लघुकथा प्रतिष्ठान, पोखराको आयोजनामा भुवा´ लघुकथा कृतिको परिचर्चा कार्यक्रम पोखरामा सम्पन्न भएको छ । “मै तुम को ऐसा बनाउङ्गा जो तुम पहेले कभी नहीं थे ।“ ओशोको वाणी उद्धृत गर्दै परिचर्चाको पोको फुकाएका परिचर्चाकार डा. भूमिराज बस्ताकोटीले सुन्दर लघुचर्चा गरेका थिए । “अधिकांश लेखनमा एकतर्फि पाटो मात्रै हेर्ने दृष्टि रहेको हुन्छ तर यसभुवा´ कृतिभित्र कथाकारले घटनालाई अनेक तरिकाले पस्केका छन्´´ उनको भनाइ थियो । लेखक सजग हुँदाहुँदै पनि कतिपय ठाउँमा लेखक चिप्लेका कुरालाई मानवीय त्रृटिका रूपमा समेत औँल्याएका थिए ।
हरेक क्षेत्रमा झैँ लेखनको क्षेत्रमा पनि सर्जकलाई अनेकन चुनौती रहेको र आगामी दिनमा सजग हुँदै लेखन कार्यलाई निरन्तरता दिने प्रतिवद्धता `भुवा´ कृतिका सर्जक जनार्दन दाहालले व्यक्त गरेका थिए ।
साहित्य गतिशील भएझैँ मान्छेको ग्रहणशीलता पनि अनेक किसिमको हुन्छ । पाठकले लेखकलाई सुझाउनका लागि मनपेट खोल्नुपर्छ र लेखकले आफ्ना सिर्जनालाई परिष्कृत गर्दै जानुपर्छ । समय र कालअनुसार विम्ब र भाषालाई समातेर सिक्दै र लेख्दै जाँदा साहित्यको क्षेत्र अझै सुन्दर हुँदै जाने कुरा प्रमुख आमन्त्रित व्यक्तित्व साहित्यकार सरुभक्तले राखेका थिए ।
त्यस्तै कथामा काव्यात्मकतासँगै उभिँदा सुन्दर साहित्यको सिर्जना हुन्छ भन्दै कवि तीर्थ श्रेष्ठ र प्राज्ञ हरिदेवी कोइरालाले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष कल्याण पन्तले स्वागत गरेका थिए भने कार्यक्रम सन्चालन सचिव अमृतले गरेका थिए ।
