यात्राको उद्देश्य कतै पुग्नु मात्रै होइन, यो एउटा लत हो: अनमोलमणि
श्रावण १९, सोमबार
नवसाहित्य अनलाइन । झरना साहित्य परिवार (झसाप) का संस्थापक रमेशमोहन अधिकारीको नियात्रा कृति ‘संयात्राको संयोग’ सार्वजनिक गरिएको छ । शनिबार एक झसापको ३०६औँ साहित्यिक शृङ्खलाको अवसरमा अधिकारीको सातौँ (पाँचौँ साहित्यक) पुस्तक विमोचन भएको हो ।

विमोचनमा समीक्षकद्वय रजनी पौडेल र दीपक गौतमले आ-आफ्ना समीक्षकीय दृष्टिकोण प्रस्तुत गर्नु भएको थियो । पुस्तकका सम्बन्धमा पौडेलले भन्नुभयो- “नेपालको सुदूर पूर्व हुँदै भारतको दार्जिलिङ सिक्किमदेखि पश्चिममा कर्णाली हुँदै सुदूरपश्चिममा महाकालीपारीका चाँदनी दोधारासम्म, केही वर्षदेखि नेपालको नक्सामा थपिएको लिपुलेक मात्र नभइ दक्षिण भारतका क्षेत्र भ्रमणका क्रममा आफूले देखेका, भोगेका तथा पारिवारिक र साथीसँगीहरूसँगको भ्रमणका क्रममा प्रत्यक्षतः महसुस गरेका घटनाक्रमहरूलाई समावेश गरी पुस्तक लेख्नुभएको छ । तर अधिकारीले आफू जन्मिएको ठाउँका बारेमा गाउँका मानिसहरूको व्यवहार, मायाले पठाउने कोशेली अनि विविध विषयलाई पुस्तकमा समेट्दा समेट्दै पनि आफ्नै पैतृक थलोको नाम किन रह्यो भन्ने कुरालाई उठान गर्दा पाठक भएर ममा उब्जिएका जिज्ञासा मेटिने आशा गर्न सक्थेँ कि !”

लेखकले आफू पुगेको स्थानहरूको नाम के कसरी रहेको, त्यहाँका फरकपन के हुन् तथा छिमेकी मुलुकले सीमा चेपाइको कारणले हस्तक्षेपका विषयहरू उल्लेख भएकैले पाठकले घरमा बसेर आफू पनि सँगसँगै घुमेको आभास हुने अपेक्षा गर्न सकिन्छ । कर्णालीमा आफू पुगेको क्षेत्रमा बाटोको विकास भएको देखेर लेखक छक्कै पर्नु भएको तर सिमामा जङ्गे पिल्लर रातारात सर्नु अनि टनकपुर बाँधमा नेपाल दुख्नु जस्ता भावुक कुराहरू लेखिनुले लेखक देशभक्तिले ओतप्रोत हुनु भएको पाइन्छ । देशमा विकास र समृद्धिको चाहना राखिएको यस नियात्रामा बुढ्यौली साहित्य तथा नवसर्जकहरूका साथमा यात्रा गर्दै गाउँमा अतिथि देवो भवः को संस्कार जीवितै रहेको तर कतिपय होटल व्यवसायमा सुधार गर्नुपर्ने विषय लेखिएका छन् । यस्तै पुस्तकमा सुधार गर्नुपर्ने पक्षहरूका कुरा गर्दा सामान्य प्राविधिक गल्तिहरू देखिएका छन्, त्यसलाई सुधार गर्नु आवश्यक देखिन्छ । लेखक आफू पुगेको स्थानको वस्तुस्थिति तथा गहिराइमा अझै पुग्न सकिने ठाउँ रहेकै छ ।”

समीक्षकीय टिप्पणीका क्रममा दीपक गौतमले भन्नुभयो- “युरोपको भ्रमणका यात्रावर्णन भ‌एता पनि ताना शर्माको ‘मिनाई साँघुको मेला’ देखि ‘बेलायततिर बरालिँदा’ सम्म आइपुग्दा नेपालमा ‘नियात्रा’ लेखनको आरम्भ भ‌एको पाइन्छ । ‘घनघस्याको उकालो काट्दा’ नियात्राले पाठकलाई सँगसँगै डोर्‍याएर हिँडेको आभास हुने हुँदा त्यो नै नियात्राको शक्ति हो । यस्तै अधिकारीले पनि झसाप, नवसर्जकलगायतका संस्थाहरूका साथै पारिवारिक र साथीसँगीसँगको यात्रा, चिया कविता, सहयात्राका साथमा २६ र एकल यात्राका क्रममा २ वटा यात्रा विवरणहरू यस पुस्तकमा समावेश गर्नु भएको पाइन्छ । पुस्तकमा उल्लेखित विषयवस्तुहरूको साक्षी आफू पनि भएको र विभिन्न व्यक्ति र संस्थासँगको सहयात्रा रहेकोले पनि पुस्तकको नाम ‘संयात्राको संयोग’ राखिएको हुनसक्छ ।”

उहाँले नियात्रा लेखन सामान्य यात्रा वर्णन मात्र होइन भन्ने बालकृष्ण पोखरेलको भनाइ उल्लेख गर्दै नियात्रामा चिनिएका नामहरू ताना शर्मा, जय छाङ्छा, निर्मोही व्यासबारे उल्लेख गर्नुभयो । यस्तै उहाँले नियात्रामा गीता त्रिपाठीलगायतका लेखकहरूको धारणा राख्नुभयो । साथै सातै प्रदेशका भूगोल टेक्नु भएका अधिकारीले सेवा निवृत्त जीवनको सदुपयोगस्वरुप बाटो, पुलपुलेसाका नाम, तथ्य र तथ्याङ्कलाई समेत उल्लेख गर्दै पुस्तक लेख्नु भएकोले उहाँकै अघिल्ला कृतिहरूभन्दा परिष्कृत, परिमार्जित र जीवन्त अभिव्यक्तिहरू समावेश भइ पुस्तकाकार भएको उहाँले बताउनुभय भने पुस्तकमाथि आफ्ना पाठकीय तथा समीक्षकीय दृष्टिकोणका साथ मकवानपुरमा सङ्ख्यात्मक हिसाबले नियात्रा लेखनमा अग्रस्थानमा रहनु भएको अधिकारीबाट विगतमा अझ बढी अपेक्षा रहेको बताउनुभयो ।

मन्तव्यकै क्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले भन्नुभयो- “साहित्यमा नेपाल र बाहिर पनि लेखिइरहेका रचनाहरूमा घटनाकेन्द्रित विषयवस्तु बढी भ‌इरहेको तर काव्यात्मक मिठास कतै छुटिरहेको हो कि ! कवितामा बिम्बभन्दा वर्णनात्मक हुँदै ग‌इरहेको पाइन्छ । पुस्तकले नियात्रा लेखनमा मानक कृतिको स्थान लिने विश्वास र कामना गर्दछु ।”

शिक्षाविद् देव श्रेष्ठले झरना साहित्यको स्थापना र सक्रियतामा मकवानपुरमा नै साहित्यिक गतिविधिमा उल्लेख्य योगदान गरेर झसापलाई यहाँसम्म ल्याइपुर्‍याउन लेखक अधिकारीले थुप्रै कामहरू गर्नु भएकोले मकवानपुरले उहाँलाई श्रद्धा गर्ने र लेखनमार्फत् सक्रिय रहिरहनका लागि शुभकामना व्यक्त गर्नुभयो । यस्त उहाँले अग्रजले लेखेका साहित्यहरूमाथि नवपुस्ताले अध्ययन, अनुसन्धान, विमर्श गर्नुपर्ने बताउँदै गणेशलाल श्रेष्ठले पुस्तकहरू प्रकाशन गरी मकवानपुरको पहिलो कविका रूपमा पहिचान बनाउनुभ‌एकोले उहाँलाई सम्झँदै झण्ड‌ै ८ दशकअघि लेख्नुभएको लोक कवि गणेशलाल श्रेष्ठको कविता वाचन गर्नुभयो ।

लेखक अधिकारीले धन्यवाद मन्तव्यका क्रममा अनमोलमणिले सम्पादन गर्नुभ‌एको यो पुस्तकको पछिल्ला पृष्ठमा उहाँको भनाइ रहेको उल्लेख गर्दै समीक्षकहरूको दृष्टिकोणअनुसार आफूले कसैसँग तुलना नगरी आफूलाई लागेको विषयवस्तु र धारणा समावेश गरी पुस्तक लेखेकाे जनाउनुभयो । यस्तै उहाँले थप गर्नुभयो- “आफ्ना अघिल्ला पुस्तकभन्दा अझै परिस्कृत र रचनात्मक रहेको तथा अब बाँकी रहेका नेपालका ५ जिल्लाको भ्रमणपछि सम्पूर्ण जिल्लाहरूको बारेमा धेरथोर ज्ञान लिने ईच्छा रहेको छ ।” एकल भ्रमण गर्ने आफ्नो उमेर र शारीरिक अवस्था समेत नरहेकोले अरूका साथमा घुम्दा कतिपय विषयमाथि अध्ययन कमी हुने वा मिहिनरूपमा बुझ्न नपाइने हुनुका साथै भविष्यमा देश घुमिसकेर मात्रै नजिक नजिकका छिमेकी मुलुकहरू घुम्ने र त्यहाँका विभिन्न विषयवस्तुहरू पुस्तकाकार गर्ने आफ्नो उत्कट इच्छा रहेको बताउनुयो ।

पुस्तकका सम्बन्धमा अनमोलमणिको विचार- “यात्राको उद्देश्य कतै पुग्नु मात्रै होइन, यो एउटा लत हो । समाज देख्ने, जीवन बुझ्ने लत । समाज हामी बाँचेको समय हो । र, आफू बाँचेको समय हेर्न हिँडिरहनु रमेशमोहन अधिकारीको विशेषता हो ।”

झसापकी उपाध्यक्ष गायत्री रूपाखेतीले स्वागत गर्नु भएको कार्यक्रममा अतिथिहरूले शुभकामना मन्तव्य राख्नु भयो । विमोचन कार्यक्रमको अध्यक्षता झसाप अध्यक्ष विश्वनाथ सञ्जेलले गर्नुभयो भने रामचन्द्र आचार्य ‘फुर्सती’को प्रमुख आतिथ्यता रहेको थियो ।

बुलबुल प्रकाशनद्वारा प्रकाशित २०३ पृष्ठको यस पुस्तकको मूल्य ४ सय ५० राखिएको छ । आधा दर्जन साहित्यिक पत्रपत्रिकाहरू सम्पादन गर्नु भएका अधिकारीले झण्डै १ दर्जन संस्थाहरूले सम्मान तथा पुरस्कृत गरेको छ भने उहाँका सम्भावनाको सेरोफेरो (संस्मरण तथा नियात्रा सङ्ग्रह, २०६३), घुम्तीहरू छेलिएपछि (संस्मरण तथा नियात्रा सङ्ग्रह २०७४), गुराँस र युद्ध (कविता सङ्ग्रह, २०७५) र आफैँसँग (संस्मरण तथा नियात्रा सङ्ग्रह, २०७८) पछि ‘संयात्राको संयोग’ पुस्तक प्रकाशन भएको हो । त्यसो त उहाँले नेपाली भाषा व्याकरण र अभ्यास पुस्तक समेत प्रकाशन गराउनु भएको छ ।

मकवानपुर बहुमुखी क्याम्पसमा आयोजित पुस्तक विमोचन कार्यक्रममा साहित्य सर्जक, साहित्यसेवी, पाठक र सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रह्यो ।

(मकवानपुरबाट संप्रस पौडेलद्वारा संप्रेषित)