- नवसाहित्य
प्रेरक गौतम
बाल लेखक
गत वर्षको प्रथम त्रैमासिक परीक्षा सकेर म बिदाको समयमा थिएँ । करिब एक हप्ताको मेरो बिदा साहित्यिक किताब पढेर, खेलकुदमा सहभागी भएर, चित्र कोरेर तथा साहित्य सिर्जना गरेर बितिरहेको थियो । एक हप्ताको बिदापछि भदौ ३ गतेदेखि विद्यालय खुल्ने तयारी थियो । यसैबिच भदौ २ गते मैले मेरा मामुबाबासँग आज कहीँ घुम्न जाऊँ न भन्ने प्रस्ताव गरेँ । मेरा मामुबाबाले पनि मेरो प्रस्तावलाई सहर्ष स्विकार्नुभयो । यसै विषयमा बाबाले भन्नुभयो, “तुल्सी थापा सर केही समयदेखि बिरामी हुनुहुन्छ, अस्पतालमा भर्ना भएको बेला पनि भेट्न जान पाइएन त्यसैले उहाँलाई भेट्न जाऔँ र त्यहाँ पुगेको बेला तिमीलाई
स्मारक पनि लगिदिउँला ।” उहाँको यो प्रस्ताव मामु र म दुवैलाई मनप¥यो र मैले पनि खुसी हुँदै सहमति जनाएँ । हामी खाजा खाएर दिउँसो तिन बजेपछि थापा सरको घर हुँदै स्मारक जाने भयौँ । त्यस दिन आकाशमा काला बादल मडारिइरहेका थिए र घरबाट निस्कने बेला सिमसिम पानी पनि परिरहेको थियो । त्यसका बाबजुद पनि हामी घरबाट निस्क्यौँ र बजार पुगेर फलफूल लिएर लाग्यौँ हामी हाम्रो गन्तव्यतर्फ ।
थापा सरको घर सहिद स्मारक जाने बाटामै पर्छ भन्ने कुरा मैले यसअघि नै स्मारक जानेआउने क्रममा बाबामार्फत् थाहा पाएको थिएँ । जोशी नर्सरीस्थित हाम्रो बासस्थानबाट स्कुटीमा छुटेका हामी तिन जना पारिजातपथ, मेनरोड, बुद्धचोक, राप्तीरोड, राप्ती पुल हुँदै अघि बढ्दै थियौँ । यसै क्रममा म राप्ती खोलावारि हनुमानको विशाल मूर्ति, राप्तीपारि बुद्धपार्क, पाथिभरा मन्दिर जाने बाटो, दायाँतर्फ अग्लाहोचा पहाड तथा बायाँतर्फ केही गहिरो र समथर फाँटका दृश्य देखेर रमाइरहेको थिएँ । यात्रा सुरु भएको करिब १० मिनेटमा हामी थापा सरको घरअघि पुग्यौँ । बाबाले छेउ लगाएर स्कुटी रोक्नुभयो । थापा सरको घरको मूल गेट चिटिक्क परेको रहेछ । बाबाले बिस्तारै गेट खोल्नुभयो । गेटभित्र पस्नेबित्तिकै मैले चाइनिज दुबोसहितको सानो बगैँचा देखेँ । मलाई त्यहीँ बसेर खेलूँखेलूँ लागिरहेको थियो तर हामीसँग धेरै समय थिएन । घरको मूल ढोकामा उभिएर डोरबेल बजाएको केही समयपछि थापा सरकी बुहारीले ढोका खोल्नुभयो र हामी घरको माथिल्लो तलामा रहेको थापा सरको कोठातर्फ उक्लियौँ । थापा सर कोही आएको सङ्केत पाएर हो या बाहिरको दृश्य हेर्नका लागि हो, बाहिर बार्दलीमा निस्कनुभएको रहेछ । हामी सबैले उहाँलाई नमस्कार ग¥यौँ । हामी भेट्न गएकोमा खुसी हुँदै उहाँले हामीलाई घरभित्र स्वागत गर्नुभयो । भित्र कोठामा आमा ओच्छ्यानमा सुतिरहनुभएको थियो । हामी आएको थाहा पाएर उहाँ पनि जुरुक्क उठ्नुभयो र हामीलाई बस्न आग्रह गर्नुभयो । हामीले उहाँलाई पनि नमस्कार गरेर सोफामा बस्यौँ । थापा सर कुर्सीमा बस्नुभयो भने आमा खाटमाथि नै बस्नुभयो ।
थापा सर पहिले मैले देखेभन्दा निकै दुब्लाउनुभएको रहेछ । बाबाले थापा सरलाई हजुरलाई कस्तो छ भनेर सोध्नुभयो । थापा सरले यस्तै त हो नि भन्ने जवाफ दिनुभयो । थापा सरको बोली अलि लरबरिएको थियो । उहाँले बिरामी हुनु पनि फाइदा नै रहेछ भन्नुभयो । मामुले के फाइदा सर…? भनेर सोध्नुभयो । थापा सर बिरामी हुँदा यसरी सबै जना भेट्न आउनुहुन्छ भन्दै हाँस्नुभयो । उहाँ बोल्दा उहाँलाई स्याँस्याँ बढेको र खोकी भित्रैदेखि गढेको छ भन्ने थाहा हुन्थ्यो । मामुबाबाले उहाँलाई धेरै बेर नबोल्न अनुरोध गर्नुभयो तर उहाँले मान्नुभएन । यसै क्रममा आमाले उपचारको क्रममा थापा सरलाई हेटौँडा, भरतपुरलगायतका ठाउँमा लगिएको, आफू प्रायः एक्लै एक्लै जस्तो बिरामी कुरुवा रहेको कुरा गर्नुभयो । उहाँहरूबिच बुढेसकालको सहारा बुढाबुढी नै हुने कुरामा सहमति रह्यो । त्यसपछि उहाँहरूबिच विभिन्न विषयमा कुराकानी भए र म सुनिरहेँ । छोराको जागिर, छोरीहरूको बसाइ, नातिनातिनाका प्रसङ्गका कुराकानी पनि भए । मकवानपुरको साहित्यिक वातावरण, नवसर्जक साहित्य चौतारी नेपालका गतिविधि र त्यसमा बाबाको योगदान, समर्पण न्यौपाने दाजुले पाउँदै गरेको जयपृथ्वी बालप्रतिभा पुरस्कार, उहाँको शिक्षा, समाजसेवा र साहित्यिक यात्राबारे उहाँ र बाबामामुबिच निकै बेर कुराकानी भए । उहाँहरूबिच भएका सबै कुरा त मलाई त्यति सम्झना छैन तर उहाँले मकवानपुरका गाउँबस्तीका विद्यालयमा प्रअको जिम्मेवारी सम्हाल्नुभएको, समाजमा पछि परेका चेपाङ समुदायको विकासका लागि योगदान गर्नुभएको, जागिरे जीवन छोडेपछि हेटौँडाका दुई वटा निजी विद्यालय जी. एस. निकेतन र हेटौँडा एकेडेमीको समेत नेतृत्व सम्हाल्नुभएको आदि कुराकानी गर्नुभएको मलाई सम्झना छ । कुराकानीकै क्रममा उहाँले आफू पदमा भएर पनि आफ्नो लाभका लागि कुनै बेइमानी नगरेको पनि बताउनुभयो । इमानदार भएर काम गरेकाले नै आफूले सम्पत्ति जोड्न नसकेको पनि बताउनुभयो । त्यस्तै जागिरे जीवनको अन्ततिर जागिर सरुवा गरेर हेटौँडा आउन खोज्दा आफू कुनै पनि राजनीतिक पार्टीको सदस्य नभएकाले सरुवा नगराइएको पीडा पनि व्यक्त गर्नुभयो ।
कुराकानीकै बिचमा उहाँले मलाई नजिकै बोलाएर मेरो पढाइलेखाइ र रुचिबारे सोध्नुभयो । मैले पनि मेरो पढाइलेखाइ राम्रै रहेको र गायन, नृत्य, चित्रकला, साहित्य सिर्जना, विज्ञान प्रविधि, हाजिरीजवाफ आदि विविध क्षेत्रमा रुचि रहेको कुरा गरेँ । त्यसैक्रममा थापा सरले कोठाको भित्तामा सजाएर राखिएका आफूले प्राप्त गरेका गोरखा दक्षिणबाहु लगायत विभिन्न सङ्घसंस्थाले प्रदान गरेका सम्मानपत्र, अभिनन्दनपत्र देखाउँदै असल कर्म गरियो भने यस्तै मानसम्मान पाइन्छ भन्दै जीवनमा सधैँ अघि बढ्न, इमानदार मान्छे बन्न र ख्याति कमाउन मलाई सुझाव दिनुभयो । म पनि उहाँले प्राप्त गरेका मानसम्मान र ख्यातिबाट प्रभावित भएँ र मनमनै उहाँले जस्तै असल कर्म गरेर नाम कमाउने प्रतीज्ञा गरेँ ।
थापा सरकी सहयात्री आमाले हामीलाई हामीले नै कोसेलीका रूपमा लगेका स्याउ र केरा खुवाउनुभयो । थापा सरलाई पनि फलफूल खानका लागि हामीले अनुरोध ग¥यौँ । उहाँले एक टुक्रा स्याउ खानु पनि भयो तर उहाँलाई त्यो एक टुक्रा स्याउ खान पनि गाह्रो भइरहेको थियो । उहाँलाई निमोनियाका कारणले होला स्याँस्याँ र घ्याँरघ्याँर बढिरहेको जस्तो देखिन्थ्यो ।
हामी करिब आधा घन्टा थापा सरको घरमा बसेर उहाँको दीर्घायुको कामना गर्दै सहिद स्मारकतिर लाग्यौँ । तर साँझ पर्न पर्न लागेको र हामीसँग समय अभाव रहेका कारण हामी स्मारक नजाने र होटल स्मारक पसेर खाजा खाने सहमति ग¥यौँ । करिब आधा घन्टाजति मैले होटलभित्रको स्विमिङ पुलमा पौडी खेलेपछि सोही होटलमा खाजा खाएर हामी आफ्नो घर फर्कियौँ । त्यसको ५ दिनपछि अर्थात् भदौ ८ गते थापा सर बित्नुभएको अप्रिय खबर बाबाबाट थाहा पाएँ । त्यो खबरले बाबामामुसँगै मलाई पनि धेरै दुःख लाग्यो । उहाँकै इच्छाबमोजिम उहाँको अन्तिम संस्कार देवघाटधाममा गरिने खबरअनुसार मकवानपुरे साहित्यकारहरूसँगै बाबा पनि जानुभयो । जान त मलाई पनि मन थियो तर किनकिन मैले बाबालाई भन्नै सकिनँ र म सानै भएकाले होला सायद बाबाले पनि मलाई जाऔँ भनेर भन्नुभएन ।
त्यसको केही महिनापछि उहाँकी जीवनसङ्गिनी आमा पनि बित्नुभएछ । यो खबरले पनि मलाई दुःखी तुल्यायो । कति छिट्टै थापा सर बित्नुभएको पनि आज एक वर्ष बितिसकेछ । उहाँ आज हामीमाझ नरहे पनि उहाँको सामाजिक, साहित्यिक योगदान तथा उहाँको जीवनको अन्तिम अन्तिम क्षणको त्यो प्रत्यक्ष भेटघाट र कुराकानी म कहिल्यै बिर्सन सक्दिनँ । अझ उहाँले मेरो गाला थपथपाउँदै नाम जस्तै काम गर्नु है प्रेरक बाबु… भन्नुभएको कुरा म कसरी बिर्सन सक्छु र…..?
कक्षा: ८ (शिक्षा)
ज्ञानदीप शिक्षा (जी. एस.) निकेतन मावि, हेटौँडा -५