २०७९ मा डा. देवीप्रसाद सुवेदीको ‘मनु’ कृति पुरस्कृत गरिएको हो ।
