अनुप जोशी

कवि / कथाकार / अनुवादक

नयाँ ओभरकोटमा ठाँटिएर प्रहरी सुपरिटेन्डेन्ट ओचुमेलोभ काँखीमा एउटा पार्सल च्याप्दै हिंडिरहेको छ । उसको पछिपछि रातो कपाल भएको एक प्रहरी सिपाही हातमा एक टोकरी अमला बोकेर आइरहेको छ । चारैतिर सुनसान छ। चोकमा एकजना पनि मान्छे देखिदैन । खुला पसल र भट्टीका ढोकाहरू भोका मुखहरूजस्तै गरी इश्वरको सृष्टिलाई उदासीपूर्ण नजरले हेरिरहेका छन् । एउटा भिखारीसम्म पनि आसपासमा देखिइरहेको छैन ।

‘ए ! त्यसोभए तैले टोक्छस् ? दुष्ट जनावर !’, ओचुमेलोभले अचानक सुन्छ, ‘केटाहरू, यसलाई उम्कन नदेऊ ! समात त्यसलाई…लौ…समात !’

कुकुर भुकेको आवाज सुनिन्छ । आवाज आएको दिशातर्फ आचुमेलोभले फर्केर हेर्छ र एउटा कुकुर उफ्रिदै पीचूगिनाको आँगनबाट भाग्दै आइरहेको देख्छ । धर्के कमिज लगाएको र टाँक खुल्ला नै राखेको एउटा मान्छे उसलाई लखेटीरहेको देखिन्छ । ऊ कुकुरको पछिपछि दौडिरहेको छ र उसलाई समात्ने प्रयत्नमा आफ्नै शरिरलाई अगाडि हुत्याएर उसले लड्दा-लड्दै पनि कुकुरको पछाडिपट्टिको खुट्टा समात्छ । फेरी एकपल्ट त्यहाँ कुकुरको भौं-भौं र ‘फुत्किन नपाओस् !’ भन्ने चिच्याहट सुनिन्छ । के भएछ भनेर पसलका मानिसहरू घाँटी तन्काएर त्यतातर्फ हेर्न थाल्छन् र उत्तिखेरै त्यहाँ एउटा विशाल भीड जम्मा हुन्छ, मानौं त्यो जमिन नै फाटेर निस्केको होस् ।

‘त्यहाँ झगडा परिरहेको छ जस्तो छ,सरकार’, सिपाहीले भन्छ ।

आचुमेलोभ बाँयातर्फ मोडिन्छ र भीड भएतर्फ लाग्छ ।

उसले देख्छ कि यसअघि उल्लेख गरिएको कमिजको टाँक खुल्ला राखेको मान्छे त्यहाँ उभिएको छ । ऊ आफ्नो दाहिने हातलाई माथि उचालेर भीडलाई रगतपच्छे औंलाहरू देखाइरहेको थियो । लाग्थ्यो कि उसको नशाले मदहोश भएको अनुहारमा स्पष्टसँग लेखिएको छ, ‘म तँलाई यसको मूल्य चुकाउन लगाउँछु, बदमाश कहींको!’, र उसको त्यो औंला विजयको झन्डा जस्तै गरि हावामा फर्फराइरहेको थियो । आचुमेलोभले तुरुन्तै ऋकिन नामको त्यस व्यक्तिलाई चिनिहाल्यो, जो सुनारको काम गर्थ्यो । यस्तो बबण्डर मच्चाउने दोषी कुकुर भने भीडको मध्यभागमा आफ्ना अगाडिका खुट्टा भुईंमा तन्काउँदै तल-देखि माथिसम्म थरथर्ती कामेर बसिरहेको थियो । तीखा दाँत भएका यो बोर्जोय प्रजातिको कुकुरको पीठमा पहेंलो दाग थियो । आँसुले भरिएका उसका आँखाहरूले वेदना र डरको अभिव्यक्ति दिइरहेका थिए ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन