- नवसाहित्य
संप्रस पौडेल
समाचार प्रमुख (नवसाहित्य)
श्रावण ३०, बुधबार
नवसाहित्य अनलाइन । ‘थाहा’ अभियानका प्रणेता रूपचन्द्र विष्टका सम्बन्धमा लेखिएको उपन्यास ‘रूदाने’ को चर्चा चुलिएको छ । पुस्तक टंक चौलागाईँले लेख्नुभएको हो भने साङ्ग्रिला मिडिया ग्रुपले प्रकाशन गरेको हो ।
जनमुखि सहकर्मी रुपचन्द्र (जसरु), रुपचन्द्र दामन नेपाल (रुदाने), राष्ट्रिय पञ्चायत सदस्य (रापस) नामबाट उहाँको भिन्न भिन्न परिचय प्राप्त गर्न सकिन्छ । उनै रूपचन्द्रको व्यक्तित्वमाथि अडिएर आख्यानिकरण गरिएको पुस्तक लेखनका क्रममा लेखक चौलागाईँले स्वर्गीय विष्टको विद्यालय जनकल्याण मावि, घर्तीखोलास्थित विष्टको घरका साथै, विकासघर-दामन, पालुङ, मनहरीलगायतका क्षेत्रहरूमा पुगी स्थानीय व्यक्तिहरू, राजनीतिकर्मी, सामाजिक व्यक्तित्व, पाका मानिसहरूसँग लिएका अनुभव तथा जानकारीहरू नै पुस्तक लेखनको आधार भएको नवसाहित्य अनलाइनलाई बताउनु भयो । वर्तमान परिवेशमा रूपचन्द्रको विचार झनै खड्किएको महसुस भएको बताउने चौलागाईँले रूदानेका व्यक्तित्वका विषयमा बुझ्नेक्रममा भुवन प्रकाश विष्ट (रूदानेका प्रियपात्र तथा माइलाबाका छोरा), अधिवक्ता तथा राजनीतिकर्मी रामनारायण बिडारी, रूदानेका भाइ स्वामी (गुणराज विष्ट), व्यवसायी अजेयराज सुमार्गी, सञ्चारकर्मी पवन पौडेल, साहित्यकार निमेष निखिललगायतका व्यक्तित्वहरूको उल्लेख्य सहयोग रहेको बताउनुभयो । त्यसो त लेखक चौलागाईँले नाटककार, दाना कविताका सुरूवातकर्ता अनि चेपाङ विकासमा उल्लेख्य योगदान दिने साहित्यकार स्वर्गीय तुल्सी थापा (थापा सर) रूदानेपछि सम्झिने अर्का व्यक्तित्वका रूपमा रहनु भएको चौलागाईँ बताउनुहुन्छ ।
१ लाख ३० हजारबाट काँटछाँट गरी १ लाख शब्दमा सजाइएको यस पुस्तकका लेखक चौलागाईँ “जिरो कटेज” (२०६८), “काठमाण्डु गीत” (२०७०), “टालाटुली” (२०७३) र “उबडखाबड” (२०७७) पुस्तकहरूका लेखक हुनुहुन्छ भने हाल लेखन, निर्देशन र अभिनयमा प्रशिक्षण गराइरहनु भएको छ ।
‘रूदाने’ पुस्तक भाद्र १ गते शिल्पी थिएटर, बत्तिसपुतली काठमाडौँमा सार्वजनिकरण गरिने भएको छ । मकवानपुरमा हेटौँडा, पालुङ, मनहरी, फापरबारी आदि क्षेत्रमा पुस्तक चर्चाका क्रममा पुग्ने कार्यक्रम रहेको लेखकले जानकारी दिनु भएको छ । सम्पूर्ण किताब काठमाडौँले वितरण गर्ने यस पुस्तकभित्र सिङ, दलन, गाँठो, आँसु, प्रश्नैप्रश्न, प्रकृति प्रेम, फरक विचार, दमन, महापञ्चहरूको नाच, ढिँडो, घाम काट्ने जस्ता यथेष्ट अध्यायहरूमा बेग्लाबेग्लै विषयवस्तुबारे अध्ययन गर्न सकिनेछ । “घाम काट्ने” अध्यायअन्तर्गत हेटौँडामा मजदुर आन्दोलनको समर्थनका क्रममा भाषण सुन्न आएका स्रोताहरूप्रतिको सद्भावको किस्सा उल्लेख भएको छ । “चेपाङ सभापति” अध्यायमा चेपाङको वर्तमान अवस्थाबारे लेखिएको छ भने जननिर्वाचित प्रतिनिधिलाई थुनिएको विषयबारे चर्चा गरिएको छ । घर अध्यायमा ‘एकराज’ पात्रसँगको रोचक कुराकानी छ । एकराज उप्रेती, मनहरी गाउँपालिकाका पूर्व अध्यक्ष हुनुहुन्छ । विष्टका सङ्गतबाट उहाँको दर्शन, चेतना र व्यवहारले प्रभावित उप्रेतीसँगको प्रसङ्गमा विष्टले फोहोरको थुप्रोबाट पूराना जुत्ताहरू छनोट गरेका र तिनीहरूको मर्मत गरेर बोराका बोरा मजदुरका अगाडि लगेर खन्याइदिएको मात्रै होइन उनीहरूले रमाइ रमाइ जुत्ताको जोडा मिलाएर लगाएका किस्साहरूको लहर रहेको छ । राष्ट्रिय पञ्चायत सदस्य रूपचन्द्र (रापसरु) मा आधारित रही लेखिएको यस उपन्यासमा पापै, अग्निपरीक्षा, यज्ञ कि साङ्गेका साथसाथै पुस्तकको अन्त्यतिर रापसरूकै जीवनको अन्त्यतिरका अध्यायहरू रहेका छन् । जसमध्ये पुस्तकको अन्त्यतिर मृत्यु, मलामी, रोजाइः मृत्यु, मृत्यु घोषणा, तङ्ग्रिने कोशिस, आफ्नै मृत्युको खबर, भोट अठासी, इच्छा मृत्यु अध्यायहरू सजिएका छन् । त्यसो त रूपचन्द्रको निधनलाई ईच्छामरण भन्नेहरू पनि छन् । छाप्रे, मजदुर, गरिब, शोषित, महिलाहरूको अवस्था सुधार हुनुपर्छ र उनीहरूमा सचेतना आउनुपर्छ भन्ने थाहा अभियन्ता विष्टले आफ्नो ज्यान र स्वास्थ्यको बेवास्ता गरेर आफूलाई मृत्युतर्फ धकेलिदिएका बताइन्छ ।
यस्तै पुस्तकमा देवघाटमा नारायणी नदीमा फाल हालेका किस्साबारे चौलागाईँले “रुपचनको भुत” अध्यायभित्र भाइ गुणचन्द्रको ब्रतबन्धका किस्साहरू उल्लेख भएका छन् ।
काठमाडौँमा समेत विष्टका स्मृतिमा विगतदेखि नै विविध कार्यक्रमहरू हुने गरेकोमा यस पुस्तक रुपचन्द्रलाई अझ नजिकबाट चिन्न सकिने र उहाँको योगदान र लक्ष्यको अध्ययनमा स्थापित तथा नवपाठकहरूका लागि कोशेढुङ्गो सावित हुनसक्ने थाहा अभियन्ता एकराज उप्रेती बताउनुहुन्छ । त्यसो त राष्ट्रिय पञ्चायत सदस्यका रूपमा बैठकबाट फर्किने क्रममा राती राती स्कुटरको हर्न बजाउँदै आफूलाई बोरा बोक्न लगाएर त्रिपुरेश्वरमा फोहरको थुप्रोबाट जुत्ता उठाएर मर्मत गराएर मजदुरहरूलाई बाँडेको र कपडा फ्याक्ट्रीले फालेको झुराबाट भात पकाउने, सिरानी अनि डस्ना बनाउने काम गराएर खर्च बचाउन गरेको प्रयत्नले विष्ट देशप्रेमले ओतप्रोत अर्गानिक दार्शनिक भएको उप्रेतीले नवसाहित्यसँगको कुराकानीका क्रममा जानकारी दिँदै विष्टसँग लामो समय व्यतित गर्नु भएका उप्रेतीले चौलागाईँ ‘रूदाने’ पुस्तकले उहाँको दर्शनलाई व्यापक गराउने विश्वासका साथ नेपालभर राम्रो चर्चा पाउने अपेक्षा गर्नुभयो ।
०००
मकवानपुरमा ‘थाहा’:
सडकदेखि सदनमा समेत चर्काचर्की गर्ने विष्टले आफ्नो नाममा रूपचन्द्र दामन नेपाल अर्थात् रूदाने लेख्ने गर्नुभएको बारे विभिन्न चर्चाहरू सुन्न पाइन्छन् । विद्यालयका प्रअ हुँदा दिनदिनैको आयव्यय टाँस गर्नेदेखि चुनावी पर्चा बेच्दै हिँड्ने र खर्च जुटाउने, राष्ट्रिय पञ्चायत सदस्य (रापस) हुँदाका जेल बसाइसम्मका किस्साहरू रहेका छन् । मकवानपुरमा अधिवक्ताका रूपमा रहनु भएका राष्ट्रिय जनमोर्चाका रामनारायण बिडारी माओवादीमा समाहित भएपछि सांसदका रूपमा मात्रै नभइ सो दलको प्रवक्ता समेत हुनुहुन्छ। उहाँसँगका सम्बन्धबारेमा समेत रूपचन्द्रले आफ्ना भाषणहरूमा बोल्ने गरेका किस्साहरू सुन्नमा पाइन्छन् । निष्पक्ष सक्रियताको अभ्यास “थाहा” पुस्तक रूदानेबारे उनै बिडारीले खोज सङ्कलन गरी यसअघि प्रकाशन भइसकेको छ । थाहा अभियानबाट प्रेरित भइ थाहा सञ्चार सञ्चालित रहेकै छ । ‘थाहा’ नाममा पुरस्कार, पत्रपत्रिका, एफएम रेडियो आदि सञ्चालित रहेका छन् ।
०००
“मनभरि घुमिरहेको छ ‘जनकल्याण मावि’, घर्ति खोला, गोपाली गाउँ । मनमै रहनु हुनेछ तुलसी सर । भावुक छु । उत्साहित छु । रुदाने जिवनशैलीबाट गहिरोसँग प्रभावित छु ।” लेखक चौलागाईँको यो भनाइसँगै हामीले केही पाठकका भनाइ पनि समावेश गरेका छौँ ।
पुस्तक अध्ययन गर्दै गर्दा वासुदेव आरडी लेख्नुहुन्छ-
“रुदानेको बाल्यकाल नै बहुत हक्की लागिरहेको छ ! उत्तरी मकवानपुरको ग्रामीण परिवेशले लोभ्याइरहेको छ ।”
मनोज पण्डित लेख्नुहुन्छ-
“रुदाने – आजको समयका लागि अत्यन्त आवश्यक एक राजनीतिज् । जसको नाम सुन्दा श्रद्धा जाग्छ, उनको जीवन बुझाउने कृति हात पर्दा एकदम उत्साहित छु। नाटकमार्फत् समाज सुधारको प्रयत्न गर्नुपर्छ भन्ने श्रष्टा/नाट्यकार टंक चौलागाईँलाई सम्मानपूर्वक धन्यवाद छ ।”
रङ्गकर्मी/कवि रसिकराज लेख्नुहुन्छ-
“रुदाने- यत्ति काफी छ ! किताब समात्न म आतुर छु ।”
किताबघर, हेटौँडाका छवि अनित्य लेख्नुहुन्छ- “बुधबार पहिलो दिन आइपुगेका सबै पुस्तकहरू बिक्री भएका र थप बिहीबार आउनेछन् ।”
प्रविण ढुङ्गेल लेख्नुहुन्छ-
“थाहा आन्दोलनका अगुवा रुपचन्द्र विष्टको जीवनमा आधारित फिल्म रुदानेको टिजर दामी लागेको थियो। विभिन्न कारण शुटिङ्ग सकिएन र अलपत्र पर्यो प्रोजेक्ट नै । केही समय अगाडि पान्डुलिपी तयार भएर बुझाइयो भन्ने आको थियो टंक सरको अपडेट।
उनले लेखेको रुदाने किताब बजारमा आएछ एउटा आन्दोलन, अभियान, जनतालाई जागरुक गर्ने गराउने ध्येय राखेका विष्टलाई अक्षरमा पुनर्जीवन दिँदै। बधाई सर एक फेर यो नवीन कृतिका निम्ति ।
थाहापाटीमा एउटा सुन्दर आर्टिकल पढेको थिएँ उनै रुपचन्द्र विष्टबारे। लाजनीति, सरम र सत्ता- शक्ति कै केन्द्रमा ज्यादा फोकस दिने भएकाले हाम्रा नेता पार्टी सबै वाइयात लाग्दछन् । तर रुपचन्द्र विष्ट र केही एकाध नाममा श्रद्धा जाग्दछन् । अनि गहिराईमा गएर सबै नेता पार्टीलाई हेर्दा एक न एक शिक्षा , pros र पोजिटिभ पोइन्ट नि भेटिन्छ कति कति खेर त।
-विद्रोहको नेपाली नाम रुदाने
विद्रोहको फ्लेवर हरेक मान्छेमा मात्रात्मक त पक्कै हुने होला र त मान्छे, मान्छे बन्न सम्भव भएको हो । तर एउटा मान्छेको नशानशामा, रगतको बुँदबुँदमा हरेक धड्कनमा, हरेक नजरमा, हरेक पाइलामा, कलमका हरेक निवहरुमा विद्रोहै–विद्रोह हुन सम्भव छ भने त्यो रुदानेमा सम्भव थियो । जन्मेर सचेत पाइला चालेदेखि मृत्यु र मृत्युपछि आफ्नो लाशलाई पनि विद्रोही बन्न बाध्य बनाए रुदानेले ।
टंक सरका अगाडिका किताबहरु नि एकदमै फरक, प्रयोगधर्मी अनि one-of-a-kind लागेका हुन् । रुदानेले बिर्सिएका र फिल्मको पोस्टरले सम्झाइदिएको रुपचन्द्र विष्टका जीवन, दर्शन, चेतना, मनोविज्ञान अनि अभियानलाई मज्जाले बुझाउने नै छ।
नाटक नि विस्तारै ढिला आओस् तर राम्रो, कडा दमदार आओस् । यसले पाठकलाई definitely एउटा युग – समय र काल परिस्थितिमा यात्रा गराउने नै छ ।”
०००
यतिखेर भने पाठकवर्गमा ‘रूदाने’ को चर्चा चुलिएको छ । नवसाहित्य परिवार लेखकका साथै सम्पूर्ण पाठकहरूमा शुभ कामना प्रकट गर्दछौँ ।






