- नवसाहित्य
नवसाहित्य डटकम
संवाददाता
मकवानपुर, ३ भदौ ।
नवसाहित्य अनलाइन ।
साहित्य सङ्गम मकवानपुरले स्थापना दिवसकाे अवसरमा आइतबार हेटौंडामा संयुक्त कवितावाचन कार्यक्रम गरेकाे छ । कार्यक्रममा लेखनका हिसाबले नवपुस्तादेखि अग्रज पुस्तासम्मका सर्जकहरूको संयुक्त कवितावाचन गरिएको हो ।
सङ्गमले हरेक वर्ष मनाउँदै आएकाे स्थापना दिवस अन्तरगत ३५ औं सन्ध्या दिवसकाे अवसरमा आइतबार संयुक्त कवितावाचन कार्यक्रम गरिएकाे हाे । कविता वाचनमा एउटै मञ्चमा ४ पुस्ताका कविहरुको आफ्ना ३/३ वटा कविताहरु वाचन गर्नु भएको हो ।
`म जस्तै मेरा कविता पनि साना छन्, मसँगै मेरा कविता पनि ठूला हुनेछन् ।´ कवि अनसूया खनालले कविता वाचन अघि आफ्ना भनाइ यसरी व्यक्त गर्दैगर्दा दर्शक दीर्घामा गडगड ताली बजेको थियो । अनुसूयाले आफ्ना बिचरी चरी, मेरो गाउँ र आमा शीर्षकका कविताहरू सुनाउनुभयो ।
नवपुस्ताकी अनसूयापछि प्रतिमा पाठकले आफ्ना तीन कविता प्रस्तुत गर्नुभयो । लामो समयपछि मन्चबाट कविता सुनाउँदै गर्दा उहाँले अग्रज पुस्ताबाट आफूले धेरै सिकेकाे तर आफूले सिकेका कुरा पुस्तान्तरण गर्न नसकेकाे बताउनुभयो । उहाँले कैदी सम्भावना, बुद्ध र बाँकी अर्कोपटक शीर्षकका कविता वाचन गर्नुभयो ।
यसैगरी कवि सुवास खनालले सानो छँदा बुबाको कविता चोरेर स्कुलमा सुनाउँदा पुरस्कृत भएकाे बताउँदै बुबाकाे कवितासँगै आमा पुस्ताले गाउने लाेक भाकाले लेख्न सिकाएकाे बताउनुभयो । उहाँले कलेज एक यातना शिविर शीर्षकको कविताबाट वाचन सुरु गर्नुभयो । यससँगै उहाँले वजनको वजन र राहत शीर्षकको कविता सुनाउनुभयो ।
अग्रज पुस्तालाई प्रतिनिधित्व गर्दै कवि साम्ब ढकालले पनि अन्तराल, युक्रेनमा युद्ध :सम्वेदनामय सम्वेदना र फुटपाथबाट सङ्घम् शरणम् गच्छामी शीर्षकका कविताहरु सुनाउनुभयो ।
यसैगरी साहित्य सङ्गम मकवानपुरले यस वर्षकाे सन्ध्या सम्मानबाट चेतप्रसाद पौडेललाई सम्मानित गरेको छ । सङ्गमकाे सन्ध्यामा नियमित उपस्थित भएका पौडेललाई सम्मान गरिएकाे सचिव मनाेज पोखरेलले जानकारी दिनुभयो । सैँपुले साइँलो उपनामले चिनिने पौडेलले त्रिसत्यमा आधारित महाकाव्य समेत लेख्नुभएको छ ।
सङ्गमका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षता र व्यङ्ग्यकार तथा बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रमकाे सहजीकरण सचिव पोखरेलले गर्नुभयो ।
१९ जनाले गरे रक्तदान
साहित्य सङ्गम मकवानपुरले रक्तदान कार्यक्रम गरेको छ । सङ्गम स्थापना दिवसकाे अवसरमा आइतबार रक्तदान कार्यक्रम गरिएकाे हाे ।
३५ औं सन्ध्या दिवसकाे अवसरमा गरिएकाे रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका संगम सचिव मनोज पोखरेलले जानकारी दिनुभयो । रचना वाचन, विमर्श, विमोचनलगायतका साहित्यिक गतिविधिहरू गर्दै आएको सङ्गमले आफ्नो सामाजिक दायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएकाे अध्यक्ष डीबी बर्तौलाले जानकारी दिनुभयो ।
उनका अनुसार मकवानपुरमा साहित्यिक संस्थाले रक्तदानको आयोजना गरेको पहिलो हाे । कार्यक्रममा साहित्यकार, साहित्यप्रेमी, पत्रकारलगायतले रक्तदान गरेका छन् । ३५औँ सन्ध्या दिवसको अवसर आयोजित कार्यक्रममा रचना वाचन समेत गरिएको थियो ।
कार्यक्रममा चिरञ्जीवी लामिछाने, पुष्पा काफ्ले ढुङ्गेल, हरि पौडेल, सञ्जीत श्रेष्ठ, सानु खनाल, सन्देश गौतम, संप्रस पौडेल, सुबास सजल, ध्रुव सिन्तान, सुजन ढकाल,अजर फुयाँल, कुबेर पराजुली, रोश्नी चौलागाईँ, कमल नेपाल, अन्जान खड्का, देवकी तिमल्सिनालगायतले रक्तदानसँगै रचना वाचन भएको थियो ।






