संप्रस पौडेल

हामीले आजदेखि हास्यव्यङ्ग्य स्तम्भ सुरू गरेका छौँ । विगत डेढ दशकदेखि हास्यव्यङ्ग्य लेख प्रकाशनमा सक्रिय संप्रस पौडेलद्वारा लिखित लेखहरू पढेर यहाँहरूले कहिले हास्य त कहिले व्यङ्ग्य अनि कहिले हास्यव्यङ्ग्य सँगसँगै बोनस प्राप्त गर्नसक्नुहुनेछ । हाँसो उठेन भने त्यसको ग्यारेन्टी न लेखकले दिनु भएको छ, न त हामी नै दिन सक्छौँ । तर झक्झक्याइ रहनु पाठकको कर्तव्य पनि त हो नि !

च्वास्स-१

१. भट्टी ज्ञानः
एकदिनको कुरा हो । भट्टीबाट बाहिर निस्कँदा पानी परेर रोकिइसकेको थियो । (त्यसो त भट्टी भन्नेबित्तिकै रक्सी नै पिइन्छ भन्ने त छैन, पिउनेले पियो तर म भटमास चपाएर निस्किएको हुँ ।)
सँगैको साथीसँग बाइक पुछ्ने कपडा मागेँ । हातमा पर्नेगरी हुत्त हुत्याइदियो, हातसम्म ल्याण्डिङ भइसक्दा कपडाले असली रूप निकालिहाल्यो । कपडा थियो- ‘धुर्मुस कट्टु’ को पछाडिपट्टीको भाग । पछाडिको भाग सजिलै थाहा हुने, उसको बैठक भागले च्यापेकोले २ ठाउँमा अलि पातलो । अनि साथमा दुइ थान गोजी पनि ।
(नेपालमा धुर्मुस कट्टु, मोदी कोट, बाबुराम टोपी, बालेनका चश्माहरू बेगल पहिचान रहेको छ ।)
सोधेँ- धोएर त ल्याएको होस् ?
ऊ- पुछ्दापुछ्दै सफा भइसक्यो । नआत्ती ।
दुइ औँलाले च्याप्प समातेर शङ्कासहित सोधेँ- अगाडिको भाग खोइ ?
ऊ- त्यसको चाहिँ खुट्टा पुछ्ने पोछा बनाको ।
नेपालीहरूलाई ‘हात धुनकै लागि’ खुलेका एनजिओहरूले ७ दशकदेखि सिकाएजस्तो त्यो दिन ७ पटक साबुनपानीले हात धोएँ ।
नतिजाः भित्री कपडाको पोछा बन्ने शङ्काले आजकल बाइक पुछ्ने कपडा कसैसँग माग्ने गरेको छैन ।
०००
२. मादल कक्षाः
मेरालागि बजाउने कुरामा मादल जहिल्यै दोस्रो नम्बरमा पर्छ । पहिलो नम्बरमा सित्तैको खाजा हुन सक्छ । वा हाकिमसँग सहकर्मीको गनगनका बाजा पनि हुनसक्छ ।
बजाउनेकै कुरा गरौँ । केही हप्तादेखि मादल सिक्न थालेको छु । एकदिन छिमेकीले भने- आजका लागि त्यो मादल हामीलाई दिनोस् ।
मैले सोधेँ- तपाईँ पनि सिक्ने रहर गर्नुभयो कि कसो ?
उनले भने- होइन, आज हामी आरामले निदाउँन चाहन्छौँ ।
सम्झनाः धेरै वर्ष पहिले गितार सिक्न नसकेपछि मैले साथीलाई उपहार चढाएथेँ । त्यसपछि म नै राम्ररी निदाउन थालेँ ।
०००
३. राष्ट्रपतिको रुवाबासीः
हाम्रा राष्ट्रपतिले तडकभडकका साथ बाटो बन्द नगराई यात्रा गर्न थालेको धेरै नै भयो तर त्यसको चर्चा छैन । चर्चा त देशमा राष्ट्रपति छन् कि छैनन् त्यसको पनि छैन । जब जब उनले अमेरिका जाने बताउँछन् तब तब सामाजिक सञ्जालले राज्यको खर्च गरेको हिसाब पेश गरिदिन्छन् । राष्ट्रपतिको वेबसाइट, फेसबुक, ट्विटरबाट ‘राज्यको पैसा लिएको छैन, आफैँले खर्च गरेको हुँ’ भन्दा पनि सञ्जालले पत्याउने होइन । त्यसो त सञ्जालले घोषणा गरेपछि अरू शक्तिहरू निर्धो हुने नै भए । देशले जनताबाट राष्ट्रपति त पायो तर राष्ट्रपतिले रूँदै गुनासो गर्ने कुनै पधेँरो, चौतारो वा अड्डा पाइरहेका छैनन् । एक्लै भन्दाहुन्- “धोको पुग्नेगरी रून पनि नपाइने कस्तो गणतन्त्र ल्याइएछ ।” रुन्चे सभाका लागि कसै न कसैले गठबन्धन गरिदिए उनको पनि भडासका भकारी रित्तिन्थ्यो कि !
०००
४. पति-पत्नी विवादः
फेसबुक र युट्युबमा दुनियाँ मस्त छ । सन्तान एकातिर ओछ्यानमा लडेका छन्, बाआमाका आँखा आआफ्ना मोबाइलमा गढेका छन् । भिडियो हेरेर हाँसेकी पत्नी पतिसँग नहासेको जुग बितेको छ । च्याटरूमा रूमल्लिएको पति पत्नीसँग नजिस्किएको बहुत भयो । दुवैको मुहारमा हाँसो त्यतिखेर आउँछ, जतिखेर एकअर्काका तस्बिर सञ्जालमा शेयर गरेका हुन्छन् र यथेष्ट प्रतिक्रिया मिल्दछ । रियाक्ट र स्टिकरका कारण प्रतिक्रियामा अक्षरहरू घट्दै गइरहेको छ । बरू प्रतिक्रियालाई यसरी छोटकरीमा उल्लेख गर्ने गरिएको छः
* आहा तपाईँकी पत्नी त कत्ति राम्री – लाइक
* अहो तपाईँका पतिको भुँडीले घुँडा छुन लाइसकेछ – हा हा रियाक्ट
* अर्कैकी पत्नीले अर्कैका पतिलाई – लभ रियाक्ट
* अर्कैका पतिले अर्कैका पत्नीलाई – केयर रियाक्ट

५. फेसबुक/टिकटक चलाउँदा चलाउँदै मायाप्रिती बसेपछि
मायाप्रिती बसेपछि बिहे नै गर्छन् भन्ने त होइन तर एउटा जोडीले गरे । एक जोडीले गरे पनि दुनियाँलाई चासो हुने गरेको छ । त्यो जोडी पक्कै पनि टिकटकका ‘भाइरल’ जोडी हुनुपर्छ । फेसबुकमा लाखौँ फलोअर्स भएका हुनुपर्छ ।
सञ्जालले जुराइदिएको बिहेपछि पति-पत्नीले कस्ता कस्ता गीत गाउँछन् त ? केही नमुना यहाँ उल्लेख गरिएका छन्:
पतिः
मेरो मनमा तिमी छौ नि
तिम्रो मनमा के गडेको छ ?
तिम्रो फोटो अपलोडपछि
फेसबुकको भ्यूज बढेको छ ।
पत्नीः
तिमीभित्र हराएथेँ
कमेन्ट पढ्दै शर्माएथेँ
पहिलो अकाउन्ट डिलेटपछि
मेन्सन हेर्दै डराएथेँ ।
पतिः
टिकटक अनि फेसबुकले
इन्स्टाले नै जोडिदिए
तिमीभन्दा राम्री जो थे
अनफलोमा तोडिदिएँ ।
पत्नीः
कमेन्ट गर्ने मोडी जाँदा फलोअर्सलाई छोडी आएँ
चल्छ जीवन तिमीसँग जानाजानी भनी आएँ
तिम्रोलागि मर्छु भन्थे, शीर पाउमा पार्छु भन्थे
त्यहीमध्येको मूर्ख एक मैले आज छानी आएँ ।

६. केवल एक हरफ
केवल एक हरफमा- आफ्ना दैनिकीका भित्तोमा अडेस लाएर दुखेसोका पोको खोली हेर्छु त एउटा खुसी फुत्त भ्यागुतोझैँ उफ्रिएर भुइँमा झर्छ । त्यही खुसीका केही प्रमाणहरूः
* डाक्टरले भने- केही दिन आराम गर्नुहोस् । दिनभर अफिसमा आरामैँ गरिरहेको थिएँ ।
* शिक्षकले सपना देख्नका लागि प्रेरणा दिएको दिन सोचेँ- सपना देख्न पहिले त सुत्नुपर्छ ।
* एक समय हामीलाई भातका अघि कति चोक्टा मासु आयो भन्ने चिन्ता थियो, आजकाल केटाकेटीलाई लाइक र कमेन्ट त्यही कोटीमा परेका छन् ।
* आजकालको प्रेम सम्बन्ध इन्टरनेटको सिग्नलभन्दा पनि कमजोर रहेको छ ।
* कता हराइस् नौनी बिलौनीमा; होटलमा सँगसँगै खाजा खान अघि लागेको साथी पैसा तिर्ने बेलामा शौचालय किन पस्छ ?
* वर्तमान जीवनप्रति आनन्द लिन चाहनुहुन्छ भने भविष्यको चिन्ताको ठेक्कापट्टावाला कागजपत्र अर्कोलाई नामसारी गर्नुहोस् ।
* जीवनलाई मूल्यमा तोक्न सकिँदैन भन्नेहरूलाई अनुरोध- महिना नाघेपछि खातामा आएको मोल मेरा खातामा पठाइदिनुहोस् ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन