- नवसाहित्य
नवसाहित्य डटकम
कवि/गजलकार/मुक्तककार/नियात्राकार
कार्तिक २८, बुधबार । साहित्य सङ्गम मकवानपुरले श्रवण मुकारूङका एकल कविता वाचन कार्यक्रम गर्ने भएको छ । सङ्गमको सो कार्यक्रममा मुकारूङका केही गीतहरूसमेत गायन हुनेछ ।
सङ्गमको अक्षयकोष सहयोगार्थ टिकटमा कवि मुकारूङका कविता वाचन तथा साङ्गीतिक साँझ यसअघि भाद्र १ गते गर्ने भनिएकोमा स्थगित भइ आगामी मङ्सिर ७ गते शुक्रबार दिउँसो ३ बजे हेटौंडा पार्टी प्यालेसमा गर्ने अध्यक्ष डीबी बर्तौलाले जानकारी दिनुभयो ।
‘जीवनको लय’, ‘बिसे नगर्चीको बयान’ कविता सङ्ग्रहका रचनाकार मुकारूङ यसअघि सर्वश्रेष्ठ गीतकार (रेडियो नेपाल, २०४७), राष्ट्रिय कविता महोत्सवमा द्वितीय (२०४८), राष्ट्रिय कविता महोत्सवमा प्रथम (२०५३), युवा स्रष्टा सम्मान (२०५६), रवीन्द्र गीत सम्मान (२०५६), मोहन रेग्मी स्मृति पुरस्कार (२०५९), युवा वर्ष मोती पुरस्कार (२०६०) आदिबाट सम्मानित हुनु भएको छ ।
कार्यक्रममा श्यामकुमार बानियाँ, अन्जन दाहाल, सुनीता बुर्लाकोटी, रमेश गहतराज, लालकाजी परियार र प्रसिद्धि लामिछानेले मुकारूङद्वारा लेखिएका गीतहरू गायन गर्नुहुनेछ ।
२०४३ सालदेखि मुकारूङका करिब १५० गीतहरू रेकर्ड भइ नेपाली समाजले श्रवण गर्न पाइरहेकोमा पछिल्लो गीत ‘राई माइलाले गाउँ छाड्यो रे’ सुनिता थेगिमको स्वरमा निकै चर्चामा रह्यो । ‘हजुर हजुर ए हजुर’ गायक तथा सङ्गीतकार आभासको एकल स्वरमा र आभास र मीना निरौलाको संयुक्त स्वरमा ‘तिमीले मिसकल गर्दा’ अर्को गीत रहेको छ । यस्तै उहाँका ‘तिमी तारे भिर’ गीतमा पबित्र सुब्बाको स्वर रहेको छ । त्यसो त उहाँको सर्वाधिक चर्चित गीत ‘माथि माथि सैलुङ्गेमा’ कुन्ती मुक्तानले गाउनु भएको हो भने यो गीत मुकारूङले याक चुरोटको बट्टाभित्रको टल्कने कागजमा लेखेको बताउनुहुन्छ ।
आदिवासी, जनजाति, दलित, महिला, बालबालिकालगायत सामाजिक, सांस्कृतिक वा राजनीतिक मुद्दामा गीत चाहिँदा मुकारूङकै खोजी हुन्छ भने पहिचान हराएका समुदायको पहिचानका आवाजलाई उहाँका शब्दहरूले मुखतरित गरेका छन् । विभेद र उत्पीडनका विरूद्धमा समेत कलम चले पनि देशप्रेम, वैदेशिक रोजगारीदेखि पारिवारिक विविधतासम्म उहाँका सिर्जनामा अटाएका पाइन्छन् ।
‘बिसे नगर्चीको बयान’ बाट मुकारूङका शीर्ष कविता यसप्रकार रहेको छः
बिसे नगर्चीको बयान
०००
मालिक !
म यो गोरखा राज्यमा
अढाई सय वर्षपछि बौलाएँ
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिर–तिर्मिर भएर
हजुरको शिर दसओटा देखिरहेछु
खोइ मेरो पैताला कहाँनिर छ ?
कहाँनिर छ बिसे नगर्ची ?
मालिक ! म बौलाएँ ।
मैले त महाराजको सेवा गर्नुपर्ने
इतिहासको रक्षा गर्न
यो गोरखकालीको पाउ छोएर
नुनको सोझो हुनुपर्ने
अढाई सय वर्षपछि–
आज के भयो मलाई ?
यो बिसेलाई दशा लाग्यो मालिक !
म बौलाएँ ।
नाथे मेरी स्वास्नी न हो मारिएकी
नाथे मेरी छोरी न हो बलात्कृत भएकी
नाथे यो बिसेको झुप्रो न हो जलाइएको
यतिमै यो बिसे उफ्रिनुपर्ने ?
थुइक्क बिसे…
म बौलाएँ मालिक !
म बौलाएँ
मेरो हात भाँच्चियो
अब के हजुरका भारदारहरूलाई
लबेदा सिउन सक्दिनँ !
नर्सिङ्गा फुक्न सनई बजाउन
अथवा, कुनै मङ्गलगान
वा ऋतुगीत गाउन सक्दिनँ
मेरो खुट्टा भाँच्चियो
अब म हजुरको राज्यको पहरा गर्न सक्दिनँ
मेरो दिमागै ठिकमा छैन
अब म ठिक्कले बोल्नै सक्दिनँ
मालिक ! म बौलाएँ ।
मालिक !
यो गोरखा राज्यअघि उभिएका
हिजोका ती अग्ला–अग्ला पहाडहरू
आज कसरी यस्तरी होँचा–होँचा भए ?
हिजोका ती सग्ला र कलकलाउँदा यहाँका मानिसहरू
आज कसरी यस्तरी खुनी र कुरूप भए ?
यो दरौँदी किन उल्टो बगेको देख्छु ?
यो दरबारै किन खण्डहरजस्तो देख्छु ?
मालिक ! म बौलाएँ ।
मालिक !
हजुरको तरबारले
टाउको काट्छ कि फूल ?
भ्रममा परेँ म
हजुरको बन्दुकले
विचार ढाल्छ कि मान्छे ?
भ्रममा परेँ म
यस राज्यलाई
प्रजाले बनायो कि राजाले ?
भ्रममा परेँ म
अढाई सय वर्षदेखि म तपाईंसमक्ष छु
मालिक !
म कसरी आतङ्ककारी हुन सक्छु ?
म केवल बौलाएँ मालिक !
बौलाएँ
हो मैले–
मालिकको दिव्योपदेश पालन गरिनँ हुँला
रक्सी खाएर–
यो देश मैले पनि आर्जेको हुँ भनेँ हुँला
भानुभक्त बाजेको गीत र मेरो सियो
बराबर हो भनेँ हुँला
मैले सिएका सुकिला लुगा ओढेकाहरूलाई
मेरो नाङ्गो आङ देखाएँ हुँला
बौलाएपछि मैले
मेरै भगवान्लाई पनि गाली गरेँ हुँला ।
मालिक !
मान्छे बौलाएपछि
अढाई सय वर्षदेखि–
मैले तुनेका थाङ्नामा हुर्केका
मेरा दरसन्तानहरू कहाँ–कहाँ पुगे ?
मैले खोज्न चाहेँ हुँला
मेरा औँलामा खोपिएका छ्यान्द्रा
र बगेका रगतहरूले मलाई उक्सायो
तरबारले आर्जेको मुलुकभन्दा मैले
धागोले उनेको मुलुक विशाल ठानँ हुँला
मालिक !
यस माटोको इतिहाससँगै
म हजुरको राष्ट्रमा छु
म कसरी अराष्ट्रिय हुन सक्छु ?
म साँच्चै बौलाएँ मालिक !
साँच्चै बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिर–तिर्मिर भएर
हजुरको शिर दसओटा देखिरहेछु
खोई, मेरो पैताला कहाँनिर छ ?
कहाँनिर छ बिसे नगर्ची ?
मालिक ! म बौलाएँ ।