- नवसाहित्य
संप्रस पौडेल
समाचार प्रमुखः नवसाहित्य
भाद्र ४, काठमाडौँ
नवसाहित्य अनलाइन । ‘काँचो धागो’ नाटक मञ्चन हुने भएको छ । युवा रङ्गकर्मी मुक्तिको लेखन रहेको यस नाटकलाई अशान्त शर्माले परिकल्पना तथा निर्देशन गर्नु भएको हो ।
मानवीय स्वभाव, संवेदना, सम्बन्ध, भावना, चाहनालाई प्रकृति तथा वातावरणसँग जोडेर नाटक काँचो धागो बनेको छ । गण्डकी क्षेत्रको कुनै गाउँमा घटेको घटना, घटनासँग सम्बन्धित मानव तथा मानवेत्तर पात्रहरूको कथा भए पनि नाटकले नेपालका अधिकांश पहाडी गाउँहरूको वर्तमान अवस्थालाई चित्रण गर्ने प्रयास गरेको छ । जसमा कतै न कतै हरेक नेपाली मनले आफ्नो कथा भेट्न सक्छ ।
निर्देशक शर्माले भन्नुभयो- ‘साथी-साथी आइदेऊ न’ पछि लगभग २० महिना निर्देशकीय विश्राम भयो । व्यक्तिगत जीवनमा पनि थुप्रै उतारचढाव आए । अर्को मौलिक कृति लेख्न नभ्याई रहेको बेलामा मुक्तिले ‘काँचो धागो’ को पहिलो ड्राफ्ट पढ्न दिए । छोयो ! आकांक्षा कार्कीको पनि आग्रह थियो दाजु नाटक गरौँ न ! नाटकमा संलग्न सबै कलाकार साथीहरूको उत्साह र हौसलाले बल गर्यो र यो ‘काँचो धागो’ नामको नाटक तयार भएको छ ।” निर्देशक शर्माले बताउनु भयो । नाटकमा शैली रचनाको प्रयास रहेको शर्माले जानकार दिनुभयो ।
“ रङ्गमञ्चमा छिरेदेखि नै नाटक लेख्ने इच्छा जागेको हो । एक हिसाबले त्यो पूरा भएको छ तर, यो नाटक मेरोभन्दा पनि बढी कथाका पात्रहरूको लागि प्रेरणा बन्नेहरूको हो ।” लेखक मुक्तिले बताउनुभयो ।
नाटकमा मुक्तिका साथै आयुश्मा मगर, सागर दाहाल, निशान खत्री, रसिक राज, सम्राट भुजेल, निष्ठा त्रिपाठी, पूर्णिमा आचार्य, मिरा खड्का, कविर काफ्का र कृष राईको अभिनय रहेको छ ।
‘कथा एक्सप्रेस’ , ‘दरौँदीको पानी’, ‘ढल्केको सालैजो’, ‘साथी, साथी आइदेऊ न’ जस्ता समसामयिक विषयमा नाटक प्रस्तुत गरिसकेको Ways Pvt. Ltd प्रस्तुत प्रस्तुत गर्न लागेको हो ।
कथा घेरासँगको सहकार्यमा नाटक मङ्गलबार बाहेक हरेक दिन साँझ ०५:१५ बजे र शनिबार ०१:०० बजे अतिरिक्त शोसहित टेकुस्थित कौशी थिएटरमा भाद्र ०६ देखि २९ गते सम्म नियमित मञ्चनमा हुनेछ ।





