संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

२० भाद्र, मकवानपुर ।
नवसाहित्य । युनेस्कोको विश्व सम्पदामा सूचीकृत बौद्धनाथ अर्थात् बौद्ध स्तूप नेपालको राजधानी काठमाडौंको पूर्वी भागमा अवस्थित छ । यही बौद्ध स्तूपको किम्वदन्तीमा आधारित रहेर बाल चित्रकथा ‘बौद्ध स्तूप’ हालसालै प्रकाशनमा आएको छ ।

बालसाहित्य समाजका पूर्व अध्यक्ष भिक्टर प्रधानले लेख्नु भएको कथामा आधारित रही चित्रकार रवीन्द्र मानन्धरका चित्रबाट सरल भाषामा प्रस्तुति गरिएको सो पुस्तकलाई कथालय इन्कले प्रकाशन गरेको हो ।

नेपालभाषामा खास्ति र तिब्बती भाषामा जारुङ खाशोर भनिने बौद्धनाथबारेको “बौद्ध स्तूप” कथा पुस्तकमा दुई छुट्टाछुट्टै कथाहरू छन् ।
– सहरमा अचानक हिटी (धारो) सुकेपछि जनताले राजालाई विन्ती गर्छन् । ज्योतिषीहरूले बत्तीस लक्षणले युक्त मानिसको बलि दिए हिटीबाट पानी आउने सल्लाह दिन्छन् । राजाले एउटा जुक्ति निकाल्छन् । नारायणहिटीमा पिशाचले बास गरेकाले मध्यराति गएर त्यसको टाउको छिनाल्न राजकुमारलाई उनी अह्राउँछन् । राजकुमारले सोहीमुताबिक सेतो कपडामा बेरिएर सुतेको पिशाचलाई एकै झमटमा तरबार प्रहार गर्छन् । अफसोस, उछिट्टिएर उनको हातमा आएको टाउको आफ्नै बुबाको हुन्छ । अब के होला ? कथाको मूल रहस्य त्यसपछि सुरु हुन्छ ।

बालसाहित्यको विकासका लागि अनुसन्धान, लेखन र अनुवाद कार्यमा सक्रिय प्रधानले बालसाहित्यका सयौँ पुस्तक सम्पादन तथा अनुवाद गर्नु भएको छ । त्रिभुवन विश्वविद्यालयमा नेपाली भाषाका प्राध्यापन अनुभव रहेका उहाँ इतिहास, भाषाभाषी, जातजाति, कलासंस्कृति, परम्परा आदिको अध्येता हुनुहुन्छ ।

नवसाहित्यसँगको कुराकानीमा अध्येता तथा लेखक प्रधानले भन्नुभयो- “विगतमा लेखिएका पौराणिक शास्त्रका कतिपय विषयहरू काल्पनिक हुन् । आजका मानिसले काल्पनिक र वास्तविक छुट्याउनुपर्ने हुन्छ । किताबमा लेख्नेबित्तिकै सही हुने भनेर मान्नुभन्दा पनि लेखिइसकेका विषयहरू देशको इतिहास भएकाले यसको संवर्धन र जगेर्ना गर्दै अघि बढ्नु आवश्यक हुन्छ ।”

उहाँले थप्नुभयो- “तिब्बतीहरूका इतिहासमा राजा, चरा, हात्ती आदि पुनर्जन्म लिने मात्रै होइन कतिपय शास्त्रहरूमा त अवतारका नाममा पछि कथिएका कथाहरूलाई समावेश गर्ने गरिएको छ । राजा महाराजाहरूले अनि कथा लेख्ने लेखकहरूले सर्वोच्च व्यक्ती अनि उसको चाहनालाई बुझेर वा आत्मप्रशंसामा रमाउनेका लागि उसैलाई अन्तरयामी बनाएर भइसकेका कुराहरूलाई पहिल्यै भनेको भन्ने बनाएर लेखिएका इतिहास, परम्परा, सँस्कृतिलाई पनि बिर्सन नहुने तर यी यसैगरी निर्माण भएका हुन् भन्ने कुरा भने बुझ्न जरूरी हुन्छ ।”

चित्रकार रविन्द्र मानन्धर लामो समयदेखि चित्रकारितामा आबद्ध हुनुहुन्छ । त्यसो त पत्रपत्रिकामा व्यङ्ग्यचित्रमा समेत स्थापित मानन्धर २२ वर्षदेखि सो क्षेत्रमा लगनशील भएर लागिरहनु भएको छ । प्रधानका शब्द अनि मानन्धरका चित्रहरूले किताबलाई रोचक बनाएको छ ।  (तस्बिर स्रोतः कथालय)

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन