- नवसाहित्य
संप्रस पौडेल
समाचार प्रमुखः नवसाहित्य
भद्र ६, बिहिबार
नवसाहित्य अनलाइन । काठमाडौँ । साहित्यकार ललिता ‘दोषी’द्वारा लिखित बालचित्रकथा ‘हार्मोनियमको धुन’ सार्वजनिक भएको छ । यस पुस्तकलाई कथालय इन्कले प्रकाशन गरेको हो ।
दिदीबहिनी आयुषा र अनुपमाले बुवामार्फत् हार्मोनियमको धुनसँगै गीत गाउन सिक्ने विषयबारे उल्लेख गरिएको छ भने पढाइ राम्रो नभएकोले अनुपमाप्रति बुवाको बेवास्ताका बाबजुद पनि विद्यालय गीत प्रतियोगितामा उनलाई अप्रत्याशित नतिजा प्राप्त हुन्छ । जिज्ञासायुक्त कथाका घुम्तिहरूले रोचक बनेको २४ पृष्ठको यस पुस्तकको मूल्य २ सय रुपैयाँ रहेको छ ।
५ वर्ष वा माथिका बालबालिकाका लागि पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न र ७ वर्षको बालबालिकाले आफैँ अध्ययन गर्ने सक्ने यस पुस्तकलाई कृष्णदीप सिग्देलले सम्पादन गर्नु भएको हो भने विनीता किताबका लागि बुद्धाचार्यले चित्र कोर्नु भएको हो ।
२०५६ सालमा प्रेमको परिभाषा कथा सङ्ग्रहबाट पहिलो पुस्तक लेखकका रूपमा चिनिनु भएका उहाँका जिज्ञासु सालु, असल मित्र, चिन्टु र पिन्टु, सुगाको अर्ति, दुखेको घाउ, हावा, दुईखुट्टे बिरालो, भुराका कुरा, नानी र सुगा, दाउरे, इन्द्रेनी, काफलगेडी, चिन मलाई, सेतो छडी लगायतका बालसाहित्यका पुस्तकहरू लेख्नु गर्नु भएको छ भने उहाँले दधीचि काठमाण्डौँ हास्यव्यङ्ग्य कविता र पहिरो लघुकथा सङ्ग्रह समेत लेख्नुभएको छ ।





