- नवसाहित्य
नवसाहित्य डटकम
नवसाहित्य डेस्क
वि.सं. १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर वि.सं. १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन हुनुभएका नेपाली साहित्यकार मोतीराम ।
नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याउने पहिलो पुस्ताका साहित्यकारका रूपमा मोतीरामलाई नै चिनिन्छ। १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यमा श्रृङ्गारिक धाराको सुरुवातकर्ता मोतीराम भट्टले नै १९४८ सालमा ‘कवि भानुभक्तको जीवनचरित्र’ लाई प्रकाशमा ल्याउनु भएको हो ।
राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
नेपाली साहित्यको शृङ्गारिक धारामा विशेष योगदान पुर्याउने युवाकवि मोतीरामलाई नेपालमा छापाखाना भित्र्याउने श्रेय समेत जान्छ । त्यसो त यही छापाखानामार्फत् नै नेपालमा पत्रकारिताको सुरुआत भएको हो । साहित्यिक पत्रकारिताको छवि बनाउनु भएका भट्टले भारतीय तथा उहाँका हितैषी मित्र रामकृष्ण वर्माको सहयोगमा ‘भारत जीवन’ को नेपाली संस्करण प्रकाशन गराउनु भएको भनिएता पनि त्यसको सम्पादक रहेको भन्ने विषयक आधिकारिकताबारे भने लेखकवृत्तमा विवाद रही आएको पाइन्छ ।
०००
५ वर्षको उमेरमा अक्षरारम्भ सुरू भएपछि ६ वर्षकै उमेरमा बुवाआमाका साथ काशीमा संस्कृत, व्याकरण, उर्दु, फारसी, हिन्दी, अङ्ग्रेजी भाषाको ज्ञान लिने मात्र नभइ गायन र वाद्यवादन समेत सिकेका पढ्नमा पाइन्छ । उहाँलाई थुप्रै विधामा परिचित गराइन्छ- प्रथम जीवनी लेखक, समालोचक, अन्वेषक, पत्रकार, नेपाली गजलकार, मुद्रणालयका संस्थापक, साहित्यिक सङ्गठनकर्ता, पुस्तकालय संस्थापक आदि ।
भानुभक्तीय रामायणलगायत संस्कृत भाषामा लेखिएका कृतिहरूलाई धमाधम नेपालीमा अनुवाद गरी प्रकाशन गराएछि जनमानसमा आफ्नै बोलीचालीको रचना मिलेकोले घरघरमा रामायण पाठ हुन थाल्यो । प्रियदर्शिका, पिकदूत, चाणक्यनीति, गफास्टक, सङ्गीत चन्द्रोदय गजल सङ्ग्रह, प्रल्हाद भक्तिकथा, शकुन्तला नाटक उहाँकै देन हुन् ।
२००८ सालमा जनस्तरबाट स्थापित नेपाली शिक्षा परिषदले नेपालमा संस्थागतरूपमा कवि गोष्ठी गर्ने गरेको जस पाएको छ । यो वर्ष अर्थात् परिषदको ७४औँ स्थापना दिवस र गोपाल पाँडे असीमको ११२औँ जन्मजयन्तिको अवसर पारेर संस्थाले शिक्षाविद प्रा.डा. विद्यानाथ कोइराला र साहित्यकार प्रद्युम्न जोशीलाई सम्मान गरेको छ । त्यसो त मोतीरामलाई राष्ट्रिय विभूति बनाउनुको श्रेय नै परिषद स्थापना गर्ने गोपाल पाँडे असीमलाई जान्छ ।
धेरै भाषाका ज्ञाता रहेकाले ‘क्वाँटी कविता’ रच्न सक्ने मोतीरामले नै नेपाली भाषाको रामायणलाई ‘नेपाली भाषाको पहिलो संस्करण’ का रूपमा बेलायतमा दर्ता गराउने उहाँ ३ वर्षको उमेरमा निधन भएका भानुभक्तलाई आजसम्म संसारभरिका नेपाली भाषीहरूबिच चिनारी बनाउनमा उहाँकै योगदान रहेको छ । त्यसो त ती कृतिमा आफ्नो नामसम्म नराखी प्रकाशन गराउने मोतीरामबाट सामान्य सम्पादन र हेरफेरमा पनि सम्पादकको लम्बेतान लेखन गराउने आधुनिक लेखकहरूले जान्न जरूरी हुन सक्छ ।
भानुका सिर्जनाहरूलाई अनुवाद, प्रकाशन, सर्वव्यापकता गराएकै कारण मोतीरामले भानुभक्तलाई ‘जन्माए’ भन्ने गरिन्छ ।
त्यसो त भानुभक्तद्वारा लिखित र मोतीरामद्वारा अनुवादित तलको श्लोकमा रहेको ‘मो’ शब्दमाथि पनि किचलो नभएको भने होइन । भानुभक्तले नलेखेर मोतीरामले नै सो शब्द राखिदिएको भन्ने विभिन्न तर्कहरू पनि लेखकवृत्तमा वहसको विषय बन्ने गरेका छन् ।
भर् जन्म घाँसतिर मन दिइ धन् कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनि भै कन आज यस्तो॥
०००
मोतीराम भट्टको केही गजलहरूः
१.
यति सम्म प्रीति गरी गरी न यता भयें न उता भयें
नत मन् लियें नत दीदियें न यता भयें न उता भयें ।।
नत होस् वासकि राखियो नत फूलको रस चाखियो
नत याद भो नत स्वाद भो न यता भयें न उता भयें ।।
बिनु औसरै सित भेट्नू तरबार लीकन रेट्नू
नत छिन्दिनू, नत नछिन्दिनू, न यता भयें न उता भयें ।।
नत साथ बस्न सँगी भयें नत दुस्मनै सरि भै गएँ
न पुरानियाँ नत मो नयाँ न यता भयें न उता भयें ।।
नत खुस् भईकन प्रेम् गरी तन रिस् गरी कन मन् हरी
न यसो गरी न उसो गरी न यता भयें न उता भयें ।। ५
२.
दुई आँखिभौँ त तयार छन् तरबार पो किन चाहियो
तिमी आफू मालिक भैगयौ सरकार पो किन चाहियो ।।
पहरा कडा छ कटाक्षको हरदम तयार मुहारमा
र भन्नु भारी महल न हो दरबार पो किन चाहियो ।।
कति चम्किलो छ हँसाइको हिसिमा किरन पनि दाँतको
मणि मोती नीर जुहार न हो अरु हार पो किन चाहियो ।। ३
३.
कहाँसम्मको आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे ।।
एकैपल्ट आँखा घुमाई दिनाले
कती मर्न लागे कती डर्न लागे ।।
सुनिस् मन् मुनियाँ बडा होस राखेस्
बिछाएर जाल् कागुनो छर्न लागे ।।
बिराना र आफ्ना नराम्रा र राम्रा
सबै सुन्दरीका अघि सर्न लागे ।।
अघि पर्न सक्दीनँ मैले हरीका
नजर्देखि ‘मोती’ पनि झर्न लागे ।। ५
४.
यता हेर्यो यतै मेरा नजर्मा राम प्यारा छन्,
उता हेर्यो उतै मेरा नजर्मा राम प्यारा छन् ।।
यसो भन्छौ त फल्फुल्मा, उसो भन्छौ त जल्थल्मा,
जता हेर्यो उतै मेरा, नजर्मा राम प्यारा छन् ।।
त्रिलोक् चौधै भवन् माहाँ प्रभु ब्यापक् जहाँ ताँहाँ,
कहाँ सम्मन् भनू यांहाँ, सबैमा राम प्यारा छन् ।।
रसीलो रामको नाऊँ भजन् तिन्को सधैं गांऊँ,
दरस्मो हर्बखत् पाऊँ दयालू राम प्यारा छन् ।।
पियारा भै हरी मेरा सधैं मन्मा गरुन् डेरा,
सबै सन्सारले भन्छन् र मोतीराम प्यारा छन् ।।५।।
५.
यस्बखत्मा प्रीति गर्नू जालमा फस्नू नहो,
आसमा पर्नू त चोखा धारमा बस्नू नहो ।।
हेरिंदैमा मन्पनी हज्जार टुक्रा ह्वैदिने,
सान गर्नू ता कटारी छातिमा धस्नू नहो ।।
आँखिभौं जोरेर हेरी क्यै नबोली तेस्घरी,
हात गाला लाइ हास्नू, बज्र को खस्नू नहो ।।
एक् त आँखा के भनू त्यै माथि गाजल् लाउनू,
विष् लिई तर्वारका झन् धारमा धस्नू नहो ।।
एक् त आफै हेर त्यो कम्मर्छिने झैं देखिने,
बाधनू तेस्लाइ झन्, निर्धो भनी कस्नू नहो ।।
प्रीति गर्नू ता कता हो नाम सुन्दैमा पनी,
झर्किनू यस्तोरि तिन्ले सर्पको डस्नू नहो ।।
आज मोतीलाई हेरी हेरि यस्ले मन्हरी,
जानू तिन्का पास आगोमा गई पस्नू नहो ।।७।।
६.
फाहा घसेर बादरा हज्जार लगाये,
बिन्ती छ बिन्ति सुन्दरी मिस्सी न लगाये ।।
ठट्टा गर्यौ त बेस् गर्यौ हुन्छ सहन्छु,
मैले पनी गरेँ भने तिम्ले न रिसाये ।।
बाजा बजाउ सुन्दछु एक्मन् दिई हरी,
मोती भनेर कोइ् गजल् गीत न गाये ।।३।।
०००
दरबार हाइस्कुलमा चन्द्र शमशेर, देव शमशेरका सहपाठी मोतीराम भट्टको ३० वर्षकै कलिलो उमेरमा निधन भए पनि अन्य भाषामा साहित्य रचना गरिरहेकामा विशेषतः नेपाली लोकगीत- बिहेमा जुहारी अनि रोपाइँमा गाइने झ्याउरेबाट प्रभावित भइ त्यसलाई नेपाली गजल लेखनमा उल्लेख गराउने, गजलको मूल धर्म श्रृङ्गारिकतामाथि व्यापक मलजल गर्दै गोरखा भारत जीवन प्रकाशन (१९४३) मार्फत् राष्ट्र अन्तर्राष्ट्रमा नेपाली साहित्य फैलाउने कार्यमा छोटो जीवनका बाबजूद पनि यथेष्ट देन दिनु भएको छ ।
देश अनि भाषा प्रेमले ओतप्रोत हुँदै नेपाली साहित्यको आधुनिक युगको सूत्रपात गर्ने युवाकवि मोतीरामलाई नेपाली साहित्यको क्षेत्रमा उज्यालो छर्ने ज्योति मान्न सकिन्छ ।