- नवसाहित्य
तय गर्दै पृथक् गन्तव्य
समेटेर आँसु सार्दै समयका कदम
बढ्दै छन् अघि
आफ्नै जिन्दगीको धराले
धरतीका निर्वस्त्र ताराहरू
पहिरँदै वस्त्रको एक झलक
छोपिरहेछन् लाज
दुखका अनुहारले
भर्न नसकेर
उडानको चोटिलो प्रहार : आकाशमा
मौनताको भुमरीमा बेरिएका ताराहरु
धुलिंदै छन्
सङ्कुचित आशाका सुरुङहरुमा!
पहराबाट पिपल निस्किएझैँ
म्याग्मा निस्किएझैँ ज्वालामुखी विस्फोटनले
तिमी निस्किनू उडान भर्न
निर्धक्क पखेटा फिँजाई,
निरन्तर उचाइतर्फ!
तारा झर्दैमा आकाश रित्तिने भए,
याचनामा मागेको पुग्ने भए
आकाश यसरी खाली हुन्थ्यो होला
अनि
बगर यसरी ढुङ्गाहरूले भरीन्नथ्यो होला
मेरी आमाका सारा इच्छामा
पूर्णताको नयाँ कदममा
कति ठेस लाग्थ्यो होला!
तिमी त झर्यौ,
बलेर केही क्षणमै सक्कियौ,
बिलायौ यसरी
जसरी बिलाउँछ पानीमा चिनी
तर तिमीसँगसँगै मेरा साहस झरेनन्,
आत्मविश्वास झरेनन्
मेरो हृदयमा
गडिएका अडिगताका खम्बा ढलेनन्
तिमीसँगै प्रकाशघर सक्किने भए
समुद्री लहरमा जीवनको गति चल्ने थिएन
सूर्य डुब्ने बित्तिकै
आकाशमा अस्तित्वको निशानी चम्किने थिएन
थियो त केवल दागिलो चन्द्रमाझैँ
पूर्णिामाको रात अपूर्व आभा छर्दै
किस्ता किस्तामा जिन्दगी पलाउने थियो
कोइलाखानीमा पुरिएर
कहाँ हराएको छ हिराको अस्तित्व
हिलोमा भिजेर
कहाँ घटेको छ र कमलको सुन्दरता
तिम्रा अवषेशहरु
आकाशमै उल्का बनेर चम्कनु
तर ओइलिएर झरेको पटक्कै सुहाउँदैन!
धर्तीको दुखमा अनुहार नलुकाउनू तिमी
अँध्यारोमै बिलाई जान सक्छौ
चिसो तुसारोमा जमेर प्रकाश गुमाउन सक्छौ
छानो चुहिदो छ ओजोनको,
बरु लाभा जस्तै पग्लिएर जान सक्छौ !
स्वतन्त्र उडान
रोशनी चौलागाईँ
हेटौँडा, मकवानपुर





