सौराहा, १४ साउन ।

पर्यटन नगरी सौराहा शनिबार गजलले गुञ्जिएको छ ।

काव्यकुञ्ज साहित्य प्रतिष्ठान रत्ननगरको आयोजनामा गरिएको कार्यक्रममा एकै मञ्चमा चितवनका २७ गजलकारहरूको ‘वाह वाह’ गजल गुञ्जिएको हो ।

सिमसिमे झरीको पर्वाह नगरी गैरीबारी रिसोर्टमा पुगेका स्रस्टाहरुले विभिन्न भाव र विषयका गजल प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमलाई ६ चरणमा विभाजन गरी स्रस्टाहरुलाई मञ्चमा राखिएको थियो । पहिलो चरणको सुरुवातमा गजलकार सुमन कडरिया प्रस्तुत हुनुभयो । उहाँले पहिलो गजलस्वरुप बहरमा लेखिएको गजल सुनाउनु भयो ।

म रम्दै रहेथेँ तिमी पो रिसायौ
नजिस्की रिसाइ घमण्डै मिसायौ

बुझेको छु मैले जमाना छ स्वार्थी
पछारी लडेको देखेर खिस्यायौ ।

कडरियाले दोस्रो गजल स्वतन्त्र सुनाउनु भयो । कडरियापछि रामशरण थपलिया, सीता कँणेल, मणिराम नेपाल र रामलाल कुमालले गजल सुनाउनु भयो । कार्यक्रममा सबै स्रस्टाले दुई दुईवटा गजल सुनाउनु भएको थियो ।

दोस्रो चरणममा राजेन्द्र घायल, गणेश शर्मा पौडेल, रोजिना पौडेल, गिरीराज अधिकारी र यमुना अधिकारी न्यौपानेले गजल प्रस्तुत गर्नुभयो ।

त्यसैगरी तेस्रो चरणमा चिरञ्जीवी दाहाल, हरिप्रिया रिजाल, विश्वनाथ खनाल, लीला दाहाल अधिकारी र गिरीराज डल्लाकोटीले गजल प्रस्तुत गर्नु भएको थियो । विश्वनाथ खनाल गजलमार्फत यसरी पोखिनु भयो:

उनको नजरमा हेर्छु उदासी देख्छु
लाग्छ सबै सपनाहरू बासी देख्छु

मृगनयन चम्किला उस्तै अधर रसिला छन्
नागबेली घना काला केश राशी देख्छु ।

चौथो चरणमा सुमन अविरत, सरस्वती पौडेल, रामकृष्ण पौडेल अनायास, लक्ष्मण भन्ताना शिरीष, निर्दोष जीवन र विकास बराल गरी ६ जनाले गजल प्रस्तुत गर्नुभयो । यो चरणमा गजलकार निर्दोष जीवनले गजल गायन प्रस्तुत गर्नुभयो ।

त्यसपछि धनराज गिरी, किसान प्रेमी र सरला जोशीले गजल प्रस्तुत गर्नुभयो रमेश प्रभात, विष्णु तिवारी उषा र प्रशान्त सागर अन्तिम चरणमा गजल सुनाउन मञ्चमा उपस्थित हुनुभयो ।

कार्यक्रममा सुनाइएका गजलहरू मिश्रित भावका थिए । धेरैजसो गजल प्रणयभावका थिए भने राजनीतिक बेथिति, देशप्रेम, सामाजिक परिवेश र दर्शनका विविध पक्षमा लेखिएका गजल स्रस्टाहरूले सुनाएका थिए । गजल सुन्न आएका स्रस्टाहरूको पनि बाक्लो उपस्थिति थियो । बाँकेका स्रस्टा मणि अर्यालले चितवनमा आएर गजल सुन्नुको मजा अलग्गै हुने गरेको बताउनु भयो । `म काठमाडौंबाट घर जाने तयारीमा थिएँ, चितवनमा वृहत् गजल वाचनको कार्यक्रम हुने खबर फेसबुकमा देखेँ´, अर्यालले भन्नुभयो- `चितवनका स्रस्टाहरूका गजल सुन्न म यहीँ झरेँ, आजका केही गजल मलाई बेजोड लागे ।´

कार्यक्रमको सहआयोजक रहेको गैरीबारी रिसोर्टका सञ्चालक शिव भुसालले चितवनका स्रस्टाहरूलाई आफ्नो रिसोर्टमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउनु भयो । भुसालले आगामी दिनमा पनि चितवनमा हुने साहित्यिक कार्यक्रमलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।कार्यक्रमका प्रमुख अतिथि केशवराज आमोदी, अतिथि रामबाबु घिमिरे, लेखराम सापकोटा र अम्बिका कार्कीले चितवनको गजल गतिविधि लोभलाग्दो रहेको भन्दै आजको कार्यक्रममा एकैपटक धेरै स्रस्टालाई मञ्चमा ल्याउनु आयोजकको ठूलो उपलब्धि भएको बताउनु भयो ।

काव्यकुञ्ज साहित्य प्रतिष्ठानका अध्यक्ष कमल अर्यालले संस्थाको तर्फबाट काव्य परिक्रमा अन्तर्गत विभिन्न कार्यक्रमहरू नियमितरूपमा गरिरहने योजना रहेको बताउनु भयो । कार्यक्रमलाई हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलीले सहजीकरण गर्नु भएको थियो ।

(लेखाराम सापकोटा, चितवन)