नवसाहित्य डटकम

५ मंसिर, मकवानपुर ।
नवसाहित्य । नेपाली साहित्यको क्षेत्रमा एउटा कविताकृत ‘बहिष्कृत आवाज’ पाठकहरूको बिचमा आएको छ । ‘बहिष्कृत आवाज’ (कवितासङ्ग्रह, २०८१) का लेखक हुन् कवि यश लामा । यश लामा नेपाली साहित्यमा विचारको स्वर उराल्दै दुई दशकदेखि सक्रिय काव्ययात्रामा रहेका छन् । मूलतः नेपाली साहित्यमा समावेशी स्वरलाई गतिलो ढङ्गले उठाउनेहरूमा लामाको परिचय अलि फरक खालको छ । धेरै कविहरू दमित स्वरलाई पहिचानमुखी कोणबाट अर्थ लगाउँदै छुट्टै धार निर्माण गरेर लागिरहँदा लामा वर्गीय उन्मुक्तिलाई मुख्य विषय बनाएर तपसिलमा पहिचान र जातीय मुद्दालाई पनि सशक्त ढङ्गले उठाउँछन् । नेपाली राष्ट्रियताभित्र धेरै राष्ट्रिय पहिचान समावेश हुन जरुरी छ । विगतमा केही उच्च घरानाका मानिसले प्रतिनिधित्व गरेर जातीय प्रतिनिधि रहेको भ्रम दिइए पनि वास्तवमा निम्न वर्गका मानिसले प्रतिनिधि हुने अवस्थाको अझै परिपक्व अवस्था आइसकेको छैन । समावेशी र समानुपातिक प्रनिधित्विको सिद्धान्तमा पनि उही उद्योगपति चौधरी, व्यवसायी तामाङ र व्यापारी लामा मात्र नभएर आफ्नै परिवारका महिला, बढी मुठीदान दिने दानवीरहरूकै प्रतिनिधित्व रहेको देख्न सकिन्छ । यो खास एउटा पार्टीको मात्र विषय होइन, प्रवृत्तिमा रूपमा सबैतिर देखिन्छ । स्वभाविकै हो सुपरमार्केट चलाउने, हाइड्रो चलाउने अनि वैदेशिक रोजगारको व्यसाय गर्नेहरू, जग्गाको कारोबारीहरू अनि होटल व्यवसायीहरूले यो स्थान ओगट्नुमा त्यति नाजायज मान्न सकिन्न ।

न्यायालय पनि जनतालाई न्याय दिन चुकेकै छ । धार्मिक हिसाबले धर्मनिरपेक्ष देशमा एउटा जातिलाई एउटा सामान्य कुरामा मुद्दा लगाउने र त्यही मुद्दालाई आधार बनाएर उसको बाँच्न पाउने हक अधिकारलाई समेत कुण्ठित गरिएको विषय पनि कविको नजरमा परेको छ । नेपालमा कलाका लागि कलाको ढाँचामा चलेका सेलिब्रेटी कविहरूको मिडियाले गर्ने चर्चा र उत्ताउला विषयरुपी विष बेचेर पैसा कमाउने बेष्टसेलरहरूप्रति पनि कविको गम्भीर ध्यानाकर्षण भएको देखिन्छ । कविता लेख्नु केवल लय लेख्नु वा नारा लेख्नु होइन । विचारलाई सङ्गठित गर्न त्यसको रूप चाहिन्छ तथापि रूपवादमा फसेको नेपाली कवितालाई जनमनको विषय उठाएर पठन योग्य बनाउन कवि यश लामाले गरेको परिश्रम बहिष्कृत आवाजमा आएको छ
नयाँ नेपालको परिभाषाभित्र लुटको शासन चलाउन सक्रिय रहेका शासक (न कि जनप्रतिनिधि)को गलत रवैयालाई मुखभरिको जवाफ दिने काम उनको कविताहरूले गरेका छन् । गणतन्त्र नेपालको चारओटा स्तम्भ नाममात्र नहोस् भन्ने उद्घोष कविले गरेका छन् । कवि यश लामा झण्डालाई बोक्ने हातहरू कर्मशील हुनैपर्छ भन्ने ठहर गर्दछन् । साहित्यलाई जनताको चेतनास्तर फेर्ने माध्यम र राज्यलाई एउटा छुट्टै ऊर्जा दिने विषयको चर्चा गर्ने कवि सर्वसाधारण पाठकहरूले पनि बुझ्ने भाषामा कविता लेख्दछन् । कवितालाई केवल हल्लाको खेती मात्र ठान्ने र तथाकथित पुरस्कार प्राप्त गर्ने र आपसी साटासाटको सम्मान अभिनन्दनप्रतिको तीब्र घृणा छ । फितलो राज्य संयन्त्र जनताको पीडामा देखिँदैन तथापि ऊ लुटको धन्दामा निकै क्रियाशील छ । कवि लामाका कविताहरूले नेपाली जनताको आवाजलाई श्रमपूर्वक लयबद्ध गर्ने कार्य सम्पादन गरेको छ ।

‘बहिष्कृत आवाज’ (कवितासङ्ग्रह, २०८१) भित्र जम्मा ६ ओटा अध्याय वा परिच्छेदमा पैतालिस ओटा कविताहरू सङ्गृहीत रहेका छन् । कविले ‘पसिनाको अनुहार’, ‘माटोको गीत’, ‘स्यालको सिङ’, छिङ्गो योना छिङ्गो (बिउँझ छिटो बिउँझ)’, ‘त्रास’ र ‘पाठ’ गरी प्रत्येक परिच्छेदमा एउटा प्रतीकात्मक कलासहितको कविताहरू विन्यास गरिएको छ । यस कवितासङ्ग्रह भित्र रहेका केही घतलाग्दा कविताहरूलाई साक्ष्यका रूपमा प्रस्तुत गर्दै छोटो समीक्षात्मक टिप्पणी यस प्रकार छ ।
‘पसिनाको अनुहार’ शीर्षकको परिच्छेदमा जम्मा ८ ओटा कविताहरू रहेका छन् । कविले यस खण्डमा आफ्नो आलोचनात्मक चेतलाई सिर्जनामा पोखेर पाठकको आँखा खोलिदिएका छन्;

मङ्गली तामाङ
ढाडमा छोरा बोकेर
सेलो गाउँदै बालुवा चाल्छे
र देशलाई सिर्तो बुझाउँछे ।
आखिर !
देश यही सिर्तोले न चलेको हो ।
दास कोरल्ने माउहरूले त केवल
मुख मात्र बजाएको छ
सङ्घीयता भजाएको छ
गणतन्त्र भजाएको छ
समाजवादको सपना पकाएको छ
र ढुकुटी पचाएको छ
आखिर !
देश भुई मान्छेको श्रमले चलेको छ
देश यसरी चलेको छ (बहिष्कृत आवाज, पृ. ४)

शासन सत्तामा होड गर्नेहरू र दैनिक प्रशासनका निम्ति नियुक्त भएकाहरूले कुनै न कुनै रूपमा देशको जिम्मेवारी सम्हाल्दा उनीहरूलाई राज्यले नै भरणपोषण गरेको छ । राज्यको कोष जनताको रगत पसिनाले बनेको छ । कवितामा भनिएजस्तै धनजिते कर्की, जुरेली धोबी, कान्छा सार्की, मङ्गली तामाङ जस्ता श्रमिकहरूको श्रमबाट देशको कोष बन्ने तर देशको राज्य कोष लुटाहाहरूले दोहन गर्ने भएपछि देशको स्थिति के होला ? कवि जनताको आवाजलाई गम्भीर भावका साथ मुखर गर्दछन् । उनको प्रस्तुतिमा सिर्तो बुझाउनेहरू मरिरहने र सिर्तो खानेहरू ठालु हुने कस्तो राज्य व्यवस्था हो भन्ने आक्रोश छ । कवि भावनालाई देवकोटाको पागल कविताको शैलीमा प्रस्तुत गर्दछन् । खुला आँखाले हेर्दा वास्तविकता वा सत्य देख्न निकै गाह्रो रहेको छ । पीडा भोग्नेलाई थाहा हुन्छ । जनजीविकाको निम्ति किन विदेशिएका छन् लाखौँ युवाहरू । प्रश्नैप्रश्नको वर्षा गराउँदै कवि आम जनताको चासोको विषयमा ध्यान नदिने शासकलाई जनताले छुट नदिने र छिट्टै विद्रोह सल्कने उद्घोष गरेका छन् । ‘सत्य नदेखिन पनि सक्छ’ शीर्षकको कविताले विद्रोहको गीत घन्काएको छ ।
देशमा अहिले तीन तहको सरकार छ । सबैभन्दा प्रभावशाली संरचना भनेको पालिका अर्थात् स्थानीय सरकार हो । स्थानीय सरकारले जनताको निम्ति गर्नुपर्ने सयौँ काम नगरेर जनतालाई उठिवास लगाउने काम भने सक्रियतापूर्वक गरिरहेको प्रति कविले तीब्र रोष प्रकट गरेका छन् । ‘नगरपालिका’ शीर्षकको कवितामा अभिव्यक्त विचारले जनताको आवाजलाई कमजोर नठान्न शासकहरूलाई चेतावनी समेत दिइएको छ ।

एकदिन
बुट बजार्दै आएका मान्छेहरूले
छाती फुट्ने गरी भकुरे
मेरा सपनाका थोपाहरू भर्ने
भाँडाकुँडा फुटाए
भाँचिदिए मेरा आशाका हातगोडा
र त्यहाँबाट पनि खेदिएँ म ।
नगरपालिका (बहिष्कृत आवाज, पृ. ९)

जनताको मतले जितेर जनप्रतिनिधि भएकाहरूले जनतामाथि कस्तो व्यवहार गरेका छन् त्यो हेरिरहेका कवि, भोगिरहेका जनतासँग एकाकार बनेका छन् । वर्गको पीडालाई उनले कुनै न कुनै ढङ्गले कवितामा पोखेका छन् । यो माटो जनताको पेवा हो शासकको बिर्ता होइन । सार्वभौम जनता भन्ने तर गरिखानेलाई लुछ्ने अनि देश लुट्नेहरूलाई सुरक्षा, यातायात र आवास दिएर पाल्ने यो कस्तो राज्य हो । कविको आक्रोश यत्तिमै टुङ्गिदैन उनले पटक पटक श्रमिकको पक्षमा आफ्नो स्वरलाई मिलाएर परिवर्तनका निम्ति फेरि एकपटक नजागी हुँदैन भनेका छन् ।
लाखौँ युवाहरूलाई गाउँमा फर्किएर केही न केही गर्न उनका कविताले सक्रिय तुल्याइरहेको देखिन्छ । ‘गाउँ तिम्रै पर्खाइमा छ’ कविताभित्र कविले न्यायको निम्ति अन्यायको विरुद्धमा नलडी नहुने विचार दृढ रूपमा राखेका छन् । कवि क्रमशः नेपाली धरतीलाई बदल्नका निम्ति रातामान्छेहरूको आवश्यकता भएको विचार दोहो¥याउँछन् । नेपाली धरतीलाई माया गर्नेहरू नै देशका मूल धन हुन् । हरेक ठालुहरूको महल र बैंकमा बढिरेको निक्षेपमा श्रमिकको जीवन छ । पसिनाको मुहान छ । ‘पसिनाको अनुहार’ शीर्षक एउटा परिच्छेदको नाम र कविताको शीर्षक पनि रहेकाले यस परिच्छेदका कविताहरूले श्रम र श्रममा रमाउनेको जीवनलाई राम्ररी सम्बोधन गरेको छ ।

रिक्साको घन्टीमा
सुनिन्छ जनवादी गीत
मुखिया बा
अब पान चपाउन छोड्नोस् ।
हामीले ढाडमा बनाउँदै छौँ घर
थाप्लोमा बोक्दै छौँ आफ्नै जमिन
मुखिया बा
अब तपाईंको चस्मा खोल्नोस् ।
पसिनाको अनुहार (बहिष्कृत आवाज, पृ. १४)

एउटा कवि श्रमको सौन्दर्यलाई यति सुन्दर ढङ्गले चिनाउँछ कि पसिनाको रङ्ग जस्तो सुन्दर रङ के होला ? यो कवितांशमा कविले आह्वान गरेका छन्, देशको जिम्मा लिएको छु भन्नेहरूले जनता लुटेका छन् त्यो क्रम अन्त्य हुनुपर्छ । अब भाँडा माझ्ने हातहरूले विद्रोह गर्न थालिसके । अब चुपचाप लागेर बसिरहँदैन ओठहरू । राज्यमा बसेर आफूलाई जनताको सेवक वा प्रतिनिधि हूँ भन्नेहरूको सोही गतिविधि दोहोरिरहे अब जनताले नसहने कुरा पनि कवितांशले प्रस्तुत गरेको देखिन्छ । गणतन्त्र मूलतः चेतना निर्माण र चरित्र निर्माणको युग हो । असल चरित्र भएका श्रम गरेर बाँच्नेहरूले दमन, उत्पीडनको लामो शृङ्खला तोड्ने चेतना निर्माण पनि गरिसकेको परिप्रेक्ष्यमा अब बदलिन छाडेर बदलाको भावले दमन गरिरहे त्यो सह्य नहुने कुरा ‘पसिनाको अनुहार’ कविताको परिच्छेद र एउटा कविता पसिनाको अनुहारले घोषणा गरेको छ ।

वर्ग समाजमा कला साहित्यलाई हेर्ने दृष्टिकोण पनि वर्गीय नै हुन्छन् । रचनाकारको चेतना र वर्गस्रोत अनुसार नै रचनाहरूको सारपक्ष कति प्रभावशाली हुन्छ भन्ने कुरा निर्धारित हुन्छ । जुन वर्गका निम्ति सर्जक लागिरह्यो ऊ त्यही वर्गले साहित्यकार वा सर्जकलाई स्रष्टाको रूपमा स्थापित गर्ने गर्दछ । यही विषयलाई आधार मानेर हेर्ने हो भने कवि यश लामाका कविताहरूले २००७ साल अघि र पछिका न्यायपूर्ण आन्दोलनले जनताको पक्षमा काम गर्न नसकेको सत्य हो तथापि जनताको चेतनास्तर उठाउनका लागि पछिल्लो केही दशकका आन्दोलन मूलतः जनयुद्धले खेलेको भूमिकालाई साङ्केतिक रूपमा ‘प्रिय राता मान्छे !’ शीर्षकको कवितामार्फत् उद्घाटन गरेका छन्;

योद्धाहरूले अकल्पित लालसा राखे भने
स्वाभिमान हराउँदै जान्छ
फोहर हुन्छ सफा जिन्दगी
रङ्गहीन हुन्छ रातो विचार
उनीहरू मान्छेबाट छेपारो हुन्छन्
उनीहरू भिडमै हराउँदै जान्छन्
र उनीहरूको जिब्रो अर्थहीन हुन्छ ।
प्रिय राता मान्छे ! (बहिष्कृत आवाज, पृ. १७)

हाम्रो देशको संसदीय राजनीतिले आशा गरेका व्यक्तित्वहरूलाई धेरै कमजोर बनायो । रक्त क्रान्ति गरेर आएका धेरै नेताहरू मन्त्री, सांसद, सभामुख, प्रधानमन्त्री, उपराष्ट्रपति जस्ता पदमा पुगेकाहरूले फोहोरी पिसाबमा बग्दा सुनकाण्डको आरोप, अकुत सम्पत्ति आर्जनको आरोप अनि गलत विधेयक संसदमा ल्याएर जनतालाई झन् कमजोर बनाएको आरोप खेल्नु परेको परिस्थितिमा माथिको कवितांश सत्य साबित भएको छ । २०५२ फागुन १ गतेदेखि चलेको जनयुद्धले नेपालको परिवर्तनका निम्ति जसरी जनस्तरमा काम गर्न योजना बनाउनु पर्दथ्यो त्यो नसकेको कुरा नै कविताको पाठभित्र कलात्मक रूपमा आएको छ । संविधान सभामा आएका जनताको अधिकारको प्रस्तावलाई प्रतिक्रियावादी सत्ताले कमजोर बनाउन खोजिरहेको बेला आ–आफ्नै स्वार्थमा फुटेर रमिता गर्ने गाइजात्रे कमरेडहरूले गहिरो गरी पढ्नु पर्ने कविता हो यो । जनता जसबाट आशा बढी गर्छ उसैबाट चरम निराश पनि त हुन्छन् । देशलाई पराधीन बनाउन नदिन हजारौँ नेपाल आमाका सन्तानले दिएको योगदानलाई कवि ‘प्रिय राता मान्छे !’ कवितामा पुनः एकपटक सम्झाउँछन् । मूल नै धमिलो बनाउने बिचौलियाको फन्दामा नेतृत्व परेपछि योद्धा र योद्धाका परिवार निराश मात्र हुँदैनन् उनीहरूले पुनः आन्दोलनलाई सङ्गठित गरी अगाडि बढाउने उद्घोष पनि गर्दछन् । कलमका योद्धा कवि स्वयम् यो कुरालाई जोडदार ढङ्गले उठाइरहेका छन् । उनी नेतृत्व त जनताको दैलोमा पुगेर जनावाज सुन्ने श्रोता बन्नु पर्छ नि ! अकल्पित लालसा राखेर काम गर्नाले नै आजको स्थिति आएकोप्रति कवि चिन्तित छन् ।

समाज र राज्य पनि कविले कल्पना गरेको जस्तो छैन । राम्रो गर्ने सङ्कल्प बोकेर गए पनि जुन ढाँचाको संयन्त्र छ त्यसले असल कर्मद्वारा जनतामा आशा जगाउने काम गर्न सक्दैन । सांस्कृतिक क्षेत्रमा सिर्जनारत सामन्तवाद विरोधी खास गरी उदार प्रजातान्त्रिक चिन्तन राख्ने स्रष्टाहरू उत्तर आधुनिक विभ्रमबाट बढी प्रभावित देखिएका छन् । (पाण्डेय, २०६८, पृ. ४०) समालोचक एवम् सौन्दर्यशास्त्री ताराकान्त पाण्डेयले भने जस्तै माथिको यो धार सामन्ती सत्ताको नेरफेर नै छ भने आफूलाई प्रगतिशील लेखक वा परिवर्तनको पक्षधर भन्न रुचाउनेहरूले अपनाएको लेखन शैलीले नयाँ नेपालको लेखनबारे गम्भीर बहस सिर्जना गर्न सकेको देखिँदैन । राजनीतिले थापेको सस्तो पसलको बहस गर्नेले बहसमा केन्द्रित हुन नसक्दा परिस्थिति थप अन्यौलग्रस्त भएकोतर्फ कवि सचेत बनाउन चाहन्छन् । ‘माइली एक्सप्रेस’ कवितामा कवि नारीको महत्वलाई समाजले नबुझेको मात्र होइन राज्य नै नारीप्रति मैत्रीपूर्ण व्यवहार गर्दैन भन्ने कुरा दोहो¥याउँछन् । परिवार हाँसेर, इज्जत प्रतिष्ठा जोगाएर आफ्नै देशमा रमाएर बस्न चाहने नारीहरूको प्रतिनिधि पात्र माइली घरेलु कामको खोजीमा विदेशिनु पर्ने अवस्था पीडादायी छ । हजारौँ माइलीहरूले भारत र अन्य देशमा पनि नारकीय जीवन बिताउनु परेको पृष्ठभूमिमा यो कविताले फरक ढङ्गले पीडालाई उद्घाटन गरेको छ । तथाकथित गैर सरकारी सङ्घ संस्थाहरूले पेश गरेको तथ्याङ्कलाई हेर्ने हो भने माइती नेपाल, ओरेक जस्ता संस्थाहरू समाधानका लागि हुन् कि डलर खेतीका खास कृषकहरू हुन् । उनीहरू देशभित्रको आदिवासी, महिला, सीमान्तकृत, दलित, गरिब आदिलाई देखाएर परियोजना ल्याउँछन् अनि त्यसमा रहेको समस्याको समाधान होइन समस्यामा बढोत्तरी ल्याएर प्रतिवर्ष परियोजना कार्य पूरा गर्दछन् । मान्छेलाई वस्तुको रूपमा प्रयोग गर्ने यो रकमी समूहबाट माइलीहरू सधैँ प्रताडित रहेका छन् । कवि यश लामाको कवितामा यही सीमान्त पीडाको चित्र सङ्घर्षको आलोकमा खिच्ने काम भएको छ ।
‘माटोको गीत’ परिच्छेदभित्र जम्मा सातओटा कविता रहेका छन् । कवि माटोको गीतमा मुटुको कुरा गर्छन् । जीवन गुजारा गर्न विदेशिएका लाखौँ युवा श्रमिकहरूको परिवारप्रतिको जिम्मेवारी र पसिनाको खोलाको चित्र खिचिएको छ । ‘केटाकेटीका बा देश फर्कन चाहन्छन्’ शीर्षकको कवितामा कविले अर्काको मरुभूमिमा पसिनाले सिँचाइ गरेर पैसा ल्याइ घर चलाउने सपना बुनेको एउटा श्रमिक युवाको पीडा यहाँ प्रस्तुत गरिएको छ । समग्र देशको संस्कृति र सभ्यता निर्माण गर्नमा श्रमको महŒव दर्शाइएको यस कवितामा कवि श्रमको भूमिकालाई रचनात्मक नदेखेर गौण मान्ने राज्यप्रति प्रश्न गरिएको छ;

मियो हुन् मेरा केटाकेटीका बा
अर्थतन्त्रको मियो
उनी देश फर्कन चाहन्छन् ।
महाशय !
विपत्तिमा पो परे कि कतै
केटाकेटीका बा
त्योभन्दा ठूलो छट्पटीमा छु म ।
केटाकेटीका बा देश फर्कन चाहन्छन् (बहिष्कृत आवाज, पृ. २९)

त्यसैगरी कवि देशभित्र एउटा आधारसम्म नभएपछि विदेशिएको युवा स्वदेशमै फर्किएर केही गर्न चाहन्छ । देशमा जग्गा–जमिन भएका देशलाई माया नगर्नेहरू र देशभित्र केही नभएका तर देशमै केही गर्न चाहनेहरूको बिचमा कति भिन्नता छ भन्ने कुरा कविताले बोलेको छ । ‘म देश फर्किन चाहन्छु’ कविताको भाव यही रहेको छ । आफ्नो बालस्मृतिलाई बाहिर ल्याउँदै कवि सानोमा आफूले राजा वा शासकको अभिनय गर्दा आमाले पठनपाठनबाट टाढा हुन नदिएका कारण केही लेख्न सक्ने भएको तथ्यलाई यहाँ प्रस्तुत गरिएको छ । आमाको घरलाई सबैभन्दा ठूलो पाठशाला ठानेर बालकले आफ्नो सिकाइयात्रा जारी राख्ने सत्यलाई कवि दोहो¥याउँछन् ।
यस परिच्छेदका प्रत्येक कविताले आमा र माटोलाई तुलना गरेको छ । आमा र माटोलाई पर्याय अर्थमा राख्दै कवि आफ्नो धरतीको मोटोको गीत गाउँछन् । बनावटी संस्कार र संस्कृतिको प्रचारप्रसार र अभ्यासमा लाग्न नहुने कुरा आमाबाटै सिकेको विषय पाठकबोध गर्दछन् । आम मानिसको बुझाइ र यथार्थ भावलाई कविले आमाको भावबाट भनेको विषय ‘आमाको आग्रह’ कवितामा प्रस्तुत भएको छ । आज अभिभावकप्रति के कस्तो व्यवहार भइरहेको छ ? यस्तो गतिविधिले हाम्रो परिवार र समाजलाई कति असर पर्ला ? हेर्दा सामान्य तर गहिरो प्रश्नको उत्तर मिलेर खोज्न कवि लामा सुझाउँछन् । यसैगरी ‘माटोको गीत’ कवितामा आफ्नो मौलिक संस्कार र संस्कृतिको सारमा रहेको विज्ञान खोज्ने हो भने हामी हामीलाई पुग्ने ज्ञान, सीप र मार्गनिर्देशन पाउन सकिन्छ, भन्दछन् कवि लामा ।

गाउँको घरमा
मसला
तेल
मेथी
गोलभेंडा
खुर्सानी
बेसार
अदुवा
ओखती जस्ता हुन्छन् ।
गाउँको घर (बहिष्कृत आवाज, पृ. ४६)

कवि ‘गाउँको घर’ शीर्षकको कवितामा नेपाली जातिको मौलिक विशेषताप्रति गौरव गर्दछन् । आधुनिक शिक्षा आर्जन गर्ने नाममा विकास भएका सुपरमार्केट र मलहरूले हाम्रो चेतनाको स्तरलाई धेरै कमजोर बनाएको छ । हामीसँग परम्परादेखि औषधि छन् । हाम्रो विगत राम्ररी पढ्ने हो भने सबै प्रकारको समाधान घरेलु उत्पादन र गुरुकुलको ज्ञानले पूरा गरेको हो । होला विगतका केही प्रसङ्ग आज निकै विद्रुप देखिएको छ । जातजातिका नाममा गरिने सम्बोधन र व्यवहार, छुवाछुतका नाममा हुने अमानवीय क्रियाकलाप अनि कमजोर सुनिन थालेको माटोको मन्त्र जस्ता पक्षलाई पुनः नजगाई देश जाग्ने स्थितिमा जाँदैन । जातीय सहिष्णुता त्यतिबेला हुन्छ जतिबेला सद्भाव राखेर समान अवसरको ग्यारेन्टी गरिन्छ । आज पनि हामी हाम्रो बाल्यकाल सम्झँदै हामीले सानोमा भोगेका सङ्घर्षका कथाहरू साटासाट गर्छौं । त्यही विषय अर्थात् खाद्य उत्पादन, फलफूल उत्पादन, जडिबुटीको पहिचान गर्न नसक्दा हाम्रो चेतनास्तर, उपचार प्रणाली अनि आर्थिक परिसूचकमा परेको गम्भीर असरको सामना गर्दागर्दै हामी कमजोर बनिरहेका छौँ ।
यस परिच्छेद (माटोको गीत)मा कविले आफ्नो पहिचान राख्नु भनेको जन्मदेखि मृत्युसम्म चाहिने हाम्रा सामग्रीहरूको खोजी प्रवृत्तिबाट गर्ने र आत्मनिर्भर बन्ने भन्ने नै हो । कवि समाज र त्यसको स्वस्थ स्थितिको गहिरो गरी समन्वय हुनु पर्नेमा आफ्नो काव्यिक विचार प्रस्तुत गरेका छन् । कवि नेपाली धरतीमा केही न केही गरेर बस्नेहरू हेपिएको अनि नेपाल छाडेर विदेशमा गई ठूला कुरा गर्नेहरू हाबी भएको सङ्केत गर्दछन् । नेपालमा रोजगारी नपाएर परिवारका जीविकोपार्जनका लागि विदेश जानेहरूको पीडा वास्तविक परदेशीको पीडा हो भनेर कवि पटक पटक पाठक र राज्यलाई सम्झाउँछन् ।
‘स्यालको सिङ’ तेस्रो परिच्छेदको नाम हो । यस परिच्छेदभित्र तेह्रओटा कविता सङ्गृहीत रहेका छन् । मजाक, छोरीलाई सपथ, हत्यारा, बन्दुक, स्यालको सिङ, सङ्क्रमणमा झण्डा, गाईमारा भर्सेस भाइमारा, रुदाने, आन्दोलनको गीत, चोचोमोचो, सुलसुले, चुकुल र गणतन्त्र दिवस कविताहरूले हाम्रो आलोचनात्मक चेत र अध्ययनको आयामलाई फराकिलो नबनाउन मद्दत पु¥याउँछ । कवि आफ्नो ज्ञानको क्षितिजलाई बढाउन प्रतिपक्षी विचार र विषय बहस आवश्यक रहेको ठहर गर्दछन् ।

जिब्रोमा त
चे ग्वेभाराको पनि हाड थिएन नि कमरेड
खोलाका पाइतालाहरूमा
रौँ कहाँ छन् र ?
कमरेड !
राता किताबहरू खाएर
लाल लाल आँखा त
गाउँका सामन्तहरू पनि बनाउँछन् । (सङ्क्रमणमा झण्डा, बहिष्कृत आवाज, पृ. ६४)

नेपालका नेताहरूले विश्व समाजवादी क्रान्तिको पथलाई राम्ररी नपढेको, केही पढे पनि त्यसलाई नबुझेको व्यवस्था परिवर्तन गर्दा गर्दा परिवर्तन गर्नेहरू नै पुरानो ठाउँमा पुगिसकेको सन्दर्भहरूलाई कविले राम्ररी देखाइ दिएका छन् । कविले चीन, क्युबा आदि देशको प्रगति र उन्नतिलाई नसिकेर गोर्भाचोभहरू मात्र जन्माउन नेपालको समाजवादी आन्दोलन तल्लीन रहेकोतर्फ सङ्केत गरेको छ । विश्वलाई नयाँ विचार र व्यवहार सिकाउने माक्र्सवादीहरू आफ्नो जीवनशैलीमा ध्यान नदिने अनि अर्कालाई गाली गर्ने ठाउँमा रहेको सटिक टिप्पणी कविले गरेका छन् । नेपाल धर्म निरपेक्ष राज्य हो । संस्कारलाई हामी धर्म भन्दछौँ । धर्म भन्ने बित्तिकै मान्छेहरू अलि भावुक भइहाल्छन् । यो मेरो धर्म अनि त्यो तेरो भन्ने सङ्कुचित सोच हाम्रो समाजमा छदैछ । यही बिचमा संस्कार अनुरूप खाने, लाउने, उपासना गर्ने, सीपहरूलाई मेला महोत्सवमा जोड्ने जस्ता कार्य हुँदै आएको छ । एकखाले अतिवादीहरूले हिन्दु धर्म मान्ने हूँ भनेर अन्य धर्म वा संस्कार मान्नेहरूलाई राज्यको बल दुरुपयोग गरेर दबाएको प्रति कवि यश लामा तीब्र रोष प्रकट गरेका छन् । भाइमाराहरू असल ठहरिने देशमा गाई खानुलाई निन्दा गर्दा सहिष्णुताको हिसाबकिताब नमिल्ने विचार कवितामार्फत् प्रस्तुत गरिएको छ । ‘गाईमारा भर्सेस भाइमारा’ शीर्षकको कविता सबै पाठकले पटकपटक पढेर गहिरो गरी मनन गर्नुपर्ने पाठ बनेको छ । कसैले खाने, पिउने र मान्ने विशेष परिकार वा चाडपवलाई अर्काले हेयका भावले हेरे त्यसले समाधान गर्न नसक्ने खालको अन्तरविरोध निम्त्याउँछ भन्छन् कवि ।
नेपालको विभिन्न आन्दोलन मध्ये एउटा आन्दोलन वा अभियानको नाम हो थाहा अभियान । यस अभियानले जनतालाई जगाउने र क्रूर शासकलाई ठेगान लगाउने नीति लिएको थियो । रुदाने अर्थात् रूपचन्द्र बिष्टले प्रारम्भ गरेको अभियानले जनतामा प्रश्न गर्न सक्ने बानीको विकास ग¥यो । हामीले हरेक विषय थाहा पाउनु पर्दछ भन्ने चेतनाको विकास ग¥यो । आज हामी सूचनाको हकको धारा र त्यसको कार्यान्वयनको पाटोसँग जोडिएको ‘थाहा’ अभियानका अभियन्ताको विषयमा लेखिएको ‘रुदाने’ कवितामा जागृतिको स्वर रहेको छ ।

तिम्रा आगो जस्ता
रापिला शब्दहरूले
स्वघोषित शासकहरूको
गहिरो धमिलो इनार भित्र छिरेर
पानी पनि जलाउँथ्यो त्यतिबेला ।(रुदाने, बहिष्कृत आवाज, पृ. ७४)

मानव जीवनको एउटा सुन्दर पाठ हो चेतना । चेतना निर्माण गर्नका लागि समाजका विविध विषय अनिवार्य रूपमा थाहा पाउनै पर्दछ । नेपाली समाजलाई अलि फरक हिसाबले जगाउने अभियन्ताका रूपमा रूपचन्द्र बिष्टलाई कवि लामाले सम्झिएका छन् । बिष्टको बागी विचारले नेपाली समाजमा निकै महŒवपूर्ण भूमिका खेलेको कुरालाई ‘रुदाने’ शीर्षकका कविताले उजागर गरेको छ । रुदानेहरू जस्तै जन्मिएर समाज फेर्नका लागि बागी आवाज नउठाए देश केवल एउटा ठगहरूको अखडा मात्र हुनेमा कुनै शङ्का छैन । ‘आन्दोलनको गीत’ कवितामार्फत् कवि आन्दोलनको शक्ति र सामथ्र्यलाई परिभाषित गर्दछन्;
आन्दोलनमा चुनौती हुन्छ
वर्ग हुन्छ
विचार हुन्छ
जनताको सत्ता उभ्याउने तागत हुन्छ । (आन्दोलनको गीत, बहिष्कृत आवाज, पृ. ७७)
आन्दोलन दबाउन विगतमा राज्यका सबै शक्ति परिचालन गरिएको हो । आन्दोलन दबाएर दबिने विषय पनि त होइन । आन्दोलन दबाउनेहरूले जनताको विद्रोहलाई झन् एकीकृत गर्न मद्दत पु¥याउने कुरा कवि उदाहरणमार्फत् पेश गर्न पुग्दछन् । जनताको समस्याको समाधान गर्न भनेर मत लिएर गएकाहरू नै जनतालाई मार्न वा मास्न थालेपछि सरकारले कायम गर्ने हुलिया बारेमा कविको उद्घोष छ;

जनघाती सत्तासँग के छ ?
एक कायर सरकार छ
विचारहीन बन्दुक छ
शासनले निर्देशित मान्छे छ । (पृ. ७८)

समयले मान्छेको असली रूप देखाइदिन्छ । त्यति सजिलो छैन मान्छेलाई आफ्नो निर्माण भएको चरित्र जोगाउन अनि सहज ढङ्गले अगाडि बढ्न । माक्र्सवादका पण्डितहरू प्रतिगामीसँग चोचोमोचो मिलाएर आफूलाई जतिसुकै बलियो बनाउने यात्रामा लागे पनि उनीहरू कर्पोरेट कल्चरमा फस्दै गएकोप्रति पछिल्ला चुनावहरूले देखाएको नतिजा केन्द्रित भएको कवि आफ्ना रचनामार्फत् कटाक्ष गर्दछन्;

जनजनको छातीमा ठोकिन्छ
र दुर्घटित भएर मर्दछ एउटा आदर्श
जब आकाश जस्तो लाग्ने नेता
दलालहरूसँग मिलाइरहेको हुन्छ कुम ।
(चाचोमोचो, बहिष्कृत आवाज, पृ. ८०)

समाजले समाजवादी रूपान्तरण खोजिरहेको बेला तथाकथित लालहरू दलाल भएपछि राष्ट्रको अस्तित्व नै सङ्कटतर्फ जान लागेको छ । पुँजीवादले नाङ्गो रूप देखाएको छ । कमिसनखोरहरूसँग पछिल्ला दिनमा हात मिलाउने स्वघोषित सरकार प्रमुखहरूले जनतालाई थिल्थिलो हुने गरी अप्राकृतिक गतिविधि सञ्चालन गरिरहेका छन् । प्रत्येक जनसंगठनमा राज्यसत्ताका जासुसहरू सक्रिय रहेको परिप्रेक्ष्यमा जनतालाई अलमल्याउन नयाँ नयाँ धुन निर्माण गर्दै नेताको रूपमा बिचौलिया हाबी भइरहेका छन् । जनताका विचारको सम्बोधन गर्नुभन्दा शक्तिकेन्द्रलाई रिझाउन तल्लीन नेतृत्वबाट आशा गर्नु नै बेकार भएको निष्कर्ष कविको ‘चुकुल’ कविताले अभिव्यक्त गरेको छ । ‘चुकुल’ कविताले पारदर्शी भएर काम नगर्नेहरूले जनतालाई लामो समय गुमराहमा राख्न नसक्ने उद्घोष गरेका छन् । राता रङ्का घाइते बाघहरूले अब लुटको साम्राज्यलाई भत्काउने दिन आएको भाव अभिव्यक्त गरेको छ;
आइपुग्न सक्छन्
त्यो लुटको साम्राज्यभित्र
त्यो झूटको जमिन वरिपरि
राता रङका घाइते बाघहरू ।
महाराज !
अब चुकुल मारेर
ललीपप बेच्ने धन्दा बन्द गर्नोस् । (चुकुल, बहिष्कृत आवाज, पृ. ८९)
जनताको समग्र अवस्था नसुधारिने व्यवस्थाको नाम जे भए पनि अर्थ छैन । समयले आज देशलाई गणतन्त्रमा पु¥याएको छ तथापि पुरानो नोकरशाहीतन्त्र र भ्रष्ट नेताले जनतातर्फ फर्कन नदिँदा केही आशाका नजरले हेरिएका नेताहरू पनि निकम्मा भएको विषयलाई ‘गणतन्त्र’ शीर्षकको कविताले सम्बोधन गरेको छ;

एक कम्युनिष्ट पार्टीको कार्यकर्ता
अस्पताल छिरेर
हरेक रिपोर्टमा हेर्छ नेताको असली चरित्र
र झोलाभरि डिप्रेसनको ओखती बोकेर फर्कन्छ ।
प्रियजन !
आज देशमा
गणतन्त्र दिवसका संस्करणहरू चलिरहेछन् ।
गणतन्त्र भुईसम्म कहिले आइपुग्छ ? (गणतन्त्र दिवस, बहिष्कृत आवाज, पृ. ९०)

गणतन्त्रले जनतालाई ब्युझाएको भए पनि सङ्गठित हुन जनता अझैँ बाँकी रहेको देखिन्छ । उनै पुराना पाराले भीडतन्त्रमा विश्वास गर्नेहरूले जसरी पनि जनतामाथि पीडा दिइरहेका छन् । अब यस्तो स्थितिमा छिट्टै ब्युँझन पर्ने आह्वान गर्दै कवि ‘छिङ्गो योना छिङ्गो’ परिच्छेदका कवितामार्फत् आफ्ना गहन विचार प्रकट गरिरहेका छन् । जतिबेला पनि पीडाको पङ्क्तिमा उभिनु पर्नेहरूले छातीमा आगो लुकाइराखेको र त्यो अब स्वार्थको जङ्गलमा सल्कने उद्घोष गर्दछन्;

सर !
लिपुलेकको रक्तिम माटोले
बोलाइरहेछ मलाई
कालापानीको नुनिलो पानीले
डाकिरहेछ मलाई
लिम्पियाधुराको धुरीको
गुहार सुनिरहेछु दिनरात !
(म आत्मसमर्पण गर्न सक्दिनँ, बहिष्कृत आवाज, पृ. ९६)

नेपालको सन्दर्भमा राजनीतिक परिवर्तन पटक पटक भए पनि त्यसले गुणात्मक फड्को मार्न नसकेको हुनाले समस्या समाधानको लागि जरैदेखि बलियो जनतन्त्र चाहिने र त्यसले मात्र जनताको हकहितको काम गर्न सक्ने विचार कवि अभिव्यक्त गर्न पुग्दछन् । कविले आफूले राष्ट्रको समस्या समाधान गर्न जस्तोसुकै असहज अवस्था पनि बेहोर्ने उद्घोष गरेका छन् । राष्ट्रको सीमा सुरक्षामा असहजता पैदा भइरहेको पछिल्ला घटनाहरूले पुष्टि गरेको तर्फ सङ्केत गर्दै हाम्रो राष्ट्रियताको सुरक्षा सार्वभौम र सचेत जनताको सङ्गठित शक्ति चाहिने बोध कविताभित्र रहेको छ । यो माटोमा उम्रिएका लाखौँ सुगन्धित फूलहरूजस्तै जनमनले मसक्क आँटेर लाग्ने दिन आएको विचार प्रकाशन गर्दछन् ।
विश्वलाई एउटा फरक सन्देश दिने श्रमिकहरूलाई सङ्गठित गर्ने अनि आशाको सञ्चार गरेर गुणात्मक जीवनको पाटोलाई सबल बनाउने वामपन्थीहरू हराउन थालेको विषयलाई कवि लामाले कलात्मक ढङ्गले उनेका छन् । जनतालाई नवीन सन्देश दिनेहरू नै हराएपछि आशा नै हराउन थालेको अर्थसहित सत्ताले स्वार्थी भएर किर्नाजस्ता भएका तथाकथित कमरेडहरूप्रति कटाक्ष समेत गरेका छन्;

केही समयअघि
गाउँबाट गएका कमरेड
किन फर्केनन् ?
सामन्ती सत्ता पोल्छु
आगो दिनोस् भन्थे
आज पनि याद छ उस्तै ।
(कमरेड हराएको सूचना, बहिष्कृत आवाज, पृ. १०२)


अरूलाई विस्थापित गरेर पुरानै कृत्य दोहो¥याउने हो भने जो आए पनि जनतालाई खासै फरक नपर्ने हुन्छ । जनतासामु उद्घोष गर्नेहरू आफैँ हराएको देख्दा चिन्ता बढेको छ, रिसको पारो चढेको छ । जनमुक्तिको सपना देखाएर जनता ठग्ने नक्कलीहरूसँग जोगिनु पर्ने भाव कवितामा पोखिएको छ । अभावबाट सङ्घर्ष र सङ्घर्षबाट समानताको यात्रा तय गर्नु पर्नेमा नेतृत्वले बदमासी गरेको ठहर कवितामार्फत् कवि व्यक्त गर्दछन् । हिजो प्रतिबद्ध ढङ्गले च्याङ्बा दाइहरूले नलडेको भए, जीवनको बलिदान नगरेको भए आजको यो पर्यावरण आउने थिएन । स्वतन्त्रताको निम्ति च्याङ्बा लामा, शारदा श्रेष्ठ, चुनु गुरुङ, कृष्णसेन ‘इच्छुक’ जस्ता हजारौँले आफ्नो शरीरलाई समर्पित गरेर प्राप्त गणतन्त्रलाई गुटफुट र झूटको आडमा गफाडीको अखडा बनाउनेहरूप्रति खबरदारी कविताले गरेको देखिन्छ । कवि जनता प्रत्येक पलमा सचेत नबने ठगहरूको झुण्डले देश भ्याउने सङ्केत गर्दछन् । मान्छे–मान्छेका बिचमा यति धेरै विभेद निर्माण कहिलेदेखि भयो ? यसको निराकरणका लागि उपायहरू छैनन् ? निकै घतलाग्दा विषयलाई ‘ट्याग’ शीर्षकमा कविले समेटेका छन् । कवि जन्मदै आएको अपराधीको जस्तो ‘ट्याग’ भिराउन मान्छे किन सक्रिय रहेको छ ? एक र अर्कोका बिच भएको जातको विभेदले समाजलाई निलेकोप्रति कविको चिन्ता र चासो छ ।

जति सोचे पनि
जति अन्वेषण गरे पनि
मैले पत्ता लगाउन सकिनँ
यी ट्याग्नेहरूको
जात छ कि छैन
विचार हुन्छ कि हुँदैन
लिङ्ग हुन्छ कि हुँदैन
धर्म हुन्छ कि हुँदैन
र यिनीहरू मान्छे हुन् कि होइनन् ?
(ट्याग, बहिष्कृत आवाज, पृ. १११)


कविजीले तरमारा समूहलाई राम्रैसँग प्रहार गरेको देखिन्छ । प्रत्येक समुदाय र समूहमा एउटा छुट्टै वर्ग छ अर्कालाई अपमान गर्ने र जनतालाई भाँड्ने । देखियो नि पहिचानको नाममा डलर कमाउनेहरूको रातो झण्डाप्रतिको मोह र डलर खर्चनेहरूको दलाल पुँजीवादी चरित्र । श्रम गरेर बाँच्ने मानिसको भूगोल, रङ वा शारीरिक वनोट फरक फरक होला तथापि उनीहरूको सोच्ने र सङ्घर्षपूर्ण जीवन बाँच्ने शैली उही त छ । यस्तो अवस्थामा समाजलाई विभाजन गरेर आफ्नो स्वार्थको रोटी सेक्नेहरूबाट सचेत हुन कवि आह्वान गर्दछन् । कवि यसैगरी बिचौलिया, बैठक जस्ता कविताहरूमा पनि खास जातको विरोध गर्दछन् । जातका नाममा दबाउनेहरूप्रतिको कविको आक्रोश जायज लाग्छ । राज्य चलाउने नीति नियम बनाउनेहरूले बैठक कसका लागि गरिरहेका हुन् ? उनीहरूले गर्ने बैठकको निर्णयले कसलाई फाइदा पुगेको छ ? जनताको रगतरूपी इन्धनमा सवारी गर्नेहरूले गरेको व्यवहारबाट जनता कति आश्वस्त हुन सक्लान् ? गरिब मासेर गरिबी मास्ने भाषण गर्नेहरूबाट सावधान हुन् कवि सुझाउँछन् ।
कवि आफू क्रान्तिकारी विचारबाट प्रभावित भएको कुरा लुकाउन खोज्दैनन् र चाहदैनन् पनि । वर्गीय मुक्तिको यात्रामा लाग्दा भोगिएका कष्टकर ऐतिहासिक यात्रा र यो यात्रालाई यहाँसम्म ल्याउने माओ, माक्र्स, चे आदिको स्मरण गहिरो ढङ्गले गरेका छन् । वर्गीय मुक्तिको यात्रामा निरन्तर लाग्नेहरूले नातावाद र कृपावादलाई प्रश्रय दिन नहुनेप्रति कवि सचेत छन् । कविले आफू प्रतिबद्ध यात्रामा जस्तोसुकै विपत्ति आए पनि पछि नहट्ने उद्घोष गर्दछन्;

संसारको सबैभन्दा सुन्दर तस्बिर
श्रमजीवीहरूको हो
माटो मुछिरहेको पसिनाको हो
हाँस्न थालेका कुपोषणले ग्रस्त बस्तीहरूको हो
यस्तै दृष्टिकोण बनायौँ जीवनको
सम्धीज्यू !
म विचारबाट एकरत्ति पनि बिचलित छैन ।
(सम्धीज्यू, बहिष्कृत आवाज, पृ. १२३)


हामीले भोगेको आजको पक्षपातपूर्ण व्यवहारको अन्त्यका निम्ति स्पष्ट ढङ्गले विद्रोह गर्नु पर्ने आवश्यकता रहेको छ । हामीले गर्नु पर्ने जनताको सेवामा हामी चुकिरहेका छौँ । सचेतनाको यो यात्रामा सामेल हुन पनि कविको आह्वान छ । कविले ‘त्रास’ शीर्षकको परिच्छेदमा एक जातीय राष्ट्रवादले पु¥याएको नोक्सान समग्र क्षेत्रमा पर्दा देश नै पछौटेपनले ग्रस्त छ । सङ्घीयताको असल अभ्यास भन्दा सत्ताको शक्ति दुरुपयोग गरेर लुट्ने कार्यमा संलग्न नेतृत्व चुकेको विषय सन्दर्भ ‘फरक राष्ट्रवाद’, ‘त्रास’ जस्ता कविताहरूले प्रतिध्वनित गरिरहेको छ । ‘पाठ’ परिच्छेदको कविताहरूले जीवनबोधी चेतनालाई यहाँ प्रस्तुत गरिएको छ । कवि आजको परिस्थितिलाई अलि कसिलो ढङ्गले अभिव्यक्त गर्दछन्;

‘मन्दिर’मा बालिएको धूपहरूभन्दा
जेठी सर्किनीको पसिना बास आउँछ ।
कोकाकोलाको स्वाद थाहा छैन
कुवाको पानी बिर्सिएको छैन
ऊ मकै बेचेर
चाउचाउ किनी खाँदैन ।
(फेल?, बहिष्कृत आवाज, पृ. १३३)

कविता स्वयम्मा समाजको एउटा दस्तावेज हो । समाजको मौखिक विषय र लिखित विषयले मान्छेको मनस्थितिलाई छुन्छ र बदल्छ । राज्यले खासै महŒव नदिएको सामान्य नागरिकको पीरव्यथालाई कविताले प्राथमिकता दिएको छ । मन्दिर, मस्जिद, गुम्बा वा चर्चभित्र हुने गरेका गलत प्रवृत्ति र धर्मका नाममा गरिएका कुकर्महरूप्रति चनाखो हुनुपर्दछ । कविले साह्रै मिठो गरी ‘सम्झना’ कवितामा विचारको लेखन गरेका छन्;

लगातार तानिन्छ
सम्झना
र पनि
सिगरेट जस्तो हानिकारक हुँदैन ।
(सम्झना, बहिष्कृत आवाज, पृ. १३७)

कवि सही ढङ्गले शब्दलाई प्रयोग गर्दै कविताको गरिमालाई विचार यात्रामा जोड्दछन् । कवि यश लामाले जीवन यात्राको कष्टकर भोगाइलाई अलि पृथक पहिचान राख्ने ढङ्गले विषयलाई लिपिबद्ध गरेका छन् । आखिर समाज सचेत दृष्टिकोण र समग्र चेतनाको प्रयास नै कविता हो ।
कवि यश लामाले आफ्नो कविता यात्रामा जोडेका चार दर्जन अनुभूतिलाई पाठकको सामु सुन्दर ढङ्गले पेश गरेका छन् । कवि बहिष्करणमा परेका जनताहरूको विचारलाई कुनै न कुनै ढङ्गले केन्द्रमा ल्याउने कर्ममा उनको स्वर सुनिने गरी प्रकट भएको छ । ‘बहिष्कृत आवाज’ शीर्षकको कवितासङ्ग्रहभित्रका कविताहरूले मानवीय मूल्यलाई स्थापित गरेको छ । मान्छे भएर मान्छेको पीडा नबुझ्ने खाले वर्गलाई कविले कटाक्ष गरेका छन् । कविले सीमान्तकृत समूहका मान्छेलाई जगाइरहनु पर्नेमा जोड दिएका छन् । कवि लामा देशभित्रको राष्ट्रियतालाई जोगाउन वर्गीय हिसाबले उत्पीडनमा परेकाहरूलाई नेतृत्वमा ल्याउन आवश्यक ठान्दछन् । सरल भाषा र स्पष्ट वैचारिक धारले कविलाई निम्न वर्ग र समयले ठगेका मान्छेहरूको प्रवक्ताको रूपमा उभ्याएको छ । पहिलो कवितासङ्ग्रहबाट उनी कविताको पाठकहरूको प्राथमिकताभित्र परेका छन् । सुन्दर पक्ष र आफ्नो मौलिक परिचय चाहिँ उनले वर्गभित्र पहिचानको मुद्दालाई राखेका छन् । उनले रातोपनलाई मर्न नदिन क्रान्तिकारी विचार र सरल जीवनशैली हुनु पर्ने सन्देश प्रवाह गरेका छन् । अवसर नपाएकालाई अवसर दिनु पर्ने राज्य रमिते भएकाले जनता सङ्गठित र सचेत भइरहनु पर्ने कुराको सन्देश प्रवाह गर्दछन् ।

पाण्डेय, ताराकान्त . (२०५३) . सहयोगी ग्रन्थहरू, कला साहित्य : भूमिका र मूल्याङ्कन : काठमाडौँ, चिन्तन प्रकाशन प्रा.लि. ।
पाण्डेय, ताराकान्त . (२०६८) . समय, सिर्जना र संवाद, काठमाडौँ : अर्थ प्रकाशन ।
लामा, यश . (२०८१) . बहिष्कृत आवाज, काठमाडौँ : साङ्ग्रिला मिडिया प्रा.लि. ।
अधिकारी, तेजविलास . (२०७९) . सहिद स्रष्टा परिचय कोश, काठमाडौँ  : नेपाल प्रज्ञा प्रतिष्ठान ।
भट्टराई, रमेशप्रसाद . (२०७७) . सांस्कृतिक (वर्गीय, लैङ्गिक र जातीय) अध्ययनको सिद्धान्त र नेपाली सन्दर्भ, काठमाडौँ  : भुँडीपुराण प्रकाशन ।
ढकाल, घनश्याम र अन्य . (२०६७) . माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य, काठमाडौँ : अखिल नेपाल लेखक सङ्घ ।
tejkamere@gmail.com

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन