मकवानपुर, श्रावण १३
हेटौंडामा नव साहित्य अनलाइन साहित्यिक पत्रिकाको शुरूवात भएको छ । हेडम्बा पब्लिकेसन प्रालिद्धारा सञ्चालित अनलाइनको शनिवार शुभारम्भ कार्यक्रमको आयोजना गर्दै नव साहित्य अनलाइन साहित्यिक पत्रिका शुरु गरिएको हो ।
शनिबार नव साहित्य डटकमका सञ्चालक प्रकाश पाण्डेको सभाध्यक्षतामा भएको उक्त शुभारम्भ कार्यक्रममा कृतिकार तथा स्तम्भकार खगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यता एवम् राजनैतिक विश्लेषक स्तम्भकार युग पाठकको विशिष्ट आतिथ्यता रहेको थियो ।
अनलाइनले सर्जकहरूका कृतिहरूबारे चर्चा, बहस, विभिन्न संस्थाहरूको रचना वाचनलाई टेक्स्ट, अडियो/भिडियोमा प्रकाशन/प्रशारण गर्ने तथा सर्जकहरूको परिचय, विद्यालय, कलेजमा साहित्यिक कार्यक्रम आयोजना गर्ने, कार्यशाला, प्रतियोगिता तथा साहित्यसम्बन्धि समाचारजन्य सामग्री प्रकाशन/प्रशारण आदि गर्ने उद्देश्य राखेको छ ।
कार्यक्रममा साहित्यमा शुद्धिकरण आवश्यकता रहेकोले भोक, शोक तथा ईर्ष्याको राजनीतिलाई समेत साहित्यले बदल्न सक्नुपर्ने बताउनु हुदै कार्यक्रमका प्रमुख अतिथि संग्रौलाले लेखकको शक्तिको बारेमा धारणा राख्नुभएको थियो।उहाँले साहित्य सिर्जनामार्फत् जन-जनमा चेतना जगाउनका लागि लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि राजनैतिक विश्लेषक तथा लेखक युग पाठकले मिडियामा आफ्नो विगतको अनुभव बताउँदै वैचारिक ज्ञानका अतिरिक्त सामाजिक र साहित्यिक ज्ञान तथा विचारलाई लिएर नयाँ तरिकाले सोच्नुपर्ने समय आएको, नव साहित्य डटकम र टेलिभिजनले उज्यालो भविष्यको लागि निरन्तर र सामुहिक काम गरेर अनलाइनको भीडमा फरक पहिचान बनाउन सफल हुने बिश्वास राख्नुभयो ।
कार्यक्रममा प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले साहित्यको उर्बर भूमिका रूपमा चिनिने मकवानपुरका शिक्षा क्षेत्रलाई समेत समावेश गरी काम गर्नका लागि सुझाव दिनुभयो ।
पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारीले साहित्य विशेष सामग्रीलाई प्राथमिकतामा राखी काम गर्ने क्रममा साहित्यकार, साहित्यिक संघसंस्थाहरूको सहयोग सबैभन्दा ठूलो भएको र यसको निरन्तरताका लागि आफू सदैव सहयोग गर्न तयार रहेको बताउनुभयो ।
साहित्य सङ्गम तथा सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा आयोजित कार्यक्रममा मकवानपुरलगायत विविध जिल्लाका बिभिन्न साहित्यिक सङ्घसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरू, साहित्य सर्जकहरू, समाजसेवी, राजैनीतिक व्यक्तित्व, सञ्चारकर्मीहरूलगायतको उपस्थीति थियो ।
नव साहित्य अनलाइनका प्रधान सम्पादक निमेष निखिलले सहजीकरण गर्नुभएको कार्यक्रममा नव साहित्य अनलाइनका संरक्षक श्यामकुमार बानियाँले धन्यवाद ज्ञापन दिनुभएको थियो भने कार्याकारी सम्पादक मसान उपासकले स्वागत मन्तव्य राख्नु भएको थियो ।
