समर्पण न्यौपाने

कवि

पटक पटक
यो पृथ्वीलाई
ध्वस्त बनाउन सक्ने
परमाणु बम बोकेर
घेराबारासहित बसेको छ
एउटा रक्तपिपासु सत्ता
अहङ्कारको लाक्षागृहमा
दागिरहेछ एकपछि अर्को गोली
हाम्रै अस्थिरपञ्जरहरू बटुलेर
गरिरहेछ खप्परहरूमा
अश्वमेध यज्ञ ।

पसिनाको मुल्य नपाएर
हतौँडाहरू शोषित छन्
जमिन्दार आँखादेखि
हँसियाहरू पीडित छन्
आजाद-उनमुक्त छन् त
केबल नाफाका लागि
आमा बेच्नेहरू !

देखेर पनि नदेखे झैँ गर्दै
भन्छौ तिमी
इतिहास बद्लिएको हो
मौन अहिँसाले ।

इतिहासमा छन् हजारौँ
ताजमहल र शारजाहाँका किस्साहरू
अकबर र महाराणा प्रतापका गाथाहरू
छुटेका छौँ हामी
महल बनाउँदा काटिएका हातहरू
साम्राज्यले कुल्चिएर
किचिमिची टाउकाहरू !
हामी ’निग्रो’
हामी ’किराँत ’ ’इनुएट’
हामी ’सर्वहारा’ ’काफिर’
हाम्रो कुनै इतिहास छैन !

उठेका छौ भने
आऊ आमा !
अब लड्नुपर्छ
आमाविरोधी व्यवस्थासँग
मुठ्ठी कसेर आऊ बा !
माग्नु छ तिम्रो पसिनाको मूल्य
जित्नका लागि सारा दुनियाँ
हार्नका लागि नाथे शरीर
लडौँ असमान हिजोसँग
जोरी खोजौँ विसङ्गत आजसँग
आऊ “हराइएका“हरू
ल्याऔँ एकताको सुर्योदय
जहाँ कोही हुने छैनन् पिपा र सुसारे
बस् हुने छन्
हामी जस्तै मान्छेहरू ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन